सबै काम छाडेर जीवनभरि लेख्न पुग्ने कथाहरू छन् डा. नवराज केसीसँग — मान्छेको जीवनका दुःख–पीडाका कथा र त्यही दुःख–पीडा सामना गरेर जोडेको अलिकति खुसीको कथा।
कर्णाली प्रदेशको राजधानी सहर सुर्खेत आधारभूमि रहेका चिकित्सक नवराजको दोस्रो कृति 'स्वस्पर्श' मैले भर्खरै पढिसकेँ — कर्णाली क्षेत्रका दुर्गम ग्रामीण मान्छेका स्वास्थ्य समस्या र त्यसमा डा. नवराजको विवेकले गरेको थोरैतिनो सहयोगको कथा।
स्वास्थ्य समस्या भनेपछि शरीरको कुरा आउँछ। रोगको संक्रमण पनि ठाउँ अनुसार फरक–फरक हुने!
कस्तो भने, महिलाको आङ खस्ने रोग त रोगै होइन जस्तो। वर्षौंदेखि आङ खस्ने समस्या छ, त्यसकै पृष्ठभूमिमा दम्पतीको झगडा छ तर उपचार भएको छैन।
किन भएको छैन त उपचार? किनभने यो रोग हो, यसको उपचार सहज छ, हाम्रो झगडाको कारण पनि यही हो भन्ने नै थाहा छैन। थाहा दिने राज्य संयन्त्र छ तर अति कमजोर, नभए बराबर!
अरू अनेक रोग छन्। ओछ्यान नपरी अस्पताल जाने चलन छैन बरू दैनिकजसो धामीझाँक्री लगाएर भूतप्रेत मन्साउँछन् मान्छेहरू; बोको र कुखुराको भाले बलि दिन्छन्। देवीदेउता भाकल गर्छन्।
अस्पताल जान पनि साइत कुर्नुपर्छ; खर्चको साइत, घरायसी मेलोमेसोको साइत, बाटाको साइत र यस्तै अनेक साइत। कहिले त परिवारकै सदस्यको आँखा छल्नुपर्छ।
मानसिक स्वास्थ्यको त झन् के कुरा! मानसिक स्वास्थ्यबारे सामाजिक चेतना बेहद कमजोर छ, चेतना नै छैन बराबर!
डा. नवराजले नेपालगञ्ज मेडिकल कलेजबाट एमबिबिएस (चिकित्सा शिक्षामा स्नातक तह) पूरा गरे। फिलिपिन्सको मनिलास्थित 'नेसनल चिल्ड्रेन्स हस्पिटल' बाट एमडी (चिकित्सा शिक्षामा स्नातकोत्तर) पूरा गरेर बालरोग विशेषज्ञ भए।
एमबिबिएस पूरा गरेपछि काठमाडौंमा १८ महिना र पाल्पामा ६ महिना काम गरे। त्यसपछि एमडी गरेर सोझै सुर्खेत गए, त्यहीँको सरकारी अस्पतालमा काम सुरू गरे।
सरकारी अस्पतालमा उनले आठ वर्ष बिताए। हाल 'कर्णाली केयर' नामको एक निजी अस्पतालमा संलग्न छन्। उनको आफ्नै एउटा क्लिनिक पनि छ।
आजकाल उनी प्रत्यक्ष उपचार सेवामा भन्दा बढी उपचार सम्बन्धी सामाजिक सेवाको काममा लागेका छन्। अनेक मान्छेका स्वास्थ्य समस्या थाहा पाउनु, मानसिक स्वास्थ्य समस्या न्यूनीकरणमा मद्दत गर्नु र स्वास्थ्य चेतनाको अभियान चलाउनु उनको मुख्य कर्म भएको छ।
उनी स्वाध्यायन र लेखनमा लागेका छन्। आफ्नो पेसा र सेवाकर्मसँग सम्बन्धित केही पुस्तकको सूची बनाएका छन्। ती पुस्तक पढिसक्नु छ। अनि लेख्नु छ, जीवनभरि लेख्न अनेक कथा छन्, धेरै लेख्नु छ।
केले लेखक बनायो त डा. नवराजलाई?
