भारतको मुम्बईमा कतिपय सडक चौराहा यस्ता छन्, जहाँ ट्राफिक सिग्नलमा जसै गाडीहरू रोकिन्छन्, कम उमेरका बालबालिकादेखि किशोर–किशोरीहरू दसतिरबाट दसथरीका खिद्रीमिद्री सामान बोकेर वरिपरि झुम्मिन आइपुग्छन्।
सुकेतु मेहता त्यस्तै एउटा चौराहाको ट्राफिक सिग्नलमा फसेका थिए।
एउटा फुर्तिलो बालक हातभरि ‘म्याक्सिमम सिटी – बम्बे लस्ट एन्ड फाउन्ड’ को चाङ बोकेर सुकेतुको गाडीमा दस्तक दिन आइपुग्यो।
बन्द सिसाबाट उसको मधुरो आवाज सुनिँदै थियो — म्याक्सिम सिटी, म्याक्सिम सिटी, म्याक्सिम सिटी।
ऊ किताबको शीर्षक गलत उच्चारण गर्दै थियो र अगाडि भन्दै थियो — ले लो साब ले लो, सिर्फ पाँच सौ रूपेँ, पाँच सौ रूपेँ, पाँच सौ रूपेँ।
सुकेतुले गाडीको सिसा खोले, कमसल कागजमा कमसल छपाइ भएको वा अझ फोटोकपी नै गरिएको हुनसक्ने डुप्लिकेट किताब हातमा लिए र भने, ‘क्या है इसमे?’
बालकले जवाफ दियो, ‘इसमे पूरा बम्बई है साब!’
सुकेतुले भने, ‘तुझे मालुम है, यह किताब मैने लिखी है?’
बालकले फ्याट्टै भन्यो, ‘तो आप चार सौ दिजिए।’
यो घटना पुलिट्जर पुरस्कार मनोनित लेखक सुकेतु मेहताको मनको एकदम नजिक छ सायद, किनभने उनले आफ्ना धेरै अन्तर्वार्तामा यो प्रसंग सम्झेका छन्। उनलाई यो घटना यति घत पर्नुको एउटा कारण त्यो बालकले ‘म्याक्सिमम सिटी’ किताबलाई दिएको ट्यागलाइन हुनसक्छ —
‘म्याक्सिमम सिटी — इसमेँ पूरा बम्बई है’
रोचक कुरा त के भने, सडकमा डुप्लिकेट किताब बेचेर गुजारा गर्ने त्यो बालकले जे भन्यो, पछि संसारभरका धेरै समीक्षक र पाठकहरूले यो किताबलाई त्यही रूपमा चिने, त्यही रूपमा सराहना गरे।
उनै सुकेतु मेहता पोखरामा जारी ‘नेपाल लिटरेचर फेस्टिभल’ मा वक्ता भएर आउँदै छन् भन्ने खबर सुन्नेबित्तिकै मलाई उनीसँग अन्तर्वार्ता गर्न मन लाग्यो। अन्तर्वार्ताभन्दा पनि म आफूले सोह्र वर्षअघि पहिलोपटक पढेको र त्यसपछि एकचोटि पूरै र अर्कोचोटि सर्सर्ती दोहोर्याएको किताबका लेखकसँग आफ्ना केही जिज्ञासा राख्न चाहन्थेँ —
उनको किताब लेखन प्रक्रिया बुझ्न चाहन्थेँ। एउटा सिंगो सहरलाई कसरी पात्रका रूपमा उभ्याइयो भनेर जान्न चाहन्थेँ। संसारकै एक विशाल सहरका लेखकलाई सहर के हो भनेर सोध्न चाहन्थेँ। पहिलो किताबमा त्यति मायालु ढंगले प्रस्तुत लेखक दोस्रो किताब ‘दिस ल्यान्ड इज आवर ल्यान्ड — एन इमिग्रेन्ट्स मेनिफेस्टो’ मा किन त्यति रिसाएका भनेर थाहा पाउन चाहन्थेँ। उनले लामो समयदेखि न्यूयोर्कमाथि लेख्दै गरेको किताब कहाँ पुग्यो होला भनेर सुन्न चाहन्थेँ। र, सँगसँगै न्यूयोर्क विश्वविद्यालयमा ‘न्यारेटिभ राइटिङ’ पढाउने लेखकसँग एक–दुईवटा ज्ञानगुनका कुरा सिक्न चाहन्थेँ।
मैले लिटरेचर फेस्टिभलका आयोजकद्वय अजित बराल र निरज भारीसँग कुरा गरेँ। निरजले सुकेतुलाई इमेल लेखे र इमेलमै हामी दुई जनालाई भेटाइदिए।
पुस ७ गते, बिहीबार — सुकेतु मुम्बईबाट भिस्टाराको उडानमा काठमाडौं आउँदै थिए। उनको जहाज १० बजेर ५५ मिनेटमा अवतरण गर्दै थियो। त्यसपछि उनी १ बजेर ५ मिनेटको बुद्ध एअरको उडानबाट पोखरा जाँदै थिए। मसँग सुकेतु काठमाडौं ओर्लेर पोखरा उड्नुअघि दुई घन्टाको ‘विन्डो पिरियड’ थियो, जसमध्ये एक घन्टा म उनीसँग मज्जाले कुरा गर्न सक्थेँ।
बिहीबार बिहान काठमाडौं हुस्सुले डम्म ढाकिएको थियो। म विमानस्थल जान साढे ९ बजे घरबाट निस्कँदा पनि आकाश खुलेको थिएन। वरिपरि चारैतिर बाफ उडिरहेझैं देखिन्थ्यो। पठाओमा हुइकिँदै गर्दा म जाडोले थरथर कामेको थिएँ।
ठाउँठाउँमा बिहानको ट्राफिक जाम छिचोल्दै १० बजेर ३५ मिनेटमा म विमानस्थलको अराइभल टर्मिनलमा पुगेँ। दिनभरको उडान अपडेट दिइरहेको स्क्रिनले मुम्बईबाट आइरहेको भिस्टारा जहाज होल्डिङमा राखिएको सूचना दिँदै थियो। भन्नुको मतलब, जहाज नेपाली आकाशमा छिरिसकेको थियो तर अवतरण गर्न नपाएर आकाशमै फन्फनी फन्को मार्दै रहेछ।
मैले फ्लाइट-अवेर डटकममा जहाज कति बेरमा अवतरण गर्छ भनेर हेरेँ। त्यसले ४९ मिनेट ढिला देखायो। जहाज काठमाडौं नजिक आइवरी फर्केर सिमरा वा त्योभन्दा पर नेपाली सीमाभित्रै कतै घुमिरहेको मैले देखेँ।
म त्यसपछि सय रूपैयाँ शुल्क तिरीवरी भित्र डिलक्स लाउन्जमा गएर सुकेतुलाई पर्खिन थालेँ।
पर्खाइ जति बढ्दै थियो, मैले पाउने ‘विन्डो पिरियड’ उति घट्दै थियो।
बाह्र बजेतिर जसै जहाज अवतरण भयो, मैले सुकेतुको ह्वाट्सएपमा आफू अराइभल लाउन्जमा पर्खिरहेको मेसेज पठाएँ।
एकैछिनमा पिलिक्क उनको जवाफ आयो, ‘ओके, म अध्यागमनको लाइनमा छु।’
त्यसको झन्डै बीस मिनेटपछि विमानस्थलको ‘मुभिङ वाकवे’ मा सेतो सर्ट र गाढा निलो जिन्स लगाएका, हातमा लगेज समातेका सुकेतु मेहता झुल्किए।
मैले देख्नेबित्तिकै हात हल्लाएँ।
उनले हात हल्लाएर जवाफ फर्काए।
मुभिङ वाकवेबाट तल आइसकेपछि हामीले हात मिलायौं। मैले उनलाई त्यही लाउन्जमा रहेको हिमालयन जाभामा कफी पिउँदै कुराकानी गरौं है भनेर सोधेँ। यसबीच निरजले पोखरा जान साढे २ बजेको अर्को उडानमा सुकेतुको टिकट सारिसकेका थिए।
मसँग अब एक घन्टाको ‘विन्डो पिरियड’ थियो।
म अघिअघि क्याफेतिर गएँ, कफी अर्डर गरेँ, सुकेतु पाङ्ग्रावाला लगेज गुड्काउँदै पछिपछि आए।
‘तपाईंको लगेज यत्ति हो?’ मैले सोधेँ।
उनले ‘हो’ भने।
‘अनि खोइ त तपाईंको हरियो ब्याकप्याक?’
यो प्रश्न कहाँबाट आयो भन्ने बुझेर सुकेतु मुसुक्क हाँसे र भने, ‘ओहो त्यो त धेरै पुरानो कुरा हो! करिब २० वर्ष अगाडिको। म्याक्सिमम सिटी लेख्न बम्बेमा रिपोर्टिङ गर्दा मैले पूरा समय त्यही ब्याकप्याक बोकेँ। त्यसपछि छोरालाई दिएँ।’
‘छोरालाई दिएँ!’
‘मेरा दुई जना छोरा छन्। दुवै अमेरिकामा पत्रकार छन्। जेठो छोरा गौतम जर्जियाबाट प्रकाशित हुने म्याकलाची पत्रिकामा काम गर्छ। कान्छो छोरा आकाशको आफ्नै पत्रिका छ, जसले न्यूयोर्क सहरबारे रिपोर्टिङ गर्छ। त्यो हरियो ब्याकप्याक मैले धेरै वर्ष प्रयोग गरेर आकाशलाई दिएँ। उसले पनि धेरै वर्ष बोकेर हिँड्यो। ऊ त्यही बोकेर कलेज जान्थ्यो।’
सुकेतुको हरियो ब्याकप्याकको कुरा मैले म्याक्सिमम सिटीमै पढेर थाहा पाएको हुँ। मुम्बईमा रिपोर्टिङ गर्दा उनी त्यसैमा आफ्नो ल्यापटप बोक्थे र ल्यापटपमा पूरा मुम्बई बोकेर हिँड्थे!
‘भनेपछि अहिले तपाईं ब्याकप्याक बोक्नुहुन्न?’ मैले कुराकानी अघि बढाएँ।
‘बोक्छु नि, अहिले म रातो ब्याकप्याक बोक्छु। म न्यूयोर्क सहरको किताबमा काम गर्दैछु, त्यसको निम्ति रातो ब्याकप्याक बोक्न थालेको छु।’
‘मुम्बईमा हरियो ब्याकप्याक, न्यूयोर्कमा रातो — कुनै खास कारण?’
‘हा हा हा ... ’ उनी मज्जाले हाँसे, ‘त्यस्तो कुनै खास कारण भइदिएको भए अहिले भन्न पाउँदा मलाई गज्जब लाग्ने थियो। तर कुनै कारण छैन। यत्ति हो, त्यति बेला मलाई हरियो रङको ब्याग मन पर्यो। पछि न्यूयोर्कमा काम गर्दा रातो रङको मन पर्यो, मैले त्यही किनेँ।
‘जब म बम्बे किताबमा काम गर्दै थिएँ, म आफ्नो ल्यापटप सधैं सँगै बोकेर हिँड्थेँ। अहिले न्यूयोर्क किताबमा काम गर्दा पनि कहिलेकाहीँ त बोकेरै हिँड्छु तर पहिलेजस्तो नियमित बोक्दिनँ। अहिले म आफ्ना पात्रहरूसँगको कुराकानी सिधै मोबाइल फोनमा रेकर्ड गर्छु। बम्बेमा भने कुराकानी गर्दागर्दै सिधै ल्यापटपमा टिप्ने गर्थेँ।’
‘म्याक्सिमम सिटीमा मलाई एउटा कुरा रोमाञ्चक लाग्छ — तपाईं आफ्नो हरियो ब्याकप्याकमा ल्यापटप बोकेर सहरका गल्ली–गल्ली, सडक–सडक चहार्नुहुन्छ। त्यो ल्यापटपमा पूरा मुम्बई सहरको कथा समेटिँदैछ। तपाईं आफ्ना पात्रहरू भेट्न छुट्टै अपार्टमेन्ट भाडामा लिनुहुन्छ। उनीहरूलाई त्यहीँ बोलाउनुहुन्छ, कुरा गर्नुहुन्छ अनि अहिले भर्खर भन्नुभयो, उनीहरूसँगको कुराकानी सिधै ल्यापटपमा खर्रर टाइप गर्नुहुन्छ। यी कुरा कल्पना गर्दा पनि म रोमाञ्चित हुन्छु!’
