सन् २०१५ मा डा. अच्युत अर्यालले अन्तर्राष्ट्रिय जर्नल इथोलोजी, इकोलोजी एन्ड इभोलुसनमा बाघ सम्बन्धी एक लेख प्रकाशित गरे। जुन लेखको मुख्य उद्देश्य वर्तमान समयमा रहेको संरक्षण क्षेत्र र बाघका आहारा प्रजातिहरुले बाघ संख्या २५० भन्दा कम मात्र थेग्न सक्छ भन्ने थियो।
बाघको संख्या २५० वा बढी भएमा थप गृहकार्य आवश्यक छ भन्ने तर्फ पनि आशय थियो। नेपालमा पछिल्लो समय बाघ वृद्धिसँगै संरक्षणका चुनौतीहरू पनि त्यति नै मात्रामा थपिँदै गएका छन्। म लगायत डा. अच्युत अर्याल र डा. उत्तम बाबु श्रेष्ठ मिलेर गरिएको एक अध्ययन अनुसार बाघको मृत्युदर एक मुख्य समस्याको रुपमा अगाडि आएको छ।
सन् २०१९ मा बायोडाइभर्सिटी एन्ड कन्जरभेसनमा प्रकाशित हाम्रो अध्ययन अनुसार सन् २००९ देखि २०१८ सम्म नेपालमा झण्डै ५५ वटा बाघहरु मरेका थिए। जसमा अधिकांश बाघहरु एकआपसमा जुधेर मरेका थिए।
बाघ एकआपसमा जुधेर मर्नु प्रकृतिक कारण अन्तर्गत पर्दछ। बाघहरु आफ्नो क्षेत्र कायम राखिराख्न, मन परेको पोथीसँग सहबासका लागि वा यस्तै थुप्रै कारणले जुध्ने गछन्। जसमा एउटा बाघ घाइते भएर पर जान्छ वा मर्छन्।
एकआपसमा बाघ जुधेर मर्दा बाघको संख्यालाई फरक पार्न सक्छ। बाघमा गरिएका विभिन्न अध्ययन अनुसार बाघलाई आवश्यक पर्ने न्यूनतम क्षेत्र वा बासस्थानको (होम रेन्ज) अभाव हुँदा बाघहरु जुध्ने सम्भावना बढी हुन्छ।
बिरालो प्रजातिको प्राकृतिक गुण अनुसार बाघले आफ्नो अस्तित्व जोगाइराख्न, र आफ्नो वंशजको रक्षा गर्न अर्को बाघबाट जन्मिएका डमरू पनि मार्ने गर्छ। बाघहरु जुध्नु वा मानव-बाघबीच द्वन्द हुनुमा बाघको जनघनत्वसँग प्रत्यक्ष सम्बन्ध राख्छ।
अर्थात् बाघको जनघनत्व बढी छन् बने बाघको मृत्युदर पनि बढी हुन्छ। एउटा बाघलाई आवश्यक पर्ने न्यूनतम क्षेत्र झण्डै ४० देखि ४५ वर्ग किलोमिटर क्षेत्रफल बराबरको बासस्थान आवश्यक पर्छ। यद्यपि, बाघको होम रेन्जलाई आहारा प्रजातिले पनि फरक पार्छ।
चितवन राष्ट्रिय निकुञ्जमा बाघको घनत्व सबैभन्दा धेरै छ। एउटा बाघलाई झण्डै १० देखि १५ वर्ग किलोमिटर छेत्रफल हुन आउँछ। बाघलाई आवश्यक पर्ने क्षेत्रफल नपुग्दा मानव र बाघबीचको द्वन्द पनि बढेर जान्छ।
मानव र बाघबीचको द्वन्दको एउटा उदाहरण चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रहरुलाई हामी लिन सक्छौं। डा. भिम गुरुङ लगायतको अनुसन्धानकर्ताले सन् २००८ प्राकाशित गरेको एक अध्ययन अनुसार १९७९ देखि १९९८ सम्ममा बाघ आक्रमणबाट प्रतिवर्ष झन्डै १.२ जना मानिसको ज्यान गएको थियो भने १९९८ देखि २००८ सम्मको तथ्यांक हेर्दा बाघ आक्रमणबाट प्रतिवर्ष झन्डै ७.२ जना मानिसको ज्यान गएको थियो।
राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रहरुमा मान्छे र बाघ बीचको द्वन्द बढेको विभिन्न समाचार माध्यम तथा राष्ट्रिय निकुञ्जहरुबाट प्रकाशित हुने तथ्यांकहरुले देखाएको छ।
नेपालमा बाघको संख्या उकालो लागिरहेको छ। सन् १९९९ मा ९३ वटा हरेको बाघको संख्या २०२० मा आउँदा २३५ वटा पुगेका छन्। तर चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो बाघ गणनामा भने बाघको संख्या घटेको छ। जसको मुख्य कारणहरुमा बाघलाई चाहिने मात्रामा बासस्थान क्षेत्र नपुग्नु हो। चितवन राष्ट्रिय निकुञ्जमा सन् १९९९ देखि २०१३ को गणनासम्म उकालो लागेको बाघको संख्यासँगै मानव र बाघ बीचको द्वन्द पनि बढेको देखियो।
राष्ट्रिय निकुञ्ज तथा सोको आसपासका क्षेत्रहरुमा कैयौं मानिसले बाघको आक्रमणबाट ज्यान गुमाउनु परेको छ। यसको मुख्य कारण थोरै ठाउँमा धेरै बाघको संख्या हुनु र जनस्तरमा चेतनाको कमीले गर्दा हो।
