पुस्तक समीक्षा
ऐतिहासिक पात्रमाथि आख्यान सिर्जना गर्ने क्रममा नेपाली साहित्यमा थप एउटा इँटा थपिएको छ। पूर्व सचिव गोबिन्दप्रसाद कुसुमद्वारा सिर्जित उपन्यास 'भृकुटी' केही समय अगाडि मात्र बजारमा आएको छ।
यो उपन्यासले सातौं शताब्दीकी नेपाली राजकुमारी भृकुटीको जीवनको एउटा पाटोलाई उजागर गर्ने काम गरेको छ।
ऐतिहासिक पात्रमाथि आख्यान सिर्जना गर्नु एउटा चुनौतीपूर्ण कार्य हुँदै हो। स्वतन्त्र आख्यानजस्तो हुँदैन ऐतिहासिक उपन्यास। यसका कयौं सीमाहरू हुने गर्छन्। लेखकले आफूखुसी पात्रलाई जता पायो त्यता दौडाउन पाउँदैन। स्वतन्त्र उपन्यासको लगाम समग्र रूपमा लेखकको हातमा हुन्छ। लगाममात्र होइन चाबुक पनि लेखककै हातमा हुने गर्छ। त्यसकारण कति कतिमा कुन दिशामा दौडाउने अथवा भीरबाट खसाल्ने सम्पूर्ण जिम्मेवारी लेखकमा हुने गर्छ। अर्थात् सम्पूर्ण नियन्त्रण लेखकले गरेको हुन्छ। तर ऐतिहासिक पात्रमाथि लेखिएको उपन्यासको आंशिक नियन्त्रण मात्र लेखकका हातमा हुन्छ। कतिपय अवस्थामा यसको लगाम र चाबुक पाठकका हातमा पनि पुगेको हुन्छ। त्यसकारण लेखक चारैतिरबाट बाँधिएको हुन्छ ऐतिहासिक उपन्यास सिर्जनामा।
ऐतिहासिक पात्रमाथि उपन्यास अथवा आख्यान सिर्जना गर्दा सर्जकले आफ्नो कल्पनामा बहेको ज्वारभाटालाई संयमित र सचेत रूपमा प्रस्तुत गर्नुपर्छ। ऐतिहासिक पात्रका बारेमा धेरथोर पाठकलाई थाहा भइसकेको हुन्छ। त्यसकारण लेखकका हरेक प्रस्तुतिको गहन मूल्यांकन र पुनर्मापन अर्थात् क्रसचेकिङ पाठकले गरिरहेका हुन्छन्।
नेपालमा ऐतिहासिक पात्रमाथि थुप्रै उपन्यास सिर्जना भएका छन्। जङ्गबहादुर राणादेखि योगमायामाथि लेखिएका उपन्यासले राम्रो प्रभाव पनि पारेकै छन्। तर भृकुटी जस्ता पात्रमाथि उपन्यास लेख्ने धृष्टता पूर्वप्रशासक गोबिन्दप्रसाद कुसुमले गरेका छन्।
यहाँ धृष्टता भन्ने शब्दलाई प्रयोग गरिनाको कारण भृकुटीका बारेमा निकै थोरै मात्र जानकारी इतिहासमा भेटिन्छ। जति जानकारी भेटिन्छ त्यसमा पनि एक मत रहेको छैन। तर राष्ट्रिय विभूति घोषित भइसकेकी नेपालकी राजकुमारी भृकुटीमाथि ४५० पृष्ठको उपन्यास सिर्जना गरेर पहरासँग सिंगौरी खेलेकाले धृष्टता भनिएको हो।
'भृकुटी' उपन्यासका बारेमा चर्चा गर्नुभन्दा अगाडि मैले दुईपटक तिब्बतको भ्रमण गरेको प्रसंग यहाँ जोड्नु मनासिव होला।
मैले सन् २००६ को सेप्टेम्बरमा नेपाली पत्रकारहरूको टोलीमा सहभागी भएर पहिलोपटक चीनको स्वायत्त प्रदेश तिब्बतको भ्रमण गर्ने अवसर पाएको थिएँ। उक्त टोलीमा कान्तिपुर टेलिभिजनको फायरसाइड कार्यक्रमका तत्कालीन संचालक भूषण दाहाल, राइजिङ नेपालका तत्कालीन सहसम्पादक अरुण रन्जित, स्पोटलाइट पत्रिकाका तत्कालीन व्यवस्थापन सम्पादक केशव पौडेल लगायतका पत्रकार साथीहरू सहभागी थिए।