‘मेरो निम्ति पनि त्यो एकदमै रोमाञ्चक अनुभव थियो। जब मैले सन् १९९८ मा म्याक्सिमम सिटीमा काम सुरू गरेँ, ल्यापटप भनेको अहिलेजस्तो सामान्य र सर्वसुलभ साधन थिएन। महँगो वस्तुमा गनिन्थ्यो, जसका उपभोक्ता प्रायः धनीमानी हुन्थे। त्यसमाथि मुम्बईको त्यो तल्लो वर्ग — सुटर, बार डान्सर, हिटम्यान – जो मेरो किताबका मुख्य पात्र थिए, उनीहरूका लागि त ल्यापटप भनेको दुर्लभ वस्तु भइगयो।
‘मैले उनीहरूसँग कुरा गर्न होटलको कोठा भाडामा लिएको थिएँ। म उनीहरूलाई आफ्नो घरमा पाहुना बनाएर लैजान सक्दिन थिएँ। त्यहाँ मेरो परिवार बस्थ्यो। मेरी श्रीमती र केटाकेटीहरू थिए। उनीहरूलाई घरमा ल्याएर आफ्नो परिवारसँग भेट गराउनु पछि जोखिमपूर्ण हुनसक्थ्यो। त्यसैले मैले उनीहरूलाई होटलमा डाकेँ र लामो–लामो कुराकानी गरेँ। हाम्रो कुराकानी दुई–तीन घन्टाको हुन्थेन, त्यो दुई–चार दिन र अझ त्योभन्दा लामो समय पनि तन्किन्थ्यो।
‘म उनीहरूसँग कुराकानी गर्दा आफ्नो ल्यापटप निकाल्थेँ। एकचोटि के भयो भने, मैले अन्तर्वार्ता लिन डाकेको हिटम्यानले भन्यो, ‘तिमीलाई थाहा छ, गत साता मैले यस्तै ल्यापटप चोरेको थिएँ।’ म झसंग भएँ। ऊ त्यही बेला आफ्नो गोजीबाट पिस्तोल झिकेर मेरो टाउकोमा राख्दै ल्यापटप लुटेर भाग्न सक्थ्यो। उसले त्यसो गरेको भए पनि म केही गर्न सक्दिन थिएँ। म त्यो बेला उसको अगाडि निरीह थिएँ, शक्तिहीन।
‘म ती पात्रहरूसँगको भेटमा आफ्नो त्यो असहाय अवस्था प्रदर्शन गर्न चाहन्नथेँ। म ती हिटम्यानहरूलाई के देखाउन चाहन्थेँ भने– हेर तिमीसँग बन्दुक छ, शक्ति छ, तिमी जुनसुकै बेला मलाई लुट्न सक्छौ, मार्न सक्छौ, म तिम्रो अगाडि शक्तिविहीन छु तर म डराएको छैन। म तिमीसँग यो होटलको कोठामा एक्लै बसेर निर्भीकतापूर्वक कुराकानी गर्दैछु।
‘यस्तो नाटकीय प्रस्तुतिले मलाई केही साहस दिन्थ्यो र उसको सामु बराबर हैसियतमा राख्थ्यो। त्यसपछि म उनीहरूसँग आत्मविश्वासका साथ कुरा गर्न थाल्थेँ र ल्यापटपमा उनीहरूका कुरा टिप्न थाल्थेँ। सुरू सुरूमा त उनीहरूको धेरैजसो ध्यान मेरो ल्यापटपमाथि नै हुन्थ्यो। उनी घरि ल्यापटप हेर्थे, घरि मलाई हेर्थे। कहिले कोठा वरिपरि नियाल्थे। होटलको त्यो कोठा सामान्य नै थियो, तर त्यति सामान्य कोठा पनि सायद उनीहरूले आफ्नो जिन्दगीमा कहिल्यै देखेका थिएनन्। उनीहरूको पूरा परिवार बस्ने सिंगो घर पनि सायद होटलको त्यो कोठाभन्दा सानो र साँघुरो थियो।
‘म उनीहरूको त्यो मनस्थिति अनुमान लगाउन सक्थेँ। तर मैले त्यसलाई वास्ता गरिनँ र निरन्तर संवाद गरिरहेँ, ल्यापटप चलाइरहेँ।
‘अन्तर्वार्ताका क्रममा उनीहरू अनेक कुरा गर्थे। अनेकौं कथाहरू सुनाउँथे। कहिले भगवानको कुरा गर्थे, कहिले राजनीतिको चर्चा गर्थे। उनीहरूलाई ती सबै कुरा मसँग गर्न पाउँदा रमाइलो अनुभव हुँदो हो। उनीहरूलाई लाग्दो हो, म पनि उनीहरूको जुनसुकै कुरा रमाइलो मानेर सुन्दैछु। तर कतिपय कुरा मेरो कामको थिएन। मलाई त्यसले बोर गर्थ्यो। त्यस्तो बेला मलाई ल्यापटपले खुब मद्दत गर्यो।
जब जब उनीहरू अनावश्यक चर्चा गर्न थाल्थे, म ल्यापटप चलाउन छाडेर खाली उनीहरूलाई हेरेर बस्थेँ। आफूलाई चाहिने कुरा भन्न थाले मात्र फेरि ल्यापटप चलाउँथेँ। यसले मलाई के फाइदा भयो भने, म मुखले केही नबोली खाली आफ्नो हातको हाउभाउले उनीहरूलाई विषयवस्तुमा तान्न सक्ने भएँ।’
उनको ट्रिक सुनेर मेरो हाँसो फिस्स फुस्कियो।
सुकेतुले पनि हाँस्दै भने, ‘जब ल्यापटपमा मेरा औंलाहरू चल्न छाड्थे, उनीहरू बुझिहाल्थे, यो कुरामा त यसलाई चासो रहेनछ। त्यसपछि उनीहरू विषयवस्तुमा फर्कन्थे। म यसरी हातको हाउभाउबाट आफ्ना पात्रलाई कुन कुरा गर्ने र कुन कुरा नगर्ने भनेर निर्देशित गर्थेँ। मैले उनीहरूलाई बीचमै रोकेर ‘यो कुरामा मलाई चासो छैन, तिमी अर्को कुरा गर’ भनेर भन्नै परेन। त्यसमाथि जो मान्छे खल्तीमा पिस्तोल बोकेर बसेको छ, जो मान्छे भर्खर कसैलाई मारेर आएको छ वा भोलि कसैलाई मार्ने सुपारी लिएको छ, उसलाई ‘तिमी बढ्ता नबोल, मलाई तिम्रो यो कुरा सुन्ने इच्छा छैन’ भनेर म कसरी अर्डर दिन सक्थेँ।’
उनी यति भनेर फेरि हाँसे।
अगाडि भने, ‘तपाईंहरूजस्तो पत्रकारका लागि पनि यो तरिका उपयोगी हुनसक्छ। मेरो विचारमा दक्षिण एसियाका पत्रकारहरूका लागि कुनै व्यक्तिसँग कुराकानी गर्नु त्यति ठूलो होइन, जति ती व्यक्तिलाई चुप लगाउनु। मेरो यो तरिका अपनाउनुभयो भने सायद तपाईं पनि आफूले कुरा गरिरहेको मान्छेलाई कुन विषयमा बोल्ने र कुन विषयमा बोल्न जरूरी छैन भनेर बाटो देखाउन सक्नुहुन्छ। कुराकानीलाई कुन दिशामा लैजाने भनेर निर्धारण गर्ने राम्रो तरिका हो यो।’
‘अहिले न्यूयोर्क सहरको किताबमा काम गर्दा पनि तपाईं यही तरिका अपनाउँदै हुनुहुन्छ?’ मैले सोधेँ।
‘अहिले मलाई त्यस्तो गर्नै पर्दैन। म कुराकानी सुरू हुनासाथ मोबाइल रेकर्डर अन गर्छु। उनीहरूको सबै कुरा त्यसमा रेकर्ड हुन्छ। पछि त्यसलाई ल्यापटपमा उतार्छु र नचाहिने कुराहरू काटेर फाल्दिन्छु। यसरी तयार पारेको न्यूयोर्क सहरका कथाहरूको संग्रह निकै मोटो भइसक्यो। जस्तो, म अहिले न्यूयोर्कका प्रहरीहरूसँग सम्बन्धित एउटा अध्याय सक्ने क्रममा छु। त्यो एउटा अध्याय नै ५५ हजार शब्दको छ। म त्यसलाई थप सम्पादन गर्दैछु र केही शब्द छोट्याउँदैछु।’
‘यही सन्दर्भमा मैले एउटा कुरा सम्झेँ — तपाईंले कुनै अन्तर्वार्तामा भन्नुभएको थियो, म्याक्सिमम सिटी जति प्रकाशित भयो, त्यसको वास्तविक आकार त्योभन्दा दोब्बर थियो। अहिले यो किताब पाँच सय पृष्ठभन्दा बढी छ। त्यसको मतलब तपाईंले लेखेको मस्यौदा हजार पृष्ठभन्दा बढी थियो?’
‘यसको पहिलो मस्यौदा १ हजार ६ सय ६७ पृष्ठको थियो। मैले लेखेको किताबको आधा अंश त अझै अप्रकाशित छ।’
‘ओहो! त्यसो भए त मुम्बईका बारेमा तपाईंसँग अझै धेरै कथा छन्, अझै थुप्रै पात्र छन्, जुन प्रकाशित भएको छैन, जुन हामीले पढ्न पाएका छैनौं?’
‘म तपाईंलाई एउटा कुरा भन्छु, जुन सायद यसअघि अरूलाई भनेको थिइनँ। मैले यसपालि बम्बेमा फिल्म निर्देशक अनुराग कश्यपसँग मिटिङ गरेँ। उनी म्याक्सिमम सिटीमाथि टेलिभिजन सिरिज बनाउँदै छन्। उनी केही समयदेखि यसमा काम गर्दै थिए। यसका कथाहरूलाई फिल्मको पटकथामा ढाल्दै थिए। पटकथा लेख्नुअघि उनले मेरो किताबको अप्रकाशित अंश पनि सबै पढेका थिए।’
‘उनी त्यो सिरिज नेटफ्लिक्स, प्राइम अमेजन वा यस्तै कुनै प्लेटफर्मको निम्ति बनाउँदै छन्?’ म जान्न उत्सुक भएँ।
‘हो, तर कुन प्लेटफर्ममा प्रसारण हुन्छ, त्यो चाहिँ अहिले टुंगो छैन।’
‘अनि त्यो सिरिज किताबको अप्रकाशित अंशमाथि आधारित हुन्छ?’
‘दुवै — प्रकाशित पनि, अप्रकाशित पनि। यो मैले लेखेको हजार पृष्ठभन्दा बढीको पहिलो मस्यौदामाथि आधारित हुनेछ। अनुराग र मैले ‘मिसन कश्मिर’ को स्क्रिप्टमा सँगसँगै काम गरेका थियौं। त्यति बेला म यो किताबमा काम गर्दै थिएँ। किताब प्रकाशित भएपछि अनुरागले त्यो पनि पढे र प्रकाशित नभएको अंश पनि पूरै पढे।’
‘तपाईंले पूरै अंश चाहिँ किन प्रकाशन गर्नुभएन?’
‘त्यो मेरोभन्दा मेरा सम्पादकहरूको निर्णय थियो। हजार पृष्ठको मोटो किताब निकाल्न सायद सम्भव भएन। यो किताब व्यावसायिक रूपमा यति सफल होला भन्ने पनि हामी कसैले सोचेका थिएनौं। त्यसैले हामीले धेरै अध्याय प्रकाशित नगर्ने निर्णय गर्यौं। जस्तो– त्यसमा धर्मको कुरा थियो, एक जना मुस्लिम मनोविश्लेषक महिलाको कथा थियो, जुन हामीले प्रकाशित गरेनौं। अहिले जति कथा प्रकाशित भएका छन्, ती कथाका अरू थुप्रै सहायक कथाहरू थिए, अरू थुप्रै पात्रहरूको विवरण थियो, जुन हामीले हटायौं।’
‘तपाईंले ती अप्रकाशित अध्यायहरू छुट्टै किताबका रूपमा किन निकाल्नुभएन त?’
‘मलाई थुप्रै अफर आएका थिए। एक मनले त छाप्ने हो कि जस्तो पनि लागेको थियो। तर मैले सोचेँ, त्यो किताब प्रकाशित भयो भने त्यसलाई म्याक्सिमम सिटीसँग तुलना गरिनेछ र सायद ‘मिनिमम सिटी’ भनिनेछ।’
उनी हाँसे।
मैले त्यसैमा थप्दै भनेँ, ‘तपाईंले आफ्नो अर्को किताबलाई ‘मिनिमम सिटी’ भनेको सुन्न चाहनुभएन?’
‘हो,’ उनले सही थापे, ‘त्यही भएर मैले केही समय ती अध्यायलाई यसै राखेँ। पछि कुनै बेला पत्रिकाहरूमा प्रकाशन गर्न सकिन्छ भन्ने सोचेको थिएँ। केही अध्याय पछि विभिन्न पत्रिकामा प्रकाशन पनि भए। अब सोच्दैछु, अनुरागको सिरिज प्रसारण भएपछि मान्छेहरूले मन पराए भने र म फेरि म्याक्सिमम सिटीको पूर्ण संस्करण प्रकाशन गर्न सक्छु। त्यो सम्भावना छ तर पूरा हुन्छ कि हुन्न भन्ने चाहिँ त्यति बेला मान्छेको प्रतिक्रिया र रूचि हेरेर मात्र तय हुनेछ।’
‘तपाईंले यसअघि ‘मिसन कश्मिर’ को स्क्रिप्टमा काम गर्नुभयो, अहिले आफ्नै किताबको सिरिज बन्दै गर्दा यसको स्क्रिप्ट लेखनमा पनि तपाईं संलग्न हुनुहुन्छ कि हुनुहुन्न?’
‘छैन,’ उनले भने, ‘यसको पूरै जिम्मा अनुरागले लिएका छन्। उनी र उनको टिमले नै पटकथामा काम गर्दैछ। अनुरागले यसमा सिरिज बनाउने इच्छा देखाएको त धेरैअघि हो तर पटकथा नै लेख्न थालेको चाहिँ दुई वर्ष भयो।’
‘त्यो सिरिज सुटिङ फ्लोरमा गइसक्यो कि?’
‘छैन छैन, अहिले त पटकथा लेखनकै क्रममा छ। अनुराग पटकथालाई अन्तिम रूप दिँदैछन्। अहिलेसम्म मैले जति पनि पटकथा सुनेको छु, उनले मेरो किताबमाथि पूर्ण न्याय गरेका छन्। यो सिरिजले मेरो किताबलाई अर्को उचाइमा लिएर जानेछ भन्ने मेरो विश्वास छ। अनुरागले बम्बेलाई राम्रोसँग चिनेका छन्, बुझेका छन्।’
‘एकदम सही हो,’ मैले भनेँ, ‘उनको ‘बम्बई भेल्भेट’ नराम्ररी फ्लप भए पनि!’
