लागूऔषध सेवन गरेको आरोपमा पक्राउ परेका बलिउड कलाकार सिद्धान्त कपूर जमानतमा रिहा भएका छन्।
शक्ति कपूरका छोरा र श्रद्धा कपूरका भाइ सिद्धान्तलाई बेंगलुरूको एउटा रेभ पार्टीमा प्रहरीले छापा मारेर लागूऔषध प्रयोग गरेको आरोपमा पक्राउ गरेको थियो।
एएनआईका अनुसार उनी लागूऔषध सेवन गर्ने कथित ६ जनामध्ये एक हुन्। उनको ड्रग्स परीक्षण पनि पोजिटिभ आएको थियो।
बैंगलुरू सिटी ईस्ट डिभिजनका डीसीपी डा. भीमशंकरका अनुसार सिद्धान्त कपुरसँगै पक्राउ परेका अन्य चार जनालाई स्टेसन जमानतमा रिहा गरिएको छ। उनीहरूले प्रहरीले बोलाएको बेलामा हाजिर हुनुपर्नेछ।
सुशान्त सिंह राजपूत ड्रग्स केसमा नार्कोटिक्स कन्ट्रोल ब्यूरोको छानबिन सूचीमा श्रद्धा कपूर पनि परेकी थिइन्। तर, उनीविरुद्ध ठोस केही प्रमाणित हुन सकेन। सेप्टेम्बर २०२० मा एक व्हाट्सएप च्याटमा उनीहरूको नाम देखा पर्दा श्रद्धा कपूर, सारा अली खान र दीपिका पादुकोणलाई प्रश्न गरिएको थियो।
सिद्धान्त कपुर बलिउड अभिनेता शक्ति कपुरका छोरा हुन्। उनले १९९७ मा आएको फिल्म जुडवाबाट आफ्नो करियर सुरु गरेका थिए।
सिद्धान्तले अग्ली, जज्बा, हसिना पारकर, पल्टन, हेलो चार्ली र चेहरे जस्ता फिल्ममा काम गरिसकेका छन्। हालै रिलिज भएको वेभ सिरिज भौकालमा पनि सिद्धान्त देखिएका थिए।
यसबाहेक उनले सुटआउट एट वडाला, अग्ली, हसिना पार्कर, चेहरेलगायतका चलचित्रमा पनि अभिनय गरेका छन्। भागम भाग, चुप चुप के, भूल भूलैया, ढोल जस्ता चलचित्रमा पनि उनलाई सहायक निर्देशकका रुपमा देख्न सकिन्छ।