ल्हासा घुम्ने क्रममा भृकुटीले बनाउन लगाएको जोखाङ मन्दिरमा हामीले निकै लामो समय बितायौं। नेपालपट्टि फर्काएर बनाइएको यस मन्दिरभित्र पद्मसम्भवको विशाल मूर्ति पनि राखिएको छ। मन्दिरका भित्तामा बनाइएका कलाकृति, दलिनमा लेखिएका रञ्जना लिपि, टाँगिएका थाङ्का तथा चित्रहरूबाट नेपाली कलालाई स्पष्ट देख्न पाउँदा गौरव लागेको थियो।
बेहुली भएर नेपालबाट तिब्बत अन्मिँदा भृकुटीले बुद्धका मूर्ति, नेपाली कलाका केही नमूना, सुसारे र सहयोगीका रूपमा केही कालिगड साथमा लगेकी थिइन् भनिन्छ। सन् २०१९ को जुनमा दोस्रोपटक तिब्बतको भ्रमण गर्ने अवसर जुर्यो। बेइजिङबाट तिब्बत पुगेपछि फेरि पनि जोखाङ मन्दिरमा नेपालीपनको खोजी गर्नका लागि मैले त्यहाँका भित्ता, दलिन, भर्याङ, छत, झ्याल र ढोकालाई गहन ढङ्गले नियाल्ने प्रयास गरेँ। माइती देशको सम्झनामा भृकुटीले नेपालपट्टि फर्काएर बनाउन लगाएको जोखाङ मन्दिरको निर्माण संरचना र कलाकृतिले गर्दा आज चीनकै भव्य सांस्कृतिक सम्पदाका रूपमा रहेको कुरा सर्वविदितै छ।
गोबिन्दप्रसाद कुसुमको उपन्यास 'भृकुटी'मा जोखाङ मन्दिरको प्रसंग त छ तर जति हुनुपर्थ्यो त्यति छैन। किनभने तिब्बतमा भएका सांस्कृतिक सम्पदामा नेपाल चिनाउने यो प्रमुख केन्द्र हो। भृकुटीले यसलाई आफ्नो माइती घरतिर फर्काएर बनाउन लगाएको कुरा सर्वत्र उल्लेख छ। उपन्यासमा यही कुरा चाहिँ छुटेको छ। मतलब यो भवन बनाउँदा नेपालतिर फर्काउने कुरालाई तत्कालीन डिजाइन र निर्माण तथा दिशानिर्देश गरी नेपाल कता पर्छ र कसरी त्यता फर्काउने हो भन्ने कुरालाई उपन्यासमा सजीव वर्णन गरेर उतारेको भए सुनमा सुगन्ध हुने थियो।
ल्हासाको पुरानो नाम रासा हो र यो कसरी ल्हासा हुन भयो भन्ने कुरालाई लेखकले निकै सुन्दर ढङ्गले चित्रण गरेका छन्। खासमा उपन्यास यही बिन्दुमा पुगेर सकिन्छ। यस हिसाबले उपन्यासको विसर्जन संयोगान्त र सुखद देखिन्छ। तर भृकुटीकै जीवनी चाहिँ त्यति सुखद र संयोगान्त रहेको थिएन। उनका छोरा जो स्रोङचङ गम्पोका उत्तराधिकारी राजकुमार थिए। उनको अल्पायुमै मृत्यु भएको थियो। यो कुरा उपन्यासमा आउँदैन अथवा उपन्यास उक्त कालखण्डमा नपुगिकन टुङ्गिन्छ।
हुन तः चिनियाँ इतिहासले पनि भृकुटीलाई ठगेको छ। भृकुटीका बारेमा चिनियाँ भाषाका इन्टरनेटमा खोजी गर्दा अनौठा जानकारीहरू पाइन्छन्। कुनै कुनै चिनियाँ विद्वानले त भृकुटीलाई हुँदै नभएकी काल्पनिक पात्र भनेर निकै विद्रुप पनि बनाएका छन्। स्रोङचङ गम्पोकी अर्की श्रीमती वन छङका बारेमा चाहिँ चिनियाँहरूले साह्रै धेरै बखान गरेका छन् तर भृकुटीका बारेमा चिनियाँको कन्जुस्याइँ छ भन्दा फरक नपर्ला।
ल्हासामा एउटा विशाल थिएटर छ। उक्त थिएटरमा अप्रिलदेखि सेप्टेम्बरसम्म एउटा नाटक मन्चन हुने गर्छ। अक्टोबरदेखि मार्चसम्म जाडो मौसम हुने भएकाले नाटक मन्चन हुँदैन। उक्त गीतिनाटकको नाम हो स्रोङचङ गम्पोको विवाह समारोह। यो गीतिनाटक सन् २०१३ देखि निरन्तर प्रदर्शन हुँदै आएको छ। पूरै पहाड र फाँटलाई मञ्च बनाइएको छ। दर्शकदीर्घामा बस्नका लागि रंगशालाको जस्तो छत भएको विशाल क्षेत्र छ। नाटक मञ्चन हुने क्षेत्र अर्थात् मञ्च चाहिँ पहाड र जङ्गलसहितको क्षेत्रलाई समेटेर बनाइएको छ। साँझमा मात्र प्रदर्शन हुने भएकाले बत्तीको प्रभावबाट हिमपात र प्राकृतिक दृश्यलाई बेजोडसँग प्रस्तुत गरिन्छ। नाटकमा १ हजारभन्दा बढी कलाकारहरू सहभागी छन्। नाटकमा सयौंको सङ्ख्यामा घोडा र याकहरू पनि समावेश छन्। छिनभरमै दुरूस्तै देखिने पोतला दरबार र जोखाङ मन्दिरलाई मञ्चमा ल्याइन्छ।
स्रोङचङ गम्पोको विवाह समारोह रहेकाले भृकुटीको भूमिका अहम् हुने भइहाल्यो। तर गीति नाटकमा कतै पनि भृकुटीको नाम लिइँदैन। नाटकमा स्रोङचङ गम्पोले चिनियाँ राजकुमारी वनछङसँग गरेको विवाह मात्र समेटिएको दृश्य देखाइन्छ। मैले यो नाटक हेरेपछि नेपाली राजकुमारी भृकुटीलाई पूरै अवमूल्यन गरेको अथवा बेवास्ता गरेको महसुस गरेँ।
स्रोङचङ गम्पोले थाङ राजवंश परिवारकी (राजकुमारी होइनन्) वनछङसँग गरेको बिहे भृकुटीको जीवनको महत्वपूर्ण कोशेढुङ्गा हो। उक्त नाटकका अनुसार स्रोङचङ गम्पो सयौं जन्ती लिएर बेहुली वनछङ लिन जान्छन्। गोबिन्दप्रसाद कुसुमले चाहिँ बेहुलो बिना जन्ती मात्र गएको उपन्यासमा उल्लेख गरेका छन्। भृकुटीलाई लिन जाँदा बेहुलो गएका थिएनन् भने यता पनि गएनन् होला भनेर उनले त्यसरी प्रस्तुत गरेका हुन सक्छन्। जे भए पनि उक्त बिहेमा भृकुटीको मनोदशा केकस्तो रह्यो भनेर विविध ढङ्गले प्रस्तुत गर्न सकिन्थ्यो। बेहुलो सिँगार्दा, जन्तीको तयारी गर्दा, घर सिँगार्दा, बिहे भोजमा पाहुना बोलाउँदा हरेक क्षण भृकुटीको मन चिमोटिएको हुनुपर्छ। ल्हासामा प्रदर्शित नाटक जस्तै उपन्यासमा पनि यो पक्ष शून्य छ।
त्यसो त चिनियाँ स्रोतमा मात्र नभई नेपाली स्रोतमा पनि भृकुटीका बारेमा यथार्थ जानकारी प्राप्त गर्न कठिन छ। कतै भृकुटीलाई अंशुवर्माकी छोरी भनिएको छ भने कतै बहिनी। उनको जन्म कहिले र कहाँ भयो भन्ने कुरा पनि यकिन छैन। भृकुटीका बारेमा यथेष्ट खोज अनुसन्धान हुन नसक्ता नयाँ पुस्तामा अझ बढी अन्योल सिर्जना भएको छ। यस्तो अपूर्ण इतिहासकी पात्रमाथि उपन्यास लेख्नु आफैंमा चुनौतीपूर्ण कार्य हो।
