सामान्यतया मानिसले कुन उमेरमा आफ्नो लक्ष्यबारे सोच्छ? अर्थात आफ्नो भविष्यको सपना कहिले देख्न थाल्छ?
यी प्रश्नको सोझो जवाफ नहुन सक्छ। अनुभव वा अनुसन्धानबाट मात्र जवाफ निस्कने हुन सक्छ।
यस सन्दर्भमा रंगकर्मी आशान्त शर्माको एउटा निष्कर्ष छ– अक्सर हरेक व्यक्तिले किशोर उमेरमा आफ्नो भविष्यको सपना देख्न थाल्छ, लक्ष्यबारे सोच्न थाल्छ।
उनी यस्तो निष्कर्षमा यसै पुगेका होइनन्। यसमा किशोर उमेरका विद्यार्थीहरूको संगतले काम गरेको छ।
आशान्त उमेरले ५० छुने मेसोमा छन्। उनले लगातर सात वर्ष ललितपुरको भैंसीपाटीस्थित 'बंगेलीमा कलाकेन्द्र' मा किशोर उमेरका विद्यार्थीहरूलाई नाटक पढाए। यसपछि करिब यति नै समय 'एक्टर स्टुडियो' मा पढाए। उनले नाटकको सिद्धान्त पढाए। नाटक लेख्न सिकाए। अभिनयको प्रशिक्षण दिए।
यस क्रममा उनी हरेक विद्यार्थीलाई तिमी भविष्यमा के बन्न चाहन्छौ भनेर प्रश्न गर्थे।
सुरूमा विद्यार्थीहरू धकाउँथे। प्रेरित गर्दै गएपछि धक फुकाएरै जवाफ दिन्थे।
उनी समयको खास अन्तरालमा एउटै विद्यार्थीलाई उही प्रश्न दोहोर्याउँथे। तर धेरै जसोको जवाफ पहिलेकोसँग फरक परेको हुन्थ्यो।
यही प्रश्नमा एक जनाले जवाफ दिए– म कानुन पढेर वकिल बन्न चाहन्छु।
आशान्तले सोधे– किन?
जवाफ आयो– वकिलले धेरै पैसा कमाउन सक्छ।
अर्काे विद्यार्थीलाई सोधे। उसले आफूले गाउँमै होटल चलाएर मिठामिठा परिकार खुवाउने सपना देखेको बताए।
धेरै जसो विद्यार्थीहरू डाक्टर, इञ्जिनियर, वकिल, पाइलट, व्यापारी इत्यादि बन्ने सपना देखेको बताउँथे।
वकिल बन्छु भन्ने विद्यार्थीलाई केही दिनपछि फेरि उही प्रश्न सोधे।
फरक जवाफ आयो। उनले त मलाई चित्र बनाउन मन पर्छ, राम्रो चित्रकार बन्ने सपना देखेको छु भने।
यसरी केही दिनमा फरक फरक सपना बताउने विद्यार्थी थुप्रै हुन्थे।
आखिर किन विद्यार्थीहरूको सपना यसरी छिटोछिटो बदलिन्छ?
