बाबा आमा सामान्य सरकारी स्कुलमा पढेका,अझ बुझ्ने गरी भन्नुपर्दा कालोपाटीमा सेतो खरी ढुंगालाई चक सम्झेर त्यसैले कखरा लेख्न सुरू गरेका।
चार कक्षामा पुगेपछि मात्रै अंग्रेजी अक्षरका ए,बि.सि,डी पढ्न, लेख्न थालेका।
गाउँको सामान्य आर्थिक हैसियत हुने परिवारका लागि सरकारी स्कुल पुग्न पाउनु नै ठूलो कुरा हुन्थ्यो, यस्तै परिवेशमा हुर्केका, पढेका, अनेकन संघर्ष र दु:ख गर्दै सहरको यात्रा तय गरेका यी बाबुआमाका दुई छोरा छन् एउटा सात र अर्को चार कक्षामा पढ्ने।
आफूले जति दु:ख कष्ट पाए पनि सकभर आफ्ना सन्तानले आफूले जस्तो दु:ख भोग्न नपरोस् भन्ने आम बाबुआमाको जस्तै यी बाबुआमाको पनि चाहना छ।
सहरमा बाबु सरकारी जागिर गर्छन्, आमा किराना पसल चलाउँछिन्।
घरबेटीलाई मासिक भाडा तिर्न र छोराको स्कुल फिको जोहो आमाले पसलबाटै गर्छिन्। बाबुको तलबबाट भैपरी आउने खर्चपर्चहरू जोहो भइरहेको छ।
सहरमा दुई छाक खाएर, दुई छोरालाई पढाएर खुसीसाथ यो परिवार बसिरहेको छ।
आफूले जस्तो दु:ख छोराले नभोगून् भनेरै बेलैमा सहर छिरेर बोर्डिङ स्कुल रोजे।
आफूले चार कक्षामा सिकेका एबिसिडी तोते बोल्दै गरेका छोराले कण्ठै पारेको देख्दा आमालाई बेलाबेलामा खुबै रुन मन लाग्थ्यो।
‘
हाम्रो पालामा केही थिएन, कति दु:ख गरेर पढियो, अझ छोरीलाई पढाउन कति गाह्रो थियो। त्यस्तो बेलामा पनि बाउआमाले जेनतेन पढाए त्यही ठूलो कुरा हो’, आमाले विगत कोट्याउँदै बेलाबेलामा सुनाउँथिन्।
बाबुले त सहरमा आएरै सरकारी क्याम्पस पढे, डिग्री पास गरे, आमाले पनि जसोतसो सरकारी क्याम्पसबाट आइए पास गरिन्।
सुनाउँदै थिइन्, ‘दुई बच्चा हुर्काउँदै पसल चलाउँदा पढाइलाई निरन्तरता दिन असहज भयो, बुढेसकालसम्म भए पनि मास्टर्स सकाउने रहर अझै मरेको छैन।’
दुई छोरा पढाइमा अब्बल छन् भन्ने कुरा उनीहरूको व्यवहारबाटै देखिन्थ्यो। निकै अनुशासित र भद्र छन् दुवै जना। उनीहरूलाई देख्ने, भेट्नेहरू सबैजना यसै भन्छन्।
विदेशबाट फर्किएकी जेठाजुकी छोरीले सोधिछन् , ‘दुई जनामध्ये पढाइमा को ट्यालेन्ट छ आन्टी’ ? यही प्रश्नले ती आन्टीको दिमाग हल्लाएछ।
‘यिनीहरूको के कुरा गर्ने नानी ? हेर न मेरी कान्छी बहिनी सन्ध्याको छोरो सधैं कक्षामा फर्स्ट हुन्छ
यिनीहरू यत्रो कक्षामा पुगिसके कहिल्यै फर्स्ट हुँदैनन्। सधैं पढ्पढ् भन्नुपर्छ’ ।
छोराप्रति सधैं असन्तुष्टि हुने ती आन्टीको सानो छोरालाई एकदिन सोधें,‘बाबु तिम्रो कुन पोजिसन हो कक्षामा’ ?
उसले ठूलो स्वरमा भन्यो ‘थर्ड’।
ठूलो बाबुलाई सोधें, तिम्रो नि !