बुबा शिक्षक थिए। उनले बाल्यकालमै स्कुल पाठ्यक्रम बाहिरका पुस्तक पढ्न पाए। यस्ता पुस्तक पढ्ने बानी भयो। चिकित्साशास्त्रको विद्यार्थी हुँदा पनि यस किसिमको पठनका लागि समय निकाले। पठनले लेखनमा रूचि बढायो तर के लेख्ने! अलमलमै दिन बित्दै थियो।
चिकित्साशास्त्रको औपचारिक पढाइ पूरा गरेपछि आफ्नै क्षेत्र कर्णाली फर्के। चिकित्सक भएर उपचारको काम सुरू गरेपछि मान्छेका अनेक दुःख–पीडा देखे। तिनका मर्मस्पर्शी कथा सुने।
तिनकै कथा लिपिबद्ध गर्दागर्दै कथाको ठेली बन्न थाल्यो। अब अलिकति मिलाएर धेरैलाई काम लाग्ने किताब किन नबनाउने! यस्तै सोचले डा. नवराजलाई लेखक बनायो।
उनका रचना गर्भमा चिकित्सासेवाका क्रममा देखेभेटेका र संगत गरेका पात्रहरू छन्। यस्तै पात्रहरूबाट 'शून्यको मूल्य' सिर्जना भयो। उनका अनुसार 'शून्यको मूल्य' को मियो 'आमा अर्थतन्त्र' र 'पटुकी बैंक' हो।
उनको अनुभवले भन्छ — कुनै पात्रलाई आधार बनाएर, रचनागर्भमा पात्रलाई राखेर लेख्न सजिलो छैन, त्यो पात्र आफूमा सिर्जना नगरी लेख्न सकिन्न।
स्वस्पर्श लेखनका क्रममा उनलाई यस्तै अनुभव भयो। उनका रचनामा तीस जना प्रमुख पात्र थिए। तीमध्ये दस मुख्य पात्रका कथा मात्र स्वस्पर्शमा छापिए। अरू कतिपय कथा पूरा हुन बाँकी देखिए, कतिपय पात्रमा आफू प्रवेश गर्न नसकेको ठहर गरे।
उनले धेरै कथा लेख्नु छ। जताततै कथैकथा छरिएको देखेका छन्। केवल तिनलाई आफूमा अनुभव गरेर अक्षरमा बुन्नु छ। अब त लेख्नु उनको जीवनशैलीको अभिन्न अंग भएको छ।
डा. नवराजका कसका लागि लेख्छन्?
लेख्ने पाठककै लागि हो। आफ्नो पुस्तकका पात्रसँग मिल्दोजुल्दो एक जना पाठकका लागि मात्रै उपयोगी हुन सक्छ भने पनि लेखन सार्थक हुन्छ भन्ने उनको धारणा छ।
स्वस्पर्शमा अनेक पात्रका पीडा र पीडाबाट मुक्तिका कथा छन्। मान्छेका पीडाका कथा उस्तैउस्तै भए पनि मुक्तिका उपायहरू फरक फरक हुँदा रहेछन्। स्वस्पर्श पात्र विशेषका पीडाका कथा सुनाउन होइन, पीडाको पृष्ठभूमिमा जीवनको आशा जगाउनका लागि हो।
डा. नवराजले आफ्नो जीवनको एउटा कथा सुनाए। जन्मिँदा उनको तौल जम्मा एक किलोग्राम मात्रै थियो रे! चिकित्सकहरूले समेत उनको जीवनको थोरै मात्र आशा गरेका थिए रे!
