आगामी अगष्ट १९ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लाल सिंह चड्डा’ को प्रचार प्रसारमा आमिर खान यतिबेला व्यस्त छन्। कतिपयले यो फिल्मलाई बहिष्कार गर्नसमेत माग गरिरहेका छन्।
तर आमिरले आफू भारतलाई माया गर्ने कलाकार भएकाले दर्शकले साथ दिने भन्दै बहिष्कार नगर्नेमा आफू ढुक्क रहेको बताएका छन्।
आमिरको यस्तो अभिव्यक्तिसँगै कंगना रनौतले सामाजिक सञ्जालमार्फत फिल्म बहिष्कारको मास्टरमाइन्ड आमिर खान रहेको दाबी गरेकी छन्।
कंगनाले आफ्नो सोसल मिडिया स्टोरीमा लेखेकी छिन्, ‘मलाई लाग्छ ‘लाल सिंह चड्डा’ को बारेमा सबै नकारात्मक कुराको मास्टर माइन्ड आमिर खानले नै सुरू गरेका हुन्।’
यो वर्ष कमेडी फिल्मको सिक्वेलबाहेक अन्य कुनै पनि फिल्म हिट नभएको भन्दै रनौतले यो फिल्मले पनि राम्रो बजार नपाउने दाबी गरिन्।
‘भारतीय संस्कृतिसँग सम्बन्धित दक्षिण भारतीय फिल्म र स्थानीय स्वाद भएका फिल्मले मात्रै राम्रो व्यापार गरिरहेका छन्’, उनले भनिन्, ‘यस्तो बेला हलिउड रिमेक फिल्मले राम्रो व्यापार गर्न सक्दैन। तर, भारतलाई असहिष्णु भन्छन् भने हिन्दी फिल्मकर्मीहरूले दर्शकको नाडी बुझ्नुपर्छ।’
कंगनाले यो हिन्दू वा मुस्लिम हुनुको कुरा नभएको भन्दै फिल्मलाई धर्म वा विचारधारासँग जोड्न बन्द गर्न सुझाइन्।
‘आमिर खानजीले हिन्दुफोविक फिल्म ‘पीके’ बनाए र भारतलाई असहिष्णु देशको रूपमा वर्णन गरे, जुन उनको जीवनकै सर्वाधिक सफल फिल्म रह्यो, कृपया यसलाई धर्म वा विचारधारासँग जोड्न बन्द गर्नुहोस्, यो उनको खराब अभिनय र खराब फिल्महरू भन्दा फरक छ।’
आमिरले केही वर्षअघि देशमा बढ्दो असहिष्णुतालाई लिएर प्रतिक्रिया दिएका थिए। देशको वातावरण निकै खराब भएकाले पहिलो पटक आफ्ना सन्तानलाई लिएर डर लागेको उनले बताएका थिए।
यसै क्रममा उनले आफ्नी पूर्व पत्नी किरणले बच्चाको भविश्यलाई लिएर भारत छोड्नुपर्छ कि, भनेर बच्चाको सुरक्षाको विषयमा चिन्ता गरेको समेत बताएका थिए।
आमिरको पछिल्लो फिल्म ‘पीके’ लाई लिएर केही मानिसहरु आक्रोशित भएका थिए। उनीहरूले आमिरले फिल्ममा 'भगवान' को मजाक उडाएको र 'हिन्दू धर्म' को अपमान गरेको आरोप लगाएका थिए।
यस्तै आमिरले आफ्नो शो ‘सत्यमेव जयते’ मा शिवको मूर्तिमा २० रूपैयाँको दूध चढाउनुभन्दा बच्चालाई खुवाउनु राम्रो हुने बताएका थिए। यो विषयले पनि निकै विवाद निम्त्यायो।
यसैबीच अहिले केही व्यक्तिहरूले ‘लालसिंह चड्डा’ मा पैसा खर्च गर्नुभन्दा गरिब बालबालिकालाई खुवाउनु राम्रो हुने भन्दै फिल्म बहिष्कार गर्ने बताउँदै आएका छन्।