नेपालमा अव्यवस्थित सहरीकरण, सहरी क्षेत्रको बढ्दो जनघनत्व, अटोमोबाइल क्षेत्रमा भएको उन्नति, मानिसहरूको जीवनशैलीमा आएको परिवर्तन द्रुत गतिमा वृद्धि भइरहेको सवारी चापका कारण हाल ट्राफिक व्यवस्थापन र सडक दुर्घटना न्यूनिकरण हरेक नागरीकको दैनिक सरोकारको रूपमा विकसित भएको छ।
तर देशभरको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण रहेको र सवारी दुर्घटनाबाट राष्ट्रले वर्षेनी ठूलो धनजनको क्षति बेहोर्नु पर्ने अवस्था सबैलाई जानकारी रहेको विषय नै हो। नेपाल जस्तो भूपरिवेष्ठित राष्ट्रको परिप्रेक्ष्यमा ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनिकरणको ठूलो महत्व छ।
सुरूआतमा कोटेश्वर चोकको ट्राफिक, ट्राफिक प्रहरी र ट्राफिक व्यवस्थापनलाई उदाहरणको रूपमा विश्लेषण गरी हेरौं। कोटेश्वर चोक भनेको तीन वटा बाटो मिसिएको चोक मात्र नभई तीन वटा जिल्लाको जक्सन हो।
अझ भनौं भने भक्तपुर तर्फको बाटोले सिन्धुली बर्दिवासको मार्ग र धुलिखेलको मार्ग मार्फत धेरै वटा पुर्वीय जिल्लाहरु जोडिएको हुँदा एक किसिमको काठमाडौँ र ललितपुर जिल्ला भित्रिने नाकाको काम गरी रहेको छ।
त्यस्तै नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको यो चोक पर्यटकहरूको रोजाइमा पर्ने विश्व सम्पदामा सुचिकृत भक्तपुर दरबार स्क्वायर भ्रमणका क्रममा प्रयोग गर्नै पर्ने प्रमुख चोक हो।
यति महत्वपूर्ण र संवेदनशील चोकमा न सडक बत्तीको उचित व्यवस्थापन छ न ट्राफिक लाइटको उचित व्यवस्थापन छ न त आकाशे पुल, अन्डरपासको व्यवस्था छ।
पैदल यात्रुहरु जोखिमपूर्ण रूपले जथाभावी रूपमा बाटो काटिरहेका छन्। सार्वजनिक तथा निजी सवारी साधनहरूको अत्यासलाग्दो जाम छ। आजको २१ औं शताब्दीमा पनि कोटेश्वर चोकको ट्राफिक व्यवस्थापन नेपाल प्रहरीका ट्राफिक प्रहरीहरूले अनेक समस्याहरूका बाबजुद ज्यान जोखिममा राखि म्यानुअली गरिरहेको छ।
सो क्रममा ट्राफिक जामका कारण तनावमा परेका सार्वजनिक तथा निजी सवारी चालकहरुको गाली खाई शिक्षित होस् या अशिक्षित, बच्चा, बुढा, बिरामी, अशक्त, विद्यार्थी आदि पैदल यात्रुहरुलाई ट्राफिक प्रहरीहरुले नै सुरक्षित तरिकाले बाटो काट्न लगाउने कामदेखि ट्राफिक नियम पालना नगरेका चालकहरूलाई कारबाही गर्ने समेत काम गरिरहेको अवस्था छ।
सवारी दुर्घटना हुनाका कारणहरू:
१. मानवीय कारण
- मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनु।
- क्षमताभन्दा बढी यात्रु बोक्नु।