कहिले थर्ड, कहिले सेकेन्ड त्यस्तै हो। एकपटक चाहिँ फोर्थ भा को। नत्र अहिलेसम्म सेकेन्ड, थर्ड नै हो भन्यो।
आन्टीसँग धेरैबेर कुरा भयो, मेरो छोरा सानै थियो बारम्बार ती आन्टीले भनिरहन्थिन्, हेर नानी तेरो छोरालाई सुरूदेखि नै फर्स्ट बना है, पछि गएपछि त यिनिहरू जस्तै लद्दद्दु होला नि!
टप चार, पाँचभित्र सधैं अटाएका छोराप्रति आन्टीको बेचैनी देखेर आफैंलाई उदेक लाग्यो।
मनमनै सोचें मैले बनाएर मेरो छोरा फर्स्ट हुने हो र ? आफूले बनाएर, सोचेर हुने भए कुन चाहिँ बाउआमा आफ्ना बच्चा फर्स्ट भएको हेर्न लालयित हुँदैन थिए ?
सानो बाबुलाइ सोधें,‘तिम्रो कक्षामा कति जना साथीहरू छौ ?
उसले ‘पच्चिस जना’ भन्यो।
पच्चिस जनामा बाइस जना भन्दा त ऊ अगाडि छ, मिहिनेत गरिरहेको छ, सानो चार कक्षामा पढ्ने बच्चालाई यतिधेरै दबाव किन दिएकी होलिन् आन्टीले भन्ने पनि लाग्यो।
ठूलो बाबुलाई सोध्दा उसले चार वटा सेक्सनमा छब्बिस जनाका दरले विद्यार्थी राखेको बतायो।
त्यतिधेरै साथीहरूको बीचमा ठूलो छोराको पढाइ कसरी आन्टीको नजरमा कमजोर भयो ? फर्स्ट हुनु नै जिन्दगीको सबभन्दा ठूलो उपलब्धी हो भने त केही भन्नु छैन तर फर्स्ट भन्दा पनि असल हुनु, व्यवहारिक हुनु र जिन्दगीमा सफल हुनु नै सबभन्दा ठूलो उपलब्धी लाग्छ व्यक्तिगत रूपमा भन्नुपर्दा।
त्यति राम्रो पढ्ने छोराको अगाडि सधैंभरि आन्टीको रोष उही समान विषयमा भइरहँदो रहेछ बहिनीको छोरा सधैं फर्स्ट हुन्छ आफ्ना हुँदैनन्।
हरेक पटक तुलना गरिरहँदा बच्चाको दिमागमा राम्रा भन्दा नराम्रा कुराहरू स्वभाविक रूपमा बढी खेल्छन् नै।
दिदी बहिनी तिजको बेलामा भेट भएछन्, त्यहाँ पनि उही छोराकै बारेमा चर्चा चलेछ।
एक कक्षामा नपुग्दै तीन वर्ष पढ्नुपर्छ अहिलेका बच्चाले। नर्सरी, एलकेजीमा फर्स्ट भएको कुरालाई आन्टीले विश्वविद्यालय टप गरेको भन्दा बढी चर्चा गर्छिन्।
दिदी अर्थात् ती आन्टी सधैं आफ्ना छोराहरूसँग रिसाउँछिन् कारण अरू केही होइन बस् उनीहरू कक्षामा फर्स्ट भएनन्।
सानो छोरा त चार कक्षामा पढ्ने धेरै कुरा बुझ्दैनथ्यो तर सात कक्षामा पढ्ने ठूलो छोरा समझदार पनि थियो र जिज्ञासु पनि।
सानिमाको सामुन्ने मै प्रश्न राखेछ, सानिमा मेरो मम्मीले सधैं फर्स्ट भएनौ भनेर भाइ र मलाई गाली गर्नुहुन्छ, हाम्रो घरमा जो आए पनि अरु कुरा हुँदैनन् खाली पढाइका मात्रै कुरा हुन्छन्।
जो आए पनि हामीलाई राम्रो भन्छन् तर मम्मीले सधैं कहिल्यै फर्स्ट हुँदैनन् भन्नुहुन्छ, हाम्रो मम्मी स्कुलमा सधैं फर्स्ट हुनुहुन्थ्यो हो?