तर पछिल्ला केही वर्षयता चितवन राष्ट्रिय निकुञ्ज र सोका आसपासका क्षेत्रहरुमा बाघ आक्रमणका घटना थोरै भएपनि कम भएको महशुस गर्न सकिन्छ तर शून्य भने छैन।
मानव-बाघबीच द्वन्द केहीमात्रामा कम हुनुको पछाडि धेरै कारणहरु हुन सक्छन्। जस्तैः चितवन राष्ट्रिय निकुञ्जको क्षेत्र विस्तार, राष्ट्रिय निकुञ्ज तथा सामुदायिक वनहरुको उल्लेखनीय भूमिका तथा स्थानीयहरूको सक्रियताले पनि मानव-बाघ बीचको द्वन्द न्यूनीकरण गरेको छI
यो बाहेक चितवन राष्ट्रिय निकुन्जको पूर्वमा रहेको पर्सा राष्ट्रिय निकुन्जको क्षेत्र बिस्तारले पनि प्रत्यक्ष-अप्रत्यक्ष रुपमा त्यस क्षेत्रमा मानव–बाघ बीचको द्वन्द केही न्यूनीकरण गरेको हुनसक्छI
तर पछिल्लो समयमा बर्दिया राष्ट्रिय निकुञ्जमा मानव-बाघ बीचको द्वन्द्व बढेको समाचारहरू आइरहेका छन्। सन २०१३ को बाघ गणनामा ४४ वटाको संख्यामा रहेको बाघ २०१७/१८ सम्ममा ८७ वटा पुगेका छन् र त्यो संख्या अहिले अझ बढेको छ।
तर बाघको संख्या बढेसँगै बासस्थान भने बढेको छैन। फलस्वरुप मानव–बाघ बीचको द्वन्द बर्दिया राष्ट्रिय निकुञ्जमा बढिरहेको समाचारहरु आइरहेका छन्। बाघलाई चाहिने मात्रामा आहारा प्रजातिहरु र बासस्थानको कमी हुँदा, बाघ राष्ट्रिय निकुञ्ज छेउछाउ, सामुदायिक वन क्षेत्रहरुमा आफ्नो क्षेत्र स्थापना गर्ने गर्दछ जसले गर्दा मानव-बाघ बीचको द्वन्द्व हुन्छ।
अर्को कारणमा दुई वयस्क बाघ जुध्दा घाइते बाघ अलि पर जाने र शिकार गर्न नसक्ने हुन्छ। त्यस्ता बाघहरुले सजिलै मार्न सक्ने किसिमका आहारा प्रजातिहरु खोज्ने गर्छन् फलस्वरुप मानवीय क्षति हुन आउँछ।
मानव-बाघ बीचको द्वन्द न्यूनिकरनको लागि राज्य र जनस्तर दुवैतर्फबाट बराबर मात्रामा काम गर्नु पर्ने हुन्छ। जनस्तरमा जनचेतना बढाउनेसँगै बाघ संरक्षणका लागि थप सम्भावित क्षेत्रहरु विस्तार गर्ने, आहारा प्रजातिहरुको संख्या बढाउने आदि लगायत कामहरु गर्नु पर्ने हुन सक्छ।
उदाहरणका लागि बर्दिया राष्ट्रिय निकुञ्जका कुन क्षेत्रमा बाघको जनघनत्व सबैभन्दा धेरै छ? त्यस्तै बाघका आहारा प्रजातिहरुको वितरण कस्तो छ? बाघ धेरै पाउने क्षेत्रमा कस्ता-कस्ता प्रकारका आहारा प्रजातिहरु छन्? बाघ कम पाउने क्षेत्रमा कस्ता-कस्ता किसिमका आहारा प्रजातिहरु छन्?
प्रायः बढी कुन क्षेत्रमा बाघ देखा पर्छन्? दुर्घटना हुने क्षेत्रमा बाघ, आहारा छन्, वातावरण, र मानिसबीच के-कस्तो अन्तर-सम्बन्ध छ भन्ने प्रश्नहरुको उत्तर हामीले खोज्नु पर्ने हुन्छ। बर्दिया राष्ट्रिय निकुञ्ज विस्तार गर्न सकिने वा नसकिने कुराहरुमा बेलैमा ध्यान दिनुपर्ने देखिन्छ।
यसबाहेक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघलाई सुहाउँदो थप बासस्थानहरूको खोजी गर्नुपर्ने र नयाँ क्षेत्रमा बाघ स्थान्तरण गर्नुपर्ने हुनसक्छ। त्यस्तै पर्सा राष्ट्रिय निकुञ्जको पूर्वी सीमादेखि रौतहटको बागमती खोलासम्मका वनक्षेत्रहरु क्षेत्रहरु बाघका लागि सुहाउँदो क्षेत्र हो।
त्यसबाहेक पूर्वी तराईमा अन्य क्षेत्रहरु पनि खोजी गर्नुपर्ने हुनसक्छ। बितेका दिनमा चितवन राष्ट्रिय निकुञ्ज तथा सो आसपासका क्षेत्रहरुले जति क्षति बेहोर्यो, अब फेरि त्यस्तो क्षति बर्दिया राष्ट्रिय निकुञ्जले नबेहोरोस् भन्ने कुरामा सरोकारवालाहरूले चनाखो हुनुपर्छ।
मानव-बाघ बीचको द्वन्द न्यूनीकरणका र बाघको दिगो संरक्षणका लागि थप कार्यहरु गर्नुपर्ने देखिन्छ।