सानोमा आफ्नी आमाकी असाध्यै मिल्ने साथीको घरमा भएको पार्टीमा प्रियंकालाई नाच्दै गरेको सन्तोष पन्तले 'स्पट' गरे। उनी प्रियंकाको नाचबाट प्रभावित भए। पन्तले प्रियंकालाई 'हिजो आजका कुरा' खेलाउन चाहेको इच्छा उनकी आमा समक्ष राखे। आमा सहमत भइन्। उनले बिदाको सदुपयोग गर्दै बाल कलाकार बनेर काम गरिन्।
छोरीको अभिनय र नाचमा लगाव देखेर उनका बाबुआमाले सानोमा 'महादेवी' फिल्मको अडिसनमा लगेको उनलाई सम्झना छ। उनले सो फिल्ममा पनि काम गरिन्। स्कूल पढ्दै गर्दा घरमै गएर म्यूजिक भिडियो खेल्ने प्रस्ताव गयो। त्यो पनि उनले खेलिन्। यस्तै कुराहरूले नै प्रियंकालाई अभिनयमा डोर्याए। त्यो भन्दा धेरै उनको बाबुआमाको छोरीको रूचिमा रहेको बेरोकटोकले उनमा अभिनेत्रीपन झन झ्यागिदैं गयो।
सन् २००५ मा उनी मिस टिन भइन्। त्यसको लगत्तै उनी अमेरिका हानिइन, करिब ६ वर्षपछाडि स्क्रिन राइटिङमा मार्टर्स गरेर नेपाल फर्किइन। उनलाई नेपालमै केहि गर्न मन थियो। नेपाल आउँदा 'मिस टिन'को भूत परिचय भए पनि ६ वर्षपछि फर्किदा करियर के होला? कसरी सुरू गर्ने होला? भन्ने डर उनमा थियो। सुरूवात खास सोचेजस्तो भएन। सोचेजस्तो नभए पनि भित्र मनमा प्रियंका हारेकी थिइनन्। मेहेनत गरेपछि हुन्छ भन्ने थियो।
उनको मेहेनतले काम गर्यो, फलस्वरूप उनी आज नेपालकी व्यस्तम अभिनेत्रीको सूचिमा माथी नै पर्छिन्। जोजसले प्रियंकासँग काम गरे उनीहरू प्रियंकाको कामप्रतिको लगावका प्रशंसक छन्। उनी काम गर्दा कसैले यस्तो चाहियो भनेपछि 'नाईं' भन्दिनन्। यसैले उनी सबैको रोजाइमा पर्छिन्। तर, उनलाई अझै सोचेजस्तो गर्न नपाएको लागिरहन्छ। कुनै दिन आफै प्रोडक्सन गरेर गर्न नपाएको कुरा गर्ने इच्छा उनीसँग छ। उनै प्रियंकासँग सेतोपाटीका लागि अशेष अधिकारीले कुराकानी गरेका थिए। उनीसँगको कुराकानी यस्तो थियो:
प्रियंकाले कहिले रंगिन काँचको दुनियाँ नै मेरो जीवन हुन्छ भनेर सोचेकी थिइन्?सानोमा मलाई सबैले सोध्थे ठूलो भएपछि के बन्ने? के बन्ने स्पष्ट यो भन्ने थिएन तर मेरो अन्तस्करणमा भने अभिनेत्री नै बन्छु भनेर सोचेको रहेछु त्यतिबेला किनकी मलाई के बन्ने भनेर सोध्दा म 'ऊ त्यहाँ आउँछु' भनेर टिभीलाई देखाउँथे। मलाई याद भएसम्म मैले शाहरूख खान र माधुरी दिक्षितको 'अन्जाम' फिल्म हेर्दा मैले अभिनत्री बन्न खोजेको रहेछु। किनकी पर्दामा जे जे भूमिका अरूले गर्थे ती सबै मलाई गर्न मन हुन्थ्यो। फिल्ममा जतिबेला पनि पर्दामा हिरोइनको कपाल हावाले उडाएको हेर्दा म त्यो कसरी हुन्छ भनेर सोचिबस्थे। त्यस्तै हुन पाए हुन्थ्यो जस्तो लाग्थ्यो। त्यो मेरो सोचाइमा नै अभिनेत्री हुने सोच लुकेको रहेछ भन्ने कुरा पछि बुझे।
