लेखक नवराज लम्सालको महाकाव्य 'अग्नि' ले २०७८ सालको मदन पुरस्कार जितेको छ। असोज ११ गते मंगलबार लम्साललाई यो पुरस्कारले सम्मान गरिँदैछ।
कवि, गीतकार एवं सञ्चारकर्मीका रूपमा पनि चिनिएका लम्सालको यो पहिलो महाकाव्य होइन। यसअघि उनका 'कर्ण' र 'धरा' महाकाव्य प्रकाशित भइसकेका छन्।
अग्नि उनको तेस्रो महाकाव्य हो। यो महाकाव्य पूरा गर्न आफूलाई २० वर्ष लागेको लम्साल बताउँछन्।
अग्नि, महाकाव्य र समग्र लेखन अनुभवबारे हामीले उनीसँग कुराकानी गरेका छौं। लम्सालसँग सेतोपाटीका सुसन चौधरीले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छ।
महाकाव्य किन लेख्नुभयो? महाकाव्यमा के विशेष हुन्छ?
साहित्यमा कविता भनेको एक झुल्कोजस्तो हो। अनुभूतिको एक रन्को हो। बगैंचाको एउटा थुंगा फूलजस्तो हो। महाकाव्य भने सम्पूर्णता हो। जीवन जगतलाई हेर्ने सम्पूर्णता। बगैंचाको फूल, बिरूवा, जमिन, गोडमेल गर्ने माली, वातावरण र परिवेशको ढिक्कै महाकाव्य हुनसक्छ। अगाडिपछाडि, दाँयाबायाँ, तलमाथि, सबै कोणको नजिकबाट जीवनलाई हेर्न सक्ने एउटा काव्यिक चेतना, दार्शनिक दृष्टिकोण र समग्रतामा जीवन र जगतलाई हेर्ने सन्दर्भमा महाकाव्य मिसिएर आउँछ जस्तो लाग्छ।
अग्नि महाकाव्य लेख्दाको अनुभव कस्तो रहयो?
अग्नि मेरो सपनाको दस्तावेज हो। अग्निका लागि मैले २० वर्ष खर्चेको छु। २०५७-५८ सालतिर हेटौंडाको एउटा कार्यक्रमका लागि बस्ने बेला सुनेको एउटा कथा पुस्ट्याइँ गर्दै परिपक्व पार्ने क्रममा लेख्न धेरै समय लाग्यो। म एकैचोटी तीन-चार वटा प्रोजेक्टमा काम गर्छु। फरकफरक विषयमा अलिअलि लेखिरहेको हुन्छु। सबभन्दा पहिले अग्नि लेख्न खोजेको थिएँ तर अनुसन्धान नपुगेको लाग्यो। अनि मैले 'धरा' र 'कर्ण' बजारमा ल्याएँ।
दिनभरि जागिरमा व्यस्त हुने भएकाले पनि अग्निको प्रायः पंक्ति राति लेखेको हुँ। २०७८ सालमा मात्रै अग्नि बजारमा सार्वजनिक भयो।
अग्निले मदन पुरस्कार पाउन सफल किन भएजस्तो लाग्छ?
अग्निमा मैले सिमान्तकृत दलित समुदायको कथा र इतिहासमा उनीहरूको उपस्थितिको कुरा उठाएको छु। त्यो कथामार्फत मैले देशकै कथा भन्न खोजेको छु। अर्को भनेको यो महाकाव्यका ३ सय पृष्ठ गद्यमा लेखिएको छ। नयाँ ढंगले सरल भाषामा खेल्न खोजेको छु।
यसमा लेखकको दयाले कुनै पात्र उठाइएको छैन, पात्र आफैं सशक्त भएर बोल्छ। एउटा आरनमा बल्दै गरेको अग्निलाई घनले ठोक्दै पसिना पुछ्दै गरेको विश्वकर्माले देशलाई फर्केर हेर्दा इतिहास, संस्कृति, भूगोल कस्तो देख्छ? उसले ऊ भएर उसकै भाषामा बोलेको छ। सामान्यभन्दा यिनै नयाँ कुराका कारणले पुरस्कार पाएको हुनसक्छ।
तपाईंको विचारमा लेखन के हो, कसरी आउँछ?
