जेन–जी आन्दोलनको पहिलो दिन भदौ २३ गते नै प्रदर्शनकारीहरूले विराटनगर महानगरको कार्यालय भवन तोडफोड गर्ने प्रयास गरेका थिए।
त्यो दिन ढुंगामुढा मात्र भएको महानगर कार्यालयमा भदौ २४ को उग्र प्रदर्शनका क्रममा आगो झोसियो। धेरैतिर जस्तै महानगर कार्यालयमा लागेको आगो तीन दिनसम्म नियन्त्रणमा आउन सकेन।
परिणामतः कोशी प्रदेशको एक मात्र महानगरको प्रशासनिक भवन बस्न नमिल्ने गरी क्षतिग्रस्त बनेको प्राविधिक जाँचबाट देखिएको छ।
केही दिनयता इन्जिनियरहरूको टोलीले आगजनीबाट क्षतिग्रस्त महानगरको प्रशासनिक भवनको प्राविधिक परीक्षण गरिरहेका छन्। प्रारम्भिक जाँचबाट तत्काल प्रयोग गर्न नमिल्ने अवस्था देखिएको महानगरले जनाएको छ।
मनमोहन प्राविधिक विश्वविद्यालय, नेपाल इन्जिनियरिङ एसोसिएसन कोशी र पूर्वाञ्चल विश्वविद्यालयका एक दर्जनभन्दा बढी इञ्जिनियरले आगजनीबाट जलेको भवनमाको 'र्यापिड भिजुअल एसेसमेन्ट' गरेका थिए।
दुइटामध्ये महानगरपालिकाको उत्तरतर्फको भवन करिब ४० वर्ष पुरानो हो भने दक्षिणतर्फको भवन १६ वर्ष पुरानो हो।
प्रारम्भिक जाँचका क्रममा दुवै भवनका केही महत्त्वपूर्ण ठाउँका पिलर, बिम र स्लाबमा अत्यधिक क्षति पुगेको पाइएको छ।
मनमोहन प्राविधिक विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङकाकी डिन प्रा.डा. रेखा श्रेष्ठले दुवै भवनमा आगजनी भएपछि बस्नलायक छ कि छैन भनेर परीक्षण गरिएको जानकारी दिइन्।

प्रारम्भिक परीक्षण गर्दा भवनको मुख्य भारवहन गर्ने पहिलो तलाकै बिम र पिलर धेरै समय जलेका कारण भारवहन क्षमता अत्यन्तै कम पाइएको उनको भनाइ छ।
'भवनमा ठूलो क्षति भएको छ कि छैन भन्ने परीक्षण गरेका छौं। बिम, कोलम र ग्राउन्डमा जाँच गरेका छौं,' उनले भनिन्, 'हाम्रो परीक्षणका क्रममा पुरानो भवनको सभा हलको छत (ग्राउन्ड) जलेर निकै कमजोर भएको पाएका छौं, पिलरले पनि भारवहन क्षमता गुमाइसकेको देखिन्छ।'
उनले नयाँ भवनको बीचको पिलरको भारवहन क्षमता घटेर ११ मेगा पास्कल मात्र मापन भएको जानकारी दिइन्।
त्यस्तै पुरानो भवनको ग्राउन्ड कम्तिमा २० मेगा पास्कल हुनुपर्नेमा ११ मेगा पास्कल मात्र आएको र बिम पनि चर्किएका कारण जोखिमपूर्ण रहेको बताइन्।
'हामीले तत्कालै बस्न मिल्छ कि मिल्दैन भनेर हेरेका हौं, अहिलेको परक्षणका आधारमा बस्नयोग्य छ भनेर 'ग्रिन' चिह्न दिन मिल्दैन,' उनले भनिन्, 'अब अझै जलेको कङ्क्रिटलाई ल्याबमा परीक्षण गरेपछि मात्रै वास्तविक नतिजा आउनेछ।'
महानगरपालिकाका कर्मचारीहरूले कार्यालय भवनमा लगातार तीन दिनसम्म आगो बले पनि निभाउन नसकिएकाले भवनको पिलर र बिममा ठूलो क्षति पुगेको हुनसक्ने बताएका छन्।
उनीहरूले विस्तृत परीक्षणपछि मर्मतसम्भार गरेर पुनः प्रयोगमा ल्याउन सकिने कि नसकिने भन्ने थाहा हुने उनले जानकारी दिए। आगजनीका कारण भवनको छत चर्किएर सिमेन्ट उक्किएर झरेको छ। पिलरमा र बिममा पनि रड देखिएका छन्।
आगोले सिमेन्ट र रडबीचको पकड नै गुमेका कारण सानो भुइँचालोमा पनि भवनमा थप क्षति पुग्ने प्राविधिकहरूको भनाइ छ। मर्मत गरेर पनि मान्छे बस्न जोखिम हुने इञ्जिनियरहरूले बताए।
महानगरले विस्तृत परीक्षणपछि अब कसरी अघि बढ्ने भन्ने तय हुने जनाएको छ।