गुड फ्राइडे सिनेमा
जिन्दगी हरेक मान्छेका लागि फरक अनुभव हो। जिन्दगीको भागदौडमा के पाउँदैछु, के गुमाउँदैछु भन्ने पत्तै हुँदैन।
यस्तै कुरा दर्शाउने फिल्म हो – द लास्ट पासपोर्ट।
हृदयस्पर्शी, प्रेरणादायी र रहस्यमयी यो फिल्मको नाम र कथाको तालमेल बिम्बले जोडिएको छ।
यो फिल्मको सुरूआत एक असामान्य पासपोर्ट अफिसबाट सुरू हुन्छ। केन्द्रमा एक वृद्ध पात्र छन्– जर्ज मिलर।
कालो कोटमा ठाँटिएका रहस्यमयी जर्ज धनाढ्य देखिन्छन्। उनी खुरूखुरू पासपोर्ट अफिस छिर्छन् र पालो कुर्दै बसिरहेका हुन्छन्। त्यहाँ एक जना युवा आउँछन्। उनीहरूबीच कुराकानी हुन्छ।
यसपछि त्यहाँ अरू मान्छे पनि आउँछन्। उनको छेउमा बस्न आउने सबै मान्छेसँग जर्ज कुराकानी गर्छन्। हरेक मान्छेको फरक पृष्ठभूमि हुन्छ। फरक स्वाभाव हुन्छ। उनीहरूका आफ्नै भोगाइ र कथा हुन्छन्। ती कथा रोचक र रहस्यमयी पनि हुन्छन्।
उनीहरूका कुरा सुन्दै जर्ज हरेकलाई ज्ञान पनि बाँडिरहेका हुन्छन्।
जुनसुकै पेसा, लिंग, उमेरका मान्छे होस्, जर्ज सबैलाई समान व्यवहार गर्छन् र केही खास कुरा भन्छन्।
जर्ज आखिर त्यहाँ किन गएका हुन्छन्?
त्यहाँ बसेर किन सबैलाई केही कुरा भनिरहेका छन्?
यो अचम्मको पासपोर्ट अफिस कस्तो हो?
जर्जको कथा के हो?
यसका लागि फिल्म हेर्नुहोला।
फिल्मको अन्तिम दृश्यले दर्शकलाई एकपटक सनन्न बनाउन सक्छ।
केन्ट स्मिथ र डेभिल टेम्पलले निर्देशन गरेको फिल्मको कथा निर्देशक स्मिथसँगै जिमी हेगर, डेभ ब्लामी, बोनी जोन्सन र राहेल सेन्ट गेलेस इडले लेखेका हुन्।
सानो बजेटको यो फिल्मले सन् २००९ मा सोलस्टिस फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेता (जिम्मी हेगर) र उत्कृष्ट निर्देशक (केन्ट स्मिथ र डेभिल टेम्पल) को अवार्ड जितेको थियो। यो फिल्म विभिन्न विश्वविद्यालयहरूमा समेत प्रदर्शन गरिएको थियो।