प्रियंका कार्की आजको दिनमा सफल छ की व्यस्त?कोही पनि मान्छे पुर्णरूपमा सफल हुँदैन। आफ्नो कामको मान राख्दै सकेको उत्कृष्ट दिने हो। मैले अभिनयभन्दा अरू काममा ध्यान दिएको छैन् । काम गर्दै जाँदा मेकरहरूको मनमा बस्न सकेको हूँला।त्यसैले म आज व्यस्त छु। यसको मतलब म पूरै सफल छु , होइन। किनकी पूरै सफल त को होला र? कहिलेकाही सोच्दा आफूलाई एकदमै व्यस्त पाउँछु तर भएका कुराले म पूरै खुशी पनि छैन।
किनकी हाम्रो फिल्म उद्योग कुनै एउटा जनरामा फिल्म चल्यो भने सबै त्यस्तै फिल्म बनाउन थाल्छन्। आँट गरेर, होइन यो भन्दा फरक बनाउँछु भन्ने कोही छैन। अनि उस्तै उस्तै प्रकारको फिल्म आइपुग्छ। त्यसले गर्दा पनि म खुशी छैन। मैले मलाई गर्न मन लागेको किसिमको फिल्महरूको, रोलहरूको छेउछाउ पनि छैन। अभिनेत्रीका रूपमा मलाई त्यस्तो फिल हुन्छ। मलाई मन लागेको जस्ता कथामा मेकरहरूले फिल्म बनाउन नै आँट गर्दैनन्। सायद भविष्यमा त्यो फिल्म म आफै बनाउँछु।
अभिनेत्रीका हिसाबले आफू 'ग्रो' भएको अनुभव छ की जँहिको तही छू जस्तो लाग्छ?'ग्रो' भएको छु। म जुन ज्ञान लिएर अमेरिकाबाट यहाँ आएको थिएँ त्यो अनुसारकोभने गर्न पाएको छैन । तर देश अनुसारको भेष भन्छन , म नेपाली फिल्म उद्योगमा त्यही अनुसार भिजेर काम गरिरहेको छु। मैले 'माला', 'सुन्तली' जस्ता केहि राम्रा फिल्महरू गर्न पाएँ। तर त्यस्ता फिल्म अझ गर्न पाए हुन्छ भन्ने मनमा अझै छ। मलाई चुनौती दिने किसिमका भूमिका अझ गरूँ भन्ने लागिरहन्छ। त्यही हो सोचेजति गर्न पाइरहेको छैन्। अब तपाईलाई अभिनय गर्ने दिएको रेन्जनै थोरै भए पछि त्यसमा धेरै त कसरी गर्न सकिन्छ र? त्यो पात्रको रेन्ज र डाइनामिक्स अनुसार काम गर्ने हो। त्यसमा बढि गर्दा ओभरएक्टिङ हुन जान्छ। सकेसम्म राम्रो कथा र ब्यानरमा नयाँ गर्न खोज्ने निर्देशकसँग काम गरूँ भनेर म सोचिरहेकै हुन्छु, खोजी रहेकै हुन्छ। अनि कहिलेकाँही सोच्छु, 'किन भाष्कर ढुँगाना 'सुन्तली' जस्तो फिल्म बन्दैन? किन सुदिप बबी भूपाल सिंहले 'माला' जस्तो अर्को सिनेमा बनाएनन होला? त्यो प्रकारको फिल्म गर्न मन छ जसले मेरो अभिनेत्री पाटोलाई चुनौती दियोस जसमा मैले चलिरहेको घेरालाई तोड्न सकूँ। अब कसैले बनाएन भने म मेरो लागि अब आफै बनाउँछु।
