एक समयको चर्चित गीत हो –
कहाँ होला घरबार, कहाँ होला गाउँ
चिठी लेखी पठाउँला है, के तिम्रो नाउँ...
त्यस्तै हुक्का मेरो डल्ले डल्ले, मार्यो जिउँदै मार्यो, मौनतामा, को हौ तिमी, यानीमाया लगायत गीत पनि ऊबेला दर्शक-श्रोताले निकै मनपराएका थिए।
यो गीत गाउने ब्यान्ड हो – कर्मा।
पचास दशकमा म्युजिक भिडिओसहित थुप्रै गीत लिएर आएको यो ब्यान्डका पछिल्लो समय भने गीत चर्चित हुन सकेका छैनन्। ब्यान्ड पनि सुस्त छ।
यस्तो सुस्तताबीच ब्यान्डका गायक सुरेन्द्रमान सिंह रत्ति हच्किएका छैनन्। उनी ब्यान्डको पुनरागमनको आशमा छन्। यसकै प्रयास हो 'हेर' नामक एल्बम।
'ब्यान्डले एक दशकपछि निकाल्न लागेको एल्बम हो यो,' सुरेन्द्रमानले भने।
२०५५ सालतिर कर्मा ब्यान्ड स्थापना भएको थियो। त्यसयता ब्यान्डका सदस्यहरू फेरिए। समूह धेरै पटक धर्मरायो। तर कर्मालाई जोगाइ राख्ने गायक सुरेन्द्रमानको जोस झन् बलियो भएको छ।
यो ब्यान्ड खोल्दा उनीसहित प्रशान्त महर्जन, रवि नेवाः र रञ्जित नेवाः थिए। तीनै जनाको बाल्यकाल काठमाडौंमा बित्यो। यहाँका गल्लीमा उनीहरू गितार बोकेर हिँड्थे र आफूलाई 'रकस्टार' झैं सम्झिन्थे।
यसरी गितार बोकेर हिँड्नेको शान त्यस बेला छुट्टै हुन्थ्यो। तर उनीहरूले शानका लागि मात्र संगीत रोजेका थिएनन्। त्यो उनीहरूको सोख पनि थियो। उनीहरूलाई सांगीतिक क्षेत्रमा केही गरौं भन्ने छुट्टै खालको हुटहुटी थियो।
'गितार त मैले पनि साथीहरूमाझ आफ्नो शान बढाउनै किनेको थिएँ। तर रहरै रहरमा सांगीतिक क्षेत्रमा लागेँ,' सुरेन्द्रमानले भने।
सांगीतिक क्षेत्रमा व्यावसायिक उडान भर्नुअघि उनले प्रशिक्षण लिए। उनका साथीहरू पनि सहभागी भए। संगीतको नजिक भइराख्दा एक दिन सुरेन्द्रमानलाई ब्यान्ड खोल्ने सोच आयो। साथीहरूलाई त सुरेन्द्रमानले आफ्नो मनकै कुरा खोलिदिएजस्तो भयो।
सुरेन्द्रमानले 'मिलेर संगीतमा काम गरौं' भन्दा उनीहरूले नमान्ने कुरै भएन।
सुरूमा उनीहरूले विभिन्न कलेजमा सांगीतिक प्रस्तुति दिए। एक वर्ष नबित्दै आफ्नो पहिलो एल्बम निकाले – सहर तिम्रो।
यो एल्बमको तयारी ताका नै उनीहरूले आफ्नो ब्यान्डको नाम पनि राखे – कर्म।
यो नाम राख्नुका पछाडि विशेष कारण छ। पहिलो एल्बम भएकाले उनीहरू काममा निकै खटिए। दिनरात स्टुडिओमै बित्थ्यो।
हरेक दिन काममा खटिनुपर्दा एक जना साथीले फ्याट्टै भनिदिए, 'हाम्रो कर्म त साह्रै भएको छ है!'