संसार देख्नु र भोग्नु थियो, त्यसैले उनले जीवन पाए।
बाआमा उनलाई चिकित्सक बनाउन चाहन्थे। उनको मेहनतले त्यो अवसर सिर्जना गर्यो।
चिकित्सक भएपछि उनले सोचे — आखिर एक किलोग्राम तौलको नवाजात शिशुको जीवन त्यति बेलै समाप्त हुन पनि त सक्थ्यो! तर भएन, मैले बोनसमा सिंगो जीवन पाएँ, यो जीवन अरू जीवनहरूका लागि थोरै भए पनि उपयोगी बनाउँछु।
यही सोचले उनलाई उपचार गर्नेभन्दा बढी सेवा गर्ने चिकित्सक बनायो।
अर्को अझ बढी संवेदनाको पाटो छ।
बुबा क्यान्सर रोगका बिरामी थिए। जीवनको आशा कमजोर हुँदै थियो। अस्पतालको शय्याबाट एक दिन बुबाले भने — छोरा! धेरै पैसा कमाउने बाटोतिर नलागेस्; नाम कमाउने लोभ पनि नपलाओस्; विदेश नजानू; जेजति गर्न सक्छस्, आफ्नै देशमा गर्नू; सकेसम्म आफ्नै गाउँठाउँमा गर्नू; आमाको राम्रो हेरचाह गर्नू।
त्यसै दिन साँझतिर बुबाको वाक्य बस्यो। भोलिपल्ट संसार छाडे।
बुबाको त्यही अन्तिम वचन डा. नवराजका लागि अन्तिम तर कहिल्यै नबिर्सिने ब्रह्म वाक्य भयो। उनले कर्णालीका बासिन्दाको उपचार सेवामा रमाउने भन्दा टाढा सोचेनन्, सोचेका छैनन्। यस्तो सोच्न आवश्यक देखेका पनि छैनन्।
स्वस्पर्श मान्छेको मानसिक समस्या, दुःखका आयामहरू र तिनको व्यवस्थापनसँग सम्बन्धित छ। अनेक थरीका दुःख–पीडासँग जुधेर अलिकति खुसी खोज्ने उपायहरूसँग सम्बन्धित छ।
उनले हृदयविदारक पृष्ठभूमिमा लेखेका छन् स्वस्पर्श।
दुई कक्षामा पढ्ने बालकले आत्महत्या गर्नु उनका लागि अकल्पनीय खबर थियो।
सुर्खेतमा भएको त्यही घटनापछि उनी मानसिक स्वास्थ्य सम्बन्धी 'स्कुल हेल्थ प्रोग्राम' चलाउँदै छन्, केही वर्ष भयो।
यो कार्यक्रमले आत्महत्या रोकथामलाई प्राथमिकतामा राखेको छ। आत्महत्याको विचार नियन्त्रण गर्न प्राथमिक उपचारका विधि सिकाउँछ। मानसिक अवसाद (डिप्रेसन) पहिचान र त्यसबाट मुक्तिका लागि सहयोगको तरिका सिकाउँछ।
कुनै विद्यार्थीले आफूमा मानसिक अवसाद भएको थाहा पायो तर कसैलाई भन्न सकेन, आफ्नो पीडा कसैलाई सुनाउन सकेन भने!
यस्तो अवस्थामा आफूलाई एक कल फोन गर्न सुझाव दिन्छन् डा. नवराज। त्यस्तो व्यक्ति अस्पताल गइहाल्नु पर्दैन। डा. नवराज चिया–कफी पिउने निम्ता दिन्छन्। त्यतिले पनि अवसादबाट मुक्ति मिलेको अनुभव छ उनीसँग।
उनले अवसादबाट पीडित मान्छे परोपकारी सेवामा लाग्नु निकै ठूलो उपचार रहेछ भन्ने थाहा पाएका छन्। यस्तै मध्येका एक हुन् नवराज भेडा। यिनको निकै लामो कथा छ स्वस्पर्शमा।
एउटा दुर्घटनामा परेर टाउकोमा गहिरो चोट लागेपछि नवराज भेडामा मानसिक समस्या सिर्जना भएको थियो। उनी निकै कठिन अवस्थाबाट गुज्रिए। त्यही समय उनले दुःखमा परेका जनावरको सेवाबाट परोपकारी काम सुरू गरे। त्यही काममा निष्ठा भएपछि उनले आफ्नो परम्परागत थरको सट्टा 'भेडा' भन्न र लेख्न थाले।
यी नवराज भेडा कर्णालीबाट 'भ्रष्टाचारविरूद्ध जन चेतनामूलक अभियान' सन्देशका खालीखुट्टा हिँड्दै गत असार पहिलो साता काठमाडौं आएका थिए। प्रधानमन्त्रीलाई भेटे।
उनी कर्णालीमा परोकारका अनुकरणीय दृष्टान्त भएका छन्। डा. नवराज र नवराज भेडा मित भएका छन्।
डा. नवराजका एक पात्र छन् जाजरकोटका जंगबहादुर। जंगबहादुरको जीवनकथाका अनेक आयाम छन्। उनको अपांगता भत्ता नै उपचारको बाधक बनेको थियो र त्यही भत्ताकै कारण आमाले छोराको कष्टमा आँसु बगाउनुपरेको थियो भन्ने कुरा पाठकका लागि कल्पनाबाहिरको हुन सक्छ।
आमाले मौका छोपिन्। डोकोमा बोकेर छोरालाई डा. नवराजकहाँ पुर्याइन्। त्यसपछिको कथा के होला! अनुमान गर्न सजिलो छैन।
खुसी हुन के चाहिन्छ— डा. नवराजका एक पात्र मन्दिरेको कथा पढे पुग्छ। किरण, अस्मिता, रिटायर्ड आमा, सानी नानीका जीवनकथा प्रेरणाका स्रोत हुन्।
डा. नवराजले चिकित्सा सेवामा पन्ध्र वर्षभन्दा बढी बिताइसके तर कर्णालीबाहिर कहिल्यै सोचेनन्।
हालको कर्णाली प्रदेश अस्पतालमा चिकित्सक भएर सेवा सुरू गर्दा उनीसहित पाँच जना चिकित्सक थिए, सबैभन्दा कनिष्ठ उनी नै थिए। अस्पताल बाहिरको त जीवन नै थिएन भने पनि हुन्छ। पाँचै जनाको स्थिति उस्तै थियो।
डा. नवराजले आफ्नो सक्रियतामा बालरोग विभाग स्थापना गराए। कोभिड संक्रमण फैलिएको समयमा साढे तीन वर्ष 'कोभिड फोकल पर्सन' भएर काम गरे।
कामले काम सिकायो। बिरामीका कथाले अक्षरकर्म सिकायो।
पैसा कमाउनु आवश्यक छ, जीवन चलाउन पैसा चाहिन्छ। आधुनिक र सहज तरिकारले बाँच्न झन् धेरै पैसा चाहिन्छ। समाजमा 'पैसावाल' हुनुको महत्त्व झन् झन् बढ्दो छ। डाक्टरसँग त प्रशस्तै पैसा हुनुपर्छ भन्ने आमधारणा छ।
पैसा नकमाएको डाक्टर के डाक्टर!
