चर्चित लोकगायिका विष्णु माझीको स्वरमा डेढ महिनाको अन्तरमा दुइटा गीत सार्वजनिक भए। तीजमा रिलिज 'आइन आमा यो तीजमा' ले निकै चर्चा पायो।
दसैंमा सार्वजनिक 'परदेशी मेरो परदेशी' ले भने अपेक्षित चर्चा पाउन सकेको छैन। टीकाको तीन दिनअघि मात्रै माझीको स्वरमा दसैं गीतको भिडिओ सार्वजनिक भएको थियो।
यो गीतलाई मंगलबार बिहानसम्म युट्युबमा ३ लाखपटक हेरिएको छ, जुन विष्णु माझीको गीतका लागि निराशाजनक भ्युज हो।
उसो त यसपटक विष्णु माझीको दसैं गीतको अडिओ तीन साताअघि नै युट्युबमा रिलिज गरिएको थियो। अडिओले एक खालको चर्चा समेत पाएको थियो। पहिले अडिओ ल्याएर तीन सातापछि मात्रै भिडिओ ल्याउँदा भिडिओको भ्युजमा असर परेको हुनसक्ने संगीतकर्मीहरू बताउँछन्।
विष्णु माझीका यसअघिका दसैं गीतले राम्रो चर्चा पाउने गरेका थिए।
हेमन्त शर्माको 'आउँथ्यो दसैं' को चर्चा
विगतका वर्षमा जस्तै यसपालि पनि दर्जनौं दसैंलक्षित गीत सार्वजनिक भए। तर चर्चा सीमित गीतलाई मात्र मिल्यो। जसमध्ये स्रोता दर्शकको सर्वाधिक ध्यान तान्न सफल गीत बन्यो हेमन्त शर्माको, –'आउँथ्यो दसैं'।
यो गीत टिकटक र फेसबुक रिल्समा छाएको छ। अहिले पनि युट्युब ट्रेन्डिङमा रहेको गीतको भिडिओलाई तीन सातामा ६७ लाखभन्दा बढीपटक हेरिएको छ।
यस गीतमा गायक हेमन्त शर्माकै शब्द, संगीत छ। शर्मा र मेलिना राईको युगल स्वर सुन्न सकिन्छ। मौसम हिमालीको निर्देशन एवं कोरियोग्राफी रहेको भिडिओमा गायक शर्मासँगै मोडल रजनी गुरूङ लगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ।
यो गायक शर्माको पहिलो दसैं गीत हो।