चीनको वुहानमा कोरोना भाइरसको समाचार आउन थालेदेखि कोरोनाबारे अध्ययन गर्ने, समाचार बनाउने र सम्प्रेषण गर्दै आएको थिएँ। जब यो अन्य देशमा फैलिन थाल्यो, नेपालमा पनि वुहानबाट आएका एक जनामा माघको दोस्रो साता कोरोना पुष्टि भयो।
त्यसपछि संघीय संसदको दुवै सदनमा यसबारे छलफलका विषयमा समाचार बनाउदै गएँ। चैत ११ को लकडाउनपछि कोरोना र यसले पारेको बहुआयामिक क्षेत्रबारे तीव्र बहस भयो। म पनि यसबारे समाचार बनाउनेदेखि मास्क र स्यानिटाइजर, पिपिईका बारेमा जनचेतना फैलाउनेदेखि कतिपय स्थानमा वितरण गर्नसम्म सरिक भएँ। यो अभियान चलिरहेकै थियो।
भदौ मसान्तसम्म आउँदा मैलै तीन पटक पिसिआर परीक्षण गरेँ। सबै रिपोर्ट नेगेटिभ आयो। असोजको पहिला साताको सुरूदेखि मलाई जीउ, हल्का टाउको दुख्ने भयो। त्यसपछि म एकसाता होम आइसोलेसनमा बसेँ।
ज्वरो आउने, मुख सुक्ने, अलिअलि घाँटी र छाती दुख्ने, स्वाद नहुने भयो। त्यसपछि असोज १० गते गोकर्ण प्राथमिक स्वास्थ्य केन्द्रमा गएर पिसिआर परीक्षण गरेँ। मलाइ ज्वरो १०३ डिग्रीसम्म आयो। झन् झन गाह्रो हुने, छाति दुख्ने र जीउ गल्ने भयो।
मैलै यो अवधिमा बेसारपानी, गुर्जो, सुप, अण्डा तथा मासु र फलफूल तुलनात्मक रुपमा धेरै खाएँ। तर ठीक हुनुको सट्टा मलाई छाति दुख्ने, हिँड्न गाह्रो हुने तथा राती निद्रा समेत नआउने भयो। असोज १३ गतेदेखि त झन एकदमै छाति दुख्यो र पखाला लाग्न थाल्यो।
तर रिपोर्ट नआएकाले म घरमै बसेर वाफ लिने, व्रीका विएम र कस्तुरी भूषण भन्ने झोल औषधि खाएँ। यी औषधि कोरोना संक्रमित भएर निको हुनुभएका गोपाल कार्कीले १३ गते घरमा ल्याइदिनुभएको थियो। त्यो खाए पनि हलुका महशुस भएन। चार दिनपछि बल्ल असोज १४ गते बिहान १०:४३ मा रिपोर्ट आयो। रिपोर्ट पोजेटिभ आउँछ भन्ने मलाई लागेकै थियो, पोजेटिभै आयो।
सास फेर्न एकदमै गाह्रो भइरहेको थियो। म हिँड्न नसक्ने भइसकेको थिएँ। रिपोर्ट आएपछि पनि मैलै तातोपानीको वाफ लिएर, कोदोको सुप खाएर अलि कम भइहाल्छ कि भनेर औषधि खाएर सुतेँ। तर झन् गाह्रो हुँदै गयो। अस्पताल जाने विचार गरेँ।
तर कहाँ र कुन अस्पताल जाने?
