नवीन सुब्बा निर्देशित फिल्म 'गाउँ आएको बाटो' अहिले चर्चामा छ। फिल्म चर्चामा आउनुको प्रमुख कारण यसको विश्व यात्रासँग जोडिएको पाटो हो।
नेपालमा प्रदर्शनमा आउनुअघि यो फिल्म टोरोन्टोमा वर्ल्ड प्रिमियर भएको थियो। विश्वप्रतिष्ठित बुसान फिल्म फेस्टिभलमा पनि यसको दक्षिण एसिया प्रिमियर भयो। त्यसअघि अमेरिकाको साउ पाउलो अनि भारतको जिओ मामी मुम्बई फिल्म फेस्टिभल जस्ता अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शनी भयो।
विश्व बजार घुमेर स्वदेश फर्किएको यो फिल्म चल्छ वा चल्दैन; यस पाटोको चर्चा छँदैछ। यससँग जोडेर निर्देशक नवीनको इतिहासबारे पनि चर्चा चलिरहेको छ।
नवीन निर्देशित 'गुडबाई काठमाडौं' प्रदर्शनी हुन बाँकी छ। यसबारे थप नयाँ बहसको विषय छँदैछ। नवीनको 'खाङ्ग्री', 'नुमाफुङ', 'दलन' ले जोगाएको साख यो फिल्मले जोगाउँछ वा जोगाउँदैन भन्ने पेचिलो प्रश्न खडा छ।
ब्रिदिङ स्पेसबाट बोल्दा
हामी विश्वविद्यालयमा साहित्य पढ्छौं, पढाउँछौं। पछिल्ला आधा शताब्दीदेखि भिजुअल डिजिटल संस्कृतिले मानविकीलाई नयाँ मोडमा पुर्याइदिएको छ। पठनपाठन, अध्ययन, अध्यापनमा फिल्म संस्कृति पसिसकेको छ। फिक्सन र फिल्म जोडेर पाठ्यक्रमहरू बनेका छन्। उपन्यासबाट फिल्म बनाउने चलन चलिरहेकै छ। यस्तो परिवेशमा नेपाली आर्ट मुभिजले कति कमायो भन्ने तुलोबाट मात्रै सफलता मापन गर्नु पनि कत्तिको न्यायोचित होला?
अझ हतारमा फिल्म सफल कि असफल भनेर बोल्दा बौद्धिक जगतसमेत बहकिन सक्छ।
'गाउँ आएको बाटो' हेरिसकेपछि म केही दिन चुपचाप बसेँ। फिल्मले मलाई पनि पक्कै प्रभाव पार्यो। हतारिएर बोल्नु उचित लागेन। निर्देशक नवीनसँग मेरो उठबस छैन, न निर्माण समूहसँग छ। मैले हतारमा कसैको पक्ष, विपक्षमा किन बोल्नु? फिल्म हेरिसकेपछि केही दिन 'ब्रिदिङ स्पेस' मा बस्नु बेस ठानेँ।
फिल्मका पात्र, परिवेश, स्थानीयता, विश्वजगत, वैचारिकी अनेकौं विषय मनमस्तिष्कमा आइरह्यो। पूर्वी गाउँ मात्रै होइन, हाम्रा हरेक ठाउँ छाइरह्यो। फिल्ममा चोयाको चित्रा बुनेको सबैभन्दा ठूलो विम्ब छ। चित्रा नै चित्राझैं यस फिल्मभित्र विषयवस्तु खप्टिएका छन्। 'इन्टरसेक्सनालिटी' का बहुल विम्ब यसभित्र छन्। यसर्थ, एक पक्षबाट प्वाक्क बोल्नु लघुताभाषी अभिव्यक्ति बन्न सक्छ।
निर्देशक नवीन आफै पनि बोलिरहेका देखिन्छन्। स्क्रिप्ट, इडिटिङ, अनुसन्धान, सिनेमाटोग्राफी, संगीत, धुन, संवाद, लवज, हाउभाउ, ऐतिहासिकता अनेक विषय बोल्नका लागि छन्। बहसका झ्यालढोका खुलिसकेका छन्। कृति प्रकाशनमा आएपछि लेखक मर्छन्, पाठक जन्मिन्छन् भनिन्छ। सिनेमा प्रदर्शनीमा आएपछि निर्देशक पनि मर्नेछन्, अनि दर्शक जन्मिनुपर्ने हो।
दर्शकले स्वस्फुर्त बोलुन् भन्ने लाग्छ। कृति प्रकाशन, प्रदर्शनीपछि पनि कतिपय सर्जक मर्दिनँ, म बोल्छु भन्नेहरू छन्। फ्रान्सेली चिन्तक रोलाः बार्थको विचार नमान्ने स्रष्टाहरू छन्। निर्देशक नवीनले बार्थको विचार मानिदिए हुन्थ्यो। दर्शकलाई बहुल आयामबाट बोल्न दिनुपर्छ। विविध विचार आउन्। आलोचना पनि आउन्। नवीनको निर्देशनमाथि आलोचना आउन नमिल्ने भन्ने छैन।