सडकमा कति मान्छे अन्तरहृदय फुटेर रोएको देख्छु। कोही मान्छे अन्तरहृदयको प्रसन्नता फुटेर हाँसेको देख्छु। भावनाहरू ह्वारह्वार्ती आउँछन्। सबैमा त्यो भावना हुन्छ। कवि अझ बढी भावुक हुन्छ। सलल बगिरहेको पानीलाई बाँध बनाएर खेतमा लगे सिँचाइ हुन्छ। अन्तरहृदयको भावनालाई कविले पनि बाँध बनाएर निश्चित उद्देश्यका साथ सञ्चय गरेर अभिव्यक्ति दिनसक्यो भने उत्कृष्ट काव्य बन्छ। जतिखेर मनलाग्यो त्यतिखेर लेख्दा एउटा आकार नबन्न सक्छ।
अग्नि महाकाव्य लेख्दा मेरो विषयवस्तु, कथाको सुरूआत र अन्त्य यसरी गर्छु र एउटा आकारमा लेख्छु भनेपछि आफू त्यहाँभित्र बग्दैबग्दै जाने हो। कविता लेख्छु भनेर लेखिँदैन। कविताले 'तँ लेख' भनेर अह्राउनुपर्छ।
दुई-तीन सय पानाका लामो महाकाव्य लेख्दा कहिलेकाहीँ लेख्नै नसक्ने हुन सक्छ। यस्तो बेलामा आफैंले लेखेका सुरूका हरफहरू पुनः पढ्दा नयाँ अनुभूति पनि आउन सक्छ। यो एउटा दीर्घ साधनाको कुरा हो।
म छन्दका कविताहरू सानैदेखि पढ्थेँ। पिताजीले घरमा रामायणका पंक्तिहरू सुनाउँदा प्रभावित हुन्थेँ। त्यस्तै कविता बनाउन खोज्थेँ। बन्थ्यो-बन्दैनथ्यो, त्यो बालापनको कुरा भयो।
२०४१ सालमा पहिलोपटक अरूणोदय पत्रिकामा मेरो पहिलो कविता छापियो। त्यसपछि कविता छापिने यात्रा अहिलेसम्म निरन्तर छ। कविता र गीतमै काम गरिरहेको छु। २०६१ साल वैशाखमा मेरो पहिलो कविता संग्रह 'पाइलैपिच्छे सगरमाथा' प्रकाशित भयो। त्यसपछि 'आगो छोपेर कतिन्जेल' र 'धुनभित्र बाहिर' कविता संग्रह र गीत संग्रह प्रकाशित भयो। अनि महाकाव्य 'कर्ण', 'उडूँ उडूँ लाग्छ' बाल गीत संग्रह, 'धरा' महाकाव्य, 'क्रमशः एक्लै एक्लै' कविता संग्रह हुँदै अग्नि प्रकाशन भयो।
लेख्नु जटिल कुरा हो र सजिलो पनि। लेख्नकै लागि लेख्न सजिलो छ। तर सार्थक लेख्न गाह्रो छ। इतिहास टेकेर लेख्न, भूगोल टेकेर लेख्न, संस्कृति टेकेर लेख्न कठिन छ। देशको बहुलतालाई जानेर, भूगोल र इतिहासलाई बुझेर, भिन्न समुदायको जगमा तिनको सांस्कृतिक विरासत बोकेर बाँचेका आजका नागरिक के सोचिरहेका छन्? त्यो तहमा लेख्न गाह्रो छ।
तपाईं आफ्नो लेखनलाई सरल कसरी बनाउनुहुन्छ?