म बस्दै आएको वडाका अध्यक्ष मनोज ढुंगानालाई नेपाल मेडिकल कलेजमा बेड मिलाइदिन आग्रह गरेँ। त्यहाँ खाली नभएको जानकारी आएसँगै अफिसमा दीपेन्द्र वान्तवा दाइलाई फोन गरेँ। केही समयपछि टेकु अस्पतालमा आइसियु बेड खाली रहेको जानकारी पाएँ। म एम्बुलेन्समा अस्पताल पुगेँ।
शुक्रराज ट्रपिकल अस्पतालको इर्मेजेन्सी पुग्नेबित्तिकै मेरो सोधपुछ र सबै जाँच भयो। छाती दुखिरहेको थियो। मलाई अक्सिजन दिइयो। एक्स-रे गर्न लगियो। एक्स-रे गरेर के इर्मेजेन्सी कक्ष आइपुगेको थिएँ, मलाई छातीको सिटी गर्नपर्ने भो भन्दै सिटी स्क्यान गर्न लगियो। मलाई लाग्यो, अलि समस्या नै भएछ।
सिटी स्क्यान गरेर इर्मेजेन्सीमै फर्किएँ। मलाई पखाला लाग्न सुरू भएको थियो। ट्वाइलेट सोधेँ। म ट्वाइलेटमै थिएँ, बाहिर ढोकामा आएर महिलाले 'तपाईं छिटो निस्कनुस्' भन्दै ढोका ढक्ढक्याइन्। सोचेँ, मलाई जस्तै समस्या कसैलाई।
हतारमै निस्किएँ, नर्स उभिएकी रहिछन्।
'तपाईं आइसियु जानुपर्ने भयो, ल यसमा छिटो बस्नुस्' भन्दै ट्रलीमा बस्न आग्रह गरिन्। अक्सिजनको पाइप नाकमा जोडिदिइन्। अनि दुई जना भएर मलाई दुई तलामाथि रहेको आइसियुमा पुर्याइयो।
आइसियुको ७ नम्बर बेडमा म सुतेँ। मलाई अक्सिजन दिँदै अक्सिजन लेभल, पल्स, प्रेसर, ज्वरो सबै फेरि जाँचियो। डाक्टरसहित नर्सको ५-६जनाको टोली थियो। अक्सिजन लेभल एकदमै कम छ भनेको सुनेँ।
अनि एक्कासि भेन्टिलेटरमा राखौं भन्दै त्यही बेडमा भेन्टिलेटर मेसिन ल्याएर राखियो। आइसियु बेडमा समेत नबसेको म, यो मेरो जीवनको पहिलो घटना थियो। यसको साक्षी बन्नुबाहेक मसँग कुनै विकल्प थिएन। मेरो साथी नै भेन्टिलेटर भयो।
मलाई डाक्टर अनुप बाँस्तोलाले हेर्नुभएको थियो। भेन्टिलेटरमा बस्दा एकदमै गाह्रो हुने रहेछ। जोडले हावा आउने भएकाले सास फेर्न केही सजिलो त भयो तर दिनमै १६-१७ पटक पखाला लाग्ने भएको थियो। मैलै चार दिनसम्म भेन्टिलेटरमा बस्दा बेडबाटै दिसापिसाब गरेँ।
दोस्रो दिनदेखि झन् गाह्रो भयो। भेन्टिलेटर निकाल्नेबित्तिकै मलाई सास फेर्न एकदमै गाह्रो हुन्थ्यो। पखालाले पूरै जीउ ओइलाएको सागजस्तै भएको थियो। ट्वाइलेट पेपरले दिसा पुछ्दा पनि पाछ्ने भयो। अझ रातको समयमा धेरै गाह्रो।
सलाइन दिइएको थियो। विभिन्न औषधि तथा जीवनजल खाइरहेको थिएँ। पखाला रोकिएन। पानीभन्दा पातलो दिसा हुने, दिसा गर्दा एकदमै गाह्रो हुने, छाती उत्तिकै दुख्ने भैइरह्यो। त्यसपछि मलाई मर्छु कि क्या हो जस्तो लाग्न थाल्यो। जीवनमा भेन्टिलेटरको सहायताले पहिलो पटक सास फेर्दै थिएँ भने पखालाले शरीर लखतरान परेको थियो। योभन्दा कठिन दिन मैलै कहिल्यै भोगेको थिइनँ। भोग्न पनि नपरोस्।