तपाईले आफूले खेलेका उत्कृष्ट पाँच फिल्मको सूचि बनाउँनुहोस भन्दा ती सूचिमा कुन कुन फिल्म पर्छन्?मैले गरेका रोलहरूमा 'माला'मा गरेको माला चरित्र मलाई एकदमै मनपर्छ। 'माला' गर्ने बेलामा मेरो लागि कुनै रिफरेन्स लिने कुरा थिएन, भूतको रिफरेन्स लिन कहाँ जाने? त्यसमाथि नेपालमा बनेका भूतका फिल्म हेर्दा डर कम हाँसो ज्यादा लाग्छ। मैले गरेको 'आवरण' त्यस्तै हो जून हेर्दा म आफैलाई हाँसो उठ्छ। स्क्रिप्टमा एउटा भएको फिल्म सुटिङमा पुग्दा अर्कै भएर के बन्यो, बन्यो? तर 'माला'ले मलाई चुनौती दियो। फिल्म हेरिरहँदा जिरिङ जिरिङ पार्यो। विषयका हिसाबले पनि फिल्म आफैमा फरक थियो।
धेरैले मेरो अभिनयको तारिफ पनि गर्नुभयो। त्यस्तै 'सुन्तली' अर्को सिनेमा हो। व्यापारिक रूपमा त्यति सफल नभए पनि अभिनेत्रीका हिसाबले मलाई सन्तुष्टि दिएको सिनेमा हो। एउटा भिन्न भूमिका थियो। अर्को धेरै मानिसले नगर्नु भनेर पनि गरेको र गरेपछि राम्रो प्रतिक्रिया पाएको फिल्म 'नाई नभन्नू ल २' हो।
करियरका हिसाबले मेरो चौथो फिल्म थियो। करियरको सुरूमा नै सात वर्षको बच्चाको आमाको भूमिका गरेपछि कसले हिरोइन लिन्छ भन्नेहरू थुप्रै थिए। तर मेरो 'गट फिलिङ'ले अभिनेत्री भएकाले सँधै रूखको वरीपरी घुमेर गीतमा नाच्ने मात्र गर्नु हुन्न भनेर आफ्नो रियल इमेजलाई चुनौती दिदैं गरेको फिल्म थियो त्यो। मलाई यस्तै फिल्म गर्न मन छ तर चुनौती दिने फिल्म नै आउँदैनन्।
अर्को के होला भनेर डराइडराइ गरेको फिल्म 'छक्का पञ्जा २' हो जसमा म स्वस्तिमा खड्काको आमा बनेर खेलेकी छु। मैले रोलको वजनलाई आमाका रूपमा स्थापित गर्नुपर्ने चुनौती थियो , त्यसलाई पार गर्न सकें। मैले धेरै मेहेनत गरें। प्रतिक्रिया पनि राम्रो पाएँ। अनि 'झोले'को 'रिया' पात्र पनि मलाई मनपर्ने पात्रहरूमा एउटा हो। त्यो मेरो करियरको पहिलो हिट फिल्ममा पर्छ। सानो कथा, सानो स्क्रिनप्लेमा मैले देखाउन सक्ने ठाँउ थियो।
नेपाली फिल्म केमा चिप्लिरहेको छ?नेपाली फिल्म लेख्दा एउटा हुन्छ। फिल्डमा जाँदा अर्को भइसक्छ। मैले गरेको 'आवरण' फिल्म त्यस्तै भयो। लेखाइमा राम्रो थियो तर फिल्डमा गएपछि त्यो बिग्रियो। जे बन्यो त्यो बिर्सनलायक थियो। सायद सुभास कोइरालाको जनराको फिल्म थिएन, सुटिङ हुँदै मैले बुझिसकेको थिएँ फिल्म बिग्रियो भनेर। प्रमोशनको टाइममा मैले खुलेर दर्शकलाई फिल्म हेर्नुस् भन्न अप्ठ्यारो भयो। त्यस्तै लागेको अर्को फिल्म 'फन्को' हो। मलाई के लाग्छ भने फिल्म भनेको टेबलमै तयार हुनुपर्छ र त्यसलाई लेख्दा जे थियो त्यही अनुसार गर्नुपर्छ। सुटिङमा गएर यताउति गर्न थाल्यो भने फिल्म जे सोचेर बनाउन थालिएको थियो त्यो बन्दैन्। नेपालका अधिकाशं फिल्म त्यही भएर बिग्रिएका छन्।
