बलिउडकी लोकप्रिय अभिनेत्री रेखा सधैं चर्चामा हुन्छिन्। उनी कहिले आफ्नो फिल्म, कहिले अमिताभ बच्चनसँगको प्रेम सम्बन्ध त कहिले आफूभन्दा कान्छो अभिनेता अक्षय कुमारसँगको प्रेम अफवाहले चर्चामा रहेकी थिइन्।
आज पनि बलिउडमा आफ्नो छुट्टै पहिचान छ रेखाको। उनको सुन्दरता र अभिनयले बलिउडमा ठुलो स्थान राख्छ। ४० वर्षको बलिउडको करीअरमा रेखाले करीब १८० वटा फिल्ममा काम गरिन्। उनले आफ्नो करीअरमा ३ पटक फिल्म फेयर अवार्ड र दुई पटक उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छन्। पद्मश्री अवार्डबाट उनी सम्मानित भइसकेकी छन्।
काममा आफूलाई उत्कृष्ट प्रमाणित गरेपनि बलिउड र निजी जीवनको यात्रा भने रेखाको सहज थिएन।
हालै उनको बारेमा एउटा खबर सार्वजनिक भएको थियो कि रेखाले आफ्नो सिउँदोमा अभिनेता सञ्जय दत्तको नामको सिन्दुर लगाएर हिँड्छिन्। जुन खबरलाई यासेर उस्मानको किताव 'रेखाः द अनटोल्ड स्टोरी' लाई स्रोत मानिएको थियो। तर उक्त कितावमा रेखा बारे फैलाइएका त्यस्ता कुरा छँदै थिएन।
कितावमा भने रेखाको निजी जीवनको बारेमा र उनको विवाहको बारेमा प्रकाश पारिएको छ। जसले निकै चर्चा पनि पाएको छ।
कितावमा यो पनि बताइएको छ कि कसरी रेखाले श्रीमान मुकेश अग्रवालसँग दूरी बढाइन् र विवाहको सात महिनामै मुकेशले आत्महत्या गरे।
यासेर उस्मानको कितावका अनुसार ४ मार्च १९९० को दिन मुकेश अग्रवाल रेखाको साथी सुरिन्दर कौरको साथमा रेखाको घर पुगे र विवाहको लागि प्रस्ताव राखे। रेखा मुकेशको उत्साह देखेर दंग भएकी थिइन्।
दुवैको परिवार मुम्बईमा नभएपनि रेखाले मुकेशको प्रस्ताव स्वीकार गरिन्। र उनीहरुले विवाह गर्ने निर्णय गरे। बेलुकी रेखा मुकेशसँग विवाहको लागि मुम्बईको मुक्तेश्वर देवालय पुगिन्। उनीहरु अर्को मन्दिरमा भएको भिडको कारण समयमा देवालय पुग्न सकेका थिएन्। जब उनीहरु मन्दिरमा पुगे, पुजारी निदाईसकेका थिए।
मुकेशले पुजारीलाई विवाह गर्नको लागि उठाए। रेखा उक्त मन्दिरमा दर्शनको लागि प्राय जाने गरेकी थिइन्। करीब ११ बजे रेखा र मुकेशको विवाह भयो। त्यस समय रेखा ३५ वर्ष र मुकेश ३७ वर्षका थिए।
विवाहपछि मुकेशले शुभ समाचार सबै साथीलाई दिने योजना बनाए तर रेखाले मानिनन्।
रेखाले साथीहरु अकबर खान, संजय खान र हेमा मालिनीको घर जाने इच्छा जाहेर गरिन्। साथी सुरिन्दर कौरलाई लिएर उनीहरु धर्मेन्द्र र हेमाको घरमा पुगे। रेखालाई आफ्नो घरमा देखेपछि हेमाले एक पटक तलदेखि माथिसम्म हेरिन् र भनिन्,‘ यो मान्छेसँग विवाह गरे चैं नभन है।’ अनि रेखाले जवाफ दिइन्, ‘हो मैले यस्तै गरें।’
पछि हेमाले रेखासँग सोधेकी थिइन्, 'के मुकेश निकै धनी छन्?' रेखाले उक्त प्रश्नको कुनै जवाफ नै दिइनन्।
विवाहको भोलिपल्ट नै उनीहरु हनीमूनको लागि विदेश गए। विवाहको केही समय उनीहरुको निकै राम्रो चलेको थियो। किनकी उनीहरु पहिलोपटक एकसाथ समय बिताउँदै थिए। तर हप्ता दिन नवित्दै रेखाले आफूहरुको सम्बन्ध धेरै नटिक्ने अनुमान लगाई सकेकी थिइन्। किनकी उनलाई महसुस भएको थियो मुकेश र उनी एकदमै विपरित छन्।
त्यसपछि रेखाले मुकेशसँग दूरी बढाउन शुरु गरिन्। उनले मुकेशलाई उति ध्यान नै दिन छाडिन्।
विवाह भएको ७ महिनामै रेखाको श्रीमानले आत्महत्या गरे। डिप्रेशनको शिकार मुकेशले रेखाकै सल पासो लगाएर घरमा आत्महत्या गरेका थिए।
उनले सुसाइड नोटमा आफ्नो मृत्युको जिम्मेवारी कसैलाई नदिएको स्पस्ट पारेका थिए।
श्रीमानको मृत्युले रेखा निराश भइन्। तर रेखालाई अग्रवाल परिवार र बलिउडका कलाकारले सराप्न थाले। बलिउडका हस्ती अनुपम खेर, सुभाष घइले रेखालाई नै मुकेशको मृत्युको जिम्मेवार मानेका थिए।
एक पटक जोतिषले रेखालाई जीवनमा पति सुख छैन भनि भनेको र त्यो कुरा सत्य हुँदै गएको भनी बलिउडमा चर्चा चलेको थियो।
यसअघि उनको नाम बलिउडका विभिन्न हस्तीहरुसँग जोडिएको थियो। अभिनेता अमिताभ बच्चन, किरण कुमार, विनोद मेहेरा, सञ्जय दत्त, नविल निश्चल आदि सँग रेखाको नाम जोडिएको थियो। विनोद मेहेरासँग त उनले सन् १९७३ मा सुटुक्क विवाह गरेको पनि खबर बाहिरीएको थियो।
तर त्यस खबरलाई रेखाले झुठो बताउँदै विनोद आफ्नो मिल्ने साथी मात्र भएको बताएकी थिइन्।
श्रीमान मुकेशको मृत्यु पश्चात भने रेखाकाे कोही पुरुषसँग नाम जोडिएन। तर उनी अहिले पनि जहाँ पनि सिन्दुर र टिकामा सजिएर पुग्ने गर्छिन्। बलिउड र मिडियामा कस्को नामको सिन्दुर आफ्नो सिउँदोमा रेखाले सजाइछन् भनेर बेलाबेलामा निकै हंगामा हुनेगरेको छ। कोहीले उनले आज पनि अमिताभलाई आफ्नो मनमा सजाएको र उनकै नाममा सिन्दुर लगाएको त कसैले अर्को विवाह गरेको जस्तो कुरा गरिरहेका हुन्छन्।
यसबारे एकपटक ऋषि कपूर र नीतू कपूरको विवाहमा रेखाले आफू जुन समाजबाट आएकी हो त्यहाँ सिन्दुर टिका फेसनको एउटा पाटो भएको बताएकी थिइन्।
उमराव जान जस्ता हिट फिल्म दिएर बलिउडमा आफ्नो छाप छाडेकी रेखाले केही दिन अगाडी मात्र आफ्नो ६१ अौं जन्मदिन मनाएकी थिइन्।