सुरेन्द्रले आफ्नो ब्यान्डको नाम कर्म त्यही भनाइमा भेटेका हुन्।
'यसरी राखेको नाम, पत्रपत्रिकामा आउँदा भने कर्मा भनेर आउन थाल्यो। हामीले पनि यसलाई स्वीकार गर्यौं,' उनले भने, 'अनि त ब्यान्डको नाम कर्मबाट कर्मा भयो।'
सांगीतिक क्षेत्रमा लाग्दा उनीहरूलाई पारिवारिक समर्थन थिएन। यसमा भविष्य हुँदैन भन्ने मान्यता परिवारको थियो। त्यही पनि सुरेन्द्रमान र उनका साथीहरू डटेर लागिरहे।
'हामीले घरबाट खाजा खान दिएको पैसाले पहिलो एल्बम निकालेका थियौं। तर पहिलो एल्बम सुपरफ्लप भयो। त्यसमा अलिकति चलेको भनेको 'सहर तिम्रो' बोलको शीर्ष गीत नै हो,' सुरेन्द्रमानले भने।
पहिलो एल्बम फ्लप भएपछि रञ्जित र रविले ब्यान्ड नै छाडे। रञ्जित आफ्नो पढाइका लागि अस्ट्रेलिया गए भने रवि पारिवारिक व्यवसायमा लागे। समूह टुटे पनि सुरेन्द्रको हौसला उस्तै थियो। उनी डगमगाएनन्।
पहिलो एल्बममा भएका कमजोरी र गल्ती केलाउन थाले।
करिब एक वर्षपछि उनले निष्कर्ष निकाले – गीतमा मौलिकता अभाव भयो।
आफ्नो कमजोरी थाहा पाए पनि अब त ब्यान्डमा मान्छे थिएनन्। मौलिकतासहितको काम गर्न सुरेन्द्रमानले ब्यान्डमा नयाँ सदस्य थपे – रूपेश, शिशिर राई, हरि महर्जन। प्रशान्त त छँदै थिए।
उनीहरूले आफ्नो गीतमा मौलिकता थप्दै 'हुक्का मेरो डल्ले डल्ले' गीत निकाले।
यो गीत रातारात हिट भयो। सुरेन्द्रमानले केलाएको निष्कर्ष सही सावित भयो।
त्यसपछि उनीहरूसँग विभिन्न सांगीतिक कम्पनीहरू जोडिन थाले।
'हुक्का' एल्बममा समावेश उक्त गीत मात्र नभई 'मौनतामा' ले पनि राम्रो चर्चा बटुल्यो। गीतहरू चल्न थालेपछि सुरेन्द्रमानलाई लाग्यो – आफ्नो ब्यान्डको नाम राख्न हामी सफल भयौं।
'त्यति बेलाको ऊर्जा गजबको थियो। युवा अवस्थामै राम्रो चर्चा पाउँदा झन् जोसिएका थियौं,' उनले भने।
गीत हिट भएपछि उनीहरूको चौतर्फी चर्चा सुरू भयो। तर सुरेन्द्रमानको घरमा गीत-संगीतको माहोल थिएन। झन् उनका बुबालाई छोरा सांगीतिक क्षेत्रमा लागेको पटक्कै मनपरेको थिएन। उनलाई हौसला दिने दाइ मात्र थिए।
लगालग गीत हिट हुन थालेपछि कर्मा ब्यान्डको व्यस्तता बढ्न थाल्यो। विभिन्न ठाउँमा सांगीतिक प्रस्तुति दिन भ्याइनभ्याइ हुन थाल्यो। ब्यान्ड अघि बढ्दै गयो, तर यसमा आबद्ध सदस्यहरू धेरै समय टिकेनन्।
आखिरमा सुरेन्द्र र प्रशान्त मात्रै बाँकी भए।
एक दिन उनीहरूले पनि सांगीतिक क्षेत्र छोड्ने निर्णय गरे।
'हामीले सांगीतिक क्षेत्रमा केही गर्न सक्छौं भनेर प्रमाणित गरिसकेका थियौं। रहर पनि पूरा भइसकेकाले छाड्यौं,' उनले भने, 'हामीले कहिले पनि सांगीतिक क्षेत्रमै भविष्य बनाउँछौं भनेर ब्यान्ड सुरू गरेका थिएनौं। त्यसैले छाड्दा त्यति गाह्रो भएन।'
सांगीतिक क्षेत्र छाडेपछि सुरेन्द्रमान आयात/निर्यातको व्यवसायमा लागे।
उनले ठाने – संगीत रहर थियो, व्यवसाय रूचि।
तर उनलाई संगीतले छाडेन।
एक दिन उनको भेट एउटा म्युजिक कम्पनीसँग भयो जसले उनलाई एल्बम बनाउन प्रस्ताव राख्दै भन्यो, 'तपाईंसँग भएको बरदान सबैले पाउँदैनन्। आफूसँग भएको चिज किन गुमाउन खोज्दै हुनुहुन्छ?'