स्क्रिप्ट ओके गर्न हेर्ने आधारहरू के के हुन् प्रियंकाले?'म पात्र हेरेर गर्छु' भन्ने अवस्था छैन्। यस्तो भन्न पाउने भएको भए आजको दिनमा म असाध्य खुशी हुने थिएँ।। नेपालमा विशेषगरी नयाँ मेकरमाथी पूरै भर पर्ने अवस्था छैन। मलाई फिल्म मेकिङ संसारकै सबैभन्दा कठिन काम हो जस्तो लाग्छ। एउटा काल्पनिक कथालाई, पात्रलाई साँच्चिकै हो जसरी देखाउनका लागि एउटा निर्देशकको, स्क्रिप्ट लेखक, क्यामराम्यान, एडिटरको कत्रो इफोर्ट लाग्छ।
तर संसारको सबैभन्दा गार्हो काम नेपालमा सबैभन्दा सजिलो तरिकाले लिइदै आइएको छ। सातौं वर्ष भयो यसमा लागेको। यसबिच धेरै स्क्रिप्ट पढे, धेरै मान्छे र मेकरहरूलाई भेटे। मैले २-४ जनाबाहेक सिरियस मेकेर नै भेटिन्। भेटेका धेरैले अति सजिलो तरिकाले कुरा गर्नुहुन्छ। उहाँहरूको सोच नै चलेको हिरो हिरोइन लिन्छू, अलि अलि पैसा खर्च गर्छु, फिल्म बनिहाल्यो नि भन्नेछ। यहाँ त स्क्रिप्ट भन्दा पनि पहिले यो मान्छे किन फिल्म बनाउन आयो भनेर सोच्नुपर्ने अवस्था छ।
भनेपछि कसरी फिल्महरू छानिरहनुभएको छ त?आफ्नो क्यारेक्टर नै हेर्छु। कहिलेकाँहि सम्बन्धको आधारमा पनि फिल्म गर्दै आएको छु। तर दुबैचिज म आँखा बन्द गरेर पनि गर्दिन । टिम हेर्छु र ठिकठाक फिल्म बन्छ भन्ने भएपछि मात्र काम गर्छु।
तपाईका लागि अभिनय के हो?म फिल्म मेकिङ पढेर आएको हो। १०० मिनेट पर्दामा आएर गरेको अभिनयले मात्र मन जितिन्न भनेर मैले पढ्दा नै सिकेको छु जसमा मलाई पूरा विश्वास छ। तपाईले आफ्नो पूरा इनर्जी लगाएर बेस्ट दियो भने सानो भूमिकामा पनि दर्शकको नजरमा परिन्छ। त्यसैले मेरो लागि अभिनय भनेको मूख्य भूमिका मात्र होइन। मलाई मेन हिरोइन हुनुपर्छ, मेरो धेरै सिन हुनुपर्छ भन्ने कहिले पनि रहेन। त्यही भएर म टिपिकल हिरोइन मात्र भइरहेकी छैन्।
आफूले गर्ने क्यारेक्टरलाई कसरी गर्ने भन्नेचाँहि कसरी निर्धारण गर्नुहुन्छ?कति फिल्मले वर्कसप गर्नुहुन्छ, त्यस्तोमा कसरी फरक गर्ने भन्ने बारेमा सोच्छु, छलफल गर्छु, म आफूले जानेसम्म अलि भिन्न गर्छु। कतिबेला आफ्नै सोचले त कतिबला टिमको सोच अनुसार। सकभर म आफू भन्दा पर रहेको रोल गर्न खोज्छु। मैले नगरेको, छुट्टै खाले ब्याकग्राउन्ड भएको पात्र होस भन्नेमा ध्यान हुन्छ।
सात वर्ष बित्यो, करियरको सुरूवात त्यति सोचेजस्तो भएन। त्यो बेला कहिल्यै 'लो' अनुभव भएन?भयो। इमान्दारकीसाथ भन्नु पर्दा अहिले पनि हुन्छ। सुरूमा अमेरिकाबाट फर्केर मैले 'मेरो बेस्ट फ्रेण्ड' फिल्म गरें। त्यो सकिदा नसकिदै मैल'थ्री लभर्स' फिल्म गरें। म अमेरिकाबाट जुन प्रकारको सिकाइ र तालिम लिएर फर्किएकी थिएँ त्यो मैले गरेका दुवै फिल्ममा थिएनन्। काम गरेपछि आफैलाई 'के मैले गर्न खोजेका फिल्म, भूमिका यस्तै हुन त?' आफैलाई प्रश्न उठाए। दुवै फिल्म त्यो अनुसारको थिएनन्। म के नेपाली फिल्मको स्ट्यान्डर्ड यहि हो त? भनेर आफैलाई सोध्थे। ती दुबै फिल्म मेकिङ, स्क्रिप्टका हिसाबले भयंकर थिएनन्।
