चार वर्ष पहिलेको कुरा हो, स्नातक पढ्दै गरेकी समिता ढकाल (नाम परिवर्तन) परिवारको इच्छाविपरीत अर्कै केटासँग प्रेम सम्बन्धमा रहेको कुरा घरमा थाहा हुन्छ।
बाउआमा, नजिकका नातागोता, आफन्तको घिरौला जत्रो नाक एकाएक काटिने सन्त्रासले एकाएक खतराको घण्टी बजाउँछ।
अन्यत्र हल्ला हुनुभन्दा पहिले यसलाई (समिता) उम्काइहाल्नुपर्छ, आफन्त वृतमा तुरून्त केटो खोजिहाल्ने उर्दी जारी हुन्छ, उर्दी भन्दा पनि कडा सर्कुलर नै भनौं न।
समिताको यो सम्बन्ध आफ्नै काकाकी छोरीले घरसम्म पुर्याएकी थिइन्, उनैलाई सबैले केरकार गर्न थाल्छन्।
‘तँलाई अरु के थाहा छ नानी भनिहाल्’...
‘आजसम्म थाहा पाएर पनि किन लुकाइस्’ ?
‘त्यो केटा कहाँको हो’ ?
‘के काम गर्छ’ ?
‘कति पढेको छ’ ?
कसैले नगरेका लभ यसैलाई गर्न पर्नि? आफन्तहरू कति माथिल्ला पदमा जागिरे छन्, केही दीगो रोजगार नभएको, चिन्नु न जान्नुको कहाँ न कहाँको केटासँग कसरी यसले जीवन काट्ने निधो गरी? प्राइभेट जागिर केही दिनको चुरीफुरी मात्रै हो, कस्ता कस्ता सरकारी जागिरे केटा हेरेका थिए आफन्तले... भाग्यमा नभएपछि के गर्नु...
भएकी एउटी छोरी, यसले हाम्रो कुलको इज्जत माटोमै मिलाउने भई... ’
आमाले धिक्कार मान्दै खुइय्या गर्छिन्।
यत्तिकैमा आमाको गुनासो सकिँदैन, ‘यस्ता छोरी जन्मनुभन्दा त बरु कोख बाँझै बसेको बेस हुन्थ्यो।
सबैका छोरी आफ्नो इमानमा, इज्जतमा बसेका छन, पढ्ली, केही गर्ली भनेको त कहाँ न कहाँको केटासँग लभ गरेर मरिछ’ आमाले यस्तै अनेक याचना गर्न थालिन्।
भित्र कोठामा एक्लै बसेर आफन्तका कुरा सुनिरहेकी समिता हिजोसम्म बिहानमा क्याम्पस पढ्छे, दिउँसोमा जागिर गर्छे, घरको सबै हेरविचार उसैले गर्छे, छोरी भएर पनि छोरा जस्तै छे भन्ने सबै आफन्तको नजरमा निमेषभरमा नराम्रो, घर, परिवार र कुलको इज्जत फाल्ने पात्रको रूपमा दर्ज भइरहेकी थिइन्।
आगो बलिरहेको ठाउँमा घिउ थप्न उचित लागेन , ठिंग उभिएको मूर्ति जस्तै मौन थिइन् तर पनि भित्रभित्रै भने आफ्नो रोजाइमा अडिग थिइन्।
‘जातभातको कुरामा मलाई कुनै विश्वास छैन, मैले रोजेको, खोजेको मान्छे इमान्दार र मलाई बुझ्ने खालको हुनुपर्छ। अरु केही चाहिँदैन’। यो भनाइ समिताको मनभित्रै दबिएको थियो, बाहिर त आफन्तको हुंकार चर्किएको थियो। उनको कुरा सुन्ने फुर्सद कसलाई पो थियो र!
