थापागाउँस्थित मण्डला थिएटरमा आगामी असार पहिलो सातादेखि एकसाथ दुई नाटक मञ्चन हुने भएको छ।
मण्डलाको स्टुडियो थिएटरमा असार ७ गतेदेखि नाटक ‘कोराघाट’ मञ्चन हुनेछ भने सोही स्थानको ठूलो प्रेक्षालयमा असार ८ गतेदेखि नाटक ‘हिउँभन्दा चिसो’ को नियमित मञ्चन हुनेछ।
मण्डला थिएटर नेपालले नियमित रूपमा गर्दै आएको अभिनय प्रशिक्षण कार्यक्रम थिएटर ल्याबको एघारौं ब्याचका प्रशिक्षार्थीलाई लिएर तयार पारिएको नाटक 'कोराघाट' लाई रंगकर्मी तथा अभिनेता कमलमणि नेपालले निर्देशन गर्दैछन्।
कुमार नगरकोटीको कथा ‘कोराघाटका क्रियापुत्रीहरू’ मा आधारित नाटक असारको २१ गतेसम्म हरेक साँझ ४ बजे मञ्चन गरिनेछ।
त्यसैगरी, नाटक ‘हिउँभन्दा चिसो’ लाई साइकोलोजिकल थ्रिलर जनराको बताइएको छ।
सोमनाथ खनालले निर्देशन गर्ने नाटकमा भोलाराज सापकोटा, रेणु योगी र गोविन्द सुनारको अभिनय देख्न सकिनेछ। खनालको निर्देशनमा यसअघि ‘रमाइलो’, ‘इदमित्थम’ र ‘तीन ट्रान्जिट’ जस्ता नाटक मञ्चन भएका थिए।
करिब १ घण्टा ३० मिनेट लामो नाटक मण्डलाको प्रेक्षालयमा श्रावण १४ गतेसम्म हरेक साँझ ५:४५ बजे मञ्चन हुनेछ।