त्यसैले गर्दा मेरो मनमा डेब्यू यसरी भएको छ, इन्डष्ट्री यस्तै हो भने के आशा राख्ने? यस्तै फिल्महरूमात्र पो आउने हुन की? भनेर चिन्तित हुन्थे। फेरि पहिलो फिल्म पनि बनेको ४ वर्षपछि रिलिज भयो। यी कुराहरूले गर्दा म नेपाल नै बसुँकी वा अमेरिका नै फर्किउँ भनेर दोधारमा परें। अमेरिकामा मैले टिभीहरूमा बिहाइन्ड सिन नै भए नी काम गर्छु भनेर 'होल्ड गरेर आएको थिएँ।
त्यसपछि तेस्रो फिल्मका रूपमा 'भिजिलान्ते' गरे, जून नेपालको पहिलो थ्री डी फिल्मका रूपमा बन्दै थियो। यो फिल्म गर्ने भएपछीचाँहि म केहि नयाँ गर्न पाउने भए भनेर उत्साहित भएँ। त्यसपछि मैले 'नाई नभन्नू ल २', सुन्तली', 'झोले', 'कलिउड' आदि साइन गरे। 'कलिउड' फिल्मले मलाई अभिनेत्रीका रूपमा चिनायो। त्यो फिल्मको काम हेरेपछि धेरैले मलाई कामको प्रस्ताव गर्न थाल्नुभयो।
तर सुरूसुरूमा चाँहि म कता जाँदैछु? के आशा गरौं? म यो क्षेत्रमा कता गइरहेको छु ?भनेर आतिएको थिए। त्यो मैले यहाँको उद्योग नबुझेर रहेछ, अहिले थाहा पाउँदैछु। किनकी म अमेरिका जाँदा भर्खर नेपाली फिल्म 'डिजिटल'मा जान थालेको थियो। त्यो ग्यापले गर्दा नेपाली फिल्म कता जाँदैछ? भनेर मैले देख्न र बुझ्न पाएको थिइन। एकैचोटी आउँदा म अलिकति 'दोधार'मा परेको थिए। म धेरै कुरा गर्न चाहन्थे , त्यसले गर्दा मनमा अब के त ?, सोचेजस्तो होला त? भनेर अलिअलि इन्सेक्योर भएँ।
त्यो बेलामा तपाईलाई मानसिकरूपमा के अनुभव भयो? कुनै साइकोलोजिकल समस्या पनि भयो की?मलाई काम पाउँछु वा पाउँदन भन्ने कुराले त्यति ज्यादा चिन्ता पारेन तर एकप्रकारको स्ट्रेस भयो। यहाँ रहेको एकले अर्काको खुट्टा तान्ने आदि कुराहरूले चिन्ता पार्यो। नकारात्मकता धेरै विक्छ, यहाँ १० वटा राम्रो कुरा होस तर हेडलाइन बिकाउन एउटा 'नेगेटिभीटी'लाई उचाल्ने कुरा छ। यी कुराहरूले दिने तनावले मलाई 'एनजाइटी' भयो।
२०१५ मा मलाई 'एनजाइटी' सुरू भयो। त्यतिखेर मैले मलाई के भएको बुझ्नै सकिन। मलाई एकैपटक सास फेर्न गार्हो भएजस्तो हुने, एकैपटक जिउ तात्ने, पसिना आउने, एकदमै असहज भएजस्तो, गार्हो हुने हुन्थ्यो। अचानक सास फेर्न गार्हो हुने, राती निन्द्रा नलाग्ने । त्यो एन्जाइटीले भएको हो भनेर मैले सुरूसुरूमा पत्ता लगाउन नै सकिन। प्रेसर हाइ भको होकी लो भको मैले छुट्याउन नै सकिरहेको थिइन। यो सबै चिज मलाई थाहै नभइकन भइसकेको रहेछ।
