आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ ले बक्स अफिसमा खासै कमाइ गर्न सकेन।
फिल्म बनेदेखि रिलिजसम्म बहिष्कारको प्रवृत्ति झेल्नुपरेपछि लगानीसमेत उठाउन सकेन।
यसैबीच देशमा असहिष्णुता बढ्दै गएको भन्दै आमिरको भनाइबाट सामाजिक सञ्जालमा एक वर्ग आक्रोशित छ। त्यसयता सामाजिक सञ्जालमा आमिरविरुद्ध आक्रोश देखिएको छ।
अहिले ‘लालसिंह चड्डा’ को प्रदर्शन राम्रो नभएपछि यसलाई बहिष्कार प्रवृत्तिको प्रभाव भनिएको छ। तर उनको फिल्म किन चलेन भन्ने खुलेको छैन।
यसैबीच अनुपम खेरले आमिरलाई निशाना बनाएका छन्। आमिरसँग ‘दिल है कि मानता नही’ र ‘दिल’ फिल्ममा सँगै काम गरेका अनुपम खेरले ‘लाल सिंह चड्ढा’को बहिष्कारको प्रवृत्तिमा आमिरलाई नै दोष दिएका छन्।
इण्डिया टुडेसँग कुरा गर्दै अनुपम खेरले भने, ‘कुनै ट्रेन्ड सुरू गर्नुपर्छ भन्ने कसैलाई लाग्छ भने त्यसो गर्न उनीहरू स्वतन्त्र छन्। ट्वीटरमा हरेक दिन नयाँ ट्रेन्डहरू आइरहेका छन्,’ अनुपम खेरले भने, ‘यदि तपाईँले पहिले केही भन्नुभएको छ भने पक्कै पनि तपाईँलाई समस्या हुनेछ।’
सन् २०१५ मा आमिर खानले एक कार्यक्रममा देशमा बढ्दो असहिष्णुताको उल्लेख गरेका थिए। त्यसपछि उनको निकै आलोचना भएको थियो।
त्यतिबेला अनुपम खेरले पनि आमिरको टिप्पणीलाई लिएर निशाना बनाएका थिए। एक ट्वीटमा अनुपम खेरले भनेका थिए, ‘के तिमीले किरन रावलाई कुन देश जान चाहन्छौं भनेर सोध्यौ? के तिमीले उनलाई यो देशले आमिर खान बनाएको भनेर भन्यौ?'
बलिउड फिल्महरू आजकाल बहिष्कारको प्रवृत्तिको सामना गरिरहेका छन्। एक वर्ष बितिसक्दा पनि रिलिज हुन नसकेका चलचित्रको अहिले विरोध सुरु भएको छ।
‘लाल सिंह चड्डा’ सँगै अक्षय कुमारको ‘रक्षा बन्धन’ विरूद्ध पनि बहिष्कारको चलन चलेको थियो। यसबाहेक सामाजिक सञ्जालमा ‘लिगर’, ‘पठान’ र ‘ब्रह्मास्त्र’ पनि निशानामा छन्।