रूसी राष्ट्रपति भ्लादिमिर पुटिन यही डिसेम्बर ४–५ मा भारतको राजकीय भ्रमण गर्दै छन्।
यस क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनको भेटवार्ता हुनेछ। राष्ट्रपति द्रौपदी मुर्मुले पुटिनको सम्मानमा रात्रिभोज दिने छिन्।
अन्तर्राष्ट्रिय समाचार संस्था 'बिबिसी' का अनुसार सन् २०२१ पछि पुटिन पहिलो पटक भारत–रूस वार्षिक शिखर सम्मेलनका लागि नयाँ दिल्ली आउन लागेका हुन्।
भारत र रूसबीच 'विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी' छ। यी दुई देश धेरै महत्त्वपूर्ण समयमा एकअर्काको पक्षमा सँगसँगै उभिँदै आएका छन्।
पुटिनको यो भ्रमणमा भारत र रूसले थप एस-४०० प्रणाली र सुखोई–५७ लडाकू विमानबारे रक्षा सम्झौतामा छलफल अघि बढाउन सक्छन्।
त्यस्तै, अमेरिकाले रूसको कच्चा तेलमा लगाएको प्रतिबन्धबीच ऊर्जा क्षेत्रमा सहकार्यबारे वार्ता पनि हुन सक्ने अनुमान छ।
पुटिनको भारत यात्रा दुई देशबीच परमाणु ऊर्जा, प्रविधि र व्यापार क्षेत्रमा भएका द्विपक्षीय सम्बन्धको समीक्षा गर्ने अवसर पनि हुने बिबिसीले लेखेको छ।
रूसका विदेश नीति सल्लाहकार युरी उशाकोभले रूसी सरकारी टेलिभिजनसँग कुरा गर्दै अन्तर्राष्ट्रिय मुद्दाहरूमा गहन छलफल हुने उल्लेख गरेका छन् र यो यात्रालाई 'भव्य र सफल' हुने बताएका छन्।
पुटिनको यात्रा भारतको रणनीतिक स्वायत्तताको संकेत पनि मानिन्छ।
युक्रेन युद्धबीच पश्चिमी देशहरूले रूसलाई अलग गर्न दिएको दबाब भारतले निरन्तर टार्दै आएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले भारतमाथि उच्च भन्सार महसुल र प्रतिबन्ध लगाएका छन् र यसले भारत–अमेरिका सम्बन्धमा असर गरेको छ। यी घटनाक्रमबीच पुटिनको यात्राले भारत–रूस रक्षा सम्बन्धलाई अझ मजबुत बनाउने र विश्व सुरक्षाको स्वरूपलाई नयाँ दिशामा लैजान सक्ने विश्लेषकहरू बताउँछन्।
भारतको राष्ट्रिय टेलिभिजन च्यानल दूरदर्शनसँग कुरा गर्दै पूर्वमेजर जनरल मञ्जीव सिंह पुरीले दुई मुलुक उच्च स्तरमा एकसाथ आउनुले विशेष महत्त्व राख्ने बताएका छन्।
'हालै 'अपरेशन सिन्दूर' क्रममा रूसबाट प्राप्त हतियार, विशेषगरी एस-४०० ले भारतका लागि महत्त्वपूर्ण भूमिका खेले,' उनले भने, 'अत्याधुनिक लडाकू विमान एसयू–५७ बारे पनि सबै तहमा छलफल भइरहेको छ। दुवै देश ऐतिहासिक साझेदार मात्र होइनन्, अब परमाणु ऊर्जा लगायतका नयाँ क्षेत्रमा पनि साझेदारी बढाइरहेका छन्।'
युक्रेनमाथि रूसले आक्रमण गर्नुअघि भारत–रूसका शीर्ष नेताहरूको वार्षिक शिखर बैठक नियमित हुन्थ्यो। तर पुटिनले युक्रेन युद्धमा परमाणु हतियार प्रयोग गर्न सक्ने धम्की दिएका कारण भारतले डिसेम्बर २०२२ मा उच्चस्तरीय बैठक नगरेको ब्लुमबर्गले शीर्ष स्रोतहरूलाई उद्धृत गर्दै लेखेको थियो।
गत वर्ष अक्टोबर २०२४ मा ब्रिक्स सम्मेलन क्रममा पुटिन र मोदी भेटिएका थिए। युक्रेन युद्ध सुरू भएपछि प्रधानमन्त्री मोदीले सन् २०२४ जुलाईमा पहिलो पटक रूस भ्रमण गरेका थिए, जुन उनको तेस्रो कार्यकालको पहिलो द्विपक्षीय भ्रमण थियो। कीएभको एक बाल अस्पतालमा रूसी मिसाइल आक्रमण भएको एक दिनपछि अन्तर्राष्ट्रिय आलोचनाबीच पुटिन–मोदी भेट भएको थियो।
उक्त भेटमा पुटिनले मोदीलाई अँगालो हालेका थिए र 'मित्र' भनेर सम्बोधन गरेका थिए।
