गत शुक्रबारदेखि एकै कथावस्तुको दुइटा नेपाली फिल्म प्रदर्शन भइरहेका छन- बुलाकी र जारी।
दुवै फिल्म 'जारी' प्रथामा केन्द्रित छ।
संयोग मान्नुपर्छ, दुवै फिल्ममा पचासको दशकको कथा समेटिएको छ।
बुलाकीमा कर्णाली भेगको जारी प्रथा प्रस्तुत गरिएको छ। जारीमा पूर्वी लिम्बू समुदायको कथा समेटिएको छ।
बुलाकीमा बिवाहित केटी भगाउने केटाले उनका श्रीमानलाई जारी तिर्छन्। जारीमा केटीको माइती पक्षले बिहे गरेर दिएको केटालाई जारी तिर्छन्।
अरूकै श्रीमती रहेकी महिलासँग बिहे गर्दा पहिलेका श्रीमानलाई नगद-सम्पत्ति दिनुलाई जारी दिनु भनिन्छ।
यी दुवै फिल्मले यस्तै प्रथा उजागर गरेको छ। बुलाकीमा हिरा (सुरक्षा पन्त) र जारीमा हांग्मा (मिरूना मगर) दुवैको सन्तान भएको हुँदैन। कथाको आधार यही भए पनि दुई फिल्मको प्रस्तुतीकरण भने फरक छ।
सुरूमा कुरा गरौं बुलाकीको।
हिरा (सुरक्षा पन्त) र चन्द्र (नरेन खड्का) लाई सन्तानको रहर छ। बिहे गरेको तीन वर्षसम्म पनि उनीहरूको बच्चा जन्मिएको छैन। चन्द्रले कालापहाड काम गर्न जाँदा आफूलाई एक वर्षभित्र जसरी पनि बच्चा चाहिने बताउँछन्। उनलाई बच्चा नजन्मनुमा हिराको कमजोरी लाग्छ। चन्द्रलाई मात्र नभई उनकी आमा पनि हिरामै खोट लगाउँछिन्।
श्रीमान परदेशिएपछि हिराले रत्न (विराज विष्ट) को सहारा पाउँछिन्। हिराकी नन्द रत्नसँग विवाह गर्न मनसायमा छिन्। तर रत्न हिरालाई मन पराउँछन्।
समाज र सासूको वचन सहन नसकेर हिराले दोस्रो बिहे गर्छिन्। यसैबीच जारी तिर्ने प्रसंग आउँछ। फिल्मले यसैलाई कुप्रथाको रूपमा चित्रण गरेको छ। जारी तिर्ने दृश्यमा ततकालीन माओवादीहरूको पनि प्रवेश देखाइएको छ। उनीहरूले जारी रोक्न पहल गर्छन्।
यस फिल्ममा हिरा र चन्द्रबीच प्रेम सम्बन्ध छ। दोस्रो बिहे गरेको रत्नसँग भने हिराको प्रेम सम्बन्ध स्थापित गरिएको छैन।
फिल्ममा सुदूरपश्चिमको लवज प्रयोग गरिएको छ तर सबटाइटल छैन। पूर्वीय भेगका दर्शकलाई फिल्मको संवाद बुझ्न सहज नलाग्न सक्छ। कलाकारहरूले नै पनि सुदूरपश्चिमको लवजलाई न्याय गर्न सकेका छैनन्। मिसमासे शैलीले संवाद डेलिभरीमा मुश्किल भएझैं लाग्छ।
फिल्ममा सुरक्षा पन्तको अभिनय औसत छ। गाउँघरको काम गर्दा उनी त्यति सहज देखिन्नन्।
बुलाकीअघि उनको फिल्म ‘बहाव’ प्रदर्शन भएको थियो। दुवै फिल्मको कथा एकदमै फरक छ। बहावमा आफ्नो तरिकाले जीवन जिउन बुवाआमासँग विद्रोह गरिरहेकी सन्ध्या र कर्णाली भेगकी हिरा केही दृश्यमा उस्तै देखिन्छन्। दुवै फिल्ममा छट्पटाहटको दृश्यमा उनी उतै भावमा प्रस्तुत भएकी छन्।
चन्द्रको भूमिकामा देखिएका नरेन खड्काको अभिनय राम्रै छ। फिल्ममा हिराकी नन्दको भूमिकामा देखिएकी सरस्वती खत्रीले तारिफयोग्य काम गरेकी छन्। उनी सोल्टीलाई जिस्काउनेदेखि भाउजूलाई सहयोग गर्ने भूमिकासम्म फिट देखिन्छिन्।