- क्षमताभन्दा बढी सामानको ढुवानी गर्नु।
- सवारी ऐन नियमको ख्याल नगर्नु।
- लामो दूरीमा चल्ने सवारी साधनहरूमा वैकल्पिक चालकको व्यवस्था गर्नु पर्ने नियमको पूर्ण पालना नगर्नु।
- ट्राफिक संकेत, ट्राफिक इसाराको पालना नगर्नु।
- लेन अनुशासन पालना नगर्नु, स्पीड कम/बढी गरी चलाउनु पर्दा बायाँ/दायाँ लेन प्रयोग गर्नु पर्छ भन्नेसम्म हेक्का नराख्नु।
- सवारी चालकहरुलाई सवारी प्राथमिकताका सम्बन्धमा अनभिज्ञता र जथाभावी ओभरटेक गर्नु।
- चालकको दक्षतामा कमी, नक्कली सवारी चालक अनुमती पत्रको प्रयोग।
- दुर्घटनामा संलग्न सवारी चालकले पटक-पटक दुर्घटना गर्नु आदि।
२. सडक तथा सडक सुरक्षा पूर्वाधारका कारण
- सडकमा भएका खाल्डाखुल्डीहरु समयमा मर्मत नहुनु।
- वर्षाको समयमा ढल निकासको कारण सडकमा पानी जम्नु।
- सडक निर्माण गर्दा सुरक्षाका उपायहरुको अवलम्बन नहुनु।
- सडकको पूर्वाधारहरु निर्माण हुँदा पर्याप्त रोड मार्किङ, ट्राफिक साइन, लाइट, कोन, डिभाइडर र कन्भेक्स मिरर नहनु।
- ब्ल्याक स्पट र एक्सिडेन्ट प्रोन जोनहरु हटाउन आवश्यक पहल नहुनु।
- रोड एलाइनमेन्ट वैज्ञानिक नहुनु।
- चौकहरुको प्रभावकारी जिओमेट्रिक डिजाइन नहुनु आदि।
३. सवारी साधन
- सडक क्षमता अनुसार सवारी साधन संचालन नहुनु।
- पुराना सवारी साधनहरुको व्यवस्थापन प्रभावकारी नहुनु (२० वर्षभन्दा पुराना सवारी साधनहरुको विस्थापन, रात्री बस थोत्रो भएपछि ग्रामीण इलाकामा संचालन गरिने)।
- रोड वर्थीनेस नभएका सवारी साधनहरुको संचालनमा प्रभावकारी नियन्त्रण नहुनु।
- भेकल फिटनेस सेन्टरलाई प्रभावकारी रुपमा संचालनमा नल्याउनु।
- मास ट्रान्स्पोटेसनलाई प्राथमिकता नदिइनु।
- निजी सवारी साधनको आयातमा बृद्धि।
४. सवारी चालक अनुमति पत्र
- सार्वजनिक सवारी साधनको लागि सचाअप लिने उमेरको हद २१ वर्ष मात्र हुनु र प्रोफेशनल तथा नन-प्रोफेशनल भनी नछुट्टिनु।
हेभी सचाअपको ट्रायल परीक्षामा २७ सिटे सवारी साधनको मात्र प्रयोग हुनु (चालकले लामो दूरीको सवारी साधन चलाउँदा २६ देखि ५४ सिटे सवारी साधन चलाउने गरेको)।
- प्रचलित सचाअप परीक्षाको प्रकृयाको मापदण्ड वैज्ञानिक नहुनु (परीक्षा ड्रिल जस्तो भएको, रोड टेस्ट नहुने भएकोले पहाडी सडकहरुको अनुभव नहुने)।
- सचाअप प्राप्त गर्ने सन्दर्भमा समय समयमा अनियमितता हुनु।
- ड्राइभिङ स्कुलहरुको उचित मापदण्ड निर्धारण तथा प्रभावकारी अनुगमन नहुनु।
चुनौतीहरू
- अव्यवस्थित सहरीकरण
