थापागाँउस्थित मण्डला नाटकघरमा जेष्ठ १६ देखि ३२ गते सम्म नाटक ‘बुद्ध र भिखारी’ मञ्चन हुने भएको छ। चुलाचुली थिएटरको प्रस्तुति रहेको नाटकलाई परिकल्पना तथा निर्देशन अनिल सुब्बाले गरेका हुन् भने नाट्य रूपान्तरण तथा अनुवादन चेतन आङ्थुपोले गरेका छन्।
नेपाली पौराणिक लोक कथालाई नाट्य रूपान्तरण गरी ‘स्याडो प्ले’ मार्फत मञ्चन गरिने निर्देशक सुब्बाले बताए। यो नाटकमा बुद्ध र चेलाको कथा छ। करिब एक घण्टा लामो नाटक सोमबारबाहेक हरेक दिन बेलुका साढे पाँच बजेदेखि सुरू हुनेछ। अतिरिक्त शो शनिबार दिउँसो १ बजे पनि मञ्चन हुनेछ।
यसअघि यो नाटक राष्ट्रिय नाचघर जमलमा आयोजित बुद्ध नाट्य महोत्सवमा र अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०७९ मा मण्डला नाटकघरमा मञ्चन भइसकेको थियो। दर्शकको रूचि बढेकोले चौथोपटक नाटक मञ्चन गर्न लागेको सुब्बाले जानकारी दिए।
नाटकमा कलाकारहरू बेदना राई, प्रतिना राई, रमिता राई, रूपेश लामा, गणेश ताण्डब, नबिन चन्द्र अर्याल, सुनिल तामाङ, सौजन सेनेहाङ लिम्बु, सन्जिब योगि, मनिश मगर, मोहन राई रहनेछन्। यसमा बाल कृष्ण राई, सुरज तमु, अनिल सुब्बा र प्रबृदि राईले संगितमा काम गर्नेछन्।