बलिउड अभिनेत्री करीना कपूर कुनै न कुनै कुरालाई लिएर सधै चर्चामा रहने गर्छिन्।
पछिल्लो समय करीना फेरि गर्भवती भएको र तेस्रो पटक आमा बन्न लागेका खबरहरू आइरहेका थिए। यो समाचारलाई लिएर मानिसहरूले विभिन्न खालका कुरा गरिरहेका थिए।
यसैबीच उनको एउटा रोचक सामाजिक सञ्जाल पोस्टले सबैको मुख बन्द गरिदिएको छ।
उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा एक पोस्ट सेयर गरेकी छन्। उनले पोस्टमा लेखेकी छन्, ‘साथीहरू, यो पास्ता र वाइनको प्रभाव हो... शान्त हुनुहोस्... म गर्भवती छैन... उफ्... सैफले भनेका छन् कि, उनले हाम्रो देशको जनसंख्याको लागि धेरै योगदान दिइसकेका छन् ... आनन्द लिनुहोस्। यससँगै उनले हाँस्ने र हात जोड्ने इमोजी पनि बनाएकी छन्।
केही समय अगाडि करीना कपूर आफ्नो परिवारसँग छुट्टि मनाउन लन्डन गएकी थिइन्। त्यसपछि उनको एउटा तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो। यसमा उनी सैफ अली खान र अर्का व्यक्तिसँग देखिएकी थिइन्। यो तस्बिर देखेर मानिसहरूको ध्यान करीनाको पेटमा गएको थियो र उनले यसलाई लुकाइरहेकी थिइन्।
यसपछि मात्रै उनी गर्भवती छिन् र तेस्रो पटक आमा बन्न लागेका हुन् भन्ने अनुमान गर्न थालेका थिए।
सन् २०१२ मा सैफ अली खानसँग विवाह गरेकी करीना कपूरले सन् २०१६ मा छोरा तैमुर अली खानलाई जन्म दिइन्। यसपछि सन् २०२१ मा उनले दोस्रो सन्तानका रूपमा जेह अली खानलाई जन्म दिइन्। सैफ अली खानले करीना कपूरसँग दोस्रो विवाह गरेका थिए।
यसअघि उनको अमृता सिंहसँग विवाह भएको थियो। सैफ अली खान र अमृता सिंहका एक छोरी सारा अली खान र एक छोरा इब्राहिम अली खान छन्। पछि दुवैको सम्बन्धविच्छेद भयो। करीना कपूरको यो पहिलो विवाह हो।