अहिलेका चर्चित हास्य कलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) को दोस्ती जमेको १२ वर्ष भयो।
त्यसअघि उनीहरू छुट्टाछुट्टै सिरियलमा काम गर्दै थिए, चर्चामा भने आइसकेका थिएनन्।
उनीहरूको पहिलो भेट हास्य कलाकार र फिल्म कलाकारबीच आयोजित फुटबल प्रतियोगितामा भयो। कुमार खेलाडीकै रूपमा मैदानमा ओर्लिएका थिए भने अर्जुन हास्य कलाकार टोलीको समर्थक बनेर खेल हेर्न पुगेका थिए।
'उहाँले (कुमार) बल खुट्टामा पर्नेबित्तिकै गोलपोस्ट पुर्याइहाल्नुहुन्थ्यो। यो मान्छे को रहेछ भन्ने कौतूहल भयो,' सेतोपाटीको भिडिओ शृंखला 'कन्भरसेसन' मा एकअर्कासँग कुरा गर्दै अर्जुनले पहिलो भेट सम्झे, 'प्रतियोगिता सकियो। त्यसै दिन बेलुकी प्रतियोगीहरूका लागि पार्टी आयोजना गरिएको थियो। त्यो पार्टीमा पहिलोपटक हाम्रो कुराकानी भयो।'
पार्टीमा कुमारले गीत गाएका थिए। अर्जुनलाई उनको गीतले तान्यो। त्यही मौकामा संक्षिप्त कुराकानी पनि भयो।
केही समयपछि सँगै मिलेर काम गर्ने उद्देश्यले उनीहरू फेरि भेटे। त्यस बेला 'सिस्नुपानी झ्याम्मै' सिरियल गरिरहेका अर्जुन राम्रो सहकर्मीको खोजीमा थिए।
अर्जुन सम्झन्छन्, 'म एक्लैजस्तो थिएँ। मार्केटिङ एक्लै, टेलिभिजनमा पैसा हाल एक्लै। लेख्ने र निर्देशन गर्ने अरू हुनुहुन्थ्यो, बाँकी सबै बन्दोबस्त आफै मिलाउनुपर्थ्यो।'
सहकार्य गर्ने सहमति भएपछि कुमार र अर्जुनको गठबन्धन सुरू भयो।
कुमार पहिलोपटक 'सिस्नुपानी झ्याम्मै' मा जोडिए। १८ भागको यो सिरियल बन्द भएपछि उनीहरूले नयाँ सिरियलका लागि मिडिया हबसँग कुरा बढाए।
त्यो यस्तो समय थियो, जतिबेला मिडिया हबबाट सिरियल ल्याउन कलाकारहरूबीच चर्को प्रतिस्पर्धा हुन्थ्यो। अधिकांश चलेका सिरियल मिडिया हबले नै उत्पादन गर्थ्यो।

मिडिया हबसँग सहमति भएपछि कुमार र अर्जुन बसेर नयाँ सिरियलको नाम 'भद्रगोल' जुराए। डमी खिचेर मिडिया हबका कार्यकारी निर्देशक सोम धिताललाई बुझाए।
'हामीलाई १३ भागसम्म समय दिनू। त्यतिञ्जेल पनि भद्रगोलले कुनै छाँट देखाएन भने हामी फर्केर आउँदैनौं भन्यौं,' कुमारले सम्झिए।
यसैमा अर्जुनले थपे, 'उहाँले हामीलाई विश्वास गर्नुभयो। हाम्रो लागि त उहाँ गड्फादर नै हुनुहुन्छ।'
भद्रगोल सिरियलले सुरूदेखि दर्शकको औधि माया पायो। सहरदेखि गाउँसम्मका दर्शकले खुब रूचाए। आज कुमारले 'जिग्री' का रूपमा र अर्जुनले 'पाँडे' का रूपमा जुन ख्याति कमाएका छन्, त्यो भद्रगोल सिरियलकै देन हो। उक्त सिरियलका अन्य पात्र पनि दर्शकहरूबाट रूचाइएका छन्।
त्यसपछि त जिग्री-पाँडे उर्फ कुमार-अर्जुनको जोडीलाई स्टेज कार्यक्रमबाट समेत प्रशस्त अफर आउन थाल्यो।
