धरान रंगशालामा भव्य सांगीतिक कार्यक्रम 'त्रिगुट म्युजिकल नाइट' आयोजना हुने भएको छ। यही साउन १६ गते यो कार्यक्रम हुन लागेको हो।
हश क्रिएसन्स, दृश्यः सि द अनसिन, र इफ्लिक्स इन्टरटेन्मेन्ट युकेले संयुक्त रूपमा यो कार्यक्रम गर्न लागेका हुन्।
आयोजकहरूका अनुसार १६ गते शुक्रबार दिउँसो ३ बजेदेखि कार्यक्रम सुरू हुनेछ। कार्यक्रममा चर्चित ब्यान्डहरू स्वर, रकहेड्स र द फिरन्तेले प्रस्तुति दिनेछन्। यी ब्यान्डहरूले आफ्नो लोकप्रिय गीतहरू प्रस्तुत गरेर दर्शकहरूलाई झुमाउनेछन्।
कार्यक्रममा भ्वाइस अफ नेपालका लोकप्रिय गायकहरू सार्थक लामा र प्रमेश राई पनि मञ्चमा उत्रिनेछन्। साथै, धरानका चर्चित ब्यान्डहरू आस्था एण्ड द ब्रदर्स, द क्राइसिस र दि एलाइज ब्यान्डको पनि उत्साहजनक प्रस्तुति रहनेछ। यी कलाकारहरूको उपस्थिति कार्यक्रमलाई थप आकर्षक बनाउने देखिन्छ।
कार्यक्रमका आयोजक आकाश रावल भन्छन्, 'त्रिगुट म्युजिकल नाइट अघिल्ला कन्सर्टहरूभन्दा धेरै फरक हुनेछ। भीआइपी, फ्यानपिट र जनरल जोन स्पष्ट रूपमा छुट्याइएको छ। साथै, सम्पूर्ण कार्यक्रम सुरक्षित र व्यवस्थित बनाउन आवश्यक सबै तयारी पूरा गरिएको छ।'
धरानको संगीत क्षेत्रमा निकै ठूलो अपेक्षा राखिएको यस कन्सर्टलाई लिएर स्थानीय मात्र होइन, आसपासका सहरहरूबाट पनि दर्शकहरूको उपस्थिति रहने अनुमान गरिएको छ।