- सहरी क्षेत्रको बढ्दो जनघनत्व
- अटोमोबाइल क्षेत्रमा भएको उन्नति
- मानिसहरूको जीवनशैलीमा आएको परिवर्तन
- द्रुत गतिमा वृद्धि भैरहेको सवारी चाप
- उचित नीति नियमको अभाव
- सम्बन्धित निकायहरू बीचको आपसी समन्वयको कमी
- सडक/राजमार्गहरूमा ट्राफिक इन्जिनियरिङसँग सम्बन्धित पूर्वाधारहरूको नगन्य प्रयोग
- ट्राफिक व्यवस्थापनका लागि अति आवश्यक आधुनिक उपकरण र प्रविधिको अभाव
- ट्राफिक प्रहरीहरूको अपर्याप्त जनशक्ति/दरबन्दी
- आम-जनमानसमा जनचेतनाको कमी
- सवारी चालकहरूको लापरबाही
उपायहरू
सहज यातायात व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरण गरी राष्ट्रिय नीति अन्तर्गत दीर्घकालीन बलियो सडक सुरक्षाको आधार तयार पारी अन्तर्राष्ट्रिय स्तरमै नेपालको छवि बनाउने मूल उद्धेश्य प्राप्तिका लागि निम्न उपायहरू अपनाउनु अपरिहार्य छ।
तत्कालै थाल्नु पर्ने/व्यवहारिक उपायहरू
१. सुरुमा जसरी सवारी साधन चलाउने गर्छ, त्यो स्वभाव चालकमा पछिसम्म रहिरहने गर्छ। सवारी चालकमा लाइसेन्स हात पर्ने वित्तिकै एक प्रकारको उत्साह वा लापरबाही स्वभाव विकास हुने हुँदा ड्राइभिङ लाइसेन्स पाउनु भनेको एक प्रकारको सार्वजनिक जिम्मेवारी पाउनु हो र सचेत भएर सवारी चलाउनु पर्छ भन्ने जिम्मेवारी बोध सवारी चालकमा विकास गर्नु जरूरी छ।
ड्राइभिङ लाइसेन्सको परीक्षा पास हुने बित्तिकै लाइसेन्स दिने र लगत्तै सवारी साधन चलाउन दिने विद्यमान अवस्थालाई परिमार्जन गरी कम्तीमा पनि ड्राइभिङ लाइसेन्सको परीक्षा पास गर्ने व्यक्तिहरुलाई दुर्घटना र दुर्घटनाबाट हुने क्षति, ड्राइभिङ भाषा, ड्राइभिङ सेन्स र ड्राइभिङ रेस्पोन्सिबिलिटी सम्बन्धी भिजुअल सहितको सटिक र ज्ञानबर्द्धक ओरिन्टेसन क्लासमा सहभागी गराएर मात्र लाइसेन्स दिनु उपयुक्त हुन्छ।
यस्तो ओरिन्टेसन क्लास बेगर सवारी साधन चलाउने व्यक्तिहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सवारी दुर्घटना तथा जाम बढाउने गर्छ। यो योजना लागु गर्दा तत्काल आर्थिक अभाव भएमा भिजुअलहरूलाई युट्युबमा राखी परीक्षार्थीहरूलाई भिजुअल हेरेर मात्र लाइसेन्सको लागि सम्पर्कमा आउन निर्देशन दिन सक्छौं र परीक्षार्थीहरूले भिजुअल हेरे नहेरेको भ्युज चेक गरेर मात्र लाइसेन्स वितरण गर्न पनि सकिन्छ।
