अन्तर्राष्ट्रिय उडान भरेर नेपाल भित्रिएको 'शाम्बाला' ले समीक्षक र दर्शकबाट अपेक्षित प्रतिक्रिया, माया पाएर नेपाली सिनेमा हलहरूबाट विश्राम लिइसकेको छ।
फिल्म पारखीहरूका लागि प्रतिक्षित शाम्बालले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत आफ्नो उपस्थिति सम्मानजक राख्दा नेपाली सुगन्ध र कथावाचनमा नेपाली मौलिक कलालाई विश्व परिवेशमा पुर्याउन सफल भयो। डोल्पाली भूगोल र कथावाचनको पृथक शैलीले भरिपूर्ण मीनबहादुर भाम निर्देशित चलचित्र अब ९७ औं एकेडेमी अवार्ड्समा नेपालको प्रतिनिधित्व गर्दै भिड्नेछ।
शाम्बाला हेर्ने दर्शकमध्ये अधिकांशसँग मिश्रित प्रतिक्रिया होलान्। फिल्म औधि मन पराइए पनि जेम्स क्यामरून (हलिउड फिल्म 'अवतार' का निर्देशक) को फिल्ममा पनि दर्शकले प्रतिक्रिया दिन पाउँछन्। तर प्रतिक्रिया दिँदै गर्दा फिल्म प्रतिको बुझाइ कम्तीमा आवश्यकीय तत्त्व हो। मसालेदार, पैसा असुल फिल्म फगत मनोरञ्जनका लागि हेर्दै गर्दा नेटफ्लिक्स कन्टेन्ट वा हलिउड फिल्म झुर छ भनी प्रतिक्रिया दिनु अतिशयोक्ति नहोला।
फिल्ममा हुनुपर्ने कन्टेन्ट
शाम्बाला हेरेका दर्शकलाई यदि 'फिल्म कस्तो हुनुपर्छ' भनेर प्रश्न गरियो भने के उत्तर आउला?
तर एकैछिनलाई यो प्रश्न थाति राखेर अर्को प्रश्न सोधौं — फिल्म दर्शकको माग अनुसारको बन्नुपर्छ कि चाडपर्व लक्षित वा मौलिक कलात्मक शैलीले भरिपूर्ण?
निःसन्देह दर्शकको रूचिमा चलचित्र नितान्त निर्भर रहने कुरा सत्य हो। जसरी आख्यान/गैरआख्यानकारले पाठकलाई आनन्द दिने बहानामा पठनीय नभएका सामग्री पस्किनु हुँदैन, ठीक उसैगरी फिल्मले पनि दर्शकलाई प्रथमतः आनन्द नै दिनुपर्छ। अर्थात् फिल्म वा साहित्य विशुद्ध मनोरञ्जन हुन्।
यसर्थ, तपाईँलाई मनपर्ने फिल्म यस्तै हुनुपर्छ भन्ने मानक कसैले पनि बनाउन सक्दैन। आफ्नो रूचि अनुसारका फिल्म सबै दर्शकले हेर्छन्। न कुनै कृति, आख्यान/गैरआख्यान सबै पाठकले किन्छन्, न पढ्छन्।
अब शाम्बाला हेरेका दर्शकलाई सोधिएको प्रश्न सोधौं — फिल्म कस्तो हुनुपर्छ?
प्रश्न गर्नुको मेरो आशय बुझ्नुभयो भने पक्कै पनि शाम्बाला प्रति तपाईंको प्रतिक्रिया मिश्रित आउला।
मेरो एक जना तिब्बती मूलकी हितैषी हुनुहुन्छ। उहाँले शाम्बालालाई स्वस्थ प्रतिक्रिया दिँदै भन्नुभयो, 'फिल्म मलाई अनावश्यक तन्काएर लामो बनाएको लाग्यो। अनि केन्द्रीय पात्रले भोगिरहेको दर्दभरे पीडा प्रोटागोनिस्टमा देखिएन।'
शाम्बाला हेर्ने दर्शकवृन्द, यदि तपाईंहरू यो लेख पढिरहनुभएको छ भने, तपाईँहरूसँग पनि यस्तै यस्तै प्रतिक्रिया होलान्!