त्यसपछि म नर्भिक डक्टरकोमा गएँ। मैले आफ्नो हालत सुनाए, डक्टरको नाम मैले बिर्से, उहाँले एकदमै कुल तरिकाले एउटा बोर्ड देखाउँदै, त्यसमा लेखिएको कुरा पढ्नुस्। तपाईलाई यहाँ लेखिए जस्तै हुन्छ? भनेर सोध्नुभयो। त्यसमा लेखिएका सबै कुरा मलाई भइरहेका थिए। उहाँले 'ल तपाईलाई डिप्रेसन भएछ, औषधी खानुस' भनेर भन्नुभयो।
फिल्ममा यस्ता कुरा देखाउँदा साइकियाट्रिक्सले कुराहरू गर्थ्यो, सुन्थ्यो तर यहाँ त एकैपटक औषधि खानुस भनेर भन्छ। तपाईलाई थर्ड डिग्रीको डिप्रेसन भयो भन्छ। मैले उहाँलाई हैन तपाईले मेरो कुरा सुनेर पहिला त साइकोलोजिकल्ली हेल्प गर्ने हो भन्दा डाक्टर 'हैन जति कुरा सुने पनि गरे पनि तपाईले यहि औषधि खाने हो भन्छ।' तर म त्यति बिग्रेको अवस्थामा थिइन, मैले आफूलाई अँह औषधि त खाँदै खान्न भने। डाक्टरलाई मुद्दा नै हाल्दिन्छु, एकैपटक यस्तो भन्ने भनेर पनि भयो।
घर आएँ, गुगल गरें, एकजना विदेशी भेट्टाए, डक्टर रूनै। सानेपामा उहाँको क्लिनिक रहेछ। म उहाँकोमा गएँ । त्यहाँ बल्ल मैले फिल्ममा देखाइनेजस्तो वातावरण पाएँ। ६ महिना मैले साइकियाट्रिक सहयोग लिएँ। मलाई यो कुरा भन्दा केहि लाज लाग्दैन। नेपालमा यो कुरा भन्दाचाँहि मान्छेले पागल भन्दा रहेछन्। यो परिवर्तन हुनु जरुरी रहेछ।
उपचार गर्दै जाँदा म एकपटक मलेसियन प्लेन समुन्द्रमा हराएको बखत मलेसियाको एयरपोर्टमा थिएँ, त्यहाँ सो प्लेनमा सवार यात्रुका आफन्तहरूको पीडाले मलाई एन्जाइटीको स्तर बढाइदिएको रहेछ। उहाँले मेरो कुरा सुनेपछि मेरो दिमागको सिपियू ह्याङ भएको हो, त्यसलाई रिस्टार्ट नगरेसम्म यो ह्याङ कायम रहिरहन्छ भन्नुभयो। उहाँले मलाई काउन्सिलिङ गरेर विस्तारै मलाई पुरानै अवस्थामा ल्याइदिनुभयो।
अहिले पनि त्यसले छोडेको छैन तर म त्यसलाई कन्ट्रोल गर्नसक्छु। एउटा समय म आफूलाई सम्हालनै नसक्ने अवस्थामा भने पुगेको थिएँ। म यो अन्तरवार्ता पढ्नेलाई के भन्छु भने कृपया महिनामा एकपटक साइकियाट्रिककोमा गएर कुरा गर्नुस। म अझै पनि डक्टर रूनिकोमा जान्छु र आफ्नो मनको कुरा सुनाएर हल्का भएर फर्कन्छु।
मिडियामा प्रियंकाको फिल्मको कामभन्दा पनि ज्यादा व्यक्तिगत कुराहरूले स्पेस पाइरहेको छ। यो किन भइरहेको हो? कि प्रियंका आफैले त्यस्तै चाहेको हो?म पहिलादेखि नै एउटा खुला किताब जस्तो मान्छे हो। म कुनै पनि कुरालाई गोप्य राख्ने, प्रेसको अगाडी भन्दिन भन्ने छैन्। म एकदमै भोकल र आउट स्पोकन छु। म हरेक चिज फ्याट्टै भन्छु। मेरो रिलेसनशिप सूरू हुँदा पनि खुल्ला नै थिए। म अहिले एकदमै ह्यापी जोनमा छु। म अहिले जस्तो शक्तिशाली कहिल्यै आफूलाई अनुभव गरेकी थिइन। म प्रत्येक दिन मलाई अब कसैले रोक्न सक्दैन भनेर हिँड्छु।