केही समय पहिले शैलेन्द्रबहादुर थापाले 'भृकुटी (भेल्सा/ल्हाच्ह्गि ठ्रित्सुन): एक अध्ययन' कृति प्रकाशन गरेका छन्।
भेल्सा अथवा ल्हाच्ह्गि र ठ्रित्सुन भृकुटीका तिब्बती नाम हुन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा पिएचडीको शोध अनुसन्धान गर्ने क्रममा थापाले यो किताब लेखेका हुन्। यस कृतिमा भृकुटीका बारेमा केही नयाँ तथ्य पनि सार्वजनिक गरेका छन्। उनले भृकुटी अंशुवर्माकी छोरी नभएर उदयदेवकी छोरी र नरेन्द्रदेवकी बहिनी भएको कुरालाई विभिन्न कोणबाट पुष्टि गरेका छन्। भृकुटी लिएर फर्किएको तिब्बती जन्ती केरूङको गुफामा बास बसेको थियो। त्यही गुफाबाट भृकुटीले जन्मभूमिलाई अन्तिम बिदा गर्दै तिब्बत प्रवेश गरेको थापाले लेखेका छन्।
उक्त गुफालाई 'गुरुफु' भनिन्छ। त्यही गुफाबाट नेपाली राजकुमारी भृकुटीको अन्तिम बिदाइ गरिएकाले त्यसलाई 'ग्ये' (छुटेको/बिदाइ) 'फु' (गुफा) अर्थात् त्यो गाउँबाट भृकुटी छुटेर ल्हासा गएकाले त्यसलाई 'ग्येफु' र त्यो नजिकैको 'गुरुफु'लाई नै 'विदाइ गुफा' भनिन्छ भनेर थापाले औंल्याएका छन्।
गोबिन्दप्रसाद कुसुमले चाहिँ गुफामा बसेको उल्लेख गरेका छैनन्। अझ उनले त काठमाडौंदेखि हात्तीमाथि चढेर भृकुटी ल्हासा पुगेको उपन्यासमा लेखेका छन्।
आजभन्दा १४ सय वर्ष अगाडि काठमाडौंबाट केरुङ हुँदै हात्ती ल्हासा पुग्यो भनेर लेख्नु अगाडि उक्त क्षेत्रको भूगोल, हावापानी, अक्षांश, बाटोघाटो आदिका बारेमा केही जानकारी लिएको भए यस्तो कमजोर प्रस्तुति पक्कै हुने थिएन।
एउटा पाठकका रूपमा 'भृकुटी' उपन्यासमा सरसर्ती पढ्दा केही कमजोरी र त्रुटिहरू रहेको मलाई लागेको छ। यद्यपि मैले यहाँ औंल्याएका कमजोरी अथवा त्रुटि पनि पूर्ण नहुन सक्छन् अथवा मेरो दृष्टिकोण गलत पनि हुनसक्छ। किनभने म आफैं पनि इतिहासको खोज तथा अनुसन्धानकर्ता होइन। मैले उपन्यासमा भेटेका केही कमजोरीलाई बुँदागत रूपमा यहाँ उल्लेख गर्नु मनासिव होला।
उपन्यासमा राजकुमारी भृकुटीको हुर्काइको समयमा अंशुवर्माले उनलाई राजपाटमा प्रत्यक्ष सहभागी गराएको कुराले भृकुटीलाई चाहिनेभन्दा बढी प्रशंसाको भारी बोकाइएको छ। यस्तो अति 'हिरोइज्म' अस्वभाविक र कृतिम लाग्छ।
राजसभामा भृकुटी आफैंले सतीप्रथाको विरूद्धमा कदम चालेको, महिला हिंसाका विरूद्धमा न्याय दिएको, विधवा विवाहको थालनी गरेको आदि कुरा एकातिर राखिन्छ भने अर्कातिर भृकुटीकै बिहेको कुरा छिनोफानो गर्दा चाहिँ बाबुआमाले नसोधिकन गरेको कुरा आपसमा बाझिन्छ। सम्पादन पक्षले पनि यतातिर ध्यान नपुर्याएको हो कि!