इमानदार भएर मैले दर्शकको प्रतिक्रियालाई एक वाक्यमा भनेँ भने, शाम्बाला विशुद्ध मनोरञ्जन भन्दा पनि कथावाचनको अन्तर्राष्ट्रिय प्रयोग वा उदाहरण हो।
तथापि यो लेखमा मैले शाम्बाला ठीक/बेठीकको प्रतिशत छुट्ट्याउन आएको होइन। तर दर्शकका लागि फिल्म बनाउँदैछौं भने साहित्यिक रचना पढ्दा पाठकलाई दिनुपर्ने आनन्द जस्तै फिल्मले पनि विशुद्ध मनोरञ्जन दिनैपर्छ। चाहे त्यो फिल्मी मसालाले होस् वा थ्रिल भरेर।
शाम्बालामा के छ?
शाम्बाला चलचित्रले भन्न खोजेको कथा के हो? वा अन्तर्राष्ट्रिय जगतमा वाहवाही र प्रशंसा कमाएको शाम्बालामा आखिर के विषयवस्तु वा प्रस्तुति छ?
माथिल्लो डोल्पामा छायांकन गरिएको शाम्बालामा भोट गएका श्रीमान नफर्किएपछि दुई जिउकी पात्र अर्थात् प्रोटागोनिस्ट पेमाले श्रीमान खोज्न गरेको संघर्ष फिल्मको प्लट हो।
डोल्पाली संस्कृति, बहुपति प्रथा, किनमेल गर्न सीमापारि भोट जाने चलन इत्यादि सामग्रीमा महिला पात्रलाई प्रोटागोनिस्ट बनाएर निर्देशक मीन भामले महिलालाई परपुरूषसँगको लाञ्छना लाग्दा कुन हदसम्म विद्रोह गर्न सक्छन् भन्ने दृष्टान्त फिल्ममार्फत देखाएका छन्।
प्लट सुन्दै आकर्षक भएकाले शाम्बाला फिल्म पारखीहरूका लागि प्रतिक्षित हट-केक थियो नै। त्यसैले रिलिज लगत्तै म पनि मेरी ९ वर्षीया छोरीको साथमा हल पुगेँ।
डकुमेन्ट्री, आर्ट फिल्म, हलिउड फिल्म वा नेटफ्लिक्स कन्टेन्टमा केही उम्दा वा खास नभएसम्म हत्तपत्त मेरी छोरीको रोजाइमा पर्दैन। तर गत वर्ष ढोरपाटनको कथावस्तुमा बनेको 'नो विन्टर होलिडेज' एकटक लगाएर हेरिरहँदा मेरै छोरीको रोजाइमा पनि व्यावसायिक चलचित्रको सट्टा कथावाचनको शैलीले प्राथमिकता पाउँदो रहेछ भन्ने बुझेँ।
शाम्बाला त झन् भाषा नबुझिने र दृश्यसँगै सबटाइटल पढ्दै फिल्म हेर्नुपर्ने। एक हिसाबले सबटाइटल पढ्दै दृश्यको मनोरञ्जन लिन झन्झटिलो हुन्छ। तर अढाई घन्टा लामो शाम्बाला हेरिरहँदा सबटाइटलमा मात्र ध्यान अलमलिएन। कारण — डोल्पाको भौगोलिक परिवेश र कलात्मक पटकथासहितको कथावाचन।
शाम्बालाकी पात्रको चरित्र चित्रण
वृत्तचित्र फिल्म मेकिङ मेरो मौलिक विधा र फिल्म मेरो रूचिको विषय भएकाले मैले शाम्बालाबारे निर्माण प्रक्रिया र प्राविधिक पक्षबारे स्वस्थ टिप्पणी गर्नु जरूरी हुन्छ।
उच्च शिक्षामा अंग्रेजी साहित्य मेरो मूल विषय भएकाले शेक्सपियरका दुःखान्त कृति हुन् वा रूसी कथाहरू, विशेष गरी एन्तोन चेकोभका पात्रहरू, तिनले मेरो जीवनमा गहिरो प्रभाव पारेका छन्। त्यसैले दृश्यमार्फत मैले कथा भन्नुपर्दा चेकोभले झैं पात्र चित्रण नगरी फगत न्यारेसन मात्रै मेरो प्रस्तुति हुँदैन।
हालसालै यस वर्ष साहित्यतर्फ नोबेल पुरस्कार विजेता कोरियाली आख्यानकार हान काङ्ले पुरस्कृत आफ्नो काव्यात्मक कृतिमा पर्खाइको पीडालाई उजागर गर्दै 'कोही नआए पनि म पर्खिरहेकी छु, उसैगरी जसरी पर्खिन्थेँ' भनेर दुःखद कहानीलाई पात्र चित्रण गर्दै काव्यमा उतारेकी छन्।
भन्नुको तात्पर्य, फिल्म पनि साहित्य नै हो। शाम्बालाकी केन्द्रीय पात्र पेमा गर्भवती शरीरसँग अनन्त यात्रामा श्रीमान खोज्न निस्किन्छे। ठ्याक्कै यहीँनेर कोरियाली आख्यानकारको इतिवृत्तान्तले पनि छुन्छ। त्यसैले सिर्जनात्मक मान्छे नै हुन् जसले विषयवस्तुलाई साहित्यको रूप दिन सक्छन्। अनि चलचित्र निर्माण गरेर कथा भन्न सक्छन्।
निर्देशक मीन भामले स्क्रिप्ट लेखिसक्दा नै शाम्बालाकी प्रोटागोनिस्टले मेरो ध्यान तानेको थियो। प्रोटागोनिस्ट पेमाको 'कन्फ्रन्टेसन' जसरी फिल्म अवधिभर श्रीमानको खोजीमा बित्छ, फिल्म हेरिसक्दा पनि दुखान्तमा टुंगिएको कथाले शेक्सपियरका नाट्यकृतिका तत्वले झैं थ्रिल्ड र ट्रेजेडी महसुस गराइरहन्छ।
निर्देशकीय कौशलतामा निपुण भामले 'कालो पोथी' कै धारमा जसरी शाम्बाला कोरेका छन्, यहाँनिर नोबेल साहित्य पुरस्कार विजेता टिएस इलियटको भनाइ साभार गर्ने हो भने, फिल्म निर्देशन गर्नु भामको कौशलता थियो भने उनको सिर्जना कृति बनेर दर्शकदीर्घामा पुगेपछि त्यो रचना दर्शकको भइसक्यो। अर्थात् इलियटको भनाइमा अहिले शाम्बालामा निर्देशक भाम देखिँदैनन्।
त्यसैले तिब्बती मूलकी मेरी हितैषीको टिप्पणीलाई पनि मैले जायज रूपमा लिन्छु।
मैले पनि अनुभूत गरेको उनको अर्को टिप्पणी हो, 'प्रोटागोनिस्टले हिउँ नै हिउँको थुप्रोमा बेपर्वाह भई, शरीरको ख्यालै नगरी श्रीमान खोज्न हिँडिरहेको दृश्य भन्दा पनि त्यहाँ घोडाको दुखान्तले मलाई छोयो।'
अनि प्रोटागोनिस्टको पिओभीबाट कथा भन्दै गर्दा, पेमाकै माध्यमबाट जुन तडप, पीडा महसुस गराउनु जरूरी थियो, सायद केन्द्रीय पात्र थिन्ले ल्हामो नवकलाकार भएकाले त्यो तहको पीडा महसुस भएन कि!
शाम्बालाको बलियो पक्ष- प्राविधिक
शाम्बालाका केस्रा केलाउँदै गर्दा फिल्म प्रतिको मेरो प्रतिक्रिया स्वस्थ विश्लेषण हो। तसर्थ डोल्पाको लोकेसनमा कथा बुनेर प्रोटागोनिस्टका माध्यमबाट श्रीमानको खोजीमा निस्किएकी पात्रको प्लट फिल्मको आकर्षण हो। यही प्लटमा बुनेको कथालाई निर्देशकीय कौशलताको बलमा मीन भामले दृश्यांकन, पार्श्व ध्वनि तथा इफेक्ट, साउन्ड डिजाइन र पटकथालाई सुक्ष्म ढंगले देखाएका छन्।
उदाहरणका लागि, तिब्बती भाषामै डाइलग लेखेर मौलिक बोलीचालीमा अतिरञ्जनाबिनै संवाद बोलिनु र दृश्य मार्फत दर्शकले आफै व्याख्या गर्न सक्ने ठाउँमा जबरजस्ती पटकथा नराख्नु निर्देशकीय निपुणता हो।
अर्को, अब्बल डिओपी (डाइरेक्सन अफ फोटोग्राफी)। छायांकन शैली मार्फत पात्र पात्रबीचको संवाद वा ल्यान्डस्केप देखाउँदा क्यामराको प्रयोग नेटफ्लिक्स स्तर अर्थात् हलिउडको बराबर छ।
उदाहरणका लागि, अंग्रेजी फिल्म '१९१७' मा युद्ध रोक्न दुई पात्र चिठी बोकेर हिँडिरहेको अवस्थामा छायांकन गिम्बल सटमा गरिएको छ। यस्तै जर्मन फिल्म 'अल क्वाइट अन द वेस्टर्न फ्रन्ट' हेर्दा बग्रेल्ती इन्सर्ट, पिओभी, ओटिएस राखेर अनावश्यक डिटेल नदिए जस्तै शाम्बालामा पनि समान ढंगले सिनेमाटोग्राफीमा ध्यान दिइएको छ।