अब मिडियामा आउने कुरामा भने कसले कुन हेडलाइ राख्दा वा बनाउँदा ट्रेन्डिङ आदिमा पर्छ भन्ने कुराले हुने हो। त्यसमा मेरो केहि नियन्त्रण छैन। के गर्ने नगर्ने त्यो उहाँहरूको स्वविवेकमा भर पर्छ। म त आफ्नो कामहरू गरिरहेको छु। बाहिर कुन प्रकारको समाचार सम्प्रेसण हुन्छ त्यसमा मेरो कुनै हात हुँदैन। मैले कसैलाई मेरो यस्तो समाचार लेख्दे भनेर भन्ने गरेको पनि छैन ।
मलाई अहिलेको जस्तो खुशी अवस्थामा आउन धेरै वर्ष लागेको छ, त्यसैले मैले त्यसमा ध्यान दिन छोडीसकेको छु। म अब चाँडै आफ्नो प्रोडक्सन कम्पनी सुरू गर्ने, निर्देशन गर्ने योजनामा अघि बढिरहेको छु। मैले मास्ट्रस नै स्क्रिन राइटिंमा गरेको हो र मैले सामाना गर्नुपरेको समस्यालाई म आफूले काम सुरू गर्दा अरूलाई नहोस भन्नेमा लागिरहेको छु। मसँग लामो योजना भएकाले नकारात्मक कुराले मलाइ छुन छोडीसक्यो।
आजसम्मको भोगाइले जीवन के रहेछ भन्ने सिकायो त?जीवन के हो भन्ने कुराको उत्तर आफैमा एकदमै भारी कुरा रहेछ। सिर्जनशिल मान्छेले यसमा एकदमै दबाब लिनुहुने रहेछ। केहि चिज हुँदा हामीले १० वटा कोणबाट सोच्ने रहेछौं। जीवन जस्तो बनायो त्यस्तै हुने रहेछ। मान्छेपिच्छे फरक हुनेरहेछ। यसको कुनै निश्चित ब्याख्या नहुने रहेछ। सबैको जीवनमा बेग्ला बेग्लै सर्तहरू हुँदा रहेछन्, मेरो जीवनको सर्त अर्को जीवनसँग मेल खाँदैन।
यदि आज म मेरो जीवन सकियो केहि हुँदैन भनेर बसे भने कहिसमयपछि जीवन सकिन्छ। आफ्नो सोच, शक्ति सहि हुनुपर्छ। आफ्नो कुरा मिल्नेहरूसँग वस्ता जीवन खुशी हुनेरहेछ। जस्तो तपाईं दुईदुई पैसा माग्दै हिँड्ने जस्ता स्वभाव भएका मान्छेहरूको संगत गर्दै जानुभयो भने तपाईले मागेर थप्ने होइन भएको पैसा पनि सक्नुहुन्छ।जीवन अनिश्चित छ त्यसैले यसलाई केहि निश्चितताका मानकहरूको मात्रै हो भनेर ठान्नुहुँदैन। यसको घेरालाई सकेजत्ति फराकिलो पारेर छोड्नुपर्छ।
प्रियंकालाई एक-दुई दिन कामको प्रस्ताव आएन भने तनाव-चिन्ता हुन्छ रे हो?त्यस्तो त ठ्याक्कै होइन। म लगातार आइडल भएर बस्ने नसक्नेचाँहि हो। यसको मतलब फिल्मकै काममात्र हो भन्ने कुराचाँहि गलत हो। म चुप लागेर बसिरहन सक्दिन घरमा। योचाँहि सत्य हो। लगातार २ दिन बसे भने एन्जाइटी हुन्छ तर थर्ड डे भयो भने म साथीभाइसँग घुम्न जाने गर्छु। काममात्र भने होइन। त्यतिकै बस्ता दिमाग घुम्न थालिहाल्ने भएर हो। जसरी मान्छे हप्तौं रिल्याक्स भएर बस्छन, त्योचाँहि म सक्दिन। मेरो पहिलादेखिको बानी हो यो।
(तस्विरहरू : निशा भण्डारी)