मैले मेरो विषय प्रस्तुत गर्ने हो। प्रस्तुत गर्दा पाठकले बुझेन भने के गर्ने, बढ्ता पण्डित्याइँ छाँटेर, धेरै गहिर्याएर, गम्भीर कुरा दिएर अर्थ छैन। मैले राम्रो, गम्भीर र बुझ्न जरूरी हुने विषयवस्तु प्रस्तुत गर्ने हो भने मेरो भाषा पनि त्यहीअनुसार हुन जरूरी छ।
मानौं 'गौतम बुद्धको सन्देशको धारा निरवच्छिन्न रूपमा अखण्ड, अविश्रान्त, निर्विग्न, निरन्तर प्रभावमान हुँदै आएको छ' भन्नु र 'पच्चीस सय वर्ष पहिला बुद्धले जुन शान्तिको सन्देश दिएका थिए, त्यो सन्देश आज पनि निरन्तर छ, मान्छेले पढिरहेका छन्' भन्नुमा वाक्यको प्रयोग फरक छ तर कुरा उही हो।
अहिलेका मान्छेलाई फुर्सद छैन। पढ्न भ्याउँदैनन्। मैले दिन खोजेको के हो, मेरो विषयवस्तुलाई बोक्ने खाल्को सहज र सरल भाषा हुनुपर्छ भन्ने मलाई लाग्छ।
मैले ३० वर्ष रेडियो नेपालमा काम गरेँ। दस वर्ष बिबिसी नेपाली सेवामा काम गरेँ। ३० वर्षसम्म रेडियो नेपालमा बोल्दा मैले लक्षित श्रोतालाई राखेर बुझ्ने खालको सामग्रीमा अभ्यास गर्दै गएँ। सायद त्यो अभ्यासको प्रभाव मेरो लेखाइमा पनि आएको होला। मैले कर्ण लेख्दा जुन भाषिक सञ्जाल प्रयोग गरेको थिएँ, धरामा आउँदा अलि कम भयो होला र अग्निमा अझ सहज र सरल भयो कि जस्तो लाग्छ।
पुनः लेखन कति आवश्यक हुन्छ?
भावनामा बगेर सलल लेखेपछि त्यसलाई पुनः लेखन गर्नुपर्छ। अग्नि लेख्दाका सुरूका हरफहरू बीचतिर पुगेको छ र केही अगाडि आएका छन्। भन्नुको अर्थ म पुनः लेखन गर्छु, पुनः संयोजन गर्छु, दसपल्ट लेख्छु-पढ्छु अनि मात्र फाइनल गर्छु। साहित्यकार हुनुको नाममा मनमा जे आउँछ, त्यो जस्ताको त्यस्तै फाल्दै गयो भने निश्चित आकार आउँदैन। त्यसको परिणाम पनि राम्रो नहुन सक्छ।
लेखनमा नयाँ पुस्तालाई के भन्न चाहनुहुन्छ?
हिजोको पुस्ताले गरेको काममा आभार व्यक्त गर्छु। तर हिजोको पुस्ताले लेखेको समाज, बिम्ब, अनुभूतिलाई पुनः लेखन मात्र गर्ने हो भने अहिलेको पुस्ताले नलेखे हुन्छ। अहिको पुस्ताले नयाँ कोणबाट नयाँ कुरा लेख्न जरूरी छ। गरिबीको नयाँ सोच, ग्लोबल वार्मिङ, भूमण्डलीकरण, बेरोजगारी, पहिचानका कुरा, जातीय विभेदका नयाँ स्वरलाई नयाँ ढंगले लेख्न जरूरी छ।
कविहरूको नयाँ दृष्टिकोण आउन जरूरी छ। विषयवस्तुले लेखकलाई हिर्काउन र छुन जरूरी छ। कथा आफैमा कंकाल हो। त्यसमा समय, समवेदना र समाज भर्न बाँकी हुन्छ। अलि बल्ल राम्रो लेख जन्मिन्छ।
नयाँ पुस्तालाई सबभन्दा पहिला त म पढ्न आग्रह गर्छु। गाग्रीमा पानी भएन भने लोटामा भर्न सकिँदैन। पोखिनलाई भरिनुपर्छ। भरिने बाटो भनेको अध्ययन र अनुभव हो। साहित्यको विषयवस्तु पढ्नुस्, पुर्खाले लेखेका रचना पढ्नुस्। इतिहास, भूगोल, र संस्कृतिको जगको ज्ञान टेकेर वर्तमान समयको मान्छे, समाज र समवेदना लेख्ने हो। मैले भनेकै सत्य हुन्छ भन्ने छैन तर लेख्दा सत्यको नजिक जाने कोसिस गर्नुस्।