अनुप बराल निर्देशित 'एउटा सपनाको अवसान' नाटकको मञ्चन अवधि थपिएको छ।
दर्शकले नाटक हेर्न नपाएको गुनासो गरेपछि नाटकको मञ्चन अवधि तीन दिन थपिएको हो। नाटक अब सोमबार, मंगलबार र बुधबार गरी तीन दिन थप मञ्चन हुनेछ। नाटकको नियमित मञ्चन आइतबार सकिएको थियो।
‘थुप्रै दर्शकले नाटक हेर्न पाइएन भनेर गुनासो गरेको देख्यौं। केही त घन्टौं कुरेर पनि टिकट नपाउँदा फर्कनु परेको छ। सकभर सबैलाई देखाउँ भन्ने मनसायले तीन दिन थप्ने निर्णय गरेका छौं,’ निर्माता गोविन्द पराजुलीले भने, ‘ठूलो सेट र ठूलो कलाकारको समूह दोहोर्याएर जुटाउन गाह्रो छ। त्यसैले जुटेकै समयमा सोमबारको बिदामा पनि नाटक मञ्चन गर्ने निर्णय गरेका हौं।’
निर्माता गोविन्दले अन्तिम दिन अर्थात् बुधबार १ बजे र ५ बजे गरी दुई सो मञ्चन हुने जानकारी दिए।
नाटकले सपनाको आकर्षणले मानिसलाई यन्त्रमा रूपान्तरण गर्ने र मानिस अधुरा आकांक्षा र सपनासँग जीवन त्याग गर्न बाध्य हुने कथा प्रस्तुत गर्छ।
‘द डेथ अफ सेल्सम्यान’ को नेपाली अनुवादमा शेखर चापागाईं, दिव्यदेव, दिया मास्के, मेनुका प्रधान, उत्पल झा, विकास जोशी, रोयदीभ श्रेष्ठलगायत कलाकारको अभिनय छ।
नाटक चैत १० गतेदेखि सुरू भएको थियो। नाटकलाई एक्टर्स स्टुडियो र मण्डला थिएटरसँगको सहकार्यमा गोविन प्रोडक्सनले निर्माण गरेको हो।