फिल्ममा छायांकारको मिहेनत देखिन्छ। उनले पहाडी गाउँलाई सुन्दर तरिकाले प्रस्तुत गरेका छन्। तर फिल्मले भने लय बिर्सिएको छ। फिल्मको कथा सुस्त बगिरहेका बेला एक्कासि गीत आउँदा मुड बिगारिदिन्छ।
फिल्ममा ‘यो खास्टो मायाको’ र ‘नाच सुवा नाच’ बोलको दुई गीत समावेश छन्। दुवै गीतले फिल्मलाई बलियो होइन, कमजोर बनाएको छ।
बुलाकीमा महिला पात्र केन्द्रीय भूमिकामा छन् तर फिल्ममा पितृसत्ता हावी देखिन्छ।
अब लागौं जारीतिर।
हांग्मा (मिरूना मगर) र नामसाङ (दयाहाङ राई) दम्पत्ति हुन्।
फिल्मको सुरूआतमै दयाहाङको एक संवाद छ– ‘मेरो घरमा त के अबासी भयो। न भैंसी ब्याउँछ न मान्छे।’
बिहे भएको पाँच वर्ष भए पनि उनीहरूको बच्चा जन्मिएको छैन। यही निहुँमा नामसाङले श्रीमतीलाई ‘थारी आइमाई' भन्दै गाली गर्छन्। त्यसपछि दुवै जनाबीच झगडा पर्छ। आफूलाई लात्ताले हान्न लागेपछि हांग्माले घर छाडेर माइत जाने निर्णय गर्छिन्।
तर उनी आफूलाई श्रीमान लिन आउने आशमै हुन्छिन्। एक दिन मेलामा अर्काे युवकले पालाम जितेर हांग्मासँग विवाह गर्छन्। पालाम लिम्बू समुदायको लोक गीत हो। यो विभिन्न सांस्कृतिक जमघट, विवाह, चाडपर्व जस्ता कार्यक्रममा गाइन्छ।
हांग्माले अर्को बिहे गरेपछि नामसाङलाई जारी तिर्नुपर्ने हुन्छ। तर माइती गरिब भएको कारण तिर्न सक्दैनन्। जारी तिर्न नसकेपछि हांग्मा नामसाङको घरमा नोकर भएर बस्न तयार हुन्छिन्।
यो जारी प्रथाको मात्र होइन, जारी तिर्न नसक्दा नोकर बन्नु परेको घटनाक्रमको कथा हो।
निर्देशक उपेन्द्र सुब्बाले लिम्बू समुदायको प्रेम कथालाई सुन्दर तरिकाले प्रस्तुत गरेका छन्। फिल्म त्रुटिबिहीन भने छैन।
जारी तिर्न नसकेर नोकर बनिरहेकी हांग्माका श्रीमानलाई देखाइएको छैन। यसबीच उनले हांग्माको बारेमा किन खोजी गरेनन् भनेर जवाफ दिइएको छैन।
लिम्बू समुदायमा वैवाहिक सम्बन्धमा बस्ने कि नबस्ने भन्ने निर्णय लिने अधिकार महिलालाई दिइन्छ। यस फिल्ममा पनि हांग्मालाई उक्त अधिकार दिइएको छ। तर पितृसत्तात्मक सोच नै हाबी देखिन्छ। माइतीले जारी तिरेर घर फिर्ता लैजाँदा हांग्मा के चाहन्छिन्, सोधिएको छैन।
फिल्ममा अभिनेत्री मिरूना मगरले राम्रो अभिनय गरेकी छन्। उनी लिम्बू समुदायको परिवेशमा घुलमिल भएकी छन्। फिल्ममा दयाहाङदेखि विजय बरालसम्म सबै कलाकारको राम्रो अभिनय छ।
फिल्मले कहिले हसाउँछ, कहिले रूवाउँछ। केही दृश्य हँसाउनकै लागि पनि राखिएको छ। भैंसीलाई राँगो लगाउने दृश्य र संवाद यसको उदाहरण हो। फिल्ममा बारम्बार जनावर र महिलाको तुलना गरिएको छ।
कथा भने सुस्त रूपमा अगाडि बढ्छ। त्यसैले पहिलो हाफमा अल्छी लाग्न सक्छ। दोस्रो भागले दर्शकलाई निराश गराउँदैन।
फिल्मको छायांकन सरल छ।
‘बुलाकी’ र ‘जारी’ मा बच्चा नपाउने महिलालाई समाजले कुन दृष्टिकोणले हेर्छ भन्ने भाव प्रस्तुत गरिएको छ। बुलाकीमा वैवाहिक सम्बन्ध बिग्रिनुमा महिलालाई दोष लगाइएको छ भने जारीमा महिला र पुरूष दुवैलाई बराबरी हकदार ठहराइएको छ।