फिल्मको अन्त्य कसैलाई मनपरेन त परेन। कसैलाई मनपर्यो त पर्यो। तर कोही ह्वाँ ह्वाँ रोइरहेका थिए। कोही कम रोएको, सुँकसुकाइरहेको पाएँ। विदेशमा पनि दर्शक रोएछन्। फेस्टिभल डाइरेक्टर पनि रोए अरे। यदि कोही रूँदैनन् भने अन्त्यमा उक्त दर्शकमा केही गडबड हुनसक्छ भन्ने भान मलाई पनि भयो। यति मीठो अन्त्य छ यसमा। फिल्म सकेपछि बल्ल फिल्म सुरू भएझैं भान हुन्छ।
दर्शकलाई मनोरञ्जनको लुतो कन्याइवाला आनन्दमा घर फिर्न दिँदैन यस फिल्मले। बरू विचारको बोझिलो पोको बोकाएर घर फर्काउँछ। आफू, आफ्नो घरपरिवार, नातागोता कस्तो जीवनशैली बाँच्दैछन्? घोत्लिन बाध्य बनाउँछ। यस चित्रमा अन्य धेरै विषय छन्।
स्थानीयताको अन्तर्राष्ट्रियकरण
सामूहिक उत्पादनमा निर्मित नवीनको यो फिल्म हेरेपछि पक्कै बोध गराउनेछ — अबको समय स्थानीयताको हो। स्थानीयता नै विश्वव्यापी विषय हो। 'मिनिमलिजम' नै जीवन हो। अत्यधिक स्रोतसाधन दोहन गर्ने विषय वाह, गज्जब होइन। सादा, सरल, सादगी जीवनशैली नै सुन्दर हो। गाउँ आएको बाटो यस्तै साधारण राई माइलाको परिवार केन्द्रित फिल्म हो।
यसको कथानक निकै सामान्य छ। फिल्म फिल्म जस्तो लाग्दैन। यथार्थ जीवन जस्तो लाग्छ। काल्पनिक, स्वैरकाल्पनिक, अतिरञ्जित, रोमान्टिक मसला केही छैन यसभित्र। 'महानायक', 'महानायिका', रंगीला, रमझम छँदै छैन।
कथाको केन्द्रविन्दुमा एउटा पूर्वी गाउँ छ। परम्परागत पेसाले बाँचेको एउटा परिवार छ। आकर्षितझैं लाग्ने विकासको विरूप विम्बहरू छन्। लाहुरे संस्कृतिसँगै त्यहाँ विकासरूपी दमित संस्कृति पसेको छ। बिजुली बत्ती, मोटर बाटो सँगसँगै टेलिभिजन भित्रिएको छ। कोकाकोला, चाउचाउ, चकलेट, विदेशी मदिरा फैलिएको छ। वनमारा झारझैं कोकाकोला संस्कृति सामान्य मान्छेको मनदेखि बाल-मनोविज्ञानसम्म जब्बर बनेर फैलिँदै छ।
चोया बुनेर, आफैले उब्जाएको बालीनालीबाट बाँचेको परिवार चिसो पेय, चाउचाउ, चकलेटको साम्राज्यवादी जालोमा फस्दै जान्छ। तिनलाई फैलाउने टेलिभिजन संस्कृतिले सबैलाई तान्दै लान्छ। राई माइलाको नाबालक छोरो बिन्द्रेलाई हेर्दाहेर्दै चिसो पेयको संस्कृतिले सिध्याएरै छाड्छ। बाबुआमा अन्ततः बसाइ सर्न बाध्य बन्छन्। राई माइलो र माइलीले गाउँ छाड्छन्। लाहुर जानेको लर्को उस्तै छ।
कथावस्तु निकै सामान्यझैं लाग्छ। यद्यपि यो राई माइलो र माइलीको पूर्वी नेपाल गाउँको कथामा मात्र सीमित रहन्न। स्वस्फुर्त विश्वव्यापी विमर्शको विषय पनि हो।
विश्व दृष्टिको पाटो
सपना ठूलो देख्नुपर्छ। लक्ष्य विशाल लिनुपर्छ। मलाई यस्तो कुरा सामन्ती सोचको उपज लाग्छ। महानायक मानक मजाक लाग्छ। केन्द्र, मूलधार मान्न मन लाग्दैन। जमिनसँग जोडिएको चिजलाई मूलधार नमान्नु प्राकृतिक नियमकै बर्खिलाप हो। फिल्म गाउँ आएको बाटोले यो मान्यता पुष्टि गर्छ।
