सानैदेखि गाउन थालेका प्रशान्त शिवाकोटीले यसअघि केही गीत ल्याए, तर सोचेजस्तो चर्चा पाएनन्।
उनी विभिन्न रियालिटी शोमा पुगे, तर त्यहाँ पनि सफल भएनन्। धेरैमा त सुरूको अडिसनबाटै फालिए।
आज स्थिति यस्तो छ, प्रशान्तको गीत भनेपछि दर्शक-स्रोता यसै झुम्मिन थालेका छन्। उनको स्वर र संगीत धेरैको रोजाइमा परेको छ।
पछिल्लो सुपरहिट फिल्म 'पूर्णबहादुरको सारंगी' को यो गीत त तपाईंहरूले सुन्नुभएकै होला —
भुइँसम्मै टेकेँ मैले, तिमी टेक्नु धुरी
पाखुरीमा तागत रहेसम्म बोकी हिँड्छु
हालेर काँधेकुरी, हालेर काँधेकुरी
फिल्म रिलिज भएको केही सातापछि नै यो गीतले चर्चा पाउन थालेको हो। अहिले यो फेसबुक रिल्सदेखि टिकटकसम्म सुपरहिट छ। बच्चादेखि वृद्धसम्मले रूचाएका छन् र गीतमा भिडिओ बनाएका छन्।
प्रशान्तले यस्तै गीतको रचना तीन-चार वर्षअघि नै गरेका थिए। सारंगी बजाउँदै गीत गाइरहेका गन्धर्वको कल्पना गरेर रचेको सो गीत जीवनको आरोह-अवरोहदेखि मायाप्रेम र भावनाले भरिएको थियो।
उनले त्यति बेला गीत त रचे, रेकर्ड भने गराएनन्।
नजिकका साथीभाइलाई सुनाउँदा सबै जना राम्रो छ भन्थे। तिनैमध्ये प्रभिल कंडेल भन्ने साथी फिल्म-निर्देशक सरोज पौडेलसँग नजिक थिए।
पछि जब सरोजले 'पूर्णबहादुरको सारंगी' फिल्म बनाउने तयारी सुरू गरे, तब उनलाई प्रभिलले भनेछन्, 'मेरो एक जना भाइले एउटा राम्रो गीत बनाएको छ। उसलाई फिल्ममा अवसर दिनुपर्छ, राम्रो गर्छ।'
प्रभिलकै सल्लाहअनुसार सरोजले प्रशान्तसँग भेटे। उनको गीत सुने।
सरोजलाई गीत मन परे पनि आफ्नो फिल्ममा सुहाउँदैन कि भन्ने लाग्यो।
प्रशान्तले सेतोपाटीसँगको कुराकानीमा निर्देशकले भनेका कुरा सम्झिए,–
'हाम्रो फिल्म बाबुछोराको सम्बन्धमाथि छ। हामीलाई चाहिने गीतको भाका तपाईंले बनाएजस्तै हो। यही भाकामा बसेर बाबुछोराको सम्बन्धबारे अर्को गीत लेख्न सक्नुहुन्छ?' सरोजले प्रशान्तसँग भने।
प्रशान्त राजी भए।
त्यसको एक घन्टामै प्रशान्तले पुरानै भाकामा नयाँ गीत बनाएर पठाए — काँधेकुरी।
त्यति छिटो कसरी तयार भयो त यो गीत?
जबाफमा उनले भने, 'पहिलोपटक फिल्ममा काम पाएको भएर एकदमै उत्साहित भएँ हुँला। पठाओमा जाँदाजाँदै कति शब्द फुराइसकेको थिएँ। अर्कोले काम लैजान्छ कि भन्ने डर पनि भयो होला।'
गीतमा बाबुछोराको भावनात्मक सम्बन्ध झल्काउनुपर्ने थियो। बाबुले गरेको त्याग, संघर्ष, दुःख र छोरामा देखेको सपनालाई गीतमा प्रस्तुत गर्नुपर्ने थियो।
'आज हाम्रो बुबाले आफ्ना सन्तानका लागि जे गरिरहनुभएको छ, अरूका बुबाले पनि त्यही गर्नुहुन्छ होला,' प्रशान्तले भने, 'भोलि हामी बुबा बनेपछि हामी पनि त्यही गर्छौं होला। यो त हरेक व्यक्तिको भावनासँग जोडिएको विषय भएकाले मलाई गीत लेख्न सजिलै भयो।'
'बाबुलाई ठूलो भएको कपडा सानो बनाएर लगाउने सन्तान कति होलान्! दाइलाई सानो भएको कपडा भाइले लगाउने, दिदीलाई ठूलो भए बहिनीले लगाउने पनि हाम्रो समाजमा सामान्य कुरा हो। म आफैले कयौंचोटि बुबाको कपडा सानो बनाएर लगाएको छु। गत वर्ष दसैंमा त्यही गरेँ,' उनले अगाडि भने, 'पैसा नभएर होइन। एउटा अर्कै खालको भावना हुँदो रहेछ। त्यही भावनालाई फिल्मको कथाअनुसार गन्धर्व समुदाय र गरिब परिवारको परिवेशमा ढालेर गीत रचना गर्नुपर्ने थियो।'