मसालेदार सिनेमामा ट्वाक्क अचार, अमिलो, पिरो, झोल, ग्रेभी सबै चाहिएला। अर्थात् इन्सर्टमा डिटेल, पिओभी र वाइड सटमा प्यान र क्यामरा मुभमेन्ट चाहिएला। तर सिनेमाटोग्राफीमा अनेकथरी शृंगारपटार नगरिकनै खिचिएको छ शाम्बाला। विश्व चलचित्र बजारमा हामीले हाम्रा अर्गानिक कथा पुर्याउने हो भने खिचाइमा प्राविधिक पक्ष शाम्बालाले गरेको मेहनत जत्तिको बलियो हुनैपर्छ।
उदाहरणका लागि, प्रोटागोनिस्ट श्रीमती पेमा र श्रीमान कर्मा छुट्टिँदै गरेको दृश्यमा याक लश्करै हिँडिरहेका छन् जहाँ टेक्निकल्ली साउण्ड इफेक्टका माध्यमबाट त्यो लोकेसनमा के भइरहेको छ भनेर निर्देशक भामले नेपथ्यमा पार्श्वध्वनी मार्फत देखाएका छन्। पेमा र कर्मालाई एउटै फ्रेममा राखिरहँदा त्यो दृश्यमा दर्शकलाई पट्यार लाग्दैन।
कुनै बेला मनोरञ्जन भनेको चलचित्रले नै दिन्थे। अरू माध्यम मानिसको हातहातमा थिएन। त्यसैले सीमित उत्पादनमा जस्तोसुकै फिल्म पनि दर्शकले हेर्थे, ओपनिङ धमाकेदार हुन्थ्यो।
अब समय बदलिसकेको छ। तैपनि ठूलो पर्दा, एड्भान्सड साउण्ड सिस्टम, पिक्चर क्वालिटी इत्यादिले डोहोर्याएर पुनः दर्शकलाई मल्टिप्लेक्ससम्म पुर्याउन सुरू भइसकेको छ। जमिनदारको अत्याचार सहेको नायकले बदला लिएर जमिनदारकै छोरीसँग बिहे गर्दै फिल्म समापन हुने परम्परा अन्त्य भइसकेको छ। बलिष्ठ, झ्याप्ले नायक वा नृत्य र द्वन्द्वमामा पारंगत हुनैपर्ने योग्यताबाट नेपाली चलचित्र पनि माथि उठिसकेको छ।
काल्पनिकतामा अल्झिएको नेपाली फिल्म
केबल मनोरञ्जन मात्रै मान्ने हो भने फिल्मले भन्न सक्ने मौलिक कथा गानाबजानामै सखाप हुन्छ। हास्य रसले फिल्म हेरूञ्जेल मनोरञ्जन देला, तर दीर्घकालसम्म फिल्मले पुर्याउन सक्ने प्रभाव फिक्का भएर क्षणभरमै बिलाउँछ।
नेपालको परिवेशमा हामीसँग भएका कथा यहीँ काठमाडौं वरिपरिका अनि काल्पनिकतामा कोठामा बसेर बुनेका कथा पक्कै होइनन्। दर्शकले मौलिक कथा अद्यापि खोज्छन्। यसै प्रसंगमा बलिउड अभिनेता शाहरूख खानले बिबिसीसँगको अन्तर्वार्तामा बोलेका शब्द साभार गर्ने हो भने 'हामी अढाई, तीन घन्टाको फिल्म बनाउँछौं, जहाँ द्वन्द्व, गीत, कमेडी, ट्रेजेडी सबै मिसाएर मध्यान्तर समेत गरिन्छ।'
पैसा असुल फिल्मले हलसम्म दर्शकलाई तानिरहेका एकाध उदाहरण छन्। जस्तै, हाम्रै परिवेशमा पनि हास्य रसले भरिपूर्ण फिल्म वा एउटा फिल्म चलेपछि बनेका सिक्वेलमा आधारित फिल्म। त्यस्ता फिल्म नेपालमा किन बनिरहेका छन् भने तिनमा मात्र निर्माण पक्षले दर्शक हलसम्म आउने देखेका छन्, भारतमा क्रिकेट बिकेजस्तै।
तर फलाना पात्रको एउटा क्यारेक्टर हिट हुँदा उसैमाथि आधा दर्जन फिल्म बन्नु भनेको त्यही अभिनेता र दर्शकप्रति पनि अन्याय हो। किनभने एउटा पात्रले मौलिक कथा भनिसकेपछि उही शीर्षक र कन्टेन्टमा फिल्म धारावाहिक कसरी हुन सक्छ?