मम्मीले आफ्नो सर्टिफिकेट देखाउनुस् त कति नम्बर ल्याउनु भएको रहेछ थाहा भइहाल्छ नि। कतिपटक स्कुल टप गर्नु भएछ ? खै मम्मी कहाँ छ तपाईको सर्टिफिकेट हामीलाई देखाउनुस्।
खै मम्मी देखाउनुस् न??? भाइको र मेरो मेडल मात्रै दश वटा छ, मम्मीको कति वटा मेडल छ ? हाम्रो प्रमाणपत्र मात्रै सात वटा छ, एक्ट्राएक्टिभिटिजको, मम्मीको कतिवटा छ ?
ठूलो छोराको अनौठो मागपछि भने एकाएक आन्टीको बोली बन्द भएछ।
आन्टी बल्लतल्ल तेस्रो श्रेणीमा एसएलसी पास, आई ए तीन पटक ब्याक लागेर पास गरेकी थिइन्। अब छोराको सामु ठूलो चुनौती देखियो, कि त आमाले आफूले टप गरेको, प्रथम भएको मार्कसिट पेश गर्ने या फर्स्ट भएनौ भनेर बारम्बार जो आउँदा पनि नसुनाउने।
‘चुप लाग, तैंले जे भन्छन् त्यही मान्ने हुँ मैले ? तँ मेरो आमा होस् कि म तेरो आमा ? आफ्नो आमासँग यस्तै कुरा गर्छन् छोराले ? यति भनेर थामथुम पारें, त्योभन्दा पछाडि कहिल्यै पनि छोरालाई फर्स्ट हो भनेर दबाव नदिने निर्णय गरें’, केही समयअघि उनै आन्टीले कुरैकुरामा सुनाएकी थिइन्।
***
यो एउटा प्रतिनिधि घटना हो, हामी अधिकांश आमाबाबुले आफ्ना सन्तान सधैं अरूभन्दा अब्बल भएको हेर्न चाहन्छौ, राम्रो भएको हेर्न, सुन्न चाहन्छौ यो आफैंमा नराम्रो होइन।
तर कतिपय अवस्थामा जबर्जस्ती बच्चाको क्षमताभन्दा बढी अपेक्षा गर्ने, बच्चाले सक्दै नसक्ने कुराको भारी बोकाउन खोज्ने, बच्चाको रुची र चाहना भन्दा पनि आफ्नो र समाजको इज्जतको लागि जबर्जस्ती यस्तो बन्नुपर्छ भनेर अनावश्यक दबाव दिने काम गर्छौं।
यसको घाटा अन्तत: हामी आफैंलाई हुन्छ। जो जे हो त्यही अनुकूल उसलाई हुर्कन, फर्कन र फस्टाउन दिनुपर्छ।
अलि धेरै नम्बर ल्याउनसाथ बाउआमाको चाहना हुन्छ आफ्नो बच्चाले साइन्स पढोस्, डाक्टर होस्, इन्जिनियर होस् या समाजमा गन्नेमान्नेकै पद हासिल गरोस् तर हामीले कहिल्यै पनि तिमी के चाहन्छौ ? तिम्रो रुचि केमा छ ? तिमीलाई कुन विषय पढ्न मन लाग्छ भनेर सोध्ने चेष्टा गर्दैनौं।
जबर्जस्ती बाउआमाको लागि, समाजको लागि, अरुको इज्जतको लागि पढिदिएको विषयमा छोराछोरीले भित्रैदेखि ध्यान लगाएको हुँदैन, ऊ त केवल पढिदिएको हुन्छ पढेको हुँदैन। जागिर खाइदिएको हुन्छ खाएको हुँदैन। समाजमा इज्जत कमाइदिएको हुन्छ कमाएको हुँदैन।
यी आन्टीले एउटा छोरालाई डाक्टर बनाउन चाहन्छिन्, अर्कोलाई इन्जिनियर।
यदि आन्टीले भनेजस्तै यी छोरा डाक्टर र इन्जिनियर भइदिएनन् भने ? बच्चाले अर्कै विषयमा मन लगाए भने ?
आन्टीका आफन्तका छोराछोरी ठूलठूला पदमा पुगेका छन् भन्दैमा यी छोराहरूले त्यही लाइन समातेनन् भने ?