म यति भनेर हाँसे। उनी चाहिँ हाँसेनन्।
‘उनी बम्बेको आत्मासँग परिचित छन्। मैले आफ्नो किताबमा बम्बेको जुन चित्र कोरेको छु, त्यो चित्र अनुरागको सिरिजमा अझ निखारिनेछ।’
‘तपाईंले यो किताब लेख्न सात वर्ष लगाउनुभयो। सात वर्ष एउटै विषयवस्तु दिमागमा बोकेर हिँड्नुभयो। एउटै विषयमा यति लामो समय घोत्लिएर, त्यसका पात्रहरू दिमागमा घुमाउँदै हिँड्दा कस्तो अनुभव भयो? खासगरी तपाईंजस्तो गैरआख्यान लेखकको निम्ति, जसका पात्रहरू वास्तविक हुन्, कथा पनि वास्तविक हो।’
‘यो किताबको निम्ति रिपोर्टिङ गर्न मात्र मैले बम्बेमा साढे दुई वर्ष बिताएँ। त्यसपछि म सारा पात्रको अनुभव र कथा आफ्नो हरियो ब्याकप्याकमा बोकेर हिँड्ने ल्यापटप र दिमागमा भरेर न्यूयोर्क फर्किएँ। म अनि न्यूयोर्कमै बसेँ र बम्बेमा भेटेका पात्र र कथाहरूसँगै बाँचिरहेँ। म हरेक समय यही कथा दिमागमा खेलाउँदै हिँड्थेँ। बुन्दै हिँड्थेँ। लेख्दै हिँड्थेँ। यसरी नै लेख्दै जाने, सम्पादन गर्ने, फेरि लेख्ने गर्दागर्दै सात वर्ष बित्यो।
‘यहाँ म एउटा कुरा भन्न चाहन्छु, कुनै विषय लामो समय दिमागमा बोकेर हिँड्दा त्यो झर्कोलाग्दो हुँदैन रहेछ। तपाईं वाक्क लागेर त्यसबाट भाग्न चाहनुहुन्न। बरू ठिक उल्टो हुन्छ। त्यो विषयले तपाईंको मन र तपाईंको दिमागमा यस्तरी घर बनाउँछ, त्यसलाई बीचमा छाडेर हिँड्नै सक्नुहुन्न। त्यसलाई पूरा गर्ने रनाहा उत्पन्न हुन थाल्छ। त्यो सात वर्ष अवधिमा मेरो अरू कुनै जागिर थिएन। म अहिलेजस्तो विश्वविद्यालयमा पनि पढाउँदिनथेँ। पूरा समय यही किताब लेखेर बस्थेँ। मैले त्यसबीच कुनै पत्रपत्रिकामा लेखहरू पनि लेखिनँ। आर्थिक रूपमा भन्दा त्यो एकदमै कठिन समय थियो मेरो लागि। मलाई आफ्ना बालबच्चा हुर्काउनु थियो, परिवार हेर्नु थियो। तर मैले हालातसँग सम्झौता गरिनँ। मैले आफ्नो पूरा सामर्थ्य किताबमा लगाएँ, मानौं यो मेरो निम्ति जीवन–मरणको सवाल हो।
‘मैले त्यति बेला यो किताब यति सफल हुन्छ भन्ने पनि सोचेको थिइनँ। खासमा भन्दा, मलाई यो किताब खासै चल्दैन होला भन्ने नै लागेको थियो। किनभने, बम्बे सहरमाथि यति मोटो किताब कसले पढ्ला? त्यो यस्तो समय थियो, जब भारतबाट लेखिएका उपन्यासहरू त आउँथे, तर भारतमाथि लेखिएको गैरआख्यान खासै पढ्न पाइन्थेन। त्यसैले यस्तो किताबमा पाठकहरूलाई रूचि होला कि नहोला भन्ने हामीलाई दुबिधा नै थियो।
‘यी सबै कारणले यो किताबमाथि खासै ठूलो अपेक्षा कसैको थिएन। तर जब किताब प्रकाशित भयो, यसले राम्रो नतिजा ल्याउँदै गयो। मान्छेहरूले किताब रूचाए। राम्रा प्रतिक्रियाहरू दिए। त्यो देखेर म आफैं पनि छक्क परेको थिएँ।’
‘यति लामो समय किताब लेख्दै गर्दा तपाईंलाई जसरी भए पनि पूरा गर्नुपर्छ भनेर लाग्नुको कारण चाहिँ आफ्ना पात्र र तिनका कथामाथि विश्वास भएर पो हो कि?’
‘होइन, यो किताब यति सफल होला र यसका कथाहरू यति रूचाइएलान् भन्ने त मैले सोचेकै थिइनँ। मलाई एउटै कुराले सात वर्ष तानिरह्यो, त्यो हो — यसका पात्रहरूले मप्रति देखाएको विश्वास। मैले साढे दुई वर्ष बम्बेमा बसेर रिपोर्टिङ गर्दा जति पनि मान्छेलाई भेटेँ — प्रहरी भेटेँ, सुटर भेटेँ, दलाल भेटेँ, बार डान्सरहरू भेटेँ — ती सबैले मलाई विश्वास गरेर आफ्नो कथा सुनाए। त्यो कथा उनीहरूको कल्पना थिएन, उनीहरूले बाँचेको जीवन थियो। उनीहरूले मलाई आफ्नो पूरा जीवन उपहार दिएका थिए। आफ्नो जीवनका अनुभवहरूमा मलाई हिस्सेदार बनाएका थिए। त्यसैले, म उनीहरूप्रति अनुग्रहित थिएँ। उनीहरू सबैले आ–आफ्नो हिस्साको सहर मलाई सुम्पेका थिए। म सहरका ती अनगिन्ती टुक्रा संकलन गरेर यसै बास्केटमा मिल्काउन त सक्दिनँ थिएँ। मैले त्यसो गरेको भए उनीहरूमाथि विश्वासघात हुने थियो। उनीहरूको विश्वास टुट्न नदिन पनि मलाई यो किताब पूरा गर्नु थियो। किताबका हरेक वाक्य लेख्दा म बम्बेमा भेटेका ती पात्रहरूको अनुहार झल्झल्ती सम्झिन्थेँ। सायद त्यसैले मलाई रिपोर्टिङ गर्नभन्दा किताब लेख्न बढी समय लाग्यो।’
‘तपाईंले मुम्बई सहरमाथि यति मोटो किताब लेख्नुभयो, सात वर्ष निरन्तर लेखिरहनुभयो, के तपाईंलाई याद छ, यो किताब लेख्न सुरू गर्दा पहिलो वाक्य के लेख्नुभएको थियो?’
'There will soon be more people living in the city of Bombay than on the continent of Australia.'
‘यो लाइन त अहिले प्रकाशित नै छ नि,’ सायद सुकेतुले मेरो प्रश्नको आसय बुझेनन् कि भन्ठानेर मैले खुलस्त पार्दै भनेँ, ‘मेरो भन्नुको मतलब, लेखकहरू अक्सर एउटा वाक्यबाट सुरू गर्छन्, किताब पूरा हुँदासम्म त्योभन्दा अगाडि अरू नै प्रसंग थपिनसक्छ र सुरूमा लेखेको वाक्य काटेर फालिन पनि सक्छ।’
‘मैले चाहिँ यो किताब लेख्दा नै सबभन्दा पहिला यही वाक्य लेखेको थिएँ। मैले यो वाक्य कहिले पनि परिवर्तन गरिनँ, कहिले पनि सम्पादन गरिनँ।
‘म तपाईंलाई एउटा अविश्वसनीय तथ्यांक भन्छु — संसारका दुइटा टापू; एउटा सहर, अर्को सिंगो महादेश तर त्यो एउटा टापू सहरमा सिंगो महादेशभन्दा बढी मानिस बस्छन्। म त्यही सहरको कथा लेख्दै थिएँ, त्यहाँका मान्छेको कथा लेख्दै थिएँ। त्यसैले यो एउटा वाक्यले नै किताबले तपाईंलाई कहाँ लिएर जाँदैछ भन्ने अनुमान हुन्छ।
‘मैले यसरी तुलना गर्नुको अर्को कारण पनि छ। अस्ट्रेलियाका बारेमा हामीलाई धेरै कुरा थाहा छ। त्यहाँको जनजीवन मात्र होइन, अस्ट्रेलियन कंगारूबारे पनि हामी प्रशस्तै पढ्न पाउँछौं। तर बम्बेजस्तो अस्ट्रेलियाभन्दा धेरै जनसंख्या भएको सहर वा भनौं काठमाडौंजस्तो बहुसांस्कृतिक सहरबारे संसारलाई कमै थाहा छ।
‘तपाईं न्यूयोर्क वा पेरिस वा साउपाउलोका मान्छेलाई बम्बे भनेको के हो भनेर सोध्नुभयो भने एउटै जवाफ दिन्छन्– ओहो बलिउड! तर बम्बे भनेको बलिउड मात्र त होइन नि। बम्बे र अस्ट्रेलियालाई दाँज्ने हो भने अस्ट्रेलियासँग जति कथा छ, त्योभन्दा कयौं गुणा धेरै कथा बम्बेसँग छ। तर बम्बेका कथा कसैले सुनेको थिएन, कसैले लेखेको थिएन। त्यसैले मैले किताब लेखेँ। म बम्बेमा बस्ने दसौं करोड मानिसको कथा लेख्न चाहन्थेँ। मलाई लाग्छ, बम्बेमा जे देखिन्छ, त्यो संसारभरिका आममान्छेको कथा पनि हो।
‘म अर्को अविश्वसनीय तथ्यांक भनूँ– हाम्रो जीवनकालमै, लगभग पाँच वर्षयता मानवीय स्वभावमा ठूलो परिवर्तन देखिएको छ। यो पाँच वर्ष अवधिमा गाउँको दाँजोमा सहरमा बस्नेहरूको संख्या निकै बढेको छ। यो मानव इतिहासको निकै ठूलो परिवर्तन हो। यसबाट के भन्न सकिन्छ भने, हामी मानव जाति बढीभन्दा बढी सहरी प्राणी हुँदै गएका छौं, हाम्रो घरको भान्सामा खुर्रखुर्र दौडिरहने साङ्लाजस्तै।
‘काठमाडौंकै उदाहरण लिऊँ, यो एउटा सहरमा सिंगो नेपाल अटाएको छ। तपाईं एकछिन सोच्नुस् त, के नेपालका सबै जातजाति, सबै भाषाभाषी र सबै क्षेत्रका मानिस यहाँ बसोबास गर्दैनन्? त्यसैले यो एउटा सहर आफैंमा देश बराबर हो। देशभरका मानिस विभिन्न कारणले स्थायी वा अस्थायी रूपमा बसोबास गर्न यहाँ आइपुगेका छन्।
‘सर्सती हेर्दा संसारमा दुई किसिमका सहर छन् — बम्बे, काठमाडौंजस्ता सहर एकातिर छन्, जहाँ देशका विभिन्न गाउँ वा मोफसलबाट आएकाहरूको ठूलो संख्यामा बसोबास छ र यहाँ बसाइसराइ हुने क्रम पनि बढ्दो छ। बम्बेमा भारतका विभिन्न राज्यबाट मानिस आइरहेका छन्। काठमाडौंमा त्यस्तै स्थिति होला।
‘सहरहरूको अर्को समूह छ, जस्तो न्यूयोर्क, टोरन्टो, सिड्नी जहाँ देशभित्रबाट मात्र होइन, संसारभरिबाट बसाइसराइ गरेर मानिसहरू आइरहेका छन् वा आउन चाहिरहेका छन्।
‘यी दुवै किसिमका सहरको एउटा साझा कुरा के हो भने, यी सहरहरूसँग एउटा यस्तो तत्व छ, जसले बाहिरका मान्छेलाई आफूतिर आकर्षित गर्छ, चुम्बकले फलाम तानेजस्तो। यी सहरहरू बढीभन्दा बढी मान्छेका लागि बसोबासको आकर्षक गन्तव्य हुँदै गएका छन्, खासगरी युवा पुस्ताका लागि। म म्याक्सिमम सिटीका माध्यमबाट सहरको त्यही चुम्बकीय आकर्षण के हो भनेर खोज्न चाहन्थेँ। बम्बेका ती तत्वहरू केलाउन चाहन्थेँ, जसले देशभरिका मान्छेलाई आफूतिर तानिरहेको छ।’
‘रोचक कुरा सुनाउनुभयो, तर म्याक्सिमम सिटी पढ्दा मलाई सुरूका दुई अनुच्छेदले खासै आकर्षित गरेको थिएन। तपाईंलाई थाहा छ, म कहाँनिर पुगेपछि यो किताब छाड्नै नसक्ने गरी पढेको पढ्यै भएँ?’
उनले मलाई हेरिरहे।
मैले भनेँ, ‘तेस्रो अनुच्छेदमा पुगेपछि, जब तपाईं लेख्नुहुन्छ– I am a city boy. I was born in a city in extremis, Calcutta ... I live in cities by choice, and I'm pretty sure I will die in a city. I don't know what to do in the country, though I like it well enough on weekends.’
‘म सोच्थेँ, तपाईंले किताब लेख्दा पहिले यही वाक्यबाट सुरू गरेको हुनुपर्छ। त्योभन्दा माथिका दुई वाक्य तपाईंले पछि थप्नुभयो होला। मैले यस्तो सोच्नुमा मेरो व्यक्तिगत कारण पनि छ। मैले यी हरफमा आफूलाई पाएँ। आफ्नै मनको कुरा कसैले लेख्दिएजस्तो लाग्यो। मलाई पनि आफू ‘सिटी ब्वाई’ (सहरी केटो) नै हुँ जस्तो लाग्छ। मान्छे हिमाल, पहाड, गाउँ, प्रकृतिका कुरा गर्छन्। वनजंगलमा चहार्दा, हिमाली भेगमा ट्रेकिङ जाँदा मन आनन्द भयो भन्छन्, तर मलाई काठमाडौंजति रमाइलो कहीँ लाग्दैन। एक साता मात्र काठमाडौं छाडेर बाहिर गएँ भने म यो सहरलाई मिस गर्न थाल्छु। आफ्नो परिवार, अफिस वा साथीभाइलाई मात्र मिस गर्दिनँ, म सिंगो सहरलाई नै मिस गर्छु। यहाँको माहोल, भिडभाड, चकाचौँध, घन्चमन्च, यहाँका खानेकुरा, यहाँको आनीबानी र यहाँको हावापानी नै मलाई मिस हुन्छ। आफ्नो यही स्वभाव मैले ती वाक्यहरूमा पाएँ।’
उनी चुपचाप मेरो कुरा सुनिरहे।
आफ्नो कुरा सुनाएपछि मैले सोधेँ, ‘तपाईंले आफूलाई सिटी ब्वाई भन्नुभएको छ। तपाईंको निम्ति सहर भनेको के हो?’