आशान्तले उनीहरूकै माध्यमबाट यस प्रश्नको जवाफ खोजी गरे।
सामान्यता किशोर उमेरका विद्यार्थीहरू तीन तरिकारले भविष्यको सपना देख्दा रहेछन्।
पहिलो– आफ्नो समाज, आफन्त, फिल्म इत्यादि सपनाको स्रोत हुँदा रहेछन्।
दोस्रो– आमाबाबुको इच्छाअनुसार हुँदो रहेछ। आमाबाबुले कुनै लक्ष्य तोकेका हुँदा रहेछन्।
तेस्रो– विद्यार्थीको आफ्नो सपना जो उसले आफैं देखेको हुन्छ।
आशान्त भन्छन्, 'किशोरकिशोरीका सपना थाहा पाउन मैले धेरै कोशिस गरेँ। उनीहरूलाई साथी बनाउन सक्दा मात्रै आफ्नो वास्तविक सपना बताउँछन्।'
वकिल बन्छु भन्ने विद्यार्थीलाई यो सपना उनका बाबुआमाले देखाएका थिए। चित्रकार बन्ने सपना उसको आफ्नै थियो।
आशान्त किशोर उमेरका विद्यार्थीहरूको आफ्नो सपना खोजी गर्थे र लक्ष्यमा पुग्न गर्नु पर्ने मेहनतका लागि प्रेरित गर्थे।
'मैले सपना सुनेर मात्र पुग्दैनथ्यो। सपना पूरा गर्ने बाटो पनि बताइदिनु पर्थ्यो। म यी कुरा विचार गरेर प्रेरित गर्थेँ,' उनले भने।
उनको निष्कर्ष छ– आमाबाबुले छोराछोरीको मनोभाव राम्ररी नबुझी जबर्जस्ती अनेक सपना देखाउँछन्। यसो गर्दा छोराछोरीको वास्तविक सपना यतिकै मरेर जान्छ।
'किशोर उमेरका विद्यार्थीहरूलाई आफ्नो लक्ष्य आफैं पहिचान गर्न प्रेरित गर्नुपर्छ,' आशान्त भन्छन्, 'उनीहरूले आफ्नो भविष्यको सपना आफैं देखून्। अरूको सपना थोपर्नु हुँदैन।'
उनले नाटक पढाउने क्रममा नै किशोर विद्यार्थीहरूको वास्तविक सपना पहिचान गर्ने अवसर पाए। पढाउनुअघि नै उनी रंगमञ्चमा थिए। उनले नाटकमार्फत किशोर उमेरका विद्यार्थीको वास्तविक सपना र तिनका समस्याको कथा भन्ने विचार गरे।
यसपछि 'एलआइजी पिकनिक', 'बुलेट एन्ड द बुद्ध' नामका नाटक निर्देशन गरे। हालै मञ्चन भएको नाटक 'साथी! साथी आइदेऊ' मा उनले किशोर उमेरको मनोभाव नबुझ्नु कतिसम्म घातक हुन सक्छ भन्ने कुरा बुझाउने प्रयास गरेका छन्। आत्महत्यासम्म गर्न सक्ने विषय उठाएका थिए।
पछिल्लो समय किशोरकिशोरीमा असुरक्षा बढेको ठहर गरेर आफूले उक्त नाटक निर्देशन गरेको बताउँछन्।
काठमाडौंको टेकुस्थित कौसी थिएटरमा गत महिना देखाइएको 'साथी! साथी आइदेऊ' नाटकले अभिभावकले किशोर छोराछोरीको मनोभाव नबुझ्दा आत्महत्यातिर अग्रसर भएको कथा भन्छ। उक्त नाटकले आत्महत्याको निर्णयमा पुगेको अवस्थामा उसको भावना बुझिदिने साथी पाउन सके उसको निर्णय बदलिन्छ भन्ने सन्देश दिएको छ।
किशोर उमेरमा अरूको देखासिकी गर्ने प्रवृत्ति हुन्छ। आफ्नो कुनै साथीसँग भएको महँगो फोन, महँगो कपडा, उसको जन्मोत्सवको रमाइलो इत्यादिसँग आफूलाई दाँज्ने प्रवृत्ति हुन्छ। आफूलाई साथीभन्दा कमजोर देखेको अवस्थामा उसमा नकारात्मक असर पर्छ। यस प्रकारको देखासिकी नगर्न प्रेरित गर्नु पनि 'साथी! साथी आइदेऊ' नाटकको उद्देश्य हो।
'मानिसको जीवनमा किशोरावस्था निकै महत्वपूर्ण हुन्छ। भविष्यको सपना देख्ने र असल बाटो समाउने समय यही हो,' आशान्त भन्छन्, 'यो समयमा उनीहरूको मनोविज्ञान बुझेर प्रेरित गर्न सकिएन भने गलत बाटो समाउने सम्भावना हुन्छ।'
