आमिर खानको 'सेक्रेट सुपरस्टार'ले चीनमा आफ्नो धमाकेदार कमाइ जारी राखेको छ। प्रदर्शनको ३१ दिन सम्म आइपुग्दा फिल्मले चिनयाँ वक्सअफिसमा ११७.६६ मिलियन डलर अर्थात करिब १२ सय करोड नेपाली रूपयाँ कमाइ गर्न सफल भएको छ। फिल्मले भारतमा भने ६२ करोड भाररू मात्र कमाइ गरेको थियो।
चीनको यस कमाइसँगै आमिर विश्वव्यापी रूपमा सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको शीर्ष तीन फिल्मका श्रेयकर्ता बनेका छन्। यसमा 'दंगल' पहिलो नम्बरमा रहेको छ भने 'सेक्रेट सुपरस्टार' तथा 'पिके' क्रमश: दोस्रो र तेस्रो स्थानमा रहेका छन्। रेकर्डहरू तोडिनका लागि नै बन्ने भएपनि आमिरका फिल्मको कमाइले अन्त बलिउड सुपरस्टारका लागि यो तोड्न कठिन बनाइदिएको भारतीय संचारमाध्यमको दाबी छ।
गत अक्टुबर १९ मा रिलिज भएको सेक्रेट सुपरस्टार'ले गायिका बन्ने एक युवतीको चाहाना र त्यसमा आइपर्ने बाधा अड्चनको कथा पेस गर्छ। फिल्ममा आमिर सहायक भूमिकामा रहेका छन्। करिब ४५ करोड भारूको लागतमा निर्माण भएको फिल्म रिलिजको समयमा चीन बाहेकका देशमा करिव ४० करोडको कमाइ गरेको थियो। चीनको कमाइले फिल्मलाई अपल्पनिय सफलता दिलाइदिएको छ।