उनको केटोलाई अपराधी जसरी खोज्न थालियो।
मोबाइलमा घन्टी बज्यो कि उनीहरूका कान निकै चनाखा हुन्थे।
मोबाइलको सिम बदलियो, नयाँ सिममा परिवारको बाहेक अरूको नम्बर नराख्ने शर्तमा मोबाइल बोक्ने अनुमति दिइयो।
समितासँग परिवार आफन्त तर्किन थाले। घरका परिवार एक एक गरी ऊ माथि जाइलाग्न थाले।
आफ्ना भाषण सकाएर आमा, काकी र दाइ समिताको कोठाबाट बाहिरिए। सबैको कुरा प्रवचन एकोहोरो सुनेकी समिता केही नबोली बसिरहिन्। सबैको नजरमा नराम्रो भएपछि बोल्नुको तुक पनि थिएन।
एकैछिनमा काकाकी छोरीले फोन गरी।
‘दिदी! तपाई एकैछिन माथि स्कुलको क्यान्टिनमा आउनुस् न।’
‘कस्ले बोलाएको छ ? मलाई कतै जाने मूड छैन’समिताले झर्किंदै जवाफ फर्काइन्।
‘दिदी ! बिन्ती छ एकैछिन आउनुस् न, एउटा जरुरी काम छ’बहिनी फेरि विनम्र बन्न खोजिन्।
‘तेरा कारणले घरमा कत्रो महाभारत निम्तिएको छ तैंले जहाँ बोलाउछेस त्यहाँ किन आऊँ। हजार कुरा पेटमा अटाउन सक्नेले यति कुरा मनमा अटाउन सकिनस्, तेरो कुराको विश्वास छैन मलाई’समिताले आफ्नो आशय प्रस्टाइन् र फोन काटिन्।
फेरि उनै बहिनीको फोन आयो, ‘दिदी एक पटक मात्रै आउनुस् न पाँच मिनेटको लागि।’ बहिनीले अति नै गरेपछि मलिन अनुहारमा समिता कोठाबाट बाहिरिन खोज्दै थिइन् आमाले देखिहालिन्।
बिहे नहुन्जेल आँगन कटेर नजान उर्दी भयो।
बोल्न त मन थिएन तै पनि प्रश्नको जवाफ दिनैपर्थ्यो समिता मन दबाएरै बोलिन्, ‘एउटै कुरा कतिपटक घोँचिरहनुहुन्छ आमा ? भर्खर बहिनीले बोलाएकी छ, तीन पटक फोन गरी, एकैछिन स्कुलको क्यान्टिनमा आउन भनेकी छ, आउदिनँ भन्दा नि जिद्धी गरी त्यही भएर जान ला’को’।
त्यसपछि आमाले जान आदेश दिइन्।
उनको मनमा भने अनेक कुरा खेलिरहे।
आफ्नै मामाकी छोरीले सरकारी जागिर भएको केटो रोजेकोले धुमाधम गरी बिहे गराइदिए। आफ्नो भने प्राइभेट जागिर खाएकोले आफूमाथि यसरी खनिएको भन्दै मनमनै दुखी भइन्।
‘आखिर सानो सोचका हिमायती मेरा आफन्तलाई सरकारी जागिरको ट्याग लागेको केटा भएपछि लभै गरेनी कसले के गर्दो रहेछ र ?’
समिता आफैंलाई प्रश्न गर्छिन्, ‘जिन्दगी बिताउने म हो, मेरो जिन्दगी कस्तो मान्छेसित बिताउँदा सहज हुन्छ, त्यो रोज्ने, खोज्ने अधिकार पनि ममा छैन ? ठाउँले, जागिरले जिन्दगीको मानक कसरी तोक्न सक्छ ? मेरा आफन्त सरकारी जागिर खाए भन्दैमा मैले खानैपर्छ भन्ने छ र ? के प्राइभेट जागिर खानेको जिन्दगी हुँदैन ? मेरा हाकिम काकाहरूको रवैया देखेर पनि यस्ता सोच भएका सरकारी जागिरेको पछि लाग्न मन लागेको छैन फिटिक्कै’ ।
मनमा कुरा खेलाउँदै स्कुलको क्यान्टिनमा पुगिन् समिता जहाँ बहिनी र तिनै युवा जो उनको परिवारको इज्जत ‘माटोमा मिलाउनेवाला’ थिए। मलिन अनुहारमा समितालाई देखेपछि ती युवाले फकाउने कोशिस गरे।
बहिनीतिर औंला तेर्साउँदै समिता रिसाइन्, ‘यसकै कारण घरमा बबण्डर मच्चियो, मुख देखाएर हिँड्न लायक भइनँ म, विश्वास गरेर यसलाई सबै भने तर यो...
बहिनीले माफी मागिन् ‘दिदी! प्लिज माफ गर्नुस्, तपाईंको नराम्रो कहिल्यै चिताउदिनँ म। आखिर एकदिन थाहा हुन्थ्यो नै। भित्रभित्रै तपाईंको बिहेको कुरा धेरैपटक सुनेकोले मात्रै भनेकी हुँ, दिदीले आफैं भिनाजु रोजिसक्नु भएको छ भनेर। एक वर्ष भइसक्यो भिनाजु चिनेको, तपाईलाई बिहे नगर्दै म भिनाजु भन्न थालिसकें। म तपाईंको नराम्रो कसरी चाहन्छु’ ?
धेरैबेरको भलाकुसारीपछि तीन जनाको कुरा मिल्यो।
परिवारको इज्जत जाने नै भएपछि थप संवादको आवश्यकता परेन।
आफूले सबै कुरा थाहा पाएको र समिता लिन आएको ती युवकले बताए।
समिताको दिमाग र मनबीच द्वन्द्व चलिरह्यो। अन्तत: मनले नै जित्यो।
बहिनीलाई अबेरमात्रै घरमा भन्नु भनेर दुवै जना त्यहीँबाट बिदा भए। अनि बिहे गरे।
समिताका श्रीमानश्रीमती प्राइभेट जागिर गर्दै समिताका काकाको दम्भ तोड्नकै लागि दुई वर्ष लोकसेवा पढे। दुवै जनाले सुब्बामा नाम निकाले। माइती पक्ष सबै टाढिएका थिए। फेसबुकमा समेत आफन्तले ब्लक गरेका थिए। काकाकी छोरी नै उनीहरूका लागि स्रोत थिइन्।
गत माघमा समिताका दाइले थापाकी छोरी भगाएर घरमा लगेछन्। अर्कै केटासँग बिहे हुन लागेको थाहा पाएपछि दाइले भगाएका रे।
अनि यसरी पोखिन् उनले आफ्नो असन्तुष्टि।
‘बाउआमा काकाकाकी एकैछिन त खपिनसक्नु रिसाए रे दाइसँग। तर छोरा न हो। हुने कुरा भइसकेपछि कस्को के लाग्थ्यो र! एउटा छोरा हो ल्याइहाल्यो भनेर धूमधामसँग बिहे गर्दिए रे।
मैले बाहुनकै छोरो रोज्दा काटिएको मेरा बाउआमाको घिरौंलाजत्रो नाक दाइले थापाकी छोरी भित्राउँदा किन काटिएन छ त्यही अचम्म लागिरहन्छ।
मलाई नानाथरी भनेर होच्चाएका मेरै जन्मदाता बाउआमा थापाकी छोरीलाई कसरी बुहारी बनाउन राजी भए होलान्, यसको उत्तर आजसम्म पाएकी छैन। मेरा काकाहरूको त्यत्रो इज्जत कहाँ गयो होला?
छोराले जे गर्दा पनि हुने छोरीले मात्रै इज्जत जोगाइदिनुपर्ने कस्तो चलन?
दुई महिनाजति बाउआमाले थापा भाउजूले पकाएको खाएनन् रे। अहिले तिनै बुहारी पुरोहित भन्दा चोखी भएकी छन् भन्ने कुरा सुन्छु... सहेपछि एकदिन देखिन्छ भन्थे हो रहेछ।
तेरा लागि त्यो केटा भन्दा अरु कोही छैन भन्ने मेरा दाइ, तिम्रो लागि त्यो थापाकी छोरी भन्दा अरु कोही थिएन र भन्न मन छ।
मेरा सरकारी अड्डाका हाकिम काकाहरू तपाईंको इज्जत दाइले आफैं भगाएर ल्याएकी केटी त्यो पनि तपाईहरूकै भाषामा भन्दा ‘तल्लो’ जातकी, त्यो भित्राउँदा कहाँ पुग्यो होला? भनेजस्तो आफ्नै कुलघरानकी केटी खोजेर बुहारी बनाउन सक्नु भएन?
नियतिले नठगोस् नियतबस तपाईंहरूको नजरमा ठगिएर, नराम्रो बनेर केही फरक पर्दैन।
भोलि तपाईंहरूकै पदमा पुगौंला, नपुगौंला तर जहाँ पुगे पनि तपाईंहरूको जस्तो घटिया सोच पक्कै राखिँदैन।
हाम्री छोरीले दलितकै छोरा मन पराइछ भने पनि हामीले बाजा बजाएर बिहे गर्दिन्छौं किनकी जिन्दगी बिताउन दुबै जनामा आत्मैदेखिको खुसी र सम्मान चाहिन्छ। ठूलोसानो जात र पारिवारिक दबाव होइन।
तपाईंहरूका पनि छोरी छन्, छोरा छन् उनीहरूको भनेजस्तो बिहे गर्दिनुस्, तपाईंहरूले नउचालेको भए मेरा बाउआमा मेरो रोजाइमा खुसी हुन्थे पक्कै यति रुष्ट हुन्थेनन्।
भागेर गएकी बहिनीलाई माइतीमा बोलायौ भने तिमीहरूलाई बाउआमा भन्दिनँ, मरेमा काजकिरिया पनि गर्दिनँ भन्ने सम्मको चेतावनी दिने मेरो दाइले थापाकी छोरी मेरी अपरिचित भाउजूले कुनैदिन नन्दलाई किन स्वीकार नगरेको भन्दै प्रश्न गरिन् भने जवाफमा के भन्छन् होला ?
ठाडो शिर पारेर मेरो बहिनी पनि तिमीजस्तै आफैं मन पराएको केटासँग भागेर बिहे गरी त्यही भएर ....भन्न सक्छौ दाइ ?
जवाफमा भाउजुले किन ? भनिन् भने उत्तर के हुन्छ दाइ ?
बाउआमा काकाकाकी पुरानो जमानाका भए पनि तिमी त मेरो दौंतरी जस्तै थियौ, कम्तिमा तिमी त कुरा बुझ्न सक्थ्यौ नि होइन र ? तिमीलाई आफूले मन पराएकी केटी छोड्न जति गाह्रो हुन्थ्यो नि मलाई पनि जिन्दगीको रथ गुडाउने कसम खाएको केटा छोड्न त्यस्तै गाह्रो हुन्थ्यो दाइ।
अब त्यो कुरा बुझ्यौ कि अझै पनि उही अवस्थामै छौ?
अहिले तिमी बाउआमा आफन्त त्याग्न तयार भयौ तर आफ्नो रोजाइमा पछि परेनौ नि। हो म पनि त्यही बाध्यतामा थिएँ दाइ।
तर तिमी क्षत्रीकी छोरी भगाउँदा पनि हाइहाइ छौ। म बाहुनकै छोरासँग भाग्दा पनि टाढाटाढा छु। आखिर नाक त नाकै हो नि होइन र दाइ?
तिमीले भगाउँदा जोगिने म भाग्दा काटिने यति कच्चा पनि नाक हुन्छ र ?
बाउआमा, आफन्त र सरकारी अड्डाका हाकिम काकाकाकी सबैलाई सामूहिक प्रश्न छ।
दाइले अर्कै जातकी केटी भगाउँदा जोगिइरहने तर म आफ्नो जातको केटासँग भाग्दा चट्ट काटिने कति कमजोर नाक रहेछ तपाईंहरूको ? म बाध्यताले भागेको हो, तपाईंहरूको अपमान सहन नसकेर।
दाइले भगाउँदा भर्रभराउँदो हुने म भाग्दा उजाड हुने कस्तो इज्जत हो तपाईहरूको ? एकमुष्ट जवाफ दिनोस् न!’