यता जोडी हिट हुँदै थियो, उता पर्दापछाडि उनीहरूका दुःख अनेक थिए। दर्शकको जुन खालको माया पाइरहेका थिए, त्यसमा कमी नआओस् भनेर उनीहरू दिनरात मिहिनेत गर्थे। रात-रातभर बसेर कथा लेख्थे। रातदिन छायांकन गर्थे। अघिल्ला एपिसोडका कमजोरी सुधार्दै अघि बढे।
भद्रगोलको अपार सफलतापछि उनीहरूले 'सक्किगोनि' सुरू गरे। यो सिरियल पनि एकदमै रूचाइयो।
'भद्रगोल' र 'सक्किगोनि' मा उनीहरू कलाकार मात्र थिएनन्। लेखन र निर्देशन पनि आफैले गरेका थिए। यो सिरियल तेस्रो सिजनको ९० भागसम्म प्रसारणमा आइसकेको छ।
यहाँसम्म आइपुग्दा कुमार र अर्जुनको सहकार्यले एक दशक नाघिसकेको थियो। उनीहरू अब सानोबाट ठूलो पर्दामा फड्को मार्न चाहन्थे।
उनीहरूमा ठूलो पर्दाको सिनेमा बनाउन रूचि जाग्नुको मुख्य कारण दर्शकहरूको माया नै हो। सिरियल बनाइरहँदा कतिपय दर्शकले भन्थे – सक्किगोनि टिमबाट पनि सिनेमा ल्याउनुस् न!
यही मायाले हौसिएर उनीहरूले केही वर्षअघि सिनेमाको डिजाइन गरे। र, अन्ततः 'सक्किगोनि' टिमबाटै सिनेमा बनाए — लाज शरणम्।
जिग्री र पाँडेको यो सिनेमा फागुन १४ बाट देशव्यापी प्रदर्शन हुँदैछ।
सिरियलदेखि सिनेमासम्मको यात्रामा आफूहरूबीच कहिल्यै झगडा नभएको उनीहरू बताउँछन्। कहिलेकाहिँ आफ्नो दोस्तीलाई लिएर बजारमा विभिन्न हल्ला चल्ने गरेको उनीहरूको गुनासो छ।
सिरियल दुवैले निर्देशन गरेको तर सिनेमा आफूले मात्र निर्देशन गरेकोलाई लिएर बढी चासो आउने गरेको कुमारको भनाइ छ।
'हामीबीच त्यस्तो केही नराम्रो थियो भने लाज शरणम् बन्दै बन्दैन थियो,' कुमारले भने, 'हामीलाई केही नयाँ काम गर्नुछ। दर्शकमाझ नयाँ चिज ल्याउनुछ। यो हामी दुवैले मिलेर गरेको काम हो। मैले कथा र निर्देशनको पाटो हेरेँ, निर्माणको पाटो उहाँले हेर्नुभयो। उहाँले निर्माणको ठूलो काँध थापेपछि मैले निर्देशन सम्हालेको हुँ।'
कुमारको कुरामा सहमति जनाउँदै अर्जुनले भने, 'जिग्रीले सक्किगोनि सिरियलको ५०-६० एपिसोड खेलेन्, त्यसैले यिनीहरूबीच टकराव छ भनेर केहीले भन्दा रहेछन्। उहाँले सक्किगोनि पनि खेल्नुभएको भए हामीलाई यो फिल्म बनाउनै गाह्रो हुन्थो।'
एकअर्कालाई बुझेर काममा सहकार्य गरेर नै आफूहरू यहाँसम्म आइपुगेको उनीहरूको भनाइ छ।
यति बेला जिग्री र पाँडे दुवै उत्साहित छन्। उनीहरूले सिरियलबाट दर्शकको प्रतिक्रिया युट्युबमा तुरून्तै पाउँथे। यसपटक हल-हलमा पुगेर दर्शकलाई प्रत्यक्ष भेट्न र प्रतिक्रिया लिन उत्साहित रहेको उनीहरूले बताए।
हेर्नुहोस्, जिग्री र पाँडेको भिडिओ कुराकानी—