‘अँ, तपाईंले भनेको कुरा ठिक हो तर म व्यक्तिगत रूपमा अहिले अलि परिवर्तन भएको छु। सायद मेरो स्वभाव अब पहिलेजस्तो छैन। मैले सहरी भिडभाडभन्दा टाढा नर्थ क्यारोलाइनाको सानो ग्रामीण भेगमा घर किनेको छु। म बस्ने ठाउँ एकदमै सुनसान छ, मान्छेको भिडभाड, गाडीहरूको घाइँघुइँभन्दा टाढा। यो परिवर्तनको कारण मेरो बढ्दो उमेर पनि हुनसक्छ, मलाई ठ्याक्कै थाहा छैन। तर म अचेल पहिलेभन्दा प्रकृतिप्रेमी हुँदै गएको छु। प्रकृतिका विभिन्न आयामलाई नजिकबाट हेर्ने र बुझ्ने कोसिस गरिरहेको छु।
‘एउटा कुरा चाहिँ के हो भने, मैले सहरबाट भाग्न भनेर नर्थ क्यारोलाइनामा घर किनेको होइन। म त्यहाँ सर्नुको कारण, म अब केही समय एकान्त ठाउँमा बसेर लेख्न चाहन्छु। म जुन ठाउँको बारेमा लेख्दैछु र जहाँ बसेर लेख्दैछु, ती दुई ठाउँ आकाश–पाताल फरक छन्। म संसारकै एक व्यस्त सहर न्यूयोर्कको कथा नर्थ क्यारोलाइनाको एकान्तवासमा बसेर लेख्दैछु। त्यहाँ मेरो घर जंगलको बीचमा छ। चारैतिर रूखैरूखले घेरिएको छ, तालहरू छन्। मानिसको भिडभाड भएको बाक्लो बस्तीभन्दा टाढा छ।
‘अर्को सत्य कुरा के हो भने, म यो ठाउँ सधैंका लागि बस्न आएको चाहिँ होइन। यहाँ मेरो बसाइ अस्थायी हो।
‘अब तपाईंको प्रश्नमा जाऊँ, मेरो निम्ति सहर भनेको के हो? मेरो निम्ति सहर भनेको मान्छे हो। विलियम सेक्सपियरको एउटा भनाइ छ, ‘ह्वाइट इज द सिटी, बट द पिपल।’ मलाई पनि त्यस्तै लाग्छ। सहरमा अग्लाअग्ला महल हुन्छन्, चिल्ला सडक हुन्छन्। आकाशे पुल र ठूल्ठूला मलहरू हुन्छन्। दरबार हुन्छन्, भव्य सम्पदाहरू हुन्छन्। तर यीमध्ये कुनै पनि सहरको वास्तविक परिचय होइन। सहर भनेको मान्छे हो, त्यहाँ बस्ने थरीथरीका मान्छे नै सहर हो। जस्तो– काठमाडौंमा ५० लाख मान्छे छन्। बम्बेमा दुई करोड बस्छन्, न्यूयोर्कमा ८० लाख बस्छन्। उनीहरू एकदमै अप्ठ्यारो परिस्थितिसँग जुध्दै भए पनि सहरमा बसिरहेका छन्। बस्नलाई खुला ठाउँ छैन, एउटा सानो घर वा साँघुरो अपार्टमेन्टमा बस्छन्। खानेपानीको सधैं दुःख हुन्छ। स्वच्छ र ताजा हावामा सास फेर्न पाइँदैन। दिनहुँ धूलोधुवाँमा बसेर स्वास्थ्य बिगार्नुपर्छ। गाडीको घन्चमन्च सहनुपर्छ। आपराधिक गतिविधिहरूबाट डराईडराई बाँच्नुपर्छ। तैपनि एकचोटि सहरमा आएको मान्छे सामान्यतया सहर छाडेर जान चाहँदैन। किन? यसको कारण पैसा मात्र पक्कै होइन। पैसाको आकर्षणले मात्र मान्छे सहरमा टाँसिएका होइनन्। पैसाभन्दा ठूलो तत्व सहरसँग छ, त्यो हो — मेट्रोपोलिटन एक्साइटमेन्ट।’
‘मेट्रोपोलिटन एक्साइटमेन्ट भन्नुको मतलब?’ मैले उनलाई थप विस्तारमा भन्न आग्रह गरेँ।
‘अमेरिकी लेखक जोन डिडियनले न्यूयोर्कका बारेमा जे भनेकी छन्, त्यो न्यूयोर्क मात्र होइन, संसारको कुनै पनि सहरको विशेषतासँग मेल खान्छ। उनको भनाइ छ, ‘मलाई न्यूयोर्कसँग प्रेम छ। यो यस्तो ठाउँ हो, जहाँ कुनै पनि क्षण, कुनै पनि मिनेट, कुनै पनि दिन वा कुनै पनि महिना कुनै उल्लेखनीय घटना हुनसक्छ। मेरो विचारमा सहरको विशेषता यही हो।’
‘सहर आश्चर्यहरूले भरिएको ठाउँ हो। यहाँ छिनछिनमा अप्रत्यासित घटनाहरू हुनसक्छन्। अहिले एकैछिनमा के हुन्छ, हामी कसैलाई थाहा छैन। ग्रामीण जीवनमा एउटा नियमितता हुन्छ। हामी आज दिनभरि के हुन्छ वा भोलि के हुनसक्छ भनेर पूर्वानुमान गर्न सक्छौं। भोलि पनि त्यही हुन्छ, जुन आज भयो। आज त्यही हुन्छ, जुन हिजो भयो। गाउँले तपाईंलाई चकित पार्दैन। सहरले मिनेट–मिनेटमा चकित पार्छ। तपाईं बम्बेको सडकमा हिँड्दै गर्दा बाटोमा अमिताभ बच्चनसँग जम्काभेट हुनसक्छ। वा, कतै बम विष्फोट हुनसक्छ। वा, कतै दंगा हुनसक्छ, मुठभेड हुनसक्छ।’
‘जस्तो आज मेरो सुकेतु मेहतासँग भेट भयो! गाउँमा भइदिएको भए हाम्रो भेट हुन्थेन!’
हामी दुवै हाँस्यौं।
उनले अगाडि भने, ‘मेरो भनाइको तात्पर्य के भने, सहरले आफूभित्र अनेक आश्चर्यहरू बोकेर बसेको हुन्छ। आश्चर्य मात्र होइन, सहर भनेको सम्भावना पनि हो। नेपालको गाउँमा बस्ने कुनै एक युवाका लागि काठमाडौं भनेको सम्भावनाको सहर हो। यो यस्तो ठाउँ हो, जहाँ ऊ कहाँबाट आयो भनेर सोधिखोजी हुँदैन। उसको जात कसैले सोध्दैन। तिमी यहाँ कसैलाई चिन्छौ कि चिन्दैनौ भन्नेले खासै ठूलो अर्थ राख्दैन। देशको जुनसुकै भागबाट मान्छे यहाँ आउन सक्छ। सहरले दिने सम्भावना उपयोग गर्न सक्छ। आफ्नो व्यवसाय सुरू गर्न सक्छ र त्यो व्यवसाय चम्कियो भने तिमी हेर्दाहेर्दै अर्बपति हुन सक्छौ। अम्बानी बन्न सक्छौ। त्यसैले सहर भनेको यस्तो ठाउँ हो, जहाँ मान्छेको भाग्य उसको आफ्नै हातमा हुन्छ।
‘मैले म्याक्सिमम सिटीमा बिहारबाट आएका एक कवि बब्बनजीको प्रसंग उल्लेख गरेको छु। बब्बनजीलाई उनका बुवा वैज्ञानिक बनाउन चाहन्थे। तर उनी बम्बे आए र कवि बने। उनी सडक किनार फुटपाथमा बस्थे, कविता लेख्थे र फुटपाथमै कविता सुनाउँदै हिँड्थे। सहरले उनलाई त्यसो गर्ने छुट दियो। म कवि बन्छु भनेर संघर्ष गर्ने मौका दियो। जबकि, गाउँमा मान्छेको भविष्य के हुन्छ भन्ने ऊ जन्मनुभन्दा अगाडि नै तय भइसकेको हुन्छ। तिमी यसरी ठूलो हुन्छौ र ठूलो भएपछि यो काम गर्छौ भन्ने पहिल्यै छिनोफानो भइसक्छ। तिमी कोसँग बिहे गर्छौ, कस्तो घरमा बस्छौ भन्ने पनि पहिल्यै तय हुन्छ। यी सबै कुरा तिमी कुन परिवारमा जन्मियौ भन्नेले निर्धारण गर्छ। त्योभन्दा दायाँबायाँ गर्ने सहुलियत तिमीलाई हुँदैन। त्यस्तो अवसर नै तिमीले पाउँदैनौ। सहरले भने मान्छेलाई तमाम सम्भावना र अवसरको ढोका खोल्छ।’
‘उसो भए के तपाईं अहिले नर्थ क्यारोलाइनामा बस्दा सहरको त्यो विशेषता मिस गर्दै हुनुहुन्छ?’
‘म अहिले नै सहर मिस गर्ने अवस्थामा पुगिसकेको छैन। म त्यहाँ स्थायी रूपले बसेको होइन। म न्यूयोर्क गइरहन्छु। किताबका लागि रिपोर्टिङ गर्न जान्छु, अरू कामलाई जान्छु र लेखनको निम्ति चाहिँ नर्थ क्यारोलाइनामै आउँछु।’
‘यी सबका बीच सहरभन्दा टाढा बस्दाबस्दै तपाईं प्रकृतिसँग निकट हुँदै जानुभयो? प्रकृतिलाई माया गर्न थाल्नुभयो?’
‘हो, मलाई आफू प्रकृतिसँग निकट हुँदै गएको अनुभव हुन्छ। खासगरी यो परिवर्तन कोभिड महामारीपछि सुरू भयो। त्यो बेला न्यूयोर्क एकदमै अस्तव्यस्त थियो, निकै डरलाग्दो अवस्था थियो। मान्छेहरू धमाधम मरिरहेका थिए। सहरको वातावरणले म आफ्नो लेखनमा ध्यान दिन सकिरहेको थिइनँ। त्यसैले लेखनमा केन्द्रित हुन हामीले नर्थ क्यारोलाइनामा सर्ने निर्णय गर्यौं।’
‘तपाईंले काठमाडौंको धेरै उदाहरण दिनुभयो। एकछिन काठमाडौंकै बारेमा कुरा गरौं। तपाईं यहाँ आएको पहिलोचोटि त होइन?’
‘यो मेरो दोस्रो भ्रमण हो। म सन् २०१८ मा एउटा ट्राभल म्यागेजिनको निम्ति स्टोरी लेख्न आएको थिएँ। मेरो एक जना राम्रो साथी छ यहाँ, फिल्म निर्देशक निगम श्रेष्ठ। अघिल्लोचोटि आउँदा उनले मलाई एउटा रेस्टुरेन्टमा एकदमै परम्परागत नेपाली खाना खुवाउन लगेका थिए। त्यसपछि हामी भक्तपुर घुम्न गएका थियौं।’
‘के पाउनुभयो त काठमाडौंमा? तपाईंले न्यूयोर्क, मुम्बई, पेरिस लगायत संसारका धेरै सहर घुम्नुभएको छ, के ती सहरका विशेषताहरू तपाईंले यहाँ पनि पाउनुभयो?’
‘पक्कै, काठमाडौं संसारका कुनै पनि अरू सहरजस्तै विविधतायुक्त छ। बम्बे, न्यूयोर्क वा पेरिसजस्तै जीवन्त छ, रोमाञ्चक छ, आश्चर्यहरूले भरिएको छ। सँगसँगै, यो बम्बेजस्तै प्रदूषित हुँदै गइरहेको छ। कोलाहलमय हुँदैछ। यहाँको दूषित हावा सहरवासीहरूका लागि स्वास्थ्य समस्याको मुख्य कारण बन्दैछ। हावा नै दूषित हुनु भनेको हामीले सहरको भविष्य खतरामा पार्नु हो। तर महत्वपूर्ण कुरा के भने, मान्छेले सास फेर्ने हावा र पिउने पानी नै दूषित हुँदा पनि के यी सहरमा मान्छे ओइरिने क्रम बन्द भयो? वा, कम भयो? छैन। मान्छे तमाम अप्ठ्याराका बाबजुद यहाँ आइरहेकै छन्। त्यसैले सहरमा हुनुपर्ने चुम्बकीय आकर्षणको तत्व काठमाडौंमा पनि उति नै छ, जति बम्बे वा संसारको अरू कुनै पनि सहरमा छ।
‘म अर्को उदाहरण पनि दिन्छु। हैटीको राजधानी पोर्टो प्रिन्समा केही वर्षअघि ठूलो भुइँचालो गएर हजारौंको ज्यान गयो। तर, त्यत्रो ठूलो विपतपछि पनि मान्छेले त्यहाँ बस्न छाडेनन्। थुप्रै घरहरू भत्किए, तै पनि सहरमा बस्न आउनेहरूको संख्या कम भएन। हो, सहरको तुलनामा गाउँमा मान्छे सुरक्षित होलान्। उनीहरू स्वस्थ जीवनयापन गर्न सक्लान् तर त्यहाँ उनीहरूसँग अगाडि बढ्ने सम्भावना हुँदैन। अवसर हुँदैन। रोजगार हुँदैन। अर्कातिर, जति जति कृषि क्षेत्रमा निर्भरता घट्दै गएको छ, त्यति त्यति मान्छेहरू उद्योगधन्दा र त्योभन्दा बढी सेवामूलक क्षेत्रमा आश्रित हुन थालेका छन्। सेवामूलक क्षेत्र फस्टाउने भनेको सहरमै हो।’
मैले भनेँ, ‘यस्तै अवस्था हामीले काठमाडौंमा पनि भोग्यौं। सन् २०१५ को भुइँचालोपछि यहाँ धेरै घर भत्किए, जनजीवन अस्तव्यस्त भयो। कयौं मान्छे लगातार आइरहेको परकम्पसँग डराएर गाउँधरि फर्किए। तर त्यतिखेर गाउँ फर्किएकाहरू केही समयपछि फेरि यहीँ आए। उनीहरूलाई काठमाडौंले तानेरै छाड्यो।’
सुकेतुले मौन सहमति जनाए र अगाडि भने, ‘म २०१८ मा यहाँ आउँदा भुइँचालोका अवशेषहरू बाँकी थिए। भक्तपुरमा भुइँचालोले भत्काएका सबै संरचना बनिसकेका थिएनन्। सहरी संरचना पुरानै रूपमा फर्कन बाँकी थियो, सहरले भने आफ्नो गति समातिसकेको थियो। यहाँनिर मलाई के लाग्छ भने, जुन रूपमा हाम्रा सहरहरूले मान्छेलाई आफूतिर तानिरहेको छ, त्यही रूपमा हामीले उनीहरूलाई राम्रो जीवन दिन सकिरहेका छैनौं। स्वस्थ जीवन दिन सकिरहेका छैनौं। यो समस्या काठमाडौंमा पनि छ, बम्बे वा न्यूयोर्कमा पनि छ। जुन ढंगले सहरको वातावरण विनाश हुँदैछ, कम्तिमा त्यसलाई मात्र जोगाउन सक्यौं भने सहरहरू अहिलेभन्दा धेरै बस्नलायक हुनेछन्। यो असम्भव कुरा होइन।
‘जब कुनै सहरको जनसंख्या दोब्बर हुन्छ, तब त्यो सहरले उपभोग गर्ने स्रोतसाधनमा ८० प्रतिशत मात्र वृद्धि हुन्छ भन्ने तथ्यांक छ। जनसंख्या जति बढ्यो, स्रोतसाधनको उपभोग त्यति नै अनुपातमा बढ्दैन। त्यसैले सहर जति ठूलो हुँदै गए पनि राम्रोसँग व्यवस्थापन गर्न सकियो भने हामी वातावरण, हावापानीदेखि हरेक कुरा राम्रो बनाउन सक्छौं। सहरी सेवाहरूको गुणस्तर बढाउन सक्छौं। चीनका बेइजिङ, सांघाईजस्ता ठुल्ठूला मेगासिटी पनि प्रभावकारी ढंगले व्यवस्थापन गरिएको हामी पाउँछौं। तर, त्यस्तै व्यवस्थापन बम्बईमा हुन सकेको छैन। काठमाडौंमा हुन सकेको छैन। खाली सहरको त्यो आकर्षण, त्यो सहरी रोमाञ्चले मात्र मानिसलाई यहाँ तानिरहेको छ, चाहे स्वास्थ्यका हिसाबले यी सहर जतिसुकै बस्नलायक किन नहोऊन्।’
‘मान्छेलाई तान्ने एउटा आकर्षण त उसको सपना पनि होला?’
