यतिबेला बलिउड अभिनेता रणवीर कपूरको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
सार्वजनिक तस्बिरमा उनी पुलिसको पोसाकमा देखिएका छन्। तस्बिरमा उनीसँगै निर्देशक रोहित शेट्टी पनि देखिएका छन्।
'एनिमल' को सफलतापछि रणवीर कपूरको खुब चर्चा भइरहेको छ। यो फिल्मपछि उनी कुन फिल्ममा देखिनेछन् भन्ने चर्चा भइरहेको छ। यतिबेलै रणवीरको तस्बिर बाहिरिएपछि दर्शक उत्साहित भएका छन्।
उक्त तस्बिर फिल्मीज्ञान नामक इन्स्टाग्रामबाट सार्वजनिक गरिएको हो। रणवीर रोहित शेट्टीको कप युनिभर्स फिल्ममा जोडिएको बताइएको छ। निर्माण टिमले यस तस्बिरप्रति कुनै प्रतिक्रिया दिएका छैनन्।
यतिबेला रणवीर कपूर अभिनीत फिल्म 'एनिमल' प्रदर्शन भइरहेको छ। भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार फिल्मले भारतमा ५४६ करोड भारूबढी कमाएको छ।
'एनिमल' ले विश्वभरबाट ८९० करोड भारू कमाएको छ। बक्स अफिसमा राम्रो कमाइ गरेको फिल्म ओटिटीमा प्रदर्शन हुँदैछ। भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्म २६ जनावरीदेखि नेटफ्लिक्समा रिलिज हुनेछ।
सन्दिप रेड्डी वांगाले निर्देशन गरेको फिल्ममा रणवीरसँगै रश्मिका मन्दना, बबी देओल, अनिल कपूर, तृप्ति डिमरीलगायतको अभिनय छ।

