दिलिप रानाभाटको लेखन तथा निर्देशनमा नाटक 'त्रयम्' मञ्चन हुने भएको छ।
त्रिपुरेश्वरस्थित कौशी थिएटरमा जेठ १२ गतेदेखि नाटक मञ्चन हुने भएको हो।
नाटकमा काठमाडौंको एउटा फ्ल्याटमा पटक्कै नमिल्ने स्वभावका तीन जना युवती भाडामा बस्छन्। आफ्नो रूचि र स्वभावलाई मात्र प्राथमिकता दिने उनीहरूको जीवनमा यस्तो घटना घट्छ जसले उनीहरूको एक अर्काप्रतिको बुझाइलाई छिन्नभिन्न पार्छ। योसँगै उनीहरूको विगत किताबको पानाझैँ पल्टिँदै जान्छन् जसले उनीहरू जे देखिन्छन् त्यो नभएको यथार्थ खुल्छ। एक दिनको घटनाले उनीहरूको वर्षौंदेखिको कथा बताउँछ।
तीन नारी पात्रको वरिपरि घुम्ने नाटकमा संगीता थापा, रक्षा थापा र पूर्णिमा आचार्य शीर्ष भूमिका देखिनेछन्। उनीहरूलाई श्रवण रानामगर र नाथन रायन भण्डारीले साथ दिनेछन्। दिलिप रानाभाटकै परिकल्पनामा तयार भइरहेको नाटक निर्माणमा पर्दापछाडि रहेर आयुष्मा खरेलले सघाएकी छन्।
नाटक १२ गतेदेखि सुरू भएर २८ गतेसम्म चल्नेछ।
यो नाटक थिएटर भिलेजले निर्माण गरेको हो। थिएटर भिलेजले हालै 'पल्पसा क्याफे' र 'दि कन्फेसन' जस्ता नाटक निर्माण गरेको थियो।