‘एकदमै, सहर भन्नेबित्तिकै मान्छेको सपना जोडिन्छ। त्यसैले त हामी ‘ड्रिम सिटी’ भन्छौं। जस्तो– बिहारबाट बम्बे आउने व्यक्तिले भलै पहिलोपटक बम्बेमा पाइला टेकेको होस् तर उसको निम्ति बम्बे नयाँ सहर हुँदैन। ऊ आफ्नो सपनामा बम्बेको जीवन बाँचिसकेको हुन्छ। उसले बम्बेका सबै ठाउँहरू बलिउड फिल्ममा देखिसकेको हुन्छ। उसलाई बान्द्रा नौलो हुँदैन। उसले बान्द्राको समुद्री किनारमा शाहरूख खानलाई नाच्दै गरेको देखेको छ। जब ऊ त्यही ठाउँमा पुग्छ, ऊ मनमनै सोच्छ– ओहो मलाई त यो ठाउँ थाहा छ! काठमाडौं पनि त्यस्तै हो। यो सहर पनि नेपालभरिका मान्छेको निम्ति सपनाको सहर हो। यहाँका सडक, दरबार, पार्क, सम्पदाहरू मान्छेले नेपाली फिल्म वा विभिन्न तस्बिरमा देखिसकेका छन्। उसले काठमाडौंमा पाइला नटेके पनि सपनामा काठमाडौंको जीवन बाँचिसकेको छ।’
‘तपाईंले मुम्बईको कथा लेख्नुभयो, न्यूयोर्कबारे लेख्दै हुनुहुन्छ, काठमाडौंमाथि लेख्नुपर्यो भने के के विषय लेख्नुहुन्थ्यो होला?’
‘मैले सम्राट उपाध्यायको ‘एरेस्टिङ गड इन काठमाडौं’ पढेको थिएँ। उनले मध्यमवर्गीय काठमाडौंको राम्रो कथा लेखेका छन्। मैले उनलाई अहिलेसम्म भेटेको छैन। यसपालि पोखरामा भेट्ने मन छ र अरू थुप्रै नेपाली लेखकहरूसँग भेटेर कुरा गर्ने मन छ। मैले आफ्नो छोटो बसाइमा के महसुस गरेको छु भने, यहाँ थुप्रै कथाहरू छन्। थुप्रै किम्बदन्तीहरू छन्। यहाँको जीवनसँग इतिहास जोडिएको छ। ती कथाहरू लेखिनुपर्छ, भनिनुपर्छ। यी कथाहरूका राष्ट्रिय र अन्तर्राष्ट्रिय पाठक छन्। मलाई काठमाडौंका बारेमा सबथोक जान्न मन छ। मलाई काठमाडौंको शिक्षक जीवन बुझ्न मन छ। यहाँका एकाउन्टेन्टहरू कस्तो जीवन बाँचिरहेका छन्, त्यो जान्न मन छ। यहाँका टुर गाइड वा यहाँका लागुपदार्थ कारोबारीसँग भेट्न, उनीहरूको कुरा सुन्न मन छ। यी सबका अतिरिक्त मलाई यहाँको राजपरिवारको जीवन हेर्न मन छ।
‘सबभन्दा रोचक कुरा चाहिँ, काठमाडौंमा यी सबै खालका जीवन एकअर्कासँग अन्तरसम्बन्धित छन् जस्तो मलाई लाग्छ। तपाईं एकै दिनमा राजपरिवारको सदस्यदेखि लागुपदार्थ कारोबारीसँग भेट्न सक्नुहुन्छ। तपाईंले ती व्यक्तिहरू कसरी भेट्ने, कहाँ भेट्ने भनेर सूत्र पहिल्याउनुभयो भने, उनीहरूबारे जान्ने उत्सुकता मनमा पाल्नुभयो भने र उनीहरूले सोध्ने प्रश्नहरू तपाईंसँग छन् भने राम्रो कथा भन्न सक्नुहुन्छ।
‘एउटा सहर भनेको अनेक जीवनहरूको समागम हो। ती जीवनहरू एकअर्कासँग गाभिएका हुन्छन्, तै पनि रहस्यमयी ढंगले एकअर्काभित्र हराएका हुन्छन्। तपाईंले पत्रपत्र उघार्दै जान सक्नुभयो भने बल्ल सहरभित्र लुकेका अनेक जीवनहरूको रहस्य उद्घाटन हुँदै जान्छ।
‘मलाई लाग्छ, संसारका अरू सहरमा जस्तै काठमाडौंमा पनि मान्छेहरू आ–आफ्नै दुनियाँमा बाँचेका छन्। बिहान अफिस जान्छन्, बेलुकी घर फर्किन्छन्। हेर्दा उसको दिनचर्या सामान्य हुनसक्छ। तर ऊभित्र अनेक कथा लुकेको हुन्छ। चाहे त्यो बाहिरबाट आएका कामदार होस् वा बार डान्सर होस्। सहर ती सबै पात्रका जीवन र अनुभवहरूको मिश्रण हो। यहाँ जति पनि मान्छे बाहिरबाट आइरहेका छन्, ती किन आइरहेका छन्? के सपना लिएर आइरहेका छन्? यहाँ आएर उनीहरू कस्तो जीवन बाँचिरहेका छन्? उनीहरूको जीवनको संघर्ष कस्तो छ? मैले काठमाडौंको बारेमा लेखेँ भने सायद यी सबै कुरा लेख्नेछु। काठमाडौंमाथि एउटा बृहत् गैरआख्यान किताब बन्न सक्छ।’
‘फेरि मुम्बईतिर जाऊँ। तपाईंले मुम्बईलाई ‘सोने की चिड़िया’ भन्नुभएको छ। म्याक्सिमम सिटी प्रकाशित भएको झन्डै दुई दशक भयो। यो दुई दशकमा तपाईंको ‘सोने की चिड़िया’ उही छ कि परिवर्तन भयो?’
‘मैले बम्बेलाई ‘सोने की चिड़िया’ भन्नुको आसय यो सहरले बोकेको आर्थिक सम्भावना हो। यस मानेमा बम्बे अहिले पनि सोने की चिड़िया नै हो, किनभने बम्बेसँग अहिले पनि ठूलो आर्थिक सम्भावना छँदैछ। तर, बम्बे र समग्र भारतमा अहिले देखिएको परिवर्तन भनेको यो कुन दिशातिर जाँदैछ भन्ने हो। अहिले बम्बे मात्र होइन, भारतका धेरैलाई के लाग्न थालेको छ भने यो एक हिन्दुराष्ट्र हो। तर भारत हिन्दुराष्ट्र होइन। यसलाई कुनै एउटा धर्म विशेषसँग जोड्नु भनेको यसको मूल मर्ममाथि नै प्रहार गर्नु हो। भारतको जग नै धर्म निरपेक्ष अवधारणामा अडेको छ। नेपाल हिन्दुराष्ट्र थियो तर हिन्दुराष्ट्र हुँदाहुँदै पनि यहाँ भारतमा जस्तो धार्मिक द्वेष कहिल्यै भएन। धर्मका नाममा ठूलो दंगा भएन।
‘मैले एउटा कुरा खुला रूपमा भन्ने गरेको छु, मलाई भारत मनपर्नुको एउटा मुख्य कारण नै यो देश कुनै धर्मविशेषको होइन, सबैको निम्ति बराबर भएर हो। तर अहिले धर्मका नाममा जुन राजनीति भइरहेको छ, त्यो मलाई मन परेको छैन। त्यसैले म के भन्छु भने, बम्बे अहिले पनि त्यही ‘सोने की चिड़िया’ नै हो, तर त्यो चिड़ियाले गाउने गीतको लय अहिले फेरिएको छ।’
‘म्याक्सिमम सिटी अहिले लेख्ने हो भने के नयाँ अध्याय थप्नुहुन्थ्यो होला?’
‘अहिलेको अवस्था हेर्दा म सायद धर्मको बारेमा छुट्टै अध्याय लेख्थेँ। आज मेरै परिवारका धेरै सदस्य वा मेरो किताबमा भएका पात्रहरू के कुरामा विश्वस्त छन् भने, यदि इजरेल यहुदीहरूको देश हुनसक्छ, पाकिस्तान मुस्लिमहरूको देश हुनसक्छ भने भारत किन हिन्दुहरूको देश हुन सक्दैन? म उनीहरूलाई सोध्छु– के तिमीहरू साँच्चै पाकिस्तानलाई आफ्नो रोलमोडल बनाउन चाहन्छौ? पाकिस्तानको बाटोमा हिँड्न चाहन्छौ? तिमीहरू कतै मजाक त गरिरहेका छैनौ?
‘सबै धर्मलाई समभावमा हेर्ने भारतको जुन इतिहास छ, त्यसको ठ्याक्कै विपरीत गएर हिन्दुहरूको मात्र देश बनाउने, हिन्दु रीतिरिवाजलाई नै प्रधान बनाउने, हिन्दु कानुन लागू गर्ने र अरू धर्महरूलाई किनारा लगाउने जुन मनस्थिति बढ्दै गइरहेको छ, त्यो देखेर म अचम्म हुन्छु। भारतमा यो खालको विचार हाबी हुन थालेको मेरो किताब प्रकाशित भएयता हो। त्यसैले नयाँ अध्याय लेखेँ भने म भारतमा यस्तो सोच कसरी लोकप्रिय हुँदै गयो भनेर जान्न चाहन्छु।’
‘तपाईंले मुम्बईको व्याख्या गर्ने क्रममा के भन्नुभएको छ भने, सहर भनेको मान्छे जस्तै हो। जसरी एउटा मान्छेका धेरै रूप हुन्छन्, जसरी एउटा मान्छेले आफूभित्र अलगअलग व्यक्तित्व बोकेर हिँडेको हुन्छ, त्यसरी नै सहरका पनि धेरै रूप हुन्छन्। यो सहरको रोग हो। सहरको धेरै रूप भनेको के हो?’
‘यो भनेको के भने, सहरले एकातिर मान्छेलाई आकर्षित गरिरहेको हुन्छ, मान्छेलाई अनेक सम्भावना देखाउँछ, अवसरहरू दिन्छ। उसका तमाम आकांक्षा पूरा गर्छ र उसलाई अगाडि बढ्ने मौका पनि दिन्छ। तर, सँगसँगै सहर मान्छेप्रति एकदमै निर्मम हुन्छ। उसले देशभरिका मान्छेलाई सम्भावना र अवसरको लोभ देखाएर आफूतिर तान्छ र जसै मान्छेहरू बत्ती वरिपरि झुम्मिने कीराजस्तो सहरमा ओइरिन्छन्, सहरले ती मान्छेमाथि निर्मम व्यवहार गर्छ। उसलाई भोको राख्छ। कतिपयलाई त सडकको बास गराउँछ।
‘म बम्बेकै उदाहरण दिन्छु। बम्बेमा सबै धर्म र जातिका मान्छे बसोबास गर्छन्। तर कुनै कुनै बेला तिनै विभिन्न धर्म र जातिका मान्छे एकअर्कालाई मार्न आतुर हुन्छन्। सन् १९९२ को धार्मिक हिंसा यसको उदाहरण हो।
‘सहरले मान्छेलाई जीवन दिन्छ, सँगसँगै आतंकवाद वा अन्य किसिमका आपराधिक गतिविधिहरूको जोखिममा पनि पार्छ। तपाईं यहाँ जुनसुकै बेला आतंकवादको शिकार बन्न सक्नुहुन्छ। अपराधीहरूको दोहोरो भिडन्तमा परेर तपाईंको ज्यान जानसक्छ। तपाईं लुटिन सक्नुहुन्छ। तपाईंको घरबार जानसक्छ। त्यसैले एकातिर सहरमा मान्छेको भाग्य बन्छ, त्यहीँ अर्कातिर सहरमा मान्छेको भाग्य चकनाचुर हुनसक्छ। यी दुवै परिवर्तन पलभरमै हुन सक्छन्। एउटा मान्छे सहरमा प्रवेश गरिसकेपछि सहरको कुन चाहिँ रूपसँग उसको जम्काभेट हुन्छ भन्ने यकिन हुँदैन। उसको अनुभव राम्रो पनि हुनसक्छ, डरलाग्दो पनि हुनसक्छ। सहरले जीवनमा खुसियाली पनि ल्याउँछ, आहत पनि बनाउँछ।
‘सहरमा एउटै कुरा अवश्यम्भावी छ, त्यो हो परिवर्तन। सहरले आफ्नो रूप, आफ्नो चोला फेरिरहन्छ। तपाईंलाई सहरको कुनै एउटा कुरा मन परेको हुनसक्छ, त्यो भोलि परिवर्तन हुन्छ, अवश्य परिवर्तन हुन्छ। तपाईंलाई आज पार्क मन परेको छ, भोलि त्यो पार्कमा मल बनेको हुनसक्छ। तपाईंलाई कुनै मिठाइ पसल मन परेको छ, भोलि त्यो मिठाइ पसलको ठाउँमा ड्राई क्लिनर्स खुलेको हुनसक्छ। सहरको यो परिवर्तन कहिल्यै अन्त्य हुँदैन।’
‘यो परिवर्तनशील चरित्र जुन छ, त्यो सबै सहरको साझा हो — चाहे त्यो काठमाडौं होस् वा मुम्बई वा न्यूयोर्क?’
