भारतका प्रसिद्ध कमेडियन कपिल शर्माले मंगलबार आफ्नो आगामी फिल्म ‘फिरंगी’को ट्रेलर लन्चको अवसरमा सहकर्मी सुनिल ग्रोवरसँग आफ्नो झगडाको विषयमा बोलेका छन्।
उनले कार्यक्रममा आफ्नो र सुनिलको झगडाको सुरूवात कहाँ र कसरी भएको खुलाएका छन्।
कपिलले सुनिलसँग आफ्नो झगडा नै नभएको बताएका छन्। उनले सुनिलसँग नभई आफ्नो झगडा चन्दनसँग भएको बताए। चन्दनसँग गरेको नराम्रो व्यवहारले दुखी सुनिल उनीहरूको झगडामा सामेल भएको कपिलले दाबी गरे।
कपिलले भने,‘अष्ट्रेलियामा जब शो सुरू हुन लागेको थियो, तब मेरो एक आर्टिस्ट साथी र चन्दन एक आपसमा झगडा गरिरहेका थिए। शो सुरू हुन थालेको थियो र शो को नाम नै मेरो नामबाट थियो। शो को पूरै जिम्मेवारी ममाथि थियो। म निकै चिन्तित भएको थिएँ । उनीहरूको झगडा देखेर। झगडा गरेकी साथी रुदैँ मेरो नजिक आइन्। मलाई निकै रिस उठ्यो। रिसमा मैले चन्दनलाई निकै गाली गरें र पिटे पनि। बदलामा चन्दनले पनि मलाई दुई चार थप्पड हाने। चन्दन मेरो बाल्यकालको साथी थियो त्यही कारण मैले अधिकारले उसलाई हिर्काएको थिएँ। शो सुरू हुनु ६ मिनेट अगाडि यस्तो भएको थियो।’
उनले आफूलाई छिट्टै रिस उठ्ने मानिस भएको बताउँदै त्यो घटनापछि शो राम्रो भएपनि चन्दन भने केही नभनी होटलबाट बाहिर गएको बताए।
कपिलका अनुसार चन्दनले कपिललाई केही नभनी होटलबाट निस्के र ५ दिनसम्म अनुहार पनि देखाएनन्। धेरै दिनपछि कपिलले आफ्नो गल्ती महसुस गरे र चन्दनसँग माफी माग्ने सोचे। तर उनले चन्दनलाई कतै भेटेनन्।
कपिलले बताए अनुसार जब शो सकिएर भारत फर्कने क्रममा एयरपोर्टमा चन्दनाई देखे उनलाई फेरि रिस उठ्यो र गाली गर्न थाले। जवाफमा चन्दनले पनि कपिललाई गाली गरे।
उनले भने,‘मेरो गाली त सबलाई याद छ तर चन्दनको गाली सबैले बिर्सिए। हामी दुवैले एकअर्कालाई गाली गरेका थियौं।’
कपिलले प्लेनमा जुत्ता हानेको कुरा निकै गलत भएको बताए।
उनले भने,‘प्लेनमा जुत्ता हानेको खबर झुठो हो। मैले प्लेनमा जुत्ता नै लगाएको थिइन। प्लेनमा दिने चप्पल मैले लगाएको थिएँ।’
फ्लाइटमा झगडा भएको र आफूले त्यसबेला रक्सी पनि पिएको स्वीकार गरे। कपिलले आफूले रक्सी थोरै खाएपनि धेरै लागेको बताए।
उनले सुनिलको बारेमा बोल्दै भने, ‘म र सुनिल पछिल्लो ९ वर्षदेखि एक अर्कालाई चिन्छौं। र सँगै काम गरिरहेका छौं। यस्तोमा सुनिलले मलाई एक पटक सोध्नुपर्थ्यो कि म किन रिसाइरहेको छु। उ मेरो साथी थियो। यदि म सुनिलको ठाउँमा भएको भए अवश्य सोध्थें कि यत्रो वर्षमा नदेखेको रिस अहिले के कारणले आयो भनेर। मलाई सुनिलसँग केही गुनासो छैन। म आज पनि सुनिललाई माया गर्छु। यो अन्तर्वार्ता देखेर सुनिलले मेरो माया बुझ्नेछन्।’
८ महिना अगाडि भएको झगडापछि कपिलले आफ्नो करिअरमा धेरै उतारचढावको सामना गर्नुपरेको थियो। उनले पहिलो पटक यसरी आफ्नो झगडाको बारेमा खुलेर बोलेका हुन्। उनले २५ मिनेटसम्म आफ्नो झगडाको बारेमा सुनाएका थिए।
कपिलको फिल्म 'फिरंगी'मा उनीसँगै इशिता दत्त, मोनिका गील र इनामुलहकको मुख्य भूमिका छ। राजीव ढींगराले फिल्म निर्देशन गरेका छन्। फिल्ममा कपिल आफैँले लगानी गरेका छन्। २४ नोभेम्बरमा फिल्म रिलिज हुँदै छ।