यो कुराले उनलाई फेरि संगीततिर तान्यो। उनी पुनः ब्यान्डमा सदस्य थप्न लागे।
अनिल शाक्य, प्रमोद डंगोल र दीपक प्रधान जोडिए। उनीहरूले 'एसमेस' एल्बम निकाले।
यही एल्बममा समावेश गीत हो 'कहाँ होला घरबार' र 'छैन मैले चित्त दुखाएको'।
यी गीत पनि एकदमै चर्चित भए।
'कहाँ होला घरबार' सम्म आइपुग्दा कर्मा र सुरेन्द्रमानलाई चिन्ने धेरै भइसकेका थिए।
गीत सार्वजनिक भएपछि उनका बुबालाई नजिकका मानिस र छरछिमेकले भन्न थालेछन्, 'तपाईं सुरेन्द्रमान सिंहको बुबा होइन?'
आफ्नो छोरा संगीतमा लागेको मन नपराउने उनका बुबा छोराकै नामबाट परिचित हुँदै थिए।
'यो कुराले बुबा मनमनै खुसी हुनुहुन्थ्यो। छोराको नामबाट मलाई चिन्न थालेछन्, आफ्नै मनमानी गरे पनि समाजमा पहिचान बनाएछ भन्ने सोच्न थाल्नुभयो,' उनले भने।
बुबाले छोरालाई आफ्नो खुसी भने देखाएनन्। अरूले सुनाएको कुरा पनि भनेनन्। बरू आमाकै मुखबाट बुबाले गरेको तारिफ सुरेन्द्रमानले सुने।
सुरेन्द्रमानको कर्माले फिल्म 'कर्णवीर' को 'चन्द्रमा झैं राम्री छौ' र 'सानो संसार' को 'को हौ तिमी' गीत पनि गाएको छ। उनलाई फिल्मका गीतमा खासै रूचि चाहिँ थिएन। साथीसंगीलाई नाइँ भन्न नसकेर मात्रै फिल्मको गीत गाएको उनी बताउँछन्।
'हाम्रो ब्यान्डको संसार नै छुट्टै थियो। हामीलाई को हिरो र को हिरोइन छन् भन्ने समेत थाहा हुँदैन थियो। अहिले चाहिँ गीत-संगीत र फिल्म क्षेत्र सँगै हिँड्न खोजेका छौं,' उनले भने।
यसरी संगीतमा पुनरागमन गरिरहेकै समयमा सुरेन्द्रमान अमेरिका हानिए। अमेरिकाबाटै कर्माले २०७० सालमा 'नयाँ सपना' एल्बम निकाल्यो। यसपछि उनीहरूले विभिन्न देशमा कन्सर्टहरू गरे। एकल गीतहरू सार्वजनिक गरे। तर नयाँ एल्बम निकालेनन्।
एक दशकपछि बल्ल 'हेर' लिएर आउन लागेका हुन्।
अहिले कर्मा ब्यान्डलाई 'आदि ग्रुप' ले व्यवस्थापन गरिरहेको छ। ग्रुपकै सल्लाह र समर्थनमा आफूहरूले नयाँ एल्बम निकाल्न सफल भएको सुरेन्द्रमानले बताए।
'हेर पनि दर्शक-श्रोताले मन पराउनुहुन्छ भन्ने विश्वास छ,' उनले भने, 'हामी अझै एल्बममै विश्वास राख्छौं। यसका गीतहरूमा मौलिकता दिने भरपुर प्रयास गरेका छौं। अहिलेको सांगीतिक बजार पनि अवलोकन गरेर ल्याएका छौं।'