काठमाडौंको एउटा फ्ल्याटमा तीन जना युवती भाडामा बस्छन्।
एकअर्कासँग पटक्कै नमिल्ने स्वभावका उनीहरूसँग नजिक हुने धेरै कुरा छैनन्। तर पनि सँगै बस्न बाध्य छन्।
आफ्नो रूचि र स्वभावलाई मात्र प्राथमिकता दिने उनीहरूको जीवनमा यस्तो घटना घट्छ, जसले उनीहरूको एकअर्काप्रतिको बुझाइलाई छिन्नभिन्न पार्छ। योसँगै उनीहरूको विगत किताबको पानाझैं पल्टिँदै जान्छ, जसले उनीहरू जे देखिन्छन् त्यो नभएको यथार्थ खुल्छ। एक दिनको घटनाले उनीहरूले वर्षौंदेखिको कथा बताउँछ।
यो काठमाडौंको टेकुस्थित कौशी नाटकघरमा मञ्चन भैरहेको नाटक त्रयमको कथा हो।
थिएटर भिलेजको प्रस्तुति रहेको नाटकलाई दिलिप रानाभाटले लेखन तथा निर्देशन गरेका हुन्।
नाटक त्रयममा संगीता थापा, रक्षा थापा, पूर्णिमा आचार्य, श्रवण राना, सवीर चुरौटे लगायतको अभिनय छ भने नाटक आगामी २८ गतेसम्म नियमित रूपमा मञ्चन हुनेछ।