पैसा त डा. नवराजलाई पनि चाहिन्छ, चाहिएकै छ तर असहायहरूको सहारा बन्नु उनको जीवन हो। यही आधारमा उनले अर्थोपार्जनको पनि सीमारेखा कोरेका छन्। पैसा कमाउनु उनको असीमित चाहना होइन। बरु सेवाकर्म नै सीमाविहीन देखेका छन्।
'चिकित्सा पेसाको आम्दानीबाट सन्तुष्ट छु' भन्छन् डा. नवराज। दम्पती नै चिकित्सक छन्। यसले पनि अलिकति सजिलो बनाएको छ।
सेवाको अधिकांश समय ग्रामीण क्षेत्रमा बित्छ। जीवनशैली साधारण छ। यसो भएपछि खर्च कम हुन्छ। आम्दानीको कुरा खर्चसँग जोडिन्छ। खर्चमा मितव्ययिता, खर्च नगरे पनि हुने अवस्थाको पहिचान र तडकभडकरहित जीवन उनको सिद्धान्त हो।
यही सिद्धान्तले उनको परिवार चलेको छ, जीवन चलेको छ।
अहिलेको नयाँ पुस्तामा पनि उनको नजर परेको छ।
यो पुस्ता एक ठाउँमा र एउटा मात्र जागिरमा अडिन चाहँदैन। अग्रगामी मार्ग खोज्छ, आफूलाई ग्लोबल सिटिजन बनाउने प्रयत्नमा छ। युवाहरू विदेश जाने क्रम बढ्नुका कारणहरूमध्ये यो पनि एउटा हो भन्ने उनको निष्कर्ष छ।
यो पुस्ता संसारको जुनसुकै देशमा बसेर पनि आफ्नो मातृभूमिको सेवा गर्न सकिन्छ भन्ने ठान्छ।
डा. नवराजले देश रोजे। देश मात्र होइन, आफ्नै ठाउँ कर्णाली रोजे।
मैले 'शून्यको मूल्य' बडो प्रेमले पढेँ। एक जना चिकित्सक बहिनीको बिहेमा उनी र उनकी साथीलाई उपहार पनि दिएँ।
त्यस्तै प्रेमले पढेँ स्वस्पर्श। यो पुस्तक आमाबाबुले, युवायुवतीले, विद्यालयका शिक्षकले र प्रत्येक चिकित्सकले पढेको राम्रो। यो पुस्तकको महत्त्व पढेर आनन्द मान्नुमा भन्दा बढी जीवनको कला सिक्नु र सिकाउनुमा छ भन्ने मेरो ठहर छ।
थाहा पाई वा नपाई डा. नवराज रिपोर्ताज शैलीका लेखक भएका छन्। शून्यको मूल्य र स्वस्पर्श दुवै यही शैलीमा सलल बगेका छन्।
बग्दाबग्दै कतै भूमरी गोचर हुन्छ त कतै दाँतमा ढुंगो लागेजस्तो। कतिपय वाक्य त नलेखेकै भए पनि हुन्थ्यो जस्तो तर कुनै वाक्य अलिक फरक ढंगले लेखेको भए हुन्थ्यो जस्तो।
यहाँ थोरै दृष्टान्त पेस गर्छु।
'...पुरानो फोनको भुँडी फुटाएँ..., ....आइफोनमा ह्वाट्स एप दुलही भित्र्याएँ र घुम्टो खोलेँ...' जस्ता पदावलीमा सुगन्ध छैन।
धेरै वाक्यमा पद संगतिको बेमेल गोचर हुन्छ। यस्तैमा हो दाँतमा ढुंगो लागेजस्तो हुने।
'एउटा विद्यालय जाने झोला र एउटा पुरानो प्लास्टिकको बट्टा...' मा दुवै 'एउटा' को पदसंगतिमा विचलन छ।
'तर बिरामी, घाइते अनि बुढ्यौली लागेपछि उनीहरूलाई बेसहारा बनाएर घरानिकाला गरिएको थियो' मा विशेषण र नाम छ्यासमिस भएर क्रियापदसँग संगति नमिल्दा बेस्वादको भएको छ।
एउटै वाक्यमा एकै अर्थमा 'नि' र 'पनि' प्रयोगले खल्लो बनाइदिएको छ।
यस किसिमको विसंगति र बेस्वाद हुन नदिन लेखकभन्दा बढी सम्पादक चनाखो हुनुपर्ने हो। लेखक त एउटा प्रवाहमा हुन्छ, सम्पादकले सचेततापूर्वक सह्माल्नुपर्ने हो।
यस्ता खोटहरू साधारण लाग्ने तर सुधार्नुपर्ने खालका हुन्।
यो बेजोड कृतिको अर्को संस्करण आउने नै छ। त्यसमा यस्ता खोटमाथि प्रकाशकको र सम्पादकको ध्यान पुग्नेछ भन्ने विश्वास छ।
***
(गोविन्द लुइँटेलका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)