हजुरआमा घरभित्र सुतिरहेकी हुन्छिन्। बाहिर आँगनमा नाति दाउरा चिरिरहेका हुन्छन्। त्यही बेला एउटा चिठी आउँछ।
आफ्नो बुबाको नाममा आएको चिठीबारे सुनाउन हत्तपत्त नाति भित्र पस्छन् र हजुरआमालाई उठाउँछन्।
छोराकै पर्खाइमा बसिरहेकी आमाको अनुहार चाउरिसकेको हुन्छ, कपाल फुलिसकेको।
छोराको नाम सुन्नेबित्तिकै उनको अनुहारमा खुसी छरिएर उज्यालो हुन्छ। चिठी ल्याउने हुलाकीसँगै आएकी मियाकुमारी नामक एक महिलाले चिठी पढेर सुनाउँछिन्।
चिठीमा छोराले काम गर्न निकै गाह्रो भएको र अन्त सर्ने विचार भएको उल्लेख गरेका हुन्छन्। काम गर्ने ठाउँमा थप एक महिना काम गर्ने सम्झौता गरिसकेकाले सम्झौता सकिइसकेपछि घर आउने खबर उनले लेखेका हुन्छन्।
त्यो खबरले हजुरआमालाई भावुक बनाउँछ।
यो दृश्य हो नेपाली फिल्म 'हल्कारा' को।
हल्काराको अर्थ हो चिठी कुरिबसेकालाई घरमै पुर्याइदिने र पढ्न नसक्नेलाई पढेर सुनाइदिने मान्छे।
यहाँ चिठी पढेर सुनाउने मियाकुमारी भए पनि हल्कारा चिठी पुर्याइदिने हुलाकी हुन्।
चिठी पढ्ने मियाकुमारी पनि विदेश पुगेका श्रीमानको खबर कुरिरहेकी हुन्छिन्। मियाकुमारीको बिहे भएको हप्ता दिनपछि नै विदेश गएका श्रीमानले वर्षौं खबर पठाउँदैनन्।
त्यसैले मियाकुमारी, वृद्ध आमाको छोराको चिठी पढ्दा भक्कानिन्छिन्। वर्षौंसम्म श्रीमानको पर्खाइमा बसेकी उनलाई लाग्छ– निराशा भन्दा झुटो आशा ठीक!
उनले सोचेझैं फिल्ममा हुन्छ। अर्थात उनका श्रीमानको नाममा उनलाई चिठी आउँछ तर चिठी पठाउने व्यक्ति उनका श्रीमान हुँदैनन्। उनलाई कसले चिठी पठाएका होलान्?
त्यसको उत्तर तपाईंले फिल्म 'हल्कारा' मा हेर्न पाउनुहुन्छ जुन शुक्रबारबाट प्रदर्शनमा आएको छ।
चिठीकै सेरोफेरोमा घुमेको यो फिल्म आमनेपाली जनताको कथा पनि हो। हिजोआज फोन र इन्टरनेटमार्फत कुराकानी सहज भए पनि कुनै जमाना चिठी नै त थियो सञ्चारको माध्यम। पहिलोपटक 'हल्कारा' को काम गरेका पात्रलाई भने अन्तिममा मात्र चिठीको महत्व थाहा हुन्छ। गाउँमा चिठी भनेको कति संवेदनशील हुन्छ भनेर हल्काराले आफ्नै जीवनमा आएको परिवर्तनबाट थाहा पाउँछन् जसका कारण उनको गन्तव्य नै फेरिन्छ।
सबै पात्रको आफ्नै सपना र आशाहरू छन्। प्रायः मान्छे आफ्नो परिवारसँग हाँसेर, खुसी भएर र मिठो–मसिनो खाएर बाँच्न चाहन्छन्। उमेर बढेसँगै जिम्मेवारी बढ्दै जान्छ र इच्छा, आवश्यकता पनि बढ्दै जान्छ। जसलाई परिपूर्ति गर्ने अवसर नभेट्दा विदेश जानु बाहेक अरू विकल्प देख्दैनन्।
विदेश पुग्नेहरूले कति बेला आफू पुगेको खबर सुनाउलान्? कति बेला आफ्नो सन्चो–विसन्चो भन्लान्? कति बेला घर आउने दिन बताउलान्?