उनका अनुसार यो गीतले आफू नांगिएर पनि छोराको आङ ढाक्ने बाबुको पीडा झल्काएको छ।
यही परिवेशमा प्रशान्तले लेखे —
पढाइ लेखाइ ठूलो मान्छे बनाउने रहर
गाउँमै बित्यो आफ्नो जीवन छोरो पुगोस् सहर
आफूले बनाएका गीत सुनाइसकेपछि प्रशान्तलाई फिल्मको टिमबाट गज्जबको प्रतिक्रिया आयो। उनलाई भोलिपल्टै निर्माता-निर्देशकले सम्झौता गर्न बोलाए। एउटा मात्र होइन, बाँकी ६ वटा गीतको जिम्मा पनि उनैले पाए।
'एकैपटक ७ वटा गीतको जिम्मेवारी पाउँदा सपनाजस्तो लागिरहेको थियो। गर्न सक्छु कि सक्दिन भन्ने डर पनि लाग्यो,' उनले भने, 'कोसिस गर्दै गएँ। उहाँहरूले कुनै गीतलाई नराम्रो भन्नुभएन।'
आफ्नो सिर्जना र स्वर धेरै नेपालीसम्म पुगोस् भन्ने प्रशान्तको सानैदेखिको सपना थियो। त्यही सपना बोकेर उनी संगीत क्षेत्रमा लागेका थिए। फिल्ममा पहिलोपटक काम गर्दा प्रतिक्रिया राम्रो पाउने अपेक्षा पनि थियो। तर यति बेला जस्तो चर्चा भइरहेको छ, त्यस्तो चर्चा पाइएला भन्ने चाहिँ सोचेका थिएनन्।
'यस्तो विधि चल्छ, जताततै सुन्न पाइन्छ भनेर सपनामा पनि सोचेको थिइनँ। सम्झँदा अचम्म लाग्छ। सँगसँगै खुसी पनि छु,' प्रशान्तले भने।
झापाको भद्रपुरका प्रशान्त संगीतप्रति रूचि आमाबुबाबाट सरेको बताउँछन्।
'सानोमा बुबाले गीत नगाएसम्म मलाई निन्द्रा लाग्दैनथ्यो। गीत बुझ्न थालेपछि झन् झन् रूचि बढ्दै गयो,' उनले भने, 'स्कुलमा पनि शिक्षकहरूले गाउन लगाउनुहुन्थ्यो। स्थानीय कार्यक्रममा पनि गाउने मौका पाएँ।'
उनले झापामै रहँदा 'बाँच्न सिक्नुछ' बोलको गीत रेकर्ड गराएका थिए। २०७४ सालमा उनी संगीत क्षेत्रमै भविष्य बनाउने सपना बोकेर काठमाडौं आए। 'नेपाल आइडल सिजन २' बाट राष्ट्रिय स्तरको गायन रियालिटी शोमा भाग लिए। तर, सुरूमै फालिए।
त्यही रियालिटी शोको तेस्रो सिजनमा पनि भाग लिए। तर अगाडि बढ्न सकेनन्।
त्यसपछि 'भ्वाइस अफ नेपाल' देखि 'नेपाल स्टार' सम्ममा भाग लिए। तर फिल्ड अडिसनबाटै बाहिरिए।
त्यो बेला भाग्यले कतिसम्म ठग्यो भने, भोकल कर्डमा समस्या देखिएपछि उनले एक वर्ष गाउनै सकेनन्। गायनबाटै ब्रेक लिनुपर्यो।
त्यसपछि 'भ्वाइस अफ नेपाल' की पार्टनर रोजिना बस्नेतसँग सहकार्य गरेर ल्याएको ‘मोयाजाल’ गीतले थोरै चर्चा पाए पनि अन्य गीत सोचेजस्तो चलेनन्। तैपनि उनी कसैसँग काम माग्न गएनन्।
'पूर्णबहादुरको सारंगी' मा पनि संयोगले काम पाएको उनी बताउँछन्।
आमाबुबाबाट चाहिँ कस्तो प्रतिक्रिया आइरहेको छ त?
हाम्रो यो प्रश्नमा प्रशान्तले भने, 'आमाबुबा भन्नुहुन्थ्यो- सुखमा नमात्तिनू, दु:खमा नआत्तिनू। यसअघि निरन्तर असफल भइरहँदा पनि उहाँहरूले मलाई आत्तिन दिनुभएन। आफै पनि आत्तिनुभएन। उल्टै मलाई प्रोत्साहित गर्नुभयो। अहिले मेरा गीतहरू सफल हुँदा पनि आफ्नो खुसी देखाउनुहुन्न, ताकि म नमात्तिऊँ।'
हेर्नुहोस् प्रशान्त शिवाकोटीको भिडिओ —
भिडिओः मन्दिरा घिमिरे