मोदीको दुई पटकको रूस भ्रमणपछि पुटिनको भारत भ्रमणबारे रिपोर्टहरू आउन थालेका थिए। रूस–भारत सम्बन्ध र पुटिनको सम्भावित भ्रमणबारे ब्लुमबर्गले लेखेको थियो, 'मोदी पुटिनलाई भेट्न रूस पुगेपछि अमेरिकामा चिन्ता देखापर्यो। अमेरिका युक्रेन युद्धका कारण पुटिनलाई अलग गर्न चाहन्छ, तर एसिया–प्रशान्तमा चीनलाई सन्तुलनमा राख्न भारत आवश्यक छ।'
शीत युद्धको समयदेखि नै भारत–रूसबीच घनिष्ठ सम्बन्ध रहँदै आएको छ। भारत रूसका हतियारहरूको सबभन्दा ठूलो खरिदकर्ता मुलुकमध्ये एक हो। युक्रेन युद्धपछि अमेरिकाले रूसको कच्चा तेलमा लगाएको प्रतिबन्धका कारण भारत रूसी तेलको सबभन्दा ठूलो खरिदकर्ताका रूपमा उदाएको छ।
पुटिनको प्रस्तावित भारत भ्रमणबारे ब्लुमबर्गले लेखेको थियो, 'यदि पुटिन भारत जान्छन् भने यसले उनी विदेशी यात्रा गर्न थप आत्मविश्वासी बन्दै गइरहेको संकेत गर्छ, विशेषगरी गत वर्ष मार्चमा अन्तर्राष्ट्रिय अपराध न्यायालयले उनीविरूद्ध युद्ध अपराधको आरोपमा जारी गरेको गिरफ्तारी वारन्टपछि।'
फरेन पोलिसी पत्रिकाले एक लेखमा भनेको छ, 'पुटिनको आगमनको पूर्वसन्ध्यामा भारतले ठूलो रणनीतिक पुँजी खर्च गरेको छ।'
यस उद्देश्यका लागि भारतीय विदेशमन्त्री एस जयशंकर यसै महिना मस्को पुगेका थिए। उनले संघाई सहयोग संगठनको बैठकका साथै पुटिनसँग पनि भेट गरेका थिए।
यसअघि गत अगस्टमा जयशंकर र भारतीय राष्ट्रिय सुरक्षा सलाहकार अजित डोभालले पनि मस्को भ्रमण गरेका थिए।
पुटिनको भारत भ्रमण त्यस्तो समय हुँदैछ, जब हालै पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच वार्ता असफल भएको थियो। दुवै नेताहरूको अगस्टमा अलास्कामा भएको बैठक कुनै खास नतिजाबिना सकिएको थियो।
त्यसपछि ट्रम्प प्रशासनले सीमित मात्रामा नेटो सहयोगीहरू मार्फत युक्रेनलाई हतियार पठाइरहेको छ। यही महिना अमेरिकाले युक्रेनलाई पहिले दिएका पैट्रियट मिसाइल प्रणालीको अपग्रेड पनि उपलब्ध गराएको छ।
फरेन पोलिसीमा प्रकाशित लेखमा स्ट्यानफोर्ड विश्वविद्यालयको हुवर इन्स्टिच्युटका वरिष्ठ फेलो सुमित गांगुलीले लेखेका छन्, 'भारत र रूस दुवै अमेरिकाबाट दबाब महसुस भइरहेकाले एक–अर्कासँग नजिकिँदै छन्।'
ट्रम्पले पूर्वराष्ट्रपति जो बाइडेनको कठोर रूस नीति नअपनाए पनि र हालै एउटा शान्ति प्रस्ताव सार्वजनिक गरेका छन्। तैपनि रूस अझै अमेरिकाप्रति असन्तुष्ट छ, किनकि अमेरिका निरन्तर युक्रेनलाई समर्थन गरिरहेको छ।
भारतले ठूलो मात्रामा रूसी कच्चा तेल किनिरहेकाले ट्रम्प प्रशासनको निशानामा परेको छ। तर धेरै विश्लेषकको भनाइ अनुसार ट्रम्पको वास्तविक असन्तुष्टि उक्त तेलसम्बन्धी होइन, मे महिनामा पाकिस्तानसँग भएको सैन्य तनाव अन्त्य गर्न उनले खेलेको भूमिकालाई मान्यता नदिएकोमा हो।
फरेन पोलिसीले लेखेको छ, 'भारत–पाकिस्तान संकट सकिएको केही समयपछि मोदीले ट्रम्पका चार फोन उठाएनन्। त्यसपछि ट्रम्पले भारतका धेरै सामानमा ५० प्रतिशतसम्म महसुल लगाइदिए।'
भारत–अमेरिका सम्बन्ध कमजोर भइरहँदा भारतले रूसतर्फ झुकाव देखाउनु आश्चर्यको कुरा होइन। यसबीच नयाँ दिल्लीको भ्रमणमार्फत भारत र रूस दुवैले विश्वलाई एउटा संदेश दिनेछन् — दुवैसँग शक्तिशाली मित्र छन्।
फरेन पोलिसीले लेखेको छ, 'यो सन्देश पक्कै पनि अमेरिकासम्म पुग्नेछ। तर ट्रम्प भारत–रूसबीच बढ्दै गएको न्यानो सम्बन्धबारे के प्रतिक्रिया दिनेछन्—यो अनिश्चित छ।'