भेन्टिलेटरमा मलाई २४ सै घन्टा सलाइन र अरू औषधि दिइएको थियो। फिटिक्कै निद्रा पर्दैनथ्यो। यसो दाँयाबाँया हेर्यो, सबै मजस्तै बिरामी। अझ मभन्दा अगाडि त एकदमै गम्भीर बिरामी बा मृत्युसँग पैठेजोरी खेलिरहनुभएको थियो। पछि थाहा पाएँ, उहाँ बित्नु भएछ।
शरीरमा दिइएको सलाइन थोपा-थोपा गरी खसिरहेको थियो। त्यो पनि बेला बेलामा रोकिन्थ्यो। त्यहाँ खटिएका नर्सलाइ बोलाएर फेरि सुरू गर्नुपर्थ्यो। अनि मैलै सोचेँ- जीवन आखिर के रहेछ र, एक थापो पानी त रहेछ।
यस्तै सोच्दै म मुढो लडेझैं भेन्टिलेटरमा ४ दिन बसेँ।
चार दिनपछि सास फेर्न अलि सजिलो भयो। त्यसपछि मलाई भेन्टिलेटर तयारी अवस्थामा राखेर अक्सिजन दिएर आइसियुमा राखियो। भेन्टिलेटरमाभन्दा धेरै सजिलो अक्सिजन लिएर बस्दा भयो। पखाला पनि बिस्तारै कम हुँदै गयो। आइसियुको १९ नम्बर बेडमा सारियो। चौबीसै घन्टा अक्सिजनको सहारमा आइसियुमा ६ दिन बिताएँ। छाती दुख्न अलि कम भएर अलि बोल्न मिल्ने पनि भयो।
मैले यो बेला परिवारलाई निकै मिस गरेँ। ११ महिनाको छोरो छ। म हिँडिरहनुपर्ने भएकाले कोरोनाकै डरले छोरालाई श्रीमतीले मामाघर लिएर गएकी थिइन्। छोरासँग खेल्न र बस्न पाएको थिइनँ। न छोरालाई माया दिन सकेँ न कोरोनाबाट जोगिन नै सकेँ जस्तो लाग्थ्यो।
बुवा र भाइ गाउँमा। म कोरोना संक्रमित मात्र भइनँ, भेन्टिलेटरमा मृत्युको मुखबाट जोगिन संघर्ष गरिरहेको थिएँ। सानो छोरो, श्रीमती, बुबा र भाइ अनि आफन्तको धेरै सम्झना आयो।
म तलमाथि भएँ भने के हालत होला?
यसै वर्ष आमा बित्नुभएको थियो। आन्टी पनि क्यान्सरको चौथो चरणको बिरामी। म अस्पताल आउने दिनमै आन्टीलाई अस्पतालले घर लैजानुस् भनेर पठाएछ। आन्टीले भतिजको मुख हेर्न पनि नपाउने भएँ भनिरहेकी छिन् भनेर केशव अंकलले म्यासेज गर्नुहुन्थ्यो। म गहभरि आँसु पारेर सुस्ताउनबाहेक केही गर्न सक्थिनँ।
आखिर जन्मपछि मृत्यु अवश्य हुन्छ, यो मलाई राम्रोसँग थाहा मात्रै होइन, अरूलाइ पनि सम्झाउथेँ। तर यो पीडा आफैंलाई परेपछि मैलै यो क्षण बिर्सन अनेक प्रयास गरेँ तर सकिनँ। मनमा चस्का परिरहन्थ्यो। म आफैं मृत्युको मुखमा पुग्न लागिसकेको थिएँ भने आन्टीको पनि उस्तै अवस्था।
बेला बेलामा श्रीमतीले छोरा र उनको फोटो र भिडिओ पठाउँथिन्। त्यही हेर्दै टोलाएर रात कटाएँ।