भृकुटी राजकुमारी थिइन्, त्यसकारण उनलाई दरबारभित्रको बोलीचाली, कामधन्दा, रहनसहनका बारेमा प्रशिक्षण दिएको उल्लेख भएको भए अलिक सुहाउने खालको हुने थियो। यो पक्ष नभए पनि भृकुटी अत्यन्त शालिन, शिष्ट, चतुर, वाचाल, विश्लेषक छिन् भन्ने कुरा उपन्यासमा वर्णित उनका हरेक कदमले पुष्टि गर्छ। यो पनि अलिक धेरै भयो र पाठकलाई बोझ पनि। हुँदा हुँदा बेहुली भएर तिब्बत जाँदा भृकुटी एकाएक डाकुसँग युद्ध गर्न लडाकु भएर पो निस्किन्छिन बा! ठ्याक्कै झाँसीकी रानी जस्तै। त्यसभन्दा अगाडि उनमा युद्ध सम्बन्धी कुनै ज्ञान थिएन र उनी हिंसा पटक्कै रुचाउँदिनन् भन्ने कुरा त उपन्यासको पेटबोलीबाटै थाहा हुन्छ। तसर्थ लेखक अलिकति चिप्लिएको देखिन्छ।
पाटनका घरको कुरा हुँदा पनि त्यस्तै कमजोरी पक्ष आउँछ। दोस्रो तला र झ्यालमा पर्दा लगाएको कुरा कसरी आयो? त्यतिबेला घरको झ्यालमा पर्दा हुन्थ्यो र? अनि दरबार होइन अरू स्थानीयका घर दुई तले हुन्थे भन्ने कुरा कसरी पत्याउने? कुनै ठाउँमा जुत्ता र मोजा लगाएको प्रसङ्ग पनि समयसँग सुहाउने खालको छैन।
भृकुटी तिब्बत पुगेको भोलिपल्टै तिब्बती भाषामा पनि लिपि चाहिन्छ भनेर भन्छिन्। हैट बेहुली बनेर अर्को देशमा पुग्नुछ। बोलीचाली केही बुझ्नु छैन। लिपि चाहिन्छ भनेर त्यसमा राजालाई काम गर्ने अवस्था सिर्जना गरेको कुरा पृष्ठ (३१३/३१४) कमिलालाई भुइँसीको सिङ भिराए जस्तो हुन्न र!
अहिले पनि थुप्रै नेपाली चेलीहरूले चिनियाँसँग बिहे गरेर चीनमै घरजम गरेका छन्। यस्तो अवस्थामा नेपाली चेलीहरूका लागि पर्ने पहिलो र सबभन्दा ठूलो समस्या भनेकै भाषा हो। भाषा पटक्कै नबुझिने अनि केही हप्तापछि अलिअलि अनुमानको भरमा बुझेर प्रतिक्रिया दिँदा पनि उल्टो हुने गरेको उनीहरूले सुनाउँछन्। भृकुटीले भाषा बुझिनन् भन्ने कुरा त उल्लेख छ तर यसबाट उनलाई परेको अप्ठ्यारो चाहिँ त्यति धेरै उल्लेख छैन। अन्य गन्थन गरेर किताबका पृष्ठ बढाउनुभन्दा यो पक्षमा केही मेहनत गरेको भए उपन्यास अझै सशक्त हुने थियो। बरू भृकुटीले भाषा नबुझेको भनेर लेखिरहँदा पूर्वदीप्ति वर्णनमा स्रोङचङ गम्पोसित पहिले नै काठमाडौँमा भेट भएको प्रसंग पृष्ठ ३५०/३५१ मा उल्लेख छ। यहाँ त फेरि मजाले दुवै जना गफ गर्छन्। यो कसरी हुन गयो?
राजकुमारीले आफ्ना श्रीमान्सँग बोल्दा प्रयोग गरेको लवज पनि कुनै कुनै ठाउँमा सुहाउँदैन्। पृष्ठ ३२१ मा भृकुटी स्रोङचङ गम्पोलाई भन्छिन् 'छ्या तपाईंले गरेको कुरामा चित्त दुख्ने सवालै छैन।' लेखकले भृकुटीलाई अत्यन्त सभ्य र सुशील अनि उनको बोली अत्यन्त मिठो र लालित्यपूर्ण भनेर वर्णन गर्दै जाँदा यहाँ चाहिँ किन 'छ्या' नि?