अर्थात् अंकल सरकारी जागिर खाएका छन्, उनले छोरालाई आफूजस्तै सरकारी जागिर खान प्रेरित गरे भने ? छोराले त्यो स्वीकार गरे भने ? वा छोराहरू बाउआामाको रुचि बेगर अरु नै क्षेत्र रोजे भने ? त्यो बेलामा के गर्ने ?
चाहिनेभन्दा धेरै हामी किन कल्पना गर्छौ ?
सानो बच्चालाई सोधौं न, बाबु, नानी तिमी ठूलो भएपछि के बन्छौ भनेर? उसलाई कत्रो भएपछि ठूलो भइन्छ भन्ने थाहा छैन, के पढेर के भइन्छ भन्ने थाहा छैन तै पनि रेडिमेट जवाफ दिन्छ डाक्टर बन्ने ... बाउआमाको नाक घिरौंला जत्रै हुन्छ, वाह! मेरो यति सानो बच्चाले अहिलेदेखि नै डाक्टर बन्छु भन्छ यसलाई त डाक्टर नै बनाउनु पर्छ।
त्यो बच्चा बढ्दै जान्छ उसको भन्ने शैली फेरिन्छ, तिमी ठूलो भएपछि के बन्छौ ? ऊ पुलिस, आर्मी बन्ने भन्छ, बाउआमाले हर्काछन्, छिछि: त्यस्तो पनि कोही बन्छ ? पुलिस आर्मी होइन है डाक्टर बन्नुपर्छ तिमी।
बच्चाले पुलिस आर्मी बन्छु भन्दा छि: भन्छौं हामी तर बच्चालाई किन यस्तो बन्छौ भनेर सोध्दैनौं। नर्सरीदेखि कक्षासम्म आइपुग्दा मेरो छोराले दर्जनभन्दा बढी पेशा रोजिसक्यो तर भोलि ऊ के बन्छ सायद भविष्यले नै देखाउला।
कुनैदिन त दिनमै तीन चार वटा पेशा बदल्छ। मेरोजस्तै हरेक आमाबाबुका बच्चाको स्वभाव लगभग उस्तै होला। उनीहरूको चञ्चल मनमा अनेक कुरा खेल्छन् त्यही कुराको पछि लागेर उनीहरूलाई जबर्जस्ती आफ्नो बसमा ढाल्न नखोजौं।
बाउआमाले बाटो देखाइदिने हो, सही बाटोमा हिँड्न सिकाउने हो बाटो समाएपछि पाइला चाल्ने काम छोराछोरीको हो।
जब हामी आफ्ना बच्चालाई अर्का बच्चासँग तुलना गर्छौं सबभन्दा नराम्रो प्रभाव त्यहीबाट पर्ने रहेछ। म भन्दा ऊ राम्रो, मभन्दा अर्को असल यस्तो इखालु भावना बच्चालाई अंकुरित भएपछि बच्चाले राम्रोभन्दा नराम्रो कुरामा बढी मन लगाउने रहेछन्।
हामी हाम्रा बच्चालाई सधैं फर्स्ट भएको मात्रै किन देख्न चाहन्छौ? एउटा स्कुलमा तपाईं हाम्राजस्ता सयौं बच्चाहरू साथसाथै पढ्छन्, सबै बाउआमाको चाहना आफ्ना बच्चा हरेक कुरामा अब्बल होऊन् भन्ने नै हुन्छ तर पनि सत्य त सत्य नै हुन्छ नि होइन र ? त्यत्रो मासमा प्रथम स्थान त एउटा विद्यार्थीले मात्र पाउँछ नि।
सबै विद्यार्थी प्रथम कहीँ पनि हुँदैनन्, हामी हाम्रा बच्चालाई असल, संस्कारी र व्यवहारिक बन्न किन सिकाउँदैनौ ? सबै फर्स्ट भए सेकेन्ड, थर्ड को हुने त ?
बाबाआमाले बच्चाको क्षमता र योग्यता भन्दा बढी सोचिदिन्छौ कतिपय अवस्थामा।
ती आन्टीले छोरालाई दिएको दबाव र तनावले उनीहरूले भविष्यमा कस्तो प्रगति गर्लान् ? कुन विषय पढ्लान् ? कसरी आमाको चाहना पूरा गर्लान् ? यो कुराले मन निकै चिमोटिरह्यो।