पछिलो समय बलिउड फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्। एकपछि अर्को अपेक्षा गरिएका सिनेमा ‘फ्लप’ भइरहेका छन्।
अक्षय कुमार र आमिर खानका दुबै फिल्म फ्लप भए। फिल्म फ्लप भएकै कारण अक्षयकुमारले ठूलो निर्णय लिएका छन्।
उनले आगामी फिल्मको पारिश्रमिक घटाउने निर्णय गरेका छन्। एउटा फिल्मका लागि कम्तिमा ७५ करोड भारू लिने अक्षयले अब ९ देखि १८ करोड भारूमै फिल्म खेल्नेछन्। तर आफू निर्माता नभएका फिल्मका लागि ५० प्रतिशत नाफा लिने बताएका छन्।
अक्षय आफूले बनाएका फिल्मबाट ८० देखि ८५ प्रतिशत नाफा पाउँदै आएका छन्। यहीँ कारण प्याडम्यानजस्ता साना बजेटका फिल्मले ६० करोड कमाए पनि अक्षयलाई ठूलै फाइदा भएको थियो।
अक्षयले ‘रक्षा बन्धन’ फिल्म फ्लपको जिम्मेवारी आफूले लिने बताएका छन्। फिल्म रिलिज भएपछि लगानीसमेत उठाउन नसकेपछि निर्माण पक्षलाई निकै मार परेको छ।
रक्षाबन्धन फ्लप भएसँगै उनले आफ्नो फिल्म फ्लप हुँदा कतै न कतै आफू पनि त्यसको जिम्मेवार हुने बताएका हुन्।
यी सबै कुरालाई मध्यनजर गर्दै उनले कम पारिश्रमिक लिने निर्णय गरेको चलचित्र क्षेत्रको भनाइ छ।
कतिपयले अक्षयलाई आमिर खानको तरिका अपनाएकासमेत भनेका छन्। आमिरले फिल्ममा आफ्नो पारिश्रमिक कम राख्छन्।
तर फिल्मको नाफाको केही हिस्सा आफूले पाउनुपर्ने भन्छन्। यही कारण आमिरले ‘दिल चाहता है’ र ‘धूम ३’ बाट राम्रो कमाइ गरेका थिए।
अक्षय कुमारले फिल्म फ्लपको जिम्मेवारी लिँदै पारिश्रमिक घटाएपछि अब निर्माताको नजर अन्य कलाकारमा परेको छ। अधिकांश निर्माता कलाकारले आफ्नो पारिश्रमिक घटाउनुपर्ने माग गर्न थालेका छन्।
कलाकारको पारिश्रमिक यति धेरै छ कि फिल्मको ५० देखि ६० प्रतिशत लगानी उनीहरूकै पारिश्रमिकमा खर्च हुन्छ। कलाकारले राम्रो पारिश्रमिक लिएपछि फिल्मको बजेट स्वतः बढ्ने गरेको छ।
अक्षयकुमारले आफ्नो पारिश्रमिक घटाएसँगै अरू कलाकारलाई पनि प्रभाव पर्ने बलिउड फिल्म उद्योगमा चर्चा चल्न सुरू गरेको छ।