भृकुटीले ल्हासामा गुरु पद्मसम्भवसँग साक्षात्कार गर्छिन्। उपन्यासमा पद्मसम्भवसँगको भेट, कुराकानी, ज्ञानआर्जन, दीक्षाग्रहणको कुरा विभिन्न ३० पृष्ठमा उल्लेख छ। उपन्यास पढ्दा मेरो मथिङ्गल घुमेको चाहिँ यही प्रसङ्गले हो।
मैले पढेका सामग्री अनुसार भृकुटी र पद्मसम्भवको समय लगभग एक सय वर्षको फरक हो। अर्थात् भृकुटी तिब्बत आएकी सातौँ शताब्दीमा हो भने पद्मसम्भव आएको आठौँ शताब्दीमा हो। उपन्यास हो भइहाल्छ नि भनेर टालटुले तरिकाले लेख्ने हो भने अर्कै कुरा नत्र यस्तो अन्योल नभएको भए राम्रो हुन्थ्यो।
उपन्यास पढ्दै जाँदा १३ औं शताब्दीमा तिब्बत आएका अरनिकोसँग पनि भृकुटीको भेट हुन्छ कि भन्ने डर पाठकमा मनमा रहन सक्छ।
उपन्यासमा ल्हासाको परिवेश त्यति सशक्त छैन। तिब्बतीहरूले घरघरमा सुँगुर पालेको कुरा निकै अनौठो छ। तिब्बतीहरूको जीवनशैली त चौँरीसँग जोडिन्छ। उनीहरू चौँरीको दूध, घिउ, मोही, दही, मासु खान्छन्। चौंरीको छालाबाट मालसामान राख्ने थैलोदेखि लगाउने बख्खु र दोचा बनाउँछन्। टोपीदेखि जिउ तातो बनाउने लुगा अनि भुइँमा ओछ्याउने पनि चौंरीकै छाला। चौंरीको सुकुटी सबभन्दा प्रिय परिकार हो तिब्बतीका लागि। चौंरीको हड्डीबाट चपस्टिक्स, चम्चा, डाडुपन्युदेखि भान्साका धेरै वर्तन तयार गरिन्छ। चौंरीको चमार (चौंरीको पुच्छर) नभएको तिब्बतीको घर नै हुँदैन। चौंरी र तिब्बतीको जीवन अन्योन्याश्रित रहन्छ। त्यस्तै गरी आलु र जौको सातु अनि ढुङ्ग्रोमा पारिने चिया तिब्बतीलाई नभई नहुने खाद्यपदार्थ हुन्। यी कुराको कतै पनि वर्णन नहुँदा ल्हासाको परिवेश उपन्यासमा फिटिक्कै आउन सकेन।
तिब्बतमा लाखौं सेना भएको कुरा लेखकले विभिन्न प्रसंगमा उल्लेख गरेका छन्। पृष्ठ ३७५ मा २ लाख सेना लिएर लडाइँ गर्न गएको प्रसंग छ भने पृष्ठ ३९० मा लाखौं सेना भएको उल्लेख छ। तिब्बतको अहिलेको जनसंख्या ३६ लाख छ। १४ सय वर्ष अगाडि तिब्बतको जनसंख्या कति थियो भन्ने कुरा अनुमान गर्न सकिन्छ। जनसंख्या नै केही हजार मात्र रहेको ठाउँमा कसरी सेना चाहिँ लाखौं हुन गयो? लेखक तथा सम्पादक दुवै चिप्लिएको अवस्था हो यो।
ल्हासाको सरदर उचाइ समुद्री सतहदेखि ३६०० मिटर रहेको छ। यहाँ पुग्ने प्राय: नेपालीलाई लेक लाग्छ। लेक लाग्नु भनेको उचाइ महसुस हुनु हो र अक्सिजन कम हुनु हो। यस्तो बेला सातु, अदुवा, लसुन आदि खाइन्छ। राति सुत्दा केही मिनेटको फरकमै झसङ्ग ब्युझने गरिन्छ। रातभर निदाउन प्राय: सकिँदैन। लेखक पूर्व सचिव पनि हुन्। उनले ल्हासामा काम गरेका पूर्व महावाणिज्यदूतहर"लाई अलिअलि सोधेको भए यो परिवेशलाई सुन्दर ढङ्गले उठाउन सक्थे।
