निधन भएको तीन दिनपछि मंगलबार बलिउड अभिनेत्री श्रीदेवीको पार्थिव शरीरलाई भारत ल्याउने अनुमति प्राप्त भएको छ। सरकारी वकिलको अनुमति प्राप्त भएपछि उनलाई भारत ल्याउन लागिएको हो। दुबई पुलिसले श्रीदेवीको निधनसँग सम्बन्धित केसलाई बन्द गरेको छ परिवारले श्रीदेवीको पार्थिव शरिर बुझिसकेका छन्।
श्रीदेवीका भतिजा सौरभ मल्होत्राले बुझेका हुन्। श्रीदेवीका पति बोनी कपुर पनि आफ्ना छोरा अर्जुन कपुरसँग दुबईमै छन्।
मंगलबार साँझ सम्म श्रीदेवीको शरिरलाई भारत ल्याइसकिने भारतीय संचारमाध्यमले जनाएका छन्। गत शनिबार राती ११ बजे श्रीदेवीको निधन भएको थियो। सुरूमा उनको निधन हृदयघातबाट भएको बताइएपनि फरेन्सिक जाँच पछि भने उनको बाथटबमा डुबेर निधन भएको तथ्य सार्वजनिक भएको थियो। फरेन्सिक जाँचका अनुसार अनियन्त्रित भइ पानी भरिएको बाथरूमको बाथटबमा लडेपछि डुबेर उनको निधन भएको थियो।
उनी एक पारिवारिक विवाह समारोहमा भाग लिन दुबई गएकी थिइन्। बुधबार उनको अन्तिम संस्कार गरिनेछ। दुबईको स्थानीय कानुनी प्रक्रियाले उनको शव ल्याउन ३ दिनको समय लागेको हो।