‘हो, सहर जुनसुकै होस्, परिवर्तन अवश्यम्भावी छ। तर कुनै सहर एकदमै छिटो परिवर्तन हुन्छ। जस्तो– दुबई एकदमै छिटो परिवर्तन भएको सहर हो। पछिल्लो पाँच–दस वर्षमै दुबई कहाँबाट कहाँ पुग्यो। बम्बे र काठमाडौैं पनि एकदमै छिटो परिवर्तन भइरहेका सहर हुन्। यिनीहरूको परिवर्तनको गति न्यूयोर्कको भन्दा तीव्र छ।
‘तपाईं न्यूयोर्क वा लन्डन जानुभयो भने एउटा खास कुरा याद गर्नुहुन्छ, त्यहाँ सहर कहाँ अन्त्य भयो र सहरभन्दा अलि बाहिरी भूभाग कहाँबाट सुरू भयो ठ्याक्कै थाहा हुन्छ। बम्बे र काठमाडौंमा त्यस्तो सीमा हुँदैन। यहाँ तीन सय साठी डिग्रीमा समान रूपले सहर फैलिरहेको हुन्छ। त्यो पनि उत्तिकै रफ्तारका साथ। यस कारण यी दुवै सहर अनन्त छन्। अनन्त रूपले विस्तार भइरहेका छन्।’
‘म्याक्सिमम सिटी मैले धेरैचोटि पढेँ। म एउटा कुरा जान्न इच्छुक छु– मैले यो किताबमा मुम्बईका धेरै आयाम भेटेँ। अन्डरवर्ल्ड माफियादेखि सुटर, तस्करदेखि बार डान्सर र बलिउडसम्म यसमा समेटिएका छन्। तर मुम्बईको एउटा महत्वपूर्ण अंग, त्यहाँका ठुल्ठूला बिजनेस हाउस, अर्बपति, खर्बपतिहरूको कथा किताबमा कतै छैन। टाटा, अम्बानी, बिरलाको कथा छैन। यसको कारण के?’
‘मैले किताब लेख्दा मध्यमवर्गीय बम्बे र सम्भ्रान्त बम्बेबारे छुट्टाछुट्टै अध्याय लेखेको थिएँ। मध्यमवर्गीयहरूको कथा त केही प्रकाशित भएका छन् तर सम्भ्रान्त बम्बेको कथा अप्रकाशित छ। त्यसमा मैले केही व्यवसायीहरूको कथा लेखेको थिएँ, जो एकदमै निम्न स्तरबाट उठेर माथिल्लो तहसम्म पुगे। उनीहरूको संघर्ष र उनीहरूले बाँचिरहेको सम्भ्रान्त जीवन त्यो कथामा थियो। ती कथाले एउटा फरक खालको बम्बेको तस्बिर देखाउँथ्यो, जुन अहिलेको म्याक्सिमम सिटीले देखाउँदैन। त्यस्ता केही अध्याय हटाएकोमा मलाई पछुतो पनि छ।
‘त्यसैले म के भन्छु भने, म्याक्सिमम सिटीमा जे छ, त्यो नै पूरा बम्बे होइन। त्यो मेरो बम्बे हो। मैले बाँचेको र मैले देखेको बम्बे हो। यस्ता अनेक बम्बे छन्। बम्बेमा बस्ने हरेक व्यक्तिले आफ्नै आँखाबाट सहर देखेको छ, भोगेको छ। हरेक व्यक्तिको आफ्नै बम्बे छ।
‘अर्को कुरा, म जति बेला यो किताब लेख्दै थिएँ, त्यति बेला पुराना बिजनेस हाउसहरू थिए, तर अम्बानीको भर्खर उदय हुँदै थियो। मैले अम्बानीको उदयबारे पछि ‘टाइम’ पत्रिकामा लामो स्टोरी लेखेको थिएँ। त्यसैले म्याक्सिमम सिटीमा उनीहरूको कुरा छुटेको सही हो। मैले यो किताब फेरि लेखेँ भने त्यो वर्गको कथामा विशेष चासो दिनेछु। अम्बानीको घर, जुन संसारकै एक महँगो घर हो, जहाँ जम्मा पाँच जना मान्छे बस्छन्, त्यस्तो कथामा मेरो जोड हुनेछ।’
‘तपाईंले किताब लेख्दा जस्ता जस्ता पात्र भेट्नुभयो — हत्यारा भेट्नुभयो, डन भेट्नुभयो, धार्मिक दंगामा मान्छे जिउँदै जलाउने पात्र भेट्नुभयो — तिनीहरूसँग कुरा गर्दा तपाईंमा घृणाको भाव आयो कि आएन?’
‘त्यस्तो भाव नल्याउनु मेरो निम्ति निकै कठिन थियो। र, उनीहरूलाई कुनै पूर्वाग्रह नराखेर भेट्नु वा कुनै पूर्वाग्रह नराखी उनीहरूको कथा सुन्नु मेरो निम्ति चुनौतीपूर्ण काम थियो। निश्चित रूपमा केही व्यक्तिसँग कुरा गर्दा म भित्रभित्रै रिसले मुर्मुरिएँ। एक जना थियो, जसले एउटी केटीलाई बलात्कार गरेर मारेको थियो। उसले आफूले गरेको बलात्कार र हत्याको वर्णन जसरी गर्यो, त्यो सुनेपछि मलाई त्यहीँ ठूलो ढुंगा लिएर त्यसको टाउकोमा हानूँ कि जस्तो लागेको थियो। तर, मैले आफूलाई सम्हालेँ। कुरा सुन्दा मात्र आफूलाई सम्हालेको होइन, मैले आफ्नो रिस लेखनमा पनि अभिव्यक्त हुन दिइनँ। म आफ्नो लेखनमा ती पात्रहरूप्रति कुनै पूर्वाग्रह नझल्कियोस् भन्नेमा एकदमै सचेत र सतर्क थिएँ।
‘म चाहन्थेँ, मेरो कथा पढेर पाठकहरूले नै ती व्यक्तिबारे आफ्नो धारणा बनाऊन्। उनीहरूले गरेको काम घृणायोग्य थियो भने पाठकहरूले आफैं घृणा गरून् भन्ने म चाहन्थेँ। म एउटा लेखक हुँ, उनीहरूको कथा, उनीहरूले भोगेको जीवन पाठकसमक्ष पुर्याउने माध्यम मात्र हुँ। म लेखकका रूपमा उनीहरूको कथा सुनेर तरंगित हुन पाउँदिनँ। न म उत्साहित हुन सक्छु न म आक्रोशित हुन सक्छु। मैले लेखकका रूपमा सबैलाई समभावका साथ हेर्नुपर्छ। त्यो मेरो कर्तव्य हो। बाँकी उनीहरूलाई कसरी ग्रहण गर्ने भन्ने पाठकहरूको कुरा हो।’
‘तर एउटा मान्छेलाई पेट्रोल छर्केर जिउँदै जलाएको घटना सुन्दा, त्यो मान्छे कसरी तड्पियो, कसरी चिच्यायो, कसरी उसका अंग–प्रत्यंग गल्दै गए भनेर एक–एक वर्णन प्रत्यक्ष देखेजस्तो सुन्नुपर्दा कत्तिको गाह्रो भयो?’
‘मलाई त्यो क्षण अहिले पनि याद छ। ऊ आफूले जिउँदै मान्छे जलाएको घटना गर्वसाथ सुनाउँदै थियो र मेरै कोठामा बसेर मेरो कोनियाक (मदिरा) पिउँदै थियो। त्यो सुुनिसकेपछि मैले आफूलाई सम्हाल्न सकिनँ। मैले तुरून्तै बाथरूममा गएर १८ वर्षमा पहिलोपटक बान्ता गरेको थिएँ। ती सबै घटना सुन्न र त्यसलाई ग्रहण गरेर ल्यापटपमा उतार्न मलाई निकै गाह्रो परेको थियो।
‘यति मात्र होइन, प्रहरी चौकीमा मैले आफ्नै आँखाअगाडि यातना दिइएको दृश्य देखेँ। कुनै मान्छेलाई त्यो हदसम्म, त्यति बर्बरतापूर्वक पिटेको मैले आफ्नो जिन्दगीमा कहिल्यै देखेको थिइनँ। एउटा मान्छेलाई दसौं जना प्रहरीले घेरेर लट्ठीले, बुटले, फलामको रडले पिटेको, त्यो मान्छे आफ्नो ज्यानको भिख माग्दै चिच्याइरहेको दृश्य सहनु मेरो निम्ति निकै गाह्रो थियो। त्यो पल म कहिल्यै भुल्न सक्दिनँ। त्यो दृश्यले मलाई आजसम्म पछ्याइरहन्छ।
‘तर मुख्य कुरा, म ती सबै विषयबारे किताब लेख्दै थिएँ। मलाई रिसाउने, दुःखी हुने, खुसी हुने वा भावुक हुने अधिकार थिएन। त्यो मेरो लेखकको धर्मभन्दा बाहिरको कुरा हो। पत्रकारको धर्म पनि त्यही हो। उसले घटनाको साक्षी बन्ने हो। घटनामा भावनात्मक रूपले हेलिएर आफू पनि सँगसँगै बग्दै जाने होइन। एउटा लेखक वा पत्रकारका रूपमा हामीले आफूले भेटेका पात्रहरूको कथा सुन्ने हो र उनीहरूले भनेको कुरा जस्ताको तस्तै पाठकसम्म पुर्याउने हो। उनीहरूले गरेको काम सही हो कि गलत भनेर निर्णय दिने वा छुट्टयाएर हेर्ने होइन। उनीहरूप्रति कुनै किसिमको आग्रह वा पूर्वाग्रह राख्ने होइन। त्यो काम पाठकको हो। सही हो कि गलत छुट्टयाउने अधिकार पाठकलाई मात्र छ।
‘फेरि शिव सेनाको जो कार्यकर्ताले एक मुस्लिम व्यक्तिलाई जिउँदै जलायो, ऊ हामीजस्तै मान्छे पनि हो। उसको आफ्नो व्यवसाय छ, परिवार छ, छोराछोरी छन्। ऊ हामीजस्तै विभिन्न सामाजिक गतिविधिमा सरिक हुन्छ। हामीजस्तै हाँसखेल, ठट्टा गर्छ। सँगसँगै, उसको अर्को व्यक्तित्व पनि छ — ऊ एउटा हत्यारा हो। यस्ता व्यक्तिलाई भेट्दा हामी एउटा ठूलो गल्ती के गर्छौं भने, हामी उसलाई हत्याराका रूपमा मात्र हेर्छौं, उसको अर्को व्यक्तित्व चियाउन खोज्दैनौं। एउटा हत्याराभित्र पनि पूर्ण मानव हुन्छ। ऊभित्र हामीमा जस्तै अनेक मानवीय आयाम हुन्छन्। त्यसैले, हत्याराको मनोदशा पूर्ण रूपमा बुझ्ने हो भने उसका आयामहरू राम्रोसँग पहिल्याउनुपर्छ। उसलाई सगोलमा बुझ्नुपर्छ, एउटा पक्ष मात्र हेर्ने होइन।
‘यसरी सगोलमा हेरेपछि बल्ल उसलाई आफूसँग दाँज्न सकिन्छ। त्यो हत्यारा र मबीच के–के समानता छन्, हामी कसरी एकै खालका मान्छे हौं भनेर हामी थाहा पाउन सक्छौं। उदाहरणका लागि, म जसरी आफ्नो बच्चालाई अगाध माया गर्छु, ऊ पनि आफ्नो बच्चालाई उस्तै अगाध माया गर्छ। जसरी मलाई आफ्नो आमाबाबुप्रति आदर छ, उसलाई पनि त्यस्तै आदर छ। तर, यति समानता हुँदाहुँदै पनि म ऊजस्तो कुनै मान्छेको हत्या गर्न सक्दिनँ, पेट्रोल छर्केर जिउँदै जलाउन सक्दिनँ। ऊ त्यो गर्न सक्छ। त्यसो भए ऊ र मबीच के समानता छ र हामी कसरी असमान छौं? ऊ किन हत्यारा भयो र म किन ऊजस्तो हत्यारा भइनँ? मलाई यस्तै प्रश्नले उसको कथा सुन्न रूचि जाग्यो र म ती पात्रहरूलाई पछ्याउँदै गएँ, उनीहरूका कथा सुन्दै गएँ।’
‘यो किताब प्रकाशन भइसकेपछि तपाईंले कहिल्यै उनीहरूलाई सम्पर्क गर्नुभयो?’
‘शिव सेनाका कार्यकर्तासँग मेरो पछिसम्म सम्पर्क भइरह्यो। तर अन्डरवर्ल्डका मान्छेसँग सम्पर्क राखिनँ। एकचोटि के भयो भने, मैले अन्तर्वार्ता लिएको एक जना ‘भाइ’ (अन्डरवर्ल्डको सदस्य) को गिरोहकै कुनै सदस्य न्यूयोर्क आएका रहेछन्। बम्बेबाट उसले मलाई ‘भाइका भाइ आ रहा है, उसको एयरपोर्टपे रिसिभ करोगे’ भनेर फोन गर्यो। म उसलाई सिधै नाइँ भन्न सक्दिनथेँ, तर अन्डरवर्ल्डसँग कुनै किसिमको सम्पर्क वा सम्बन्ध राख्न पनि चाहन्नथेँ। त्यसैले मैले उसलाई आफ्नो मोबाइल नम्बर दिँदा बीचका दुइटा अंक उल्टोपाल्टो पारेर दिएँ, ताकि उसले कुनै हालतमा मलाई सम्पर्क गर्न नसकोस्। सायद त्यो ‘भाइको भाइ’ न्यूयोर्क एयरपोर्टमा आएर मलाई कल गरेको गर्यै भयो होला।’
‘तपाईंलाई अन्डरवर्ल्डबाट कुनै धम्की त आएन? वा शिव सेनाबाट?’
‘मलाई कुनै किसिमको धम्की आएन। मैले ती पात्रहरूलाई भेट्दा आफ्नो परिचय लुकाएको थिइनँ। म को हुँ र किन उनीहरूलाई भेटिरहेको छु भनेर प्रस्ट बताएको थिएँ। उनीहरूले म किताब लेख्दैछु भन्ने थाहा पाएरै आफ्नो कथा मलाई सुनाएका थिए।
‘न्यूयोर्क टाइम्समा काम गर्ने मेरो एक जना साथी बम्बेको अन्डरवर्ल्डमाथि स्टोरी लेख्दै थियो। उसले एक जना सुटरलाई भेटेछ। त्यो सुटरले भनेछ, ‘सुकेतु मेहताको जानते हो? म्याक्सिमम सिटी पढी है? मै पेज नम्बर १२३ मेँ हुँ।’ भन्नुको मतलब, बम्बे सहरबारे मैले जे लेखेँ, त्यसलाई लिएर अन्डरवर्ल्ड वा शिव सेनाले मप्रति कुनै द्वेष राखेनन्। उनीहरू सायद बम्बेका ती कथा बाहिर ल्याइदिएकोमा खुसी नै भए।
‘मैले किताबमा त्यही लेखेको थिएँ, जुन उनीहरूले मलाई सुनाए। उनीहरू आफैं पनि ती कथा वा उनीहरूको भोगाइ बाहिर आओस् भन्ने नै चाहन्थे। मैले उनीहरूप्रति कुनै पूर्वाग्रह राखिनँ। उनीहरूको नाम परिवर्तन गरेँ र उनीहरूले जे सुनाए, त्यही लेखेँ। त्यसैले उनीहरूले मलाई धम्की दिने घटना कहिल्यै भएन।’
‘तर विद्युविनोद चोपडा चाहिँ तपाईंसँग रिसाए, होइन? उनले त यो किताबमा प्रतिबन्ध लगाउनुपर्छ सम्म भने।’
‘हो, उनी मसँग खुसी भएनन्। त्यो किताबको एक मात्र पात्र, जो मसँग खुसी भएन, ती विद्युविनोद चोपडा थिए। त्यसको कारण के भने, कसैले उनलाई सुनाइदिएछ, मैले विद्युविनोद चोपडाको तीनवटी श्रीमती छन् भनेर किताबमा लेखेको छु। जबकि, मैले त्यस्तो लेखेकै थिइनँ। उनले आफू किताब पढेनन्, अरूले जे सुनाए, त्यही पत्याए। अनुरागले पनि यसबारे विद्युविनोद चोपडासँग कुरा गरेका रहेछन्। अनुरागले भनेछन्, ‘त्यो किताबमा त्यस्तो कुरा कतै लेखिएको छैन। तिमीले किताब पढेका छौ?’ चोपडाले भनेछन्, ‘मलाई त्यति लामो किताब पढ्ने फुर्सत छैन, तर जसले पढ्यो उसले मलाई भन्यो।’ उनले पढेका भए थाहा पाउने थिए, मैले किताबमा उनको बारेमा राम्रो लेखेको छु।’
‘अहिले चाहिँ कस्तो छ त सम्बन्ध?’
‘हाम्रो त्यसपछि कहिल्यै सम्पर्क भएन। उनले बिनाकारण मविरूद्ध जस्तो धारणा बनाए, त्यसप्रति मलाई खेद छ। विद्युविनोद चोपडा मलाई एकदमै मनपर्ने मान्छे हो। उनका कामहरू मलाई मनपर्छन्। तर, उनी हल्लाको पछाडि लागे, साँचो कुरा बुझ्न खोजेनन्।’
‘तपाईंको किताब पत्रकारिता लेखनजस्तै छ। तर तपाईंले कहिले पूर्णकालीन पत्रकार भएर त काम गर्नुभएन? कि गर्नुभयो?’
‘अहँ मैले पूर्णकालीन पत्रकार भएर कहिल्यै काम गरिनँ। जुन रूपमा यो किताब प्रकाशन भयो, त्यसको धेरै श्रेय मेरो सम्पादकलाई जान्छ।’
‘एउटा पत्रकारिता लेखन र गैरआख्यान लेखन उस्तै हो कि फरक हुन्छ?’
‘एउटा मुख्य भिन्नता त के भने, गैरआख्यान किताब लेख्दा म आफ्ना पात्रहरूलाई वर्षौं वर्ष पछ्याइरहन सक्छु। पत्रकारिता लेखनमा डेडलाइनको दबाब हुन्छ। तपाईं कुनै स्टोरीमा काम गर्दै हुनुहुन्छ भने भोलि दिउँसो १२ बजेसम्म त्यो स्टोरी सम्पादकलाई बुझाइसक्नुपर्ने दबाब हुन्छ, तर गैरआख्यानमा तपाईंले त्यो दबाब लिनुपर्दैन।’
‘जस्तो मलाई अहिले दबाब छ, यो अन्तर्वार्ता भोलि पोखरामा तपाईंको कार्यक्रम सुरू हुनुभन्दा अगाडि नै प्रकाशन गरिसक्ने।’
‘एकदमै, पत्रकारहरूले अक्सर त्यस्तै दबाबमा काम गर्नुपर्छ, जुन गैरआख्यान लेखकलाई हुँदैन। अर्को, पत्रकारिता लेखन एउटा विषयमा केन्द्रित हुन्छ। जबकि, गैरआख्यान लेख्दा संस्मरण, अनुसन्धान, यात्रा विवरण सबैको मिसमास हुनसक्छ।
‘अमेरिकामा ‘न्यू–जर्नालिजम’ भन्ने जुन ट्रेन्ड लोकप्रिय हुँदै गएको छ, त्यो ट्रेन्डले पत्रकारिता लेखनमा पनि आख्यानमा जस्तो कथा बुन्ने शैली पछ्याउँछ। त्यसैले, पत्रकारिता लेखनलाई पनि आख्यान वा गैरआख्यान किताबजस्तो वर्णनात्मक शैलीमा लेख्न सकिन्छ। पाठकहरूको रूचि हेर्ने हो भने त्यस्तो वर्णनात्मक शैलीमा लेखिएका पत्रकारिता लेखन धेरैले मन पराएको पाइन्छ।
‘उदाहरणका लागि, अखबारका लागि तपाईंले कुनै नेताको अन्तर्वार्ता लिनुभयो। त्यो अन्तर्वार्ता अक्सर घटनाप्रधान हुन्छ। तर न्यू–जर्नालिजममा तपाईं घटनामा मात्र केन्द्रित नभइकन ती नेताको व्यक्तिगत विवरण, उनको पृष्ठभूमि र अन्य घटनाक्रमहरूको सन्दर्भसमेत जोडेर त्यसलाई गैरआख्यान किताबको शैलीमा प्रस्तुत गर्न सक्नुहुन्छ। यस्तो शैली अपनाउँदा तपाईं ती नेतालाई नै एउटा पात्रका रूपमा लिनुहुन्छ र जसरी पात्रका अनेक आयाम हुन्छन्, तपाईं ती नेताको व्यक्तित्वका अनेक आयाम खोज्न थाल्नुहुन्छ। यसले तपाईंको स्टोरीलाई विवरणात्मक बनाउँछ, त्यसमा गैरआख्यान किताबहरूमा पाइने साहित्यिक स्वाद पनि पाइन्छ।’
‘गैरआख्यान किताब लेख्दा लेखकले विषयवस्तु तोडमरोड नगरी केही हदसम्म सिर्जनात्मक स्वतन्त्रता लिन्छन् कि लिँदैनन्? वा, तपाईं त्यस्तो सिर्जनात्मक स्वतन्त्रता लिनुहुन्छ कि हुन्न?’
‘म लिन्नँ। म यो मामिलामा एकदमै सख्त छु। म शतप्रतिशत त्यही लेख्छु, जुन तथ्य हो। म कुनै पनि कुरा बढाइचढाइँ प्रस्तुत गर्दिनँ। म्याक्सिमम सिटीमा उल्लेख भएका एक–एक पात्र सही हुन्। उनीहरू अहिले पनि बम्बेमा छन्। उनीहरूको जे भनाइ मैले उद्धृत गरेको छु, ती सबै मलाई उनीहरूले नै भनेका हुन्। त्यो उनीहरूकै शब्द हो, जुन मैले कुराकानी गर्दागर्दै ल्यापटपमा टिपेको थिएँ। त्यसमा भएका कुनै पनि घटना मैले बनाएको छैन वा बढाएर प्रस्तुत गरेको छैन। मैले जे देखेँ, त्यही लेखेँ। जे सुनेँ, त्यही लेखेँ। मैले हरेक घटनालाई त्यसरी नै प्रस्तुत गरेको छु, जसरी त्यो मेरो आँखाअगाडि भयो। यदि मैले कुनै पात्र हाँसेको लेखेको छु भने त्यो यस कारण लेखेँ, किनभने मैले उसलाई हाँसेको देखेको थिएँ।’
‘मलाई यो किताबको दुइटा वर्णन एकदमै उम्दा लागेको थियो — एउटा बम्बईको अन्डरवर्ल्डको कथा भन्नुअघि तपाईंले जनावरहरू काट्ने वधशालाको दृश्य वर्णन गर्नुभएको छ। त्यहाँ जनावर मार्दा देखिएका एक–एक दृश्य मिहिन रूपमा प्रस्तुत गर्नुभएको छ। अर्को, बाल ठाकरेलाई भेट्नुअघि तपाईंले उनको कोठाको ढाँचा, सजावट, फर्निचरको बनोट र उनी कुन ढोकाबाट कसरी प्रवेश गरे भनेर एकदमै जीवन्त चित्र देखाउनुभएको छ।’
‘हो, यी दुवै वर्णन मैले यस कारण राखेको हुँ, किनभने म पाठकहरूलाई आफू सँगसँगै त्यहाँ लिएर जान चाहन्थेँ।
‘म जति बेला यो किताब लेख्दै थिएँ, त्यति बेला बम्बेमा दाउद इब्राहिम र छोटा राजन ग्याङबीच सुटआउटका घटना भइरहन्थे। हरेक रात सहरको कुनै कुनामा सुटआउट भएको खबर अखबारमा छापिन्थ्यो। सडकमा मान्छेको लास मिल्किएको तस्बिर देखिन्थ्यो। मान्छे त्यसरी नै मारिन्थे, जसरी वधशालामा जनावरहरू मारिन्छन्। ग्याङ–वारको त्यही झलक दिन मैले वधशालाबाट विषय उठान गरेको हुँ।
‘बालठाकरेको सन्दर्भमा पनि म पाठकहरूलाई आफूसँगै उनको कोठामा लिएर जान चाहन्थेँ। हामीले अघि जुन न्यू–जर्नालिजमको कुरा गर्यौं, यसरी घटनालाई विवरणात्मक ढंगमा प्रस्तुत गर्नु न्यू–जर्नालिजमको एउटा सूत्र हो। यसले तपाईंको लेखनलाई आख्यानको स्वाद दिन्छ। मैले सिधा बाल ठाकरेलाई भेटेँ र उनको अन्तर्वार्ता लिएँ भनेर लेखेँ भने त्यो एकदमै सपाट हुन्छ। त्यसमा रङ हुँदैन। पाठकले त्यहाँको माहोल, उनको शारीरिक हाउभाउ, उनको अनुहारमा आएको परिवर्तन थाहा पाउँदैनन्।
‘मैले किताब लेख्दा धेरैजसो ठाउँमा पाठकको क्यामरा बनेर लेखेको छु। उनीहरू म सँगसँगै हिँडिरहेका हुन्छन् र मेरो आँखाले अगाडिको दृश्य हेरिरहेका हुन्छन्। यो किताब लेख्दा मैले घटनाको दृश्य वर्णनमा खास जोड दिएको छु।’
‘किताबको सुरूमा ५० पृष्ठजति आफ्नो व्यक्तिगत कुरा लेख्नुको कारण पनि त्यही हो?’
‘हो, मैले सुरूमा पाठकहरूलाई आफ्नो बारेमा बताएँ। पाठकहरूले त्यो अध्याय पढेपछि म सुकेतु मेहता भनेको को हुँ, बम्बे मेरो निम्ति के हो, म कसरी न्यूयोर्क पुगेँ, त्यहाँ पुगेपछि मेरो जीवनमा के–कस्ता परिवर्तन आए र म किन यो किताब लेख्न बम्बे आएँ भन्ने विस्तारमा थाहा हुन्छ। आफ्नो बारेमा यति जानकारी दिइसकेपछि म पाठकहरूलाई यस्तरी बम्बे घुमाउँछु, मानौं म उनीहरूलाई भन्दैछु– ल आऊ, अब हामी सँगै बम्बे घुम्न जाऊँ। म तिमीहरूलाई मेरो बम्बे देखाउँछु। मेरो सहरको परिचय गराउँछु। बम्बेका गल्ली–गल्लीको टूर गराउँछु।
‘किताबको सुरूमा आफ्नो बारेमा बताएपछि मलाई पाठकको विश्वास आर्जन गर्न सजिलो भयो भन्ने लाग्छ। जब उनीहरूले मलाई पत्याउँछन्, म को हुँ भनेर थाहा पाउँछन्, त्यसपछि बल्ल उनीहरू मसँग बम्बेको यात्रामा आउन सहज मान्छन्। अब म बम्बेमा जे देखाउँछु वा जो जो पात्रसँग भेटाउँछु, उनीहरूप्रति पनि पाठकलाई विश्वास हुन थाल्छ, किनभने पाठकको त्यो विश्वास मैले सुरूमै आर्जन गरिसकेको छु।’
‘अब तपाईंको दोस्रो किताब ‘दिस ल्यान्ड इज आवर ल्यान्ड – एन इमिग्रेन्ट्स मेनिफेस्टो’ बारे कुरा गरौं। म्याक्सिमम सिटीमा मुम्बई सहरप्रति तपाईंको माया र सद्भाव झल्किन्छ, जबकि यो पछिल्लो किताबमा तपाईंको रिस, निराशा अभिव्यक्त भएको छ। कारण के?’