पृष्ठ २९८ देखि ३०० सम्म रक्सी खाएर मातेको कुरा निकै मेहनत गरेर राखिएको छ। यो चाहिँ नेपाली समाज त्यो पनि अहिलेको अवस्थामा मात्र सुहाउँदो छ। कुनै चुट्किलामा भनिए जस्तै मातेको मान्छेले छिमेकी महिलालाई आफ्नी श्रीमती भनेको कुरालाई यति हलुका ढङ्गले उपन्यासमा नराखेको भए राम्रो हुने थियो।
भृकुटी कसकी छोरी हुन् भन्ने कुरामा विवाद छ। लेखकले 'मेरो कुरा' शीर्षकमै यो कुरा खुलाएर आफूले उपन्यासमा अंशुवर्माकी छोरी बनाएको उल्लेख गरेका छन्। त्यसकारण इतिहासमा विवाद भए पनि यो उपन्यासमा भृकुटीलाई अंशुवर्माकी छोरी होइनन् भनिरहनु परेन। भृकुटी जसकी छोरी भए पनि उनी बुद्ध धर्मावलम्बी थिइन् भन्ने कुरामा कसैको दुई मत हुन सक्दैन। तर लेखक आफैं रनभुल्लमा परेका छन्। उनलाई भृकुटी बुद्धधर्म मान्ने पनि देखाउनु छ फेरि हिन्दू पनि देखाउने लोभ गरेका छन्। भृकुटीको ल्हासामा भएको बिहेमा चरुहोमको उल्लेखले पाठकलाई हँसाउँछ मात्र। यस्ता अन्य प्रसङ्गहरु पनि छन् थुप्रै।
पृष्ठ ३२८ मा यस्तो लेखिएको छ 'भृकुटीलाई थाहा थियो - जब रानीहरूले राजपाटमा आवश्यकताभन्दा बढी रुचि दिन थाल्छन्, त्यहाँ अन्तर्विरोध सिर्जना हुन्छ। जहाँ अन्तर्विरोध बढ्छ, त्यहाँ षड्यन्त्र सुरू हुन्छ। जहाँ षड्यन्त्र हुन्छ, त्यहाँ द्वन्द्व आउँछ। जहाँ द्वन्द्व हुन्छ, त्यहाँ शक्तिसङ्घर्ष हुन्छ। जहाँ शक्ति सङ्घर्ष हुन्छ, त्यहाँ मारकाट बढ्छ।' यो अलिक लैङ्गिक विभेद भयो कि!
महिलालाई दोषी देख्ने पुरूष आँखाले लेख्दै र भन्दै आएको कुरा भृकुटी जस्ती पवित्र पात्रको मुखबाट भनाउनु सोभनीय भएन।
उपन्यास अलिक बढी लामो भयो। एक तिहाइ खण्डलाई निर्मम तरिकाले छाँटकाँट गरेको भए छरितो हुने थियो। फुटनोटले पाठकलाई सास्ती दिएको छ। फुटनोटको सट्टा ती शब्दलाई एकै वाक्यमा उहीँ प्रष्ट्याउन सकिन्थ्यो। अथवा फुटनोट राख्नै परे पनि सोही पृष्ठको पुछारमा राखेको भए यता पल्टाउने र उता पल्टाउने झन्झट पाठकलाई पर्ने थिएन।
उल्लिखित बुँदालाई आलोचनाका रूपमा होइन फूलका बोटमा भएका काँडाका रूपमा लिनुपर्छ। उपन्यास निकै सशक्त र रोचक पनि छ। भृकुटीले आफ्ना बालसखासँग गर्ने कुराकानीका विषय स्वाभाविक र कौतुहलपूर्ण छन्। यस्ता कुराले पाठकलाई समेत कुतकुती लगाउँछ। उपन्यासले १४ सय वर्षदेखिको नेपाल र चीनबीचको सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई मियोका रूपमा उठान गरेको छ। साङ्ग्रिला बुक्सले बजारमा ल्याएको 'भृकुटी' उपन्यासले भृकुटीमाथि थप खोज तथा अनुसन्धान गर्नका लागि एउटा गोरेटो कोरेको छ।
- बेइजिङ, चीन