त्यसको उत्तर पर्खिरहेका श्रीमती, आमा, दिदीबहिनी, छोराछोरी लगायतलाई चिठी भनेको खबर मात्र होइन, बाँच्ने आशा पनि हो भनेर फिल्ममा देखाउन खोजिएको छ।
फिल्मले महिलालाई विद्रोही स्वभावको देखाएको छ। आफूमाथि गलत भए बोल्नुपर्छ भनेर पुरूष पात्रले नै महिलालाई झक्झकाइरहेको छ। घरमै बसेर खेतबारी, चुलोचौका गर्ने महिला आफूमाथि गलत हुँदा, चित्त दुख्दा, रिस उठ्दा के गर्लान्?
मियाकुमारीलाई आफ्नो चरित्रमाथि प्रश्न गरेको मन पर्दैन। उनी आफ्नो रिस शान्त गर्न बन्चरोले सकिनसकि दाउरा चिर्न खोज्छिन्। आफ्नो चरित्रमाथि गरिएका गलत व्याख्याबारे भने बोल्न सक्दिनन्। उनलाई पुरूष पात्रले नै बलियो बन्न झक्झक्याउँछ।
जति नै विद्रोही बन्न खोजे पनि पुरूषवादी समाजमा उनको जोर चल्दैन। समाजमा अझै पनि घरको मुख्य व्यक्ति पुरूष नै हुनुपर्छ भन्ने भाष्य खडा छ। फिल्ममा पनि घरमा पुरूष हुँदा र नहुँदाको फरकपन भेटिन्छ। समाजले महिला र पुरूषले गर्ने काम छुट्याइदिएको छ। महिलाले घरको छानो छाउन सक्दैनन् तर पुरूषले जसरी पनि गर्नुपर्ने अवस्था छ।
डेढ घन्टाको फिल्मले खुसी भनेको के हो, दुःख भनेको के हो, पर्खाइ भनेको के हो जस्ता सयौं प्रश्नको जवाफ दिन खोजेको छ।
चिठीको कथा अहिलेको समयमा पुरानो भइसके पनि सुकिला सपना साँच्दै विदेशिने युवाहरुको कथा आज पनि उस्तै छ। आमाबुबा छोराछोरीको पर्खाइमा दिन गनेर बस्ने अवस्था उस्तै छ। फोन नलाग्दा, फोन नआउँदा हुने परिवारको छटपटी, पर्खाइ, आशाहरू सबै उस्तै हुन्छ। विदेशमा गएर नेपालीले भोग्नुपर्ने समस्या पनि फेरिएको छैन। त्यही भएकाले यो फिल्मले चिठीको कथा बोके पनि समसामायिक विषय बोल्न खोजेको छ।
फिल्ममा गाउँअनुसारका पात्रहरू मिलाएर देखाइएको छ। यति मात्र होइन; उनीहरूको भेषभूषा, खानेकुरा, रहनसहन जस्ता विषयमा पनि ध्यान दिइएको छ। फिल्मले अन्त्यसम्म कौतुहल जगाइरहन्छ।
विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा महेश त्रिपाठी र विनिता थापा मगरको मुख्य भूमिका छ। फिल्ममा महेशले रामको रूपमा 'हल्कारा' को चरित्र निर्वाह गरेका छन् भने विनिता 'मियाकुमारी' को भूमिकामा छिन्।
फिल्ममा संवाद कम भए पनि कतिपय दृश्यबाटै कथा बुझ्न सकिन्छ। पानीघट्टमा अन्न पिसेको, हरिया डाँडापाखा, ढुंगाले छाएका घर, चिठी लेख्ने चलनले हामीलाई पुरानो समयमा पुर्याउँछ।
फिल्ममा विदेश जानुको कारण साहुको ऋण, छोराछोरीको पढाइ खर्च अनि घरको नयाँ छानो फेर्ने सपना हुन्छ।
तातो बालुवाको रापमा सेकिँदै काठको अँध्यारो बाकसमा फर्किँदै मारिएका सपनाको लेखाजोखा कसले गर्ला?
कतिले पैसा नभएकै कारण शव बुझ्न पाएका छैनन्। त्यसको न्याय कसले देला?
यस्ता प्रश्नहरूको जवाफ पनि फिल्मले खोजेको छ।
खाडी मुलुक गएका नेपाली कामदारप्रति सरकारलाई फिल्मले थुप्रै प्रश्न छाडेर विद्रोह पनि गरेको छ।
ती प्रश्नको उत्तर के कुनै दिन हल्काराले ल्याउला?