टोरोन्टोमा फिल्ममा गाउँ आएको बाटो छनौट भएछ। यसलाई छनौट गर्ने अगुवा एक अश्वेत महिला हुन् भन्ने सुनेँ। निकै ढिलो हुँदा पनि फेस्टिभलमा छनौट गरेको कुरा पनि सुनेँ। फेस्टिभल डाइरेक्टरले यो सिनेमा मन पराएका रहेछन्। यसो हुनु विशाल सम्भ्रान्त विषय उठान गरेकाले होइन। सबाल्टर्न सौन्दर्यको सेलेब्रेसनले गर्दा स्वीकारेका होलान्।
विश्वभर कला, साहित्य, संस्कृति, आदिवासी विषयतिर आकर्षित भइरहेको देखिन्छ। फिल्म फेस्टिभलले पनि आदिवासीको शाखा बनाएका छन्। आदिवासी जनजातिभित्र केही सत्व छन्। त्यसलाई कला, साहित्य, फिल्मबाट विशिष्ट सौन्दर्यसहित बाहिर ल्याइँदैछ। साम्राज्यवादी मानक भत्काउन उनीहरूकै जीवन पद्धतिलाई अघि सारिँदै छ। पर्यावरणीय संकटको समाधानमा पनि आदिवासी जीवनशैली अघि सारिएको छ। यस्तो समयमा गाउँ आएको बाटोले एउटा राईको कथा बोकेर विश्व यात्रा तय गरेको देखियो।
पूर्वी नेपालको निमुखा गाउँले राई माइलो र माइलीको कथा विश्वव्यापी विषय बन्न सक्दो रहेछ। नेपाली आममान्छेका अन्य कथाहरू किन विश्वव्यापी बन्न सक्दैनन्? यसको मतलब, नेपालमा धेरै यस्ता कथा छन्। विशिषतम् विषयवस्तु अनि कथाहरू विश्वव्यापी बन्न सक्छन्। तिनले कुशल लेखक, निर्देशक कुरिरहेका होलान्। आँशुहरू आँखाहरूमा यस्तै कथा कुरिबसेका होलान्। यस फिल्ममा आशाका झिल्काहरू आशुका थोपाहरूमा पनि टल्किएको देखेँ।
साइकल हाँक्दै हौसिएर सिनेमा हेर्न काठमाडौं गएको थिएँ। साइकल हाँक्दै सिनेमा सकेर कीर्तिपुर फर्किँदा पसिनासँगै आँसु बगिरह्यो, आँखा ओभाएन। टोलाएर आफू, आफन्त, समाजको जीवनशैली हेर्न थालेँ —
हामीले मौलिक खानपान, जीवनशैली सिध्याइसकेका छौं। नाबालक मस्तिष्क कसरी 'कन्ट्यामिनेटेड' हुँदैछ। साम्राज्यवादले कसरी मनोविज्ञानमै मार हान्दैछ। अनि निमुखा सबाल्टर्नको 'मिनिमलिस्ट' जीवनशैली कसरी स्वाहा हुँदैछ भन्ने चित्रण बेजोड लाग्यो।
मान्छेको मनमा पस्न र 'डिकलोनाइजिङ माइन्ड' बुझ्न कृत्रिम चिज चाहिन्न रहेछ। फिल्म बनाउन ठूलो टाइकून पनि चाहिन्न रहेछ। संसारभर छरिएर रहेका राईहरू मिलेर सामूहिक लगानीमा यो फिल्म बनेको देखियो। राईहरूले राईहरूको कथामा फिल्म बनाए पनि यो कथा विश्वव्यापी कथावस्तुमा आधारित देखिन्छ। मूलधार नमान्ने बरू वैकल्पिक मूलधार स्थापित गर्ने विश्व अभियानको लयलाई यस फिल्मले सघाइरहेको देखिन्छ, जुन तारिफयोग्य छ।
कतिपयलाई लाग्ला यस्तो पनि सिनेमा हुन्छ? यद्यपि फेरि ब्रिदिङ स्पेसबाट बोल्दैछु — यो फिल्म विश्वविद्यालय अनि आममान्छेको मनमस्तिष्क भित्र पस्नेछ। कसले बिर्सिन सक्ला, दुनामा गाउँलेलाई चिसो पेय खुवाएको दृश्य। स्कुले केटाकेटीका चिसो पेयका लागि अधिनस्थ बनेको अनि भोको ज्यामीलाई खाजा चाउचाउ दिइरहेको? विकासबाट विस्थापित विश्वभरका दमित मनहरू अनि राई माइलाझैं गाउँ छाड्ने कर्मजीवी जनहरू?
अन्तमा, चिसो पेयको संस्कृति फैलाउने नायक–नायिकाहरू सम्झेर दयाभाव जागिरहेको छ। अनि आदिवासी चस्मालाई आफैतिर फर्काएर हेर्दैछु।
कतै मैले पनि नटुवाको भूमिका निर्वाह गरिरहेको पो छु कि?