त्यही भएर शाहरूख खानले भनेजस्तै हामीले कस्तो फिल्म बनाउनुपर्छ भन्दा पनि दर्शकले हलसम्म पुगेर खिचडी खाइरहेका छन्, त्यसैमा पैसा असुल चलचित्रले नाफा कमाइरहेको छ भने मौलिक कथामा हामी जोखिम किन लिने? चरितार्थ हुन्छ।
शाम्बाला पैसा असुल मासबेस्ड फिल्म नभई कथावाचनमा कलात्मक शैली भएकैले आम दर्शकका लागि यो चल्तीको फिल्म होइन। त्यसैले शाहरूख खानले भनेजस्तै बलिउड शैलीको खिचडी शैलीमा शाम्बाला पाकेन।
नेपालमा सुधार्नुपर्ने चरित्र चित्रण
मूलधारका नेपाली फिल्म वा काल्पनिकतामा बनेका हास्यरस मिश्रित फिल्म नहेर्ने नेपाली दर्शकले पनि शाम्बाला हेर्नुको कारण बलिउड निर्देशक सञ्जय लिला भन्सालीले निर्माण गर्ने जस्तो थ्रिल्ड फिल्महरू नेपालमा नबनेरै हो, सायद!
आलिया भट्ट अहिले पनि मेरो नजरमा हिरोइन लाग्दिनन्, तर भन्सालीको 'गंगुबाई काठियावाडी' हेरेपछि त्यो थ्रिल्ड महसुस हुन्छ, जुन शाहरूखद्वारा अभिनीत 'देवदास' वा नायक भन्नै मन नलाग्ने रणवीर सिंह अभिनीत 'पद्मावत' नै किन नहोस्।
बलिउडको दाँजोमा नेपाल प्राविधिक रूपमा कमजोर भए पनि पटकथा र निर्देशकीय क्षमता उम्दा हुन सक्छ। हिजोका केही उम्दा नेपाली फिल्मको नाम लिनुपर्दा, निर शाह निर्देशित 'वासुदेव', 'वसन्ती', यादव खरेल निर्देशित 'प्रेमपिण्ड', तुल्सी घिमिरेकै 'देउता' छन्। यी फिल्मा पात्रको चरित्र चित्रण निपुण छ। वासुदेवमा एउटा प्राध्यापकले प्रतिनिधित्व गर्ने विपन्न वर्गको भूमिका, प्रेमपिण्डमा दुई प्रेमीबीचको दुःखान्त र देउतामा भागेर हिँडेको एउटा सहरिया पात्रको पात्र दुखद अन्त्य।
चरित्र चित्रणको यही खुराकलाई निर्देशक मीन भामले पेमा पात्र मार्फत डोल्पा पुगेर पटकथाको सहारामा शाम्बालामा प्रयोग गरेका छन्। उस्तै प्रयोग उनले कालो पोथी मार्फत सात वर्षअघि नै प्रमाणित गरिसकेका थिए।
हरेक मान्छेमा हुने मौलिक कथालाई कथावाचकले निपुण कथावाचन मार्फत कथा भनिदिए, साहित्यमा भए पाठक, फिल्ममा भए दर्शकले औधि मन पराउँछन्। त्यसैले गुरूप्रसाद मैनालीले लेखेको त्यही एउटा कथा संग्रह 'नासो' अहिले नेपालको संविधान झैं हरेकका घरघरमा संग्रहित छ। वा लील बहादुर क्षेत्रीको 'बसाइँ' वा बिपी कोइरालाका साहित्यिक कृति, हामीले कहिल्यै नबिर्सिने साहित्यिक रचना हुन्।
साहित्यिक रचनाले अद्योपान्त बोकेका यही तत्वलाई निर्देशक मीन भामले पनि शाम्बाला मार्फत चरित्र चित्रण गरी जुन कौशलता देखाए, उनको पटकथामार्फत सम्प्रेषित त्यही कथाले अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाउन सफल भएको हो।
ट्विटरः @Dahal_Shankar