गुड फ्राइडे सिनेमा
सिनेमाका निम्ति भारत पर्यायवाची बनिसकेको छ। बलिउड (मूल रूपमा हिन्दी भाषाका फिल्म) का दर्शक त संसारभर छरिएका छन्। पछिल्लो समय दक्षिण भारतीय सिनेमाहरूले पनि भारत र अरू देशमा नयाँ दर्शकहरू कमाइरहेका छन्।
तर भारतीय सिनेमाको क्षेत्र यति मात्र होइन।
हरेक वर्ष भारतमा बेग्लै खालका फिल्म पनि बन्छन् जसका दर्शक पनि बेग्लै हुन्छ। ती हुन् स्वतन्त्र फिल्म।
संसारभर प्रायः स्वतन्त्र फिल्म कम बजेटमा बनेका हुन्छन्। यी फिल्म सिनेमा घरहरूमा विरलै लाग्छन्। यदाकदा कुनै ठूला वितरकले यी फिल्म चलाउने जिम्मा लिन्छन्। तर अधिकांश स्वतन्त्र फिल्म अनलाइन प्लेटफर्ममा रिलिज गरिन्छन्। वा, फिल्म महोत्सवहरूमा देखाइन्छन्।
पछिल्लो समय यस्ता फिल्महरूले नेटफ्लिक्स, अमेजन, प्राइम, जी५, डिस्ने जस्ता थुप्रै ओटिटी प्लेटफर्महरूमा स्थान पाउन थालेका छन्। यसले गर्दा स्वतन्त्र फिल्मका दर्शक पनि बढ्दै गएका छन्।
स्वतन्त्र फिल्मको अर्को विशेषता भनेको कहिल्यै अभिनय नगरेका वा नाम नचलेका कलाकारहरूको बाहुल्य हुन्छ। तर यस्ता फिल्मको कथा, सन्देश र कला उत्कृष्ट हुन्छन्।
आज गुड फ्राइडे सिनेमामा हामीले तपाईंहरूलाई यस्तै एउटा फिल्म सिफारिस गरेका छौं।
फिल्म हो 'अ डेट'।
अ डेट भारतीय फिल्म भए पनि अधिकांश संवाद अंग्रेजीमा छ। यसको कारण फिल्मको कथाले नै बताउँछ।
यो एक अपरिचित युवक र युवती एक दिन सँगै बैंगलुरू घुमेको कथा हो।
कार्तिक (पवन शेट्टी) दक्षिण भारतका हुन् भने मोनिसा (आशिका सोमाशेकर) उत्तर भारतकी।
उनीहरू दुवै जनाको जीवनशैली र रहनसहन एकदमै फरक हुन्छ। दुवैको मातृभाषा समेत अलग हुन्छ। त्यसैले उनीहरू कुरा गर्न अंग्रेजी भाषा प्रयोग गर्छन्।
केही दिनका लागि बैंगलुरू पुगेकी मोनिसाबारे जान्न कार्तिक उत्सुक हुन्छन्। मोनिसाले उनीसँग एक दिन घुम्ने वाचा गरेकी हुन्छिन्। तर उनलाई खासै रूचि हुँदैन।
एक दिन कार्तिक मोनिसा बसेको होटलमै पुग्छन्। मोनिसालाई आफ्नो वाचा सम्झाउँदै घुम्न जान प्रस्ताव गर्छन्।
केही समयको कुराकानीपछि मोनिसाले उनको प्रस्ताव स्वीकार गर्छिन्। कार्तिकले एक आइतबार बिहान ६ बजे घुम्ने बताउँछन्। तर मोनिसाले साढे पाँच बजे नै आउने बताउँछिन्।
मोनिसा तयार भएर आउँदा ५ बजेर ३४ मिनेट गएको हुन्छ। कार्तिकले ४ मिनेट ढिला भएको भन्दै मोनिसालाई जिस्काउँछन्।
यहीँबाट उनीहरूको नोंकझोंक सुरू हुन्छ। अनि उनीहरूको यात्रा पनि।
यसबीच उनीहरूले आफ्नो जीवनका केही अनुभव र कथाहरू पनि बाँड्छन्।
अब यसरी सुरू भएको उनीहरूको एक दिनको सहयात्रा कसरी अगाडि बढ्छ? यो अप्रत्याशित मित्रताले उनीहरूको जीवनमा केही परिवर्तन ल्याउँछ? उनीहरूको एक दिनको घुमघाम त्यहीँ सकिन्छ वा त्यसले अर्कै मोड लिन्छ?
यो सबै जान्न अ डेट हेर्नुहोला।
यसमा दुई अपरिचित व्यक्तिबीच झाँगिदै जाने सम्बन्धको उतारचढाव सुन्दर तरिकाले देखाइएको छ। फिल्मले हरेक व्यक्तिको भावना, परिवेश, रहनसहन, भाषा लगायतलाई सम्मान गर्न सिकाउँछ।
विमलराज एनको निर्देशनमा बनेको यो फिल्मले समीक्षकहरूबाट निकै प्रशंसा पाएको थियो।
सन् २०२० मा सार्वजनिक भएको अ डेट सबटाइटलसहित युट्यबुमा हेर्न पाइन्छ।