उक्त नाटकमा उनले 'साथी' पात्र बनेर अभिनय गरेका छन् जहाँ साथीले एक किशोरीलाई आत्महत्या गर्नबाट बचाउँछ। साथीमार्फत नै किशोरी आफूमा उत्पन्न नकारात्मक धारणा बदलेर जीवनको बाटोमा अघि बढ्छिन्।
'किशोरकिशोरीको मनमा धेरै कुरा गुम्सेका हुन्छन्। ती कुरा सुनाउन असल साथी चाहिन्छ। साथी उही उमेर समूहको हुनुपर्छ भन्ने छैन,' आशान्त भन्छन्, 'आमाबाबु, दिदीबहिनी, दाजुभाइ, शिक्षक जो पनि साथी बन्न सक्छन् जसले उनीहरूलाई सही तरिकाले बुझ्न सकून्।'
उनले आफ्नो किशोरवयको कुरा सुनाए।
गरिबीका कारणले आफ्नो किशोरवस्था निकै सकसपूर्ण रहेको उनले बताए।
'मैले किशोरवस्था बिताएँ कि बिताइनँ थाहा छैन। धेरै दुःखको समय थियो,' उनले भने, 'अहिले नाटकका विषयमा पनि किशोरावस्थामा मैले पाउन नसकेका कुराहरू गाँसिएर आएका हुन्छ।'
आमाबाबुहरू बाल्यावस्था र किशोरावस्थामा आफूले पूरा गर्न नपाएको रहर आफ्ना छोराछोरीले पूरा गरून् भन्ने चाहन्छन् भन्ने उनलाई लागेको छ।
'आमाबाबुले आफ्नो र आफ्ना छोराछोरीको समय र बदलिँदो चाहना बुझ्नु पर्छ। यो पक्ष नबुझ्दा किशोर उमेरमा समस्या उत्पन्न हुन्छ। त्यसले दूर भविष्यसम्म नकारात्मक असर पुर्याउँछ,' उनी भन्छन्।
आशान्तका अनुसार अहिलेका किशोरकिशोरीको समस्याको जड परिवार, समाज र सामाजिक सञ्जालले देखाइदिएको सपना हो। यसबाट उनीहरूको सिर्जना शक्ति क्षय भएको छ।
'कसैसँग दाँजेर तिमी पनि ऊ जस्तो बन्नुपर्छ भन्ने कुराले किशोरकिशोरीको मनोविज्ञानलाई सामान्यीकरण गर्छ। यसो गर्दा आफूमा अन्तर्निहित क्षमता उजागर हुन पाउँदैन,' उनले भने, 'कोही जस्तो बन्न होइन, आफ्नो क्षमतामा अघि बढ्न प्रेरित गर्नुपर्छ।'
नवलपरासीमा जन्मेहुर्केका आशान्तले गाउँमा 'रामलीला' हेरेका थिए। त्यसलाई नाटकका रूपमा बुझेका थिए। रामलीलाले उनमा नाटकको रस बसाइदियो। करिब ३० वर्षअघि वीरगन्जको सिटी हलमा पहिलोपटक एउटा नाटकमा मुख्य पात्रको भूमिकामा अभिनय गर्ने अवसर पाए।
उनका लागि नाट्य यात्रामा त्यही अभिनयको पहिलो खुड्किलो भइदियो। काठमाडौं आएर नाटकका काम गरे। नृत्य सिकाउने काम गरे। त्यसकै आम्दानीले खर्च चलाए।
नाटकमा अभिनय गर्ने अवसर फराकिलो हुँदै गयो। उनले फिल्म लेखक तथा अभिनेता अनुप बरालसँग नाट्य प्रशिक्षण लिने अवसर पनि पाए।
उनले भने, 'अनुप सरसँग नाटक सिक्न मन थियो। उहाँसँग ६ महिना पढेँ, धेरै कुरा सिकेँ।'
यसपछि उनले फिल्ममा पनि काम पाए। नेपाली फिल्म 'कुसुमे रूमाल' मा अभिनय गरे। नाटक मात्र गर्दा जीविका चलाउन उनलाई गाह्रो थियो। फिल्ममा काम गर्दा दुईचार पैसा भयो। उनका दर्शक पनि बढे।
उनका अनुसार जुन काममा पनि अब्बल हुन आवश्यक हुन्छ। कला क्षेत्रमा यसको झन् बढी महत्व हुन्छ।
'कला क्षेत्रमा अघि बढ्न निकै चुनौती हुन्छ। नचम्केसम्म कसैले वास्ता गर्दैन। काम पाउन पनि कठिन हुन्छ,' उनी भन्छन्। आशान्तले पनि यस्तै भोगेर आएका हुन्। कडा परिश्रमबाट आफूलाई अघि बढाए।
उनले हालसम्ममा डेढ दर्जन नाटक निर्देशन गरेका छन्। उनी किशोर उमेरलाई लक्षित गरेर आफूले बनाएका नाटक देशभरिका स्कुलमा देखाउन चाहन्छन्। यसनिम्ति उपयुक्त अवसरको खोजीमा छन्।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी