लोकगायक प्रकाश दुतराजको पछिल्लो गीत 'छैन र माया' युट्युबमा करोड क्लबमा प्रवेश गरेको छ।
दसैंको अवसर पारेर सार्वजनिक यो गीतले एक महिना नपुग्दै एक करोडभन्दा बढी भ्युज पाएको हो। रिलिजको २५ दिनमै गीतलाई एक करोडभन्दा बढीपटक हेरिएको हो।
प्रकाश र मेलिना राईको स्वर रहेको यो गीत रिलिजसँगै टिकटक, रिल्स लगायतका प्लेटफर्ममा समेत चर्चामा रह्यो।
प्रकाशले पछिल्ला वर्षहरूमा दसैंको अवसरमा नयाँ गीत ल्याइरहेका छन्। दुई वर्षअघि दसैंमा रिलिज 'रिमै' र गत वर्षको 'रेशम' पनि निकै रूचाइएको थियो।
यसपालिको 'छैन र माया' को कुरा गर्दा यसको शब्द तथा संगीत प्रकाशकै हो। गीतमा कृष्ण केसीले संगीत संयोजन गरेका छन्। प्रेमकथा बोकेको गीतको भिडिओ मुस्ताङ जिल्लाको रमणीय स्थानमा खिचिएको छ।
सुन्दर दृश्यहरूमा खिचिएको भिडिओमा प्रकाश स्वयंका साथमा अञ्जली जिसीको अभिनय छ। अञ्जलीको यो पहिलो म्युजिक भिडिओ हो। मुकेश नेपालीको कोरियोग्राफी, अनिल के. मानन्धरको छायांकन रहेको भिडिओ नवीन घर्ती मगरले निर्देशन तथा सम्पादन गरेका हुन्।