२. सवारी साधनहरुको लाइसेन्स वितरण गर्ने यातायात कार्यालयहरुमा उपयुक्त स्थान चयन गरी माथि उल्लेखित भिजुअलहरु मात्र चल्ने गरी देखाउनु अति उपयोगी हुन्छ। ताकी लाइसेन्सको फाराम किन्दैदेखि पटक पटक लाइनमा बस्दा ती भिजुअलहरू हेर्ने क्रममा परीक्षार्थीहरुमा दुर्घटना र दुर्घटनाले हुने क्षति, ड्राइभिङ सेन्स, ड्राइभिङ भाषा र ड्राइभिङ रेस्पोन्सिबिलिटी आदि सम्बन्धी जिम्मेवारीपूर्ण ज्ञान प्राप्त गरिरहेको हुन्छ।
३. सवारी चालक जिम्मेवार भएमा सवारी दुर्घटना नियन्त्रणमा ठूलो सकारात्मक प्रभाव पर्ने हुँदा ड्राइभिङ इन्स्टिच्यूटहरूमा सैद्धान्तिक एवं व्यवहारिक पक्षको बारेमा पनि अनिवार्य तालिम दिनु पर्ने व्यवस्था गर्नु जरूरी छ। अझ सार्वजनिक सवारी चालकहरूलाई विशेष तालिमको व्यवस्था गर्नु पनि उत्तिकै जरूरी छ।
४. सवारी साधनहरूको भौतिक तथा यान्त्रिक अवस्था दुरूस्त राख्न र प्रदुषण लगायतका तोकिएका परीक्षणहरू नियमित रूपमा गर्न सवारी धनीहरूलाई प्रोत्साहित एवं अनिवार्य गर्नु जरूरी छ।
५. अति व्यस्त सहरहरूमा पार्किङको समस्या हटाउन सार्वजनिक स्थानहरूमा पार्किङको अध्ययन गरी उचित व्यवस्था गर्नु पर्ने।
६. व्यवसायिक ट्राफिक प्रहरी जनशक्ति तयार पार्न ट्राफिक व्यवस्थापनसँग सम्बन्धित आधुनिक उपकरणहरूसंग अभ्यस्त बनाउने समय सान्दर्भिक तालिमहरूको नियमित संचालन थाल्नु पर्ने।
७. अधिक भारवहन गर्ने सवारी साधनहरूलाई तत्कालै उचित नियन्त्रण र कारबाहीमा व्यापकता ल्याउनु पर्ने। यस्ले सडकको आयु बढ्छ, पहाडी बाटोहरूमा पहिरोको सम्भावना घटाउँछ, दुर्घटना न्यूनिकरण गर्छ आदि।
८. ट्राफिक इकाईहरू र सडक सुरक्षा तथा यातायात व्यवस्थापनसँग सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय गरी योजनावद्ध ढंगले समयसापेक्ष ट्राफिक सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी सडक यात्रुहरू र सवारी चालकहरूमा ट्राफिक सम्वन्धी ज्ञानको अभिवृद्धि गर्नु जरूरी छ।
यस्का लागि विद्यालयको शैक्षिक कार्यक्रमको पाठ्यक्रममै ट्राफिक सम्बन्धी जनचेतनामूलक शिक्षण सामग्री तत्काल समावेश गर्नु पर्ने तथा ट्राफिक ईकाइहरूलाई अझ क्रियाशील तुल्याउनु पर्ने।
९. सुविधा सम्पन्न सवारी साधनहरूलाई प्रोत्साहन गरी तिनीहरूको सेवामा व्यापकता ल्याई जनमानसमा सवारी साधनको अधिकतम प्रयोग गर्न प्रेरित गर्ने।
१०. निकट भविष्यमा सम्पूर्ण सवारी साधनहरूमा इम्बोस्ड नम्बर प्लेट र सार्वजनिक सवारी साधन हुँदै सम्पूर्ण सवारी साधनहरूमा जिपिएस ट्र्याकिङ सिस्टमको जडान गरी सुरक्षित यात्राको लागि समेत प्रयास गर्नु पर्ने।
११. तीव्र गतीबाट हुने सवारी दुर्घटना न्यूनिकरणका लागि टाइम कार्ड लागु गर्ने, तीव्र गतीमा चलाइएका सवारी साधनहरूको नियन्त्रणका लागि गती नाप्ने राडर गन, लिडार स्पिड गन, सिसिटिभी जस्ता आधुनिक यन्त्रहरूको व्यापक प्रयोग गर्नुपर्ने।
१२. लामो दूरीमा चल्ने सवारी साधनहरूका लागि उचित दूरीमा सुविधा सम्पन्न पुनर्ताजगी केन्द्रहरू (रिफ्रेस सेन्टर) को व्यवस्था हुनु जरूरी छ।
१३. सडक/राजमार्गसँग सम्बन्धित सबै सरोकारवाला निकायहरू (सडक विभाग, यातायात व्यवस्था विभाग, महानगरपालिकाहरू, नगरपालिकाहरू, विद्युत प्राधिकरण, खानेपानी संस्थान, ढल निकास, दूरसंचार संस्थान आदि) बीच बलियो सामूहिक समन्वय हुनु पर्ने।
१४. सडक/राजमार्ग पिच गरेको भरमा निर्माण सम्पन्न भएको वा प्रयोग गर्न लायक मान्न हुन्न जबसम्म ती सडक/राजमार्ग व्यवस्थित र सुरक्षित हुन्न। सडक खण्डलाई जतिसुकै व्यवस्थित गरेता पनि जबसम्म सडकका चोकहरूको उचित व्यवस्थापन हुन्न तबसम्म ट्राफिक व्यवस्थापनलाई सहज र सुरक्षित बनाउन तथा दुर्घटनाको भयावह स्थितिलाई न्यूनिकरण गर्न सकिन्न।
हालको अवस्थामा सडकका चोकहरू र सडक खण्ड दुवैको उचित व्यवस्थापन गर्नु अपरिहार्य छ। पुराना सडकहरूमा ट्राफिक इन्जिनियरिङ अनुसार लेन मार्किङ, ट्राफिक साइन, जेब्रा क्रसिङ, कनकेभ ग्लास, फूटपाथ, साइकल लेन, उचित ड्रेनेज, पार्किङ, ट्राफिक पोस्ट, ट्राफिक आइल्यान्ड, ग्रीनरी, चेक पोइन्ट, ट्राफिक लाइट, स्ट्रीट लाइट, सिसिटिभी, अन्डरपास, फ्लाइ-ओभर ब्रिज, ओभर ब्रिज आदिको व्यवस्था गर्नु पर्छ भने नयाँ सडकहरू बन्दै खेरी ट्राफिक इन्जिनियरिङलाई पूर्णरूपमा समावेश गर्नु पर्ने।
जस अन्तर्गत,
- प्रमूख चोकहरूमा आवश्यक ज्यामितीय मापदण्ड पुगेको/नपुगेको चेक जाँच गरी नभएको खण्डमा सो मापदण्ड पुर्याउनु जरूरी छ।
- प्रमुख चोकहरू र सडक खन्डहरूमा ट्राफिक इन्जिनियरिङ अनुसार लेन मार्किङ र जेब्रा क्रसिङ प्रष्ट हुनु पर्छ।
- सडक लेनको चौडाइमा पनि केही सुधार गर्नु जरूरी छ। सडक लेन आवश्यक भन्दा ठूलो वा सानो दुवै अवस्थामा लेन मिच्ने, जाम बढ्ने र ओभरटेकिङको बेला दुर्घटना हुन सक्छ।
- आजको २१ औं शताब्दी सुहाउंदो प्रविधिहरू (ट्राफिक बत्ती, सिसिटिभी, राडार गन, स्मार्ट कार्ड रिडर, कम्प्युटर, ड्रोन आदि) को समेत अधिकतम उपयोग गर्दै, वैज्ञानिक उपायहरू पत्ता लगाई समयसापेक्ष दीर्घकालीन प्रविधिमैत्री योजनाहरू बनाई लागु गर्नु पर्ने।
- ट्राफिक लाइट नभएको ठाउँमा ट्राफिक लाइटको व्यवस्थापन र ट्राफिक लाइट भएको ठाउँमा तत्काल मर्मत गरी संचालनमा ल्याउनु र बिग्रिएको अवस्थामा तुरून्त बनाउने व्यवस्था गर्नु जरूरी छ।
- स्ट्रीट लाइट नभएको ठाउँमा स्ट्रीट लाइटको व्यवस्थापन र स्ट्रीट लाइट भएको ठाउँमा तत्काल मर्मत गरी संचालनमा ल्याउनु र बिग्रिएको अवस्थामा तुरून्त बनाउने व्यवस्था गर्नु जरूरी छ।
- रोड साइनहरूको पर्याप्त मात्रामा व्यवस्था हुनु जरूरी छ। यस्ले सवारी चालकहरूलाई सुचना प्रवाह गरी भ्रमित हुनबाट बचाई सतर्क हुन मद्धत पुर्याउँछ।
- सडक निर्माणका क्रममा ढल निकासको राम्रो व्यवस्था गर्नु जरूरी छ। ढल निकासको राम्रो व्यवस्थाले सडकको आयु समेत बढाउने गर्दछ।
- सडकको खाल्डाखुल्डीलाई समय मै मर्मत गर्ने, जाम भएको ढल निकासलाई सहज बनाउने, पहिरोका क्रममा अबरोध हटाउने आदि कार्यहरू तत्कालै गर्नाले आवागमनमा सहजता आउने, दुर्घटना न्यूनिकरण हुने मात्र नभै पूर्वाधार/संरचनाकै आयु बढ्ने हुंदा यी कार्यहरू गर्ने सानो रेस्क्यू टीम बनाउनु पनि उत्तिकै महत्वपूर्ण छ।
- सडक पेटीमा दृष्टिविहीनको लागि स्पर्शनीय (ट्याक्टाइल) भूमि सतह सूचक (ग्राउन्ड सर्फेस) को निर्माण, अशक्त वा व्हीलचियर प्रयोगकर्ताको लागि सहज हुने गरी सडक पेटी वा अन्य संरचना निर्माण आदिलाई पनि महत्व दिनु उत्तिकै जरूरी छ।
- सडकको मुख्य भाग (क्यारिज) मा वा सडक पेटीमा कुनै निर्माण सामग्री राख्न वा सवारी पार्किङ गर्न, व्यवसाय सञ्चालन गर्न वा अन्य कुनै कार्यबाट आवागमनमा बाधा अवरोध उत्पन्न हुन नदिई यात्रुहरूलाई सुरक्षित आवागमनको सुनिश्चितताका लागि तोकिएको दूरीको सेफ्टी क्लियरेन्स हुनु पर्ने।
- सडक र चोकहरूमा देखिने चौपायाहरू को उचित व्यवस्थापन सम्बन्धित निकायले तत्काल गर्ने व्यवस्था मिलाउनु पर्छ।
- सडक र चोकहरूको छेउछाउमा जम्मा भएका धुलो वा फोहरहरूको कारण सर्वसाधारणको स्वास्थ्यमा नराम्रो असर परिरहेको मात्र नभै वातावरणलाई समेत प्रदुषित बनाइरहेकाले समय समयमा सम्बन्धित निकायले सरसफाई एवं व्यवस्थापन गर्नु पर्ने।
- काठमाडौँ उपत्यकाको प्रमुख चोक र रिङ्ग रोडका प्रमुख चोकहरुमा ओभर ब्रिज, फ्लाइ-ओभर ब्रिज र अन्डर पासको निर्माण अत्ति आवश्यक भइसकेको सन्दर्भमा तुलनात्मक रुपमा फ्लाइओभर ब्रिज र अन्डर पासको लागत बढी हुने तथा निर्माणमा पनि समय र विशिष्टताको बढी नै आवश्यक हुने र प्राय: काठमाडौँ उपत्यकाको प्रमुख चोक र रिङ्ग रोडका प्रमुख चोकहरुमा फ्लाइओभर ब्रिज र अन्डर पास निर्माणका लागि आवश्यक स्थानको समेत अभाव भएकाले तत्काललाई उपयुक्त स्थानहरु (जेब्राक्रसको नजिक उचित दूरीमा) मा आवश्यकता अनुसार स्थायी/अस्थायी प्रकृतिका (जमल चोकमा जस्तो वा माइतीघर चोकमा जस्तो) ओभर ब्रिजको निर्माणलाई उचित सर्वेक्षण गरी निर्माण गर्नु अति जरूरी छ।
उदाहरणका लागि कोटेश्वर चोकमा जेब्राक्रसको नजिक उचित दूरीमा ओभर ब्रिजको निर्माण भएको खण्डमा पैदल यात्रुहरूले जेब्राक्रसबाट नभई ओभर ब्रिजबाट बाटो काट्ने छन्।
- अशक्त र व्हीलचेयर प्रयोगकर्ताहरूलाई मात्र जेब्राक्रसको प्रयोग गर्न दिने व्यवस्था गर्न सकिन्छ। फलस्वरूप पैदलयात्रुहरूलाई रोकी सवारी साधनलाई सुचारू गर्न, पैदलयात्रुहरूलाई बाटो काट्न दिन सवारी साधन रोक्ने समय र पैदलयात्रुहरूलाई बाटो काट्न लाग्ने सम्पूर्ण समय सवारी साधनलाई सुचारू गर्नमा सदुपयोग भएमा व्यस्त चोकहरूमा सवारी जाम घट्ने मात्र नभई धेरै हदसम्म ट्राफिक व्यवस्थापन सहज हुन्छ।
- तत्पश्चात सिसिटिभी, रोड साइन, ट्राफिक लाइट र स्ट्रीट लाइटको उचित व्यवस्था मार्फत सवारी साधनहरूलाई सुचारू र नियन्त्रण गरी ट्राफिक व्यवस्थापनलाई अझ सहज रूपमा व्यवस्थित गर्न सकिन्छ।
- यही काम सम्पूर्ण व्यस्त चोकहरूमा गर्न सकेमा ट्राफिक प्रहरीले धुँवाधुलो खाई गर्ने ड्युटी हट्ने, कन्ट्रोल रूमबाटै सवारी आवागमनलाई सहज र व्यवस्थापन गर्न सकिन्छ, थोरै मात्रामा रहेका ट्राफिक प्रहरीको संख्यामा सामञ्जस्यता हुनमा मद्धत पुग्छ र अन्तत्वगत्वा सहरको स्वरूपमै परिमार्जन भै देश विदेशबाट नेपाल भ्रमणमा आएका पर्यटकहरू मार्फत अन्तर्राष्ट्रिय स्तरमै नेपालको छवि राम्रो बन्ने सुनिश्चित हुन जान्छ।
- सडकलाई व्यवस्थित गर्ने क्रममा पर्यावरणीय पक्षलाई पनि महत्व दिनु उत्तिकै जरूरी छ।
दीर्घकालीन उपाय/आवश्यकताहरू
- उपत्यका लगायत सबै प्रदेशका प्रमुख चोक/जंक्शनहरूमा आवश्यकता अनुसार अन्डर-पास, फ्लाइ-ओभर ब्रिज, ओभर ब्रिज आदिको निर्माण गर्नु पर्ने।
- सडक/राजमार्गहरू सबैमा ट्राफिक इन्जिनियरीङ (स्ट्रीट लाइट, अटफमेटेड ट्राफिक लाइट, ट्राफिक साइन, लेन मार्किङ, जेब्रा क्रसिङ, इन्जिनियरिङ नर्म्स सहितको सडक/चोकहरूको डिजाइन आदि) सँग सम्बन्धित सम्पूर्ण अभिन्न अंगहरूको प्रयोग हुनु पर्ने।
- व्यवसायिक ट्राफिक प्रहरी जनशक्ति तयार पार्न ट्राफिक व्यवस्थापनसँग सम्बन्धित आधुनिक उपकरणहरूसंग अभ्यस्त बनाउने समय सान्दर्भिक स्वदेशी तथा विदेशी तालिमहरूको नियमित संचालन गर्नु पर्ने।
- अधिक भारवहन गर्ने सवारी साधनहरू तौलिनका लागि उचित स्थानहरूमा पर्याप्त मात्रामा तौलपुलहरूको निर्माणमा जोड दिनु पर्ने।
- उचित स्थानहरूमा सवारी साधनहरूको वासिङ सेन्टरहरूको निर्माणमा जोड दिनु पर्ने।
- अति व्यस्त सहरहरूमा पार्किङको समस्या हटाउन उचित सार्वजनिक स्थानहरूमा अन्डरग्राउन्ड र मल्टिस्टोरियड पार्किङको व्यवस्था गर्नु पर्ने।
- स्मार्ट पार्किङको थालनी गर्नु पर्ने।
- सरकारी कार्यालय, अस्पताल, व्यवसायिक प्रयोजनका लागि निर्माण गरीने संरचनाहरू (सिनेमाघर, सुपरमार्केट आदि) का लागि पार्किङको उचित मापदण्द तोकि नक्सा पास गर्नु पर्ने व्यवस्था गर्नु पर्ने।
- चोरीका सवारी साधनहरूको नियन्त्रण र दुर्घटनाको सही अनुसन्धान समयमै गर्नका लागि नेपालमा दर्ता भएका सम्पूर्ण सवारी साधनहरूको अद्यावधिक सुचना (सवारी धनीको नाम, ठेगाना र सम्पर्क नम्बर, सवारी साधनहरूको नम्बर, इन्जिन नम्बर र च्यासिस नम्बर आदि) आवश्यक पर्ने हुँदा यातायात व्यवस्था विभागबाट ट्राफिक प्रहरी कार्यालयहरूले सिधैँ हेर्न मिल्ने गरी सुविधा प्रदान गर्नु पर्ने।
- विदेशमा अपराध गरी नेपालमा आउने/नेपालमा अपराध गरी विदेशमा भाग्ने अपराधीहरूको नियन्त्रण/जानकारी तथा चोरीका सवारी साधनहरू नेपालबाट विदेश/विदेशबाट नेपाल लग्न नपाओस् भन्नका लागि सीमा नाकाहरूमा सीमानाकाहरूबाट आवतजावत हुने सम्पूर्ण स्वदेशी तथा विदेशी सवारी साधनहरूको सूचना (सवारी चालकको नाम, ठेगाना र सम्पर्क नम्बर, सवारी साधनहरूको नम्बर, इन्जिन नम्बर र च्यासिस नम्बर आदि) आधुनिक प्रणाली र उपकरणहरू प्रयोग गरी संकलन गरी अनुचित कार्यहरूको नियन्त्रण गर्नु पर्ने।
- सडक/सवारी नियम मिच्ने सवारी चालकहरूलाई प्रमाण सहित कारबाही गर्न मिल्ने प्रविधि र प्रणालीहरूको प्रयोग गर्नु पर्ने।
- सडक दुर्घटना सम्बन्धी अनुसन्धान र प्रतिवेदनहरू वैज्ञानिक ढंगले तयार पार्नु पर्ने।
- सम्पूर्ण प्रमुख ट्राफिक चौकहरुमा सवारी साधनको व्यवस्थापन कन्ट्रोल रुमबाट नै गर्ने व्यवस्था मिलाउनु पर्ने।
- सम्पूर्ण सिमानाकाहरु र काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख नाकाहरुमा अटोमेटेड सिस्टमबाट सवारी साधन चेक जाँच हुने व्यवस्था गर्ने।
- समयसापेक्ष नीति नियम तथा ऐन कानुनको व्यवस्था गर्ने आदि।
(लेखक प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयका ट्राफिक इन्जिनियर हुन्।)