नाटक र फिल्म दुवै विधामा अब्बल अभिनेताका रूपमा चिनिन्छन् सौगात मल्ल र नाजिर हुसेन।
आफ्नो करिअर दौरान दुवैले दर्शकको मनमा स्थान बनाउन र राम्रा प्रस्तुति दिएका छन्। धेरैले उनीहरूको काममा समानता पनि पाउँछन्।
थुप्रै फिल्म र नाटकमा अभिनय गरिसके पनि सौगात र नाजिरलाई सँगै काम गर्ने संयोग भने जुरेन। उनीहरू ठूलो पर्दामा सँगै देखिएनन्।
केही वर्षअघि एउटा फिल्मका लागि कुरा आएको थियो। उनीहरू एकअर्कासँग काम गर्न उत्साहित थिए। तर कारणवश त्यो फिल्म नै बनेन।
अहिले उनीहरूको यो रहर पूरा भएको छ। यो मौका उनीहरूलाई निर्देशक सौरभ चौधरीले जुराइदिएका हुन्। सौरभले निर्देशन गरेको फिल्म 'द अनब्रेकएबल अगस्त्यः च्याप्टर १' मा सौगात र नाजिर सँगै देखिँदैछन्।
'मैले दाइलाई रंगमञ्चमा हेरेर धेरै कुरा सिकेको छु। मैले उहाँलाई आफ्नो गुरू नै मानेको छु,' नाजिरले भने, 'उहाँ एकदमै इमानदार, बलियो र ट्रेन्ड बनाउने कलाकारको रूपमा हेर्छु। उहाँसँग काम गर्ने ठूलो चाहना थियो।'
सौगातले पनि नाजिरको नाम प्रशंसाहरूमा धेरै पटक सुनेका थिए। कस्ता छन् यी मान्छे भनेर जान्न उनी उत्सुक थिए।
उनले साथीभाइलाई सोधेका पनि थिए, 'को हो नाजिर?'
कुनै कार्यक्रमहरूमा हिजो भर्खर आएका थिए त भन्ने जबाफ पाउँदा पनि सौगात नाजिरलाई ठम्याउन सक्थेनन्।
जब उनले नाजिरको नाटक हेरे, उनलाई लाग्यो – यो मान्छेको नाम यत्तिकै बारम्बार आउने होइन रहेछ! म जस्तै काम गर्ने उत्साह बोकेर आएको रहेछ! हरेक प्रस्तुतिका लागि तयार हुने रहेछ!
अझै भन्नुपर्दा नाजिरमा आफ्नै छवि देखे सौगातले। नाजिरको नाटक हेर्दा हेर्दै उनी प्रभावित भइसकेका थिए।
कुनै दिन सँगै काम गरिन्छ होला भन्ने उनलाई आशा थियो।
उनीहरूले सँगै काम गरेको फिल्म अगस्त्य फागुन १८ गतेदेखि प्रदर्शन हुँदैछ। पोस्टर सार्वजनिक भएसँगै फिल्मको चर्चा सुरू भएको थियो। ट्रेलर आएपछि त यो चर्चा झनै चुलिएको छ।
दर्शकहरूले यो फिल्मले दक्षिण भारतीय फिल्मलाई टक्कर दिने प्रतिक्रिया दिएका छन्।
अगस्त्यमा सौगात र नाजिरले पनि भरपुर मेहनत गरेका छन्।
यही फिल्मका लागि नाजिरले २३ किलो तौल बढाए, सौगातले केही किलो घटाए, फेरि बढाए।
नाजिरले भने, 'तौल बढाउन म दिनको सातपटक खान खान्थेँ। यसअघि म खाना खाइहालौं भन्ने मान्छे होइन। मलाई खाना खान निकै गाह्रो लाथ्यो। कतिपटक त वान्ता पनि भयो।'
फिल्म छायांकनमा गएपछि नाजिरलाई जन्डिस भएको थियो। तर पनि उनले धेरै समय आराम गरेनन्। उनी केही दिनमै छायांकनमा फर्की हाले।
त्यस्तै यसै फिल्मका लागि सौगातले सुरूमा १७/१८ किलो तौल घटाए। कम तौलमा छायांकन सकिएपछि उनले एक महिनाको अन्तरालमा १० किलो फेरि बढाए।
'मेरा लागि तौल घटबढ गर्न सहज थिएन। नाजिरले भनेजस्तो मलाई नि वान्ता हुन्थ्यो। तर खाना राम्रोसँग खायो भने सबै सम्भव हुन्छ,' सौगातले भने, 'भारतीय फिल्महरूमा तौल घटबढ गर्न ६/७ महिना समय दिइएको सुन्दा हामीलाई पनि यति नै समय दिए हुन्थ्यो जस्तो लाग्थ्यो। तर समय कम थियो, मेहनत धेरै छ।। दसैंका लागि मोटाउन लगाएको खसी जस्तै महसुस हुन्थ्यो। त्यो समय याद गर्दा रमाइलो लाग्छ।'
सौगात मल्ललाई एक्सन फिल्ममा दर्शकले देखिरहेका छन्। तर यस फिल्ममा नाजिरले पहिलो पटक एक्सन दृश्य गरेका छन्।
एक्सनको अनुभव सुनाउँदै नाजिर भन्छन्, 'सुरूको दिनमा त म नर्भस थिएँ। पहिलो पटक एक्सन सिन गर्दै थिएँ। मभन्दा दुई गुणा बढी तौल भएका एक्सन कलाकार थिए। उनीहरूलाई देखेर मेरो जिउ काम्न थालिसकेको थियो। केही गरी त्यत्रो ठूलो मुक्काले भ्वाक्क लाग्यो भने त छायांकन रोकिन्छ भन्ने डर थियो। एक-दुई टेक लिँदा एक्सन निर्देशकले तिम्रो अनुहारमा भावै आएन भन्नु हुन्थ्यो। आओस् पनि कसरी, भ्वाक्क लाग्ला कि जस्तो लाग्थ्यो। कहिलेकाहीँ त उडेर भ्वाक्कै हान्दिऊँ कि जस्तो पनि लाग्थ्यो।'
फिल्मको नामबारे भने दर्शकले हलमै पुगेपछि जबाफ पाउने सौगातले बताए।
'अगस्त्य भनेको एउटा ऋषिमुनिको नाम हो। जो दिमाग, बल मिश्रित भएका व्यक्ति थिए। उनलाई कसैले पनि तोड्न सक्दैन थियो। तर यो ऋषिमुनिको कथा होइन। किन राखियो भनेर फिल्म हेरेपछि दर्शकले जबाफ पाउनु हुनेछ।'
दर्शकले ट्रेलर हेरेर दिएको प्रतिक्रियाले आफूलाई थप ऊर्जा दिएको उनीहरू बताउँछन्।
यस फिल्मले एउटा आधार र धरातल बनाउने विश्वास पनि व्यक्त गर्छन्। यो फिल्म एक्सन मात्र नभई थ्रिलर र लभ स्टोरी पनि हो।
सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी