मैले यो ब्लग नलेखेको भए पनि हुन्थ्यो ।
त्यस्तो गहकिलो कुरा केही छैन यसमा । यदि छ भने, समाज अध्ययनमा रुची राख्ने एउटा तन्नेरीको कोरा अनुभुति छ होला । सिनेमा हेर्दाको अनुभुति । र, कोरा पनि ।
हुन त अनुभुतिहरुलाई महसुसको तहमै छाडिदिनु सहज हुन्छ । कम्तीमा व्यक्त गर्नुभन्दा सहज । लागु गर्नुभन्दा त झन् कति हो कति सहज । फेरी पनि म व्यक्त गर्न खोज्दैछु । उसो भए के म अफ्ठ्यारै काम गर्न खोजिरहेछु ? कि, सहज—असहजको व्याख्या फगत मेरो मनोभाव हो ? खैर, भर्सेला परोस् यस्ता तर्कना, आँटी त सकियो ।
म रंगमञ्चको कलाकार पनि । एक जना निर्देशक भन्थे, 'नाटकमा एउटा कलाकारलाई कालो लुगा लगाईदिएर हातपाउ टेकाउँदै सुंगुरको अभिनय गर्न लगाको, नाटक सकिएपछि एउटा दर्शक आएर उसलाई देखाउँदै ‘ह्वाँले भैंसीको अभिनय गरेको साह्रै गज्जब लाग्यो’ भनिदियो।'
मैले यो कुरा यहाँनेर किन सम्झेको भने, मलाई पनि शंका छ । मैले व्यक्त गर्ने अनुभुति पनि त्यस्तै भइदिने हो कि भन्ने । सुंगुरको अभिनय गर्दा भैंसीसँग मिले जस्तो के ! आ...जे सुकै होस्, के जान्छ र मेरो ! गल्ती गर्न डराउनेले सिक्छ नै के ?
बुढापाका भन्थे — भंगेरो मार्न सजिलो, भुत्ल्याउन गाह्रो । सिनेमा हेर्ने कुरा पनि त्यस्तै रै छ कि ! हेर्न सजिलो, लेख्न गाह्रो ।
म फेरी दोहोर्याउँछु, मैले यो ब्लग नलेखेकै भए पनि हुन्थ्यो । तर हिन्दी सिनेमा ट्राफिकको एउटा दृश्य यो पटक पनि सम्झिएँ मैले । जुन बेलाबेलामा सम्झिरहन्छु।
पुनेको बिरामीलाई प्रत्यारोपण गर्ने मुटु मुम्बईबाट पठाउनु पर्ने हुन्छ । त्यो पनि सडक मार्गबाट । समय बाँकी हुन्छ, जम्मा २ घण्टा ३० मिनेट । दुरी १६० किलोमिटर । मुम्बई ट्राफिक प्रहरी कमिस्नरले प्रस्ताव अस्वीकार गर्छन । मुम्बईको ट्राफिक जामका कारण समयमा पुर्याउन सम्भव नहुने भनेर ।
तब उनलाई अस्पतालको डाक्टरले फोन गरेर भन्छन् — 'कमिस्नर, कुनै पनि निर्णय लिनुभन्दा पहिले एउटा कुरा सँधै सम्झिनु, तैँले नो भनेर केही बदलिँदैन । हरेक दिन जसरी, यो दिन पनि बितेर जान्छ । बिर्सिएर जान्छ । तर तेरो एउटा 'यस'ले सायद इतिहास बन्न सक्छ । एउटा उदाहरण, जो भोली अरुलाई यस्तै अफ्ठ्यारो अवस्थामा 'यस' भन्ने हिम्मत दिन सक्छ ।'
सायद यहाँनेर अलि ठुलै उदाहरण सम्झिएँ हुँला मैले । झिंगालाई तोप हाने जस्तो पो भयो कि ! फेरी सम्झि नै सकेँ, भै त गो । मलाई नि सिनेमा हेर्दाको अनुभुति लेख्ने कि नलेख्ने भन्ने लागिराथ्यो, यही सिन सम्झेकैले पनि त ‘यस आइ डु भन्ने लागेको हो ।
ए साँची, म त अझै खास विषयमा छिरेकै छैन । गफ दिने बानी अलि बढेछ कि कसो ? हा..हा...।
ओके, अब अन्त बराल्लिन्नँ । कुरा के भने, केही दिनदेखी म युट्युबमा पुराना हिन्दी सिनेमाहरु हेरिरहेको छु । खासगरि सामाजिक मुद्दाका विषयलाई ठीकसँग प्रस्तुत गरिएको सिनेमाहरु ।
नाम नै लिनुपर्दा पार, स्पर्श, जाने भि दो यारो, इक रुका हुवा फैसला, अल्बर्ट पिंटोको गुस्सा क्यों आता है आदि आदि । हेरिसकेपछि फेसबुकमा लेख्ने मेरो बानी । ‘पार्टी’ सिनेमा हेरेपछि पनि लेखेथेँ । यस्तो थियो स्टाटसः
सिनेमाको अन्त्यतिर ओम पुरी भन्छन् — 'हर कलात्मक रचना..कविता, नाटक, उपन्यास, फिल्म..जसको माध्यमले जनतासँग विचारको सतहमा जोडिन सकिन्छ, त्यो सामाजिक या राजनीतिक संघर्षमा एक हतियार हो । कलालाई राजनीतिबाट अलग गर्न सकिँदैन । थोरै ध्यान दिएर हेर्ने हो भने हर देशको सरकार आफ्नो सत्ता कायम राख्नको लागि कलाको प्रयोग गरिरहेका छन् । यदि आधारभुत परिवर्तन ल्याउने हो भने, हामीले हाम्रो कलालाई एक हतियार जसरी प्रयोग गर्नुपर्छ ।'
त्यसैमा अमरीश पुरी थप्छन् — 'जुनसुकै राजनीतिक प्रणाली होस्, अन्याय र दमनको विरोधमा आवाज उठाउनु कलाकारको प्रमुख जिम्मेवारी हो।'
सायद यो स्टाटसले सिनेमा छनौटको मेरो रुचि प्रष्ट्यायो होला । र त, एकजना साथीले एउटा तमिल सिनेमाको लिंक कमेन्ट बक्समा पोष्ट गरेर हेर्नु भने ।
हिन्दीमा भ्वाइस ओभर गरिएको त्यो सिनेमाको नाम — कांचीवरम । मैले चिन्ने कलाकार जम्मा जम्मी १ जना, प्रकाश राज । सिंघम र वान्टेड जस्ता फिल्मका खतरा भिलेन उनी, ‘कांचीवरम’मा चाहीँ चरित्र अभिनेता । यो सिनेमामा उनको नाम हुन्छ, बेंकटेश ।
प्रियदर्शनद्वारा लिखित एवम् निर्देशित यही सिनेमाबाट प्रकाश राजले सन २००९ मा सर्वश्रेष्ठ अभिनेताको अवार्ड पाएका रहेछन् । अनि, सिनेमाले सर्वोत्कृष्ट फिल्मको अवार्ड ।
‘कांचीवरम’ सपाट रुपमा बुझ्दा चाहीँ छोरीलाई बिहेमा महङ्गो रेशमको साडी पहिराएर बिदाई गर्ने सपना बोकेको एउटा मजदुर बाबुको कथा हो । जो हर दिन मालिककोमा रेशमको साडी बुन्न त जान्छ तर त्यो आफैले बुनेको साडी कसले किन्छ, कसरी लगाउँछ, त्यो साडी लगाउँदा कस्तो देखिन्छ भन्ने जस्ता सामान्य कुरा पनि कहिले जान्न पाउँदैन । बस् विहान मालिककोमा गयो, दिनभरि काम गर्यो, साँझ घर फर्कियो । वर्षौँ वर्ष पनि सँधै उही दिन जस्तो । रुटिन सँधै उस्तै । कांचीवरम गाउँका सबै पुरुषको हालत यही हो ।
यतिसम्म की, दिनहुँ रेशमको साडी बुन्ने बेंकटेश, आफ्नी दुलहीलाई रेशमकै साडी पहिराएर भित्राउने रहर पूरा गर्न भने सक्दैन । बरु रहरको स्थानान्तरण गर्ने अवस्थामा पुग्छ । अनि लिन्छ रहरले सपनाको रुप ।
बचत पैसा साडी किन्न अपुग थियो । दुलहीलाई किनिदिन सकेन । अब छोरी जन्मी । उ हुर्किन समय लाग्छ । त्यतिञ्जेल थप बचत गर्न सके, उसको बिहेमा चाहीँ रेशमको साडी लगाइदिन सकिएला कि ! यसरी ठडिन्छ एउटा सपनाको घर । तर त्यो पैसा दिदी माईतीमै छोडिदिन खोज्ने भिनाजुलाई दिनुपरेपछि उसको सपनासम्म पुग्ने इमान्दार यात्रा यहीँ टुंगिन्छ । र मालिककोबाट फर्किँदा धागो चोरेर ल्याउन थाल्छ । किन्न नसक्ने भएपछि आफैले बुन्न । अनि राती राती श्रीमती पनि सुतिसकेपछि कसैलाई थाहा नदिईकन घरभन्दा अलि पर गोठमा बसेर साडी बुन्न थाल्छ ।
यहीँनेर त सम्झिएको हो मैले, जनगायक जीवन शर्माले गाएको एउटा गीतको स्थायी,
निकाल्यौँ हिरा मोती
बनायौँ सुनका दरबार
न हामीलाई एक छाक रोटी
न पायौँ ओत लाग्ने घर
यहाँ हरेक कुराको वर्गीय हैसियत हुन्छ । सपनाको पनि । हो, सपना पनि वर्गीय हुन्छ ।
त्यही सपनाले त हो बेंकटेशलाई इमान्दारबाट ‘चोर’ बनाउने । क्रान्तिकारीबाट लम्पसारवादी बनाउने । अनि छोरीको खुशीका लागि मरिमेट्ने बाबुबाट अन्तत छोरी कै हत्या गर्ने मायालु बाबु बनाउने ।
नझुक्किनुहोला, मैले जानाजान यहाँ ‘मायालु’ शब्द लेखेको हुँ । हत्या गर्ने पनि कसरी मायालु भन्ने लाग्यो होला हैन ? ठीक छ, लाग्न त पायो नि । तर मैले जानीजानी यो शब्द यहाँ राखेको हुँ ।
अँ म भन्दैथेँ, ती सबै सबै परिस्थितीको कारक त्यही सपना नै हो । तर त्यसो भन्दैमा सपना देख्नु गलत भन्ने आशय चाहीँ होइन मेरो । सपना त मज्जाले देख्नुपर्छ । र, पछ्याउनुपर्छ पनि त्यसलाई । बरु सपना वर्गीय हुन्छ भने, सपना देख्न नै निषेध गर्ने वर्ग अन्त्यतिर चाहीँ सोझिनुपर्छ सपना पनि ।
हुन त यो सिनेमा, क्रान्तिको निराशावादी विसर्जनको कथा पनि हो । तर यसले अन्यायले क्रान्ति जन्माउँछ, क्रान्तिले संकटको सामना गर्नुपर्छ, संकटमा व्यक्तिगत स्वार्थहरु हाबी हुन पुग्दा नेतृत्वमा विचलन आउँछ भन्ने कुरालाई बडो सुन्दर ढंगले देखाएको छ । र सँगै देखाएको छ, क्रान्तिमा आफ्नै वर्गभित्रबाट पनि असहयोगी पैदा हुन्छन् भन्ने यथार्थ । मुलतः रणनीतिक योजनाको अभाव भएपछि नेतापरस्त आन्दोलन नेताको विचलनसँगै कसरी तुहिन्छ भन्ने यथार्थ यसले अघि सारेको छ ।
यस्ता दृश्यहरु आँखा अघि चलिरहँदा मेरो सम्झनामा मेरै देशका नेताहरुको तस्बीर झिलिक्क आउँथ्यो र दृश्य फेरिएसँगै त्यो हराउँथ्यो पनि निमेषमै । तर यो लेखाईको अन्त्यतिर यति कुरा लेखिरहँदा भने मेरो स्मृतिमा फेरी उनै नेताहरु गजधम्म बसिरहेका छन् । अब सायद निमेषमै हराउँदैनन् उनीहरु, मेरो मानसपटलबाट । बरु तिनलाई त्यहीँ विराजमान गराएर म गुन्गुनाउँछु बरु, ‘आभास’को गीत :
गोधुलीमा हिँड्ने, एउटा जिउँदो मान्छे
संसारलाई फेर्छु भन्थ्यो, आफै फेरिएछ ।