डाक्टर अनुप बाँस्तोलाको टीम अस्पतालमा २४ सै घण्टा खट्नु हुँदोरहेछ। म उहाँको व्यवहार र उपचार गर्ने शैलीमा प्रभावित भएँ। हरेक दिन ४-५ पटक आउनुहुन्थ्यो।
'अब ठीक हुन्छ, भोलि घर जाने हो' भन्नुहुन्थ्यो। म अलि खुसी हुन्थेँ। तर त्यो क्रम दोहोरिन्थ्यो।
'तपाईं युवा हुनुहुन्छ, केही हुन्न अब ठीक हुन लागिसक्यो' भनेर आएर धाप मार्नु हुन्थ्यो। उहाँ अन्य बिरामीलाई पनि उस्तै गर्नुहुन्थ्यो। मैलै सुनेको थिएँ, कोरोना संक्रमित भएको स्थानमा डाक्टर ढोकाबाट भित्र छिर्न पनि मान्दैनन रे। तर टेकु अस्पतालमा त्यस्तो थिएन। बेडमै आएर बस्ने मात्र होइन धाप मारेर 'के छ? कस्तो छ? यो औषधि खानुस् है' जस्ता कुरा गरेर दिनमा आधा दर्जनपटक आउनु ठूलो कुरा थियो।
एकातिर सरकारी अस्पताल, अर्कोतिर बिरामीको चाप एकदमै धेरै भए पनि त्यो स्तरको माया र उपचार विधि साँच्चै प्रशंसा गर्न लायक थियो। मलाई स्वास्थ्यकर्मी र चिकित्सकले दायित्वमा मात्रै पूरा गरेका होइनन्, बिरामीप्रति ठूलो गुन लगाएको अनुभूति भयो। खाजा र खाना पनि समयमै ल्याउने, सरसफाइमा उत्तिकै ध्यान दिने र बिरामीलाई साह्रै माया गर्ने तरिका टेकु अस्पतालबाट अरूले पनि सिक्न जरुरी छ।
म कोरोनाबाट जोगिन अनेक गर्दागर्दै संक्रमित भएँ। सामान्य र सुरूआती लक्षणमा खासै आत्तिनु नपर्ने रहेछ। घरमै बसेर तातोपानी र सुपहरू खाएर, योग गरेर स्वास्थ्यको ख्याल गर्दा हुने रहेछ। तर जब छाती दुख्छ, सास फेर्न र हिँड्न गाह्रो हुन्छ, पखाला धेरै लाग्न थाल्छ तब अस्पताल गइहाल्नुस्। बेसार पानी, गुर्जो अनि अरू घरेलु औषधि भनेर मात्र नबस्नुस्। नभए ज्यान जान सक्छ।
त्यस्तै हामी युवा केही हुन्न भनेर पनि नबसौं। किनकी युवा भए पनि वा कुनै रोग नभए पनि तपाईंलाई फोक्सोमा समस्या देखिएर एक मिनेट मात्रै सास रोकिए के हुन्छ? एक मिनेट मात्रै रक्तसञ्चार रोकिए के हुन्छ? उमेरको आधारमा होइन, समस्याको आधारमा ज्यान तलमाथि हुने हो। कोरोनाले फोक्सोमा असर गरेपछि निमोनिया हुने, फोक्सोमा संक्रमण हुने र अक्सिजन एकदमै घटाइदिने रहेछ। बेलैमा उपचार भएन वा अक्सिजन भएन भने ज्यानै जान केही बेर पनि नलाग्ने रहेछ।
मलाई अहिले चिकित्सकहरूले भन्नुहुन्छ- भेन्टिलेटर पुगेर फर्किने कमैमध्येमा तपाई पर्नु भएछ।
यो सुन्दा अहिले पनि जीउ सिरिंग हुन्छ। त्यसैले मैलै जस्तो अवस्था तपाईंहरूले भोग्न नपरोस्। कोरोना केही होइन, भनेर हेलचेक्रयाँइ गरेर नबसौं। सचेत र सजग बनौं।
(लेखक संसदीय मामिला पत्रकार समाजका सचिव एवं एपिवान टेलिभिजनका न्युज कोर्डिनेटर हुन्।)