नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलानजिकै पुनः सुख्खा पहिरो खसेको छ। सोमबार रातिदेखि नै खसेको सुख्खा पहिरो पन्छाउने काम भइरहेको भरतपुर सडक डिभिजनले जानकारी दिएको छ।
‘मुग्लिन–नारायणगढ सडक तुइन खोलानजिक झरेको पहिरो साइटमा तैनाथ उपकरणले सफा गरिरहेको छ,’ सडक डिभिजन भरतपुरले जानकारी दिँदै भनेको छ, ‘सवारी चालकले सवारी साधन अव्यवस्थित तवरले रोकेर राख्दा साइटमा थप उपकरण र इन्धन लैजान समस्या परेको अवस्था छ।’
मुग्लिन–नागढुंगा सडक खण्ड अन्तर्गत जवाङ खोला नजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध छ। त्यहाँ गएराति सुख्खा पहिरो झरेर बाटो अवरूद्ध बनेको थियो। मंगलबार बिहान ठूलो पहिरो खसेको र अहिले पनि पहिरो खस्ने क्रम नरोकिएकाले पन्छाउने कार्यमा बाधा पुगेको धादिङ प्रहरीले जानकारी दिएको छ।
धादिङ प्रहरीले वैकल्पिक सडक प्रयोग गर्न पनि आग्रह गरेको छ।