‘सही कुरा हो। यो किताब मेरो रिस र निराशाबाट सुरू हुन्छ, तर आशामा पुगेर टुंगिन्छ। मैले यो दोस्रो किताब म्याक्सिमम सिटीभन्दा निकै चाँडो लेखेको थिएँ। मैले २०१७ सालमा लेख्न सुरू गरेको थिएँ, २०१९ मा प्रकाशन भएर आइसकेको थियो। किनकि, यो किताब त्यतिखेरै लेखिनुपर्छ र त्यतिखेरै छापिनुपर्छ भन्ने मलाई भित्रैदेखि लाग्यो।
‘म डोनाल्ड ट्रम्पले लिएका नीतिहरूबाट एकदमै आक्रोशित थिएँ। आप्रवासीहरूप्रति गरिएको व्यवहारले मेरो पेट भतभती पोलेको थियो। अमेरिकामा मात्र होइन, संसारभरि नै आप्रवासीहरूप्रति गरिएको भेदभावपूर्ण व्यवहारले मलाई क्रूद्ध बनाएको थियो। अमेरिकामा भारतीय वा बंगलादेशीमाथि गरिने भेदभाव, खाडी मुलुकहरूमा नेपालीमाथि गरिने भेदभाव मैले सहनै सकिनँ। अहिले संसारभरि विभिन्न कारणले हुने मानवीय बसाइसराइलाई आपराधिक गतिविधिजस्तो हेरिएको छ। उनीहरूलाई शारीरिक र मानसिक रूपमा दण्डित गरिन्छ। ती सबै देखेर मलाई एकदमै छटपटी हुन थाल्यो। जुन बेला मेरो मनमा त्यो भावनाले डेरा जमायो, मैले उतिन्खेरै त्यसमाथि किताब लेख्न सुरू गरेँ।
‘उदाहरणका लागि, कतारमा विश्वकपको निम्ति स्टेडियम बनाउँदा थुप्रै नेपाली कामदारको ज्यान गयो। नेपालीहरूले भोगेको त्यो दुःख र पीडालाई अन्तर्राष्ट्रिय जगतले कहिल्यै सम्झेन, कहिल्यै सराहना गरेन। नेपाल, भारत, बंगलादेश, पाकिस्तान वा इन्डोनेसियाका कामदारहरूलाई सस्तो पारिश्रमिकमा काम दिएर ठूलो कृपा गरेजस्तो देखाइन्छ। हो, त्यसबाट आर्जन हुने रेमिटेन्सले नेपालजस्ता धेरै देशको अर्थतन्त्र चलेको छ। तर, सँगसँगै त्यसले धनी देशहरूमा विकास निर्माणका काम पनि भएका छन्। नेपाली कामदारहरूकै मिहिनेतले कतार विश्वकप फुटबल त्यति भव्यताका साथ सम्पन्न गर्न सफल भयो। यो योगदानको चाहिँ कदर गरिन्न र वैदेशिक रोजगारको लाभलाई धनी मुलुकहरूको आँखाबाट एकतर्फी रूपमा मात्र हेरिन्छ। मैले यो किताबमा उजागर गर्न खोजेको यही हो।
‘मेरो तर्क के हो भने, गरिब देशका जनता यस कारण अर्काको देशमा काम गर्न बाध्य भए, किनभने धनी देशहरूले विगतमा ती देशलाई लुटेर त्यहाँका जनतालाई गरिब बनाए। चाहे त्यो विगतको औपनिवेशीकरणले होस् वा अहिले जलवायुमा पारिरहेको क्षतिले होस्। धनी देशका विभिन्न गतिविधिले गरिब देशहरू अवसरबाट वञ्चित भइरहेका छन् र झन् झन् गरिब हुँदै गइरहेका छन्। यो अवस्थामा धनी देशहरूले अरू केही नभए पनि कम्तिमा यति छुट त दिन सक्छन्, ताकि गरिब देशका जनता उनीहरूकहाँ रोजगार गर्न जाऊन्, उनीहरूजस्तो लुट्न होइन, काम गर्न, पसिना बगाउन। यो धनी देशहरूको गरिब देशप्रति नैतिक दायित्व पनि हो।’
‘तपाईं न्यूयोर्क सहरमाथि पनि लामो समयदेखि किताब लेख्दै हुनुहुन्छ?’
‘हो, करिब १५ वर्ष भयो मैले यो किताब लेख्न थालेको। तर म अहिले सँगसँगै न्यूयोर्क विश्वविद्यालयमा पढाउँछु पनि।’
‘यति लामो समय चाहिँ किन लाग्यो?’
‘न्यूयोर्कबारे लेख्नु निकै गाह्रो कुरा हो। जब म बम्बेबारे लेख्दै थिएँ, त्यति बेला कसैले पनि बम्बेमाथि गैरआख्यान किताब लेखेका थिएनन्। तर, न्यूयोर्कबारे सयौं किताब लेखिएका छन्। संसारका एकसेएक गैरआख्यान लेखकहरूले न्यूयोर्कबारे लेखेका छन् र अझै लेखिरहेका छन्। त्यसैले, यो सहरको किताब लेख्नु मेरो निम्ति ठूलो चुनौतीको काम भयो। मलाई न्यूयोर्क सहरका त्यस्ता कथाहरू खोज्नुपर्यो, जुन आजसम्म कसैले नलेखेको होस्। म अहिले यो किताब लेखनको अन्तिम चरणमा आइपुगेको छु। यो पनि एकदमै ठूलो किताब हुनेछ।’
‘के २०२३ भित्रै यो किताब पढ्न पाइएला त?’
‘त्यो म अहिले नै भन्न सक्दिनँ। मैले अहिलेसम्म आफ्नो सम्पादकलाई देखाएको छैन। म छिट्टै किताबको पूरै पाण्डुलिपि सम्पादकलाई बुझाउँदै छु, त्यसपछि उनले आफ्नो प्रतिक्रिया दिनेछन्। मैले त्यसमा थप काम गर्नुपर्नेछ कि वा म्याक्सिमम सिटीमा जस्तै कुनै अध्यायहरू हटाउनु पो पर्ने हो कि! सम्पादकबाट फाइनल भएपछि बल्ल किताब प्रकाशनको बाटोमा जाने हो।’
‘यो किताबको लेखन प्रक्रिया र विषयवस्तु पनि मुम्बईको जस्तै हो?’
‘लगभग उही हो। न्यूयोर्कको कथा लेख्न पनि मैले बम्बेमा जस्तै सडक–सडक, गल्ली–गल्ली चहारेको छु। असंख्य मान्छेहरूलाई भेटेको छु र उनीहरूलाई वर्षौंदेखि पछ्याइरहेको छु। किताबको निम्ति संकलन गरेका केही कथा त विभिन्न पत्रिकामा प्रकाशन पनि भइसकेका छन्। जस्तो– एक अफ्रिकी महिलाको कथा न्यूयोर्करमा छापिएको छ, जसले आफू बलात्कृत भएको घटना लुकाएर बसेकी छे। एउटा लागुऔषध कारोबारी समूहको कथा पनि प्रकाशित भएको छ, अहिले त्यसमाथि फिल्म बन्दैछ। यसबाहेक विभिन्न देशबाट न्यूयोर्क सहरमा आएर बसोबास गरिरहेका आप्रवासी समूहहरूको कथा हुनेछ। यसमा न्यूयोर्क प्रहरी विभागको कथा पनि छ।
‘यी सब कथाका अतिरिक्त यसमा मेरो आफ्नै न्यूयोर्क संस्मरण हुनेछ, जुन सहरमा म बम्बे छाडेर बस्न आएँ। यही सहरमा मेरो विवाह भयो, डिभोर्स पनि भयो। सम्बन्ध जोडियो, सम्बन्ध टुट्यो। मेरा बच्चाहरू यहीँ जन्मे, यहीँ हुर्के। यो बिरानो सहर मेरो आफ्नो भयो। मैले यसलाई कसरी आफ्नो बनाएँ? कसरी यो सहरले मलाई अपनायो? यी सबै कथा किताबमा हुनेछन्।
‘न्यूयोर्क यस्तो सहर हो, जसले मान्छेलाई दोस्रो मौका दिन्छ। त्यो दोस्रो मौकामा मान्छे सफल हुन्छ भन्ने पनि छैन। ऊ अगाडि बढ्न पनि सक्छ वा फेरि भुइँमा पछारिन पनि सक्छ। फेरि यो सहरले उसको सबथोक खोस्न पनि सक्छ। तर, यो सहरको सुन्दर पक्ष के भने, यसलाई तिमीलाई फेरि तेस्रो मौका दिन्छ।’
‘तपाईंको पहिलो किताब ‘म्याक्सिमम सिटी’ सन् २००४ मा आयो, आजभन्दा १८ वर्षअगाडि। त्यसपछि एकैचोटि २०१९ मा दोस्रो किताब आयो। यसबीच १५ वर्षदेखि तपाईं एउटा किताबमा काम गर्दै हुनुहुन्छ, जुन कहिले आउने ठेगान छैन। तपाईंलाई पहिलो किताबको अपार सफलताले थिचेको त छैन? न्यूयोर्क किताब मुम्बई जत्तिकै सफल होला कि नहोला भन्ने भार त छैन? कुनै चिज अत्यन्तै सफल भएपछि उत्पन्न हुने भार हुन्छ नि — जस्तो भार सायद ‘शोले’ फिल्मपछि रमेश सिप्पीले बोक्नुपर्यो!’
‘त्यस्तो पनि होइन। हो, मलाई पनि यो अवधिमा अझै धेरै किताब लेख्न पाएको भए हुन्थ्यो भन्ने त पक्कै लाग्छ। मलाई पाठकहरूले ‘न्यूयोर्कको किताब कहिले आउँछ, हामी कुरिरहेका छौं’ भनेर भन्दा उनीहरूप्रति कृतज्ञ अनुभव हुन्छ। मैले एउटै किताबबाट यति धेरै पाठक कमाएछु भनेर खुसी लाग्छ। उनीहरूले मप्रति देखाएको विश्वास पूरा गर्नु अब मेरो दायित्व हो। मैले बम्बे किताब लेख्दा मेरो दायित्व मलाई आफ्नो व्यक्तिगत कथा सुनाउने पात्रहरूप्रति मात्र थियो भने अब न्यूयोर्कमा भेटेका पात्रहरूका अतिरिक्त संसारभरिका पाठकहरूप्रतिको दायित्व पनि थपिएको छ।
‘न्यूयोर्कपछि चाहिँ म अर्को कुनै सहरको किताबमा काम गर्ने छैन। त्यो पक्का हो। म अरू पनि थुप्रै सहरमा बसेको छु। पेरिसमा बसेको छु। तर, म ‘म्याक्सिमम पेरिस’ लेख्दिनँ। किनकि जतिसुकै धेरै सहरमा बसे पनि, स्वभावले ‘सिटी ब्वाई’ भए पनि मैले जानेको, बुझेको र चिनेको सहर दुइटा हो — बम्बे र न्यूयोर्क। त्यसैले न्यूयोर्क मेरो सहर शृंखलाको अन्तिम किताब हो। त्यसपछि सायद म छोटा किताबहरूको शृंखलामा काम गर्नेछु। म उपन्यासमा पनि काम गर्न सक्छु। मसँग केही उपन्यासको आइडिया छ। एउटा उपन्यास त मैले मेरो प्रकाशकसँग कबुल पनि गरिसकेको छु। मलाई त्यो सक्नुछ। यसबाहेक मलाई दक्षिण एसियाका विभिन्न सहर घुमेर शाकाहारी परिकारहरूबारे खोजबिन गर्ने, पकाउने तरिका, त्यसमा प्रयोग हुने मरमसलाहरू र त्यस पछाडि लुकेको कथा संकलन गर्ने र किताब लेख्ने इच्छा पनि छ।
‘लेखकमा पनि सहरको जस्तै धेरै रूप हुन्छ। प्रत्येक किताबसँगै उसको लेखकीय रूप फेरिन सक्छ। एउटा किताब एकथरीको छ भने अर्को किताब अर्कैथरीको हुनसक्छ। उसले सधैं एउटै शैलीमा बाँधिएर बस्नुपर्छ भन्ने छैन। सहरजस्तै लेखक वा समग्र मान्छेमै एउटा कुरा अवश्यम्भावी हुन्छ, ऊ परिवर्तनशील हुन्छ। निरन्तर परिवर्तन भइरहन्छ।
‘तपाईंको प्रश्नको जवाफमा चाहिँ म के भन्न चाहन्छु भने, मलाई पहिलो किताबको सफलताले त्यति थिचेको छैन, जति न्यूयोर्क सहरमाथि यसअघि अरू कसैले नलेखेको ओरिजिनल किताब लेख्ने चाहनाले थिचेको छ।’
‘खैर, तपाईंको नामसँग अठार वर्षअघि प्रकाशित एउटै मात्र सफल टाइटल जोडिएको किन नहोस्, त्यो अठार वर्ष पुरानो किताब आज किताब मात्र रहेन, त्यसले एउटा विधाकै रूप लिइसकेको छ — म्याक्सिमम सिटी विधा।’
‘मलाई हरेक महिना कुनै न कुनै सहरबारे लेखिएको किताबमाथि केही भनाइ लेखिदिन प्रस्ताव आइरहन्छ। कोही जोहानसबर्गको म्याक्सिमम सिटी लेख्दैछन्, कोही बेइजिङमाथि लेख्दैछन्। मैले यो किताब यति लोकप्रिय होला भनेर कहिल्यै कल्पना गरेको थिइनँ। कुनै आशा नराखी लेखिएको किताबले यति धेरै चर्चा पायो, त्यो पनि संसारभरिबाट। मलाई लाग्छ, काठमाडौंमाथि पनि म्याक्सिमम सिटी किताब लेखिनुपर्छ। काठमाडौंसँग किताबका रूपमा छापिन योग्य कथाहरू थुप्रै छन्।
‘मलाई अहिले यस्तो लाग्छ, मानौं म एउटा अन्वेषक यात्री हुँ। मैले सहरमाथि किताब कसरी लेख्ने भनेर एउटा नक्सा तयार पारेँ। अब यही नक्साका आधारमा नयाँ लेखकहरू गन्तव्यमा पुग्न सक्छन्। कसैलाई काठमाडौंको म्याक्सिमम सिटी लेख्न मन लाग्यो भने कसरी लेख्ने? के गर्ने? मैले बनाएको नक्साले उसलाई अगाडि बढ्न मद्दत गर्न सक्छ। उसले विषयवस्तु कसरी उठान गर्ने, के–कस्ता विषयवस्तु छनौट गर्ने, कस्ता कस्ता पात्रहरूसँग कसरी कुरा गर्ने र रिपोर्टिङको काम सकिएपछि कसरी प्रस्तुत गर्ने भनेर मेरो नक्सालाई आधार मान्न सक्छन्। एउटा भनाइ छ — इफ डेभिल इज इन द डिटेल, गड इज इन द स्ट्रक्चर!’
म कुराकानीको आखिरीमा आइपुगेको थिएँ। घडीले झन्डै साढे एक बजाइसकेको थियो। मैले पाएको ‘विन्डो पिरियड’ सकिँदै थियो।
आखिरीमा मैले सुकेतुलाई आफ्नै कुरा सुनाएँ, ‘म एउटा कुरा तपाईंलाई भन्न चाहन्छु। मैले यो आजसम्म कसैलाई भनेको छैन। तर, तपाईंलाई भन्न जरूरी छ। मलाई थाहा छैन, म किताब लेख्न सक्छु कि सक्दिनँ वा लेख्छु कि लेख्दिनँ। तर मलाई जिन्दगीमा एउटा किताब, कम्तिमा एउटा किताब लेख्न मन छ। तपाईं अनुमान गर्न सक्नुहुन्छ, त्यो के हो?
मैले उनको मुखमा होइन, आँखामा चाहिँ प्रश्नवाचक चिह्न देखेँ।
मैले भनेँ, ‘म्याक्सिमम सिटी अफ काठमाडौं। काठमाडौं सहरको कथा — कथायेँ।’
उनले उत्साहित हुँदै मेरो हात समातेर भने, ‘यु मस्ट डू इट, यु एब्सोलुट्ली डू इट। इट विल बी फ्यान्टास्टिक।’
कुराकानी सकिएपछि करिब सोह्र वर्षअगाडि किनेको म्याक्सिमम सिटीमा सुकेतु मेहताको अटोग्राफ लिएँ।
पहिलो पन्नामा उनले लेखिदिए —
‘सुदीपका लागि, शुभकामना र तिमी आफ्नो ‘म्याक्सिमम काठमाडौं’ लेख्नेछौ भन्ने आशासहित — सुकेतु मेहता’