‘शास्त्रमा लेख्न छुट्या मात्रै हो, जीवन जात्रा हो।’ यी मन छुने संगीतमय शब्दहरू प्रदीप भट्टराई जीद्वारा निर्देशित कमेडी तथा सोसियल ड्रामामा आधारित चलचित्र ‘जात्रैजात्रा’ को मुख्य गीतका शब्दहरू हुन्।
यी शब्दहरूले मध्यम वर्गीय नेपाली समाजको जीवन दर्शनलाई एकै वाक्यले पुष्टि गर्न खोजेको छ। यो चलचित्र भट्टराई जीको ‘जात्रा’ भन्ने चलचित्रको दोस्रो भाग हो।
जात्रा पनि आफैंमा एक अब्बल चलचित्र थियो, तर शायद त्यो व्यापारिक दृष्टिकोणले त्यति धेरै सफल हुन सकेन। यद्यपी हरेक तीनमध्ये एक नेपालीले यो जात्रा भन्ने सिनेमा हेरेका छन्, जसको पुष्टि ६३ लाखको हाराहारीमा भएको युट्युबको भ्यूले देखाउँछ। त्यस सिनेमाको कमेन्टमा धेरै दर्शकहरूले जात्रालाई अवमूल्यन गरियो भन्ने महशुस पनि गरेका थिए।
दर्शकको त्यही माया र प्यासले जात्रैजात्रा जन्मेको हो जस्तो मलाई लाग्छ। अहिले जात्रैजात्रा नेपाली सिनेमा गृहहरूमा हाउसफुलका साथ चलिरहेको छ। मेरो बुझाइमा यो सिनेमाले उठाउन खोजेको प्रमुख विषय भनेको मध्यम वर्गीय परिवारहरूले गरिरहेको आर्थिक वर्ग संघर्ष हो।
यो सिनेमाले गरिबी, यौनहिंसा, महिला सशक्तिकरण, भ्रष्टाचार, सामाजिक विभेद जस्ता संवेदनशील विषयहरूलाई हाँस्यात्मक रूपमा पाच्य हुनेगरी पस्केको छ। त्यसैले पनि हरेक नेपालीले यो सिनेमा हेर्नै पर्छ जस्तो मलाई लाग्छ।
यो चलचित्रको मूल विधा भनेको हाँस्यव्यंग्य नै हो। यस अर्थमा म के कुरामा जोड दिन चाहन्छु भने यो एउटा यस्तो हास्य चलचित्र हो जुन एक सामान्य नेपालीले हाँस्न सक्ने भन्दा धेरै उच्चकोटीको छ।
यसको उदाहरणको लागि यो चलचित्र हेर्दै गर्दाको आफ्नै अनुभव सुनाउन चाहन्छु। यो सिनेमा हेर्दा म सुरूदेखि अन्तसम्म हाँसें। हामी नेपालीहरूको हाँसो र आँसु लुकाउने बानी हुन्छ तर यो सिनेमा हेर्दै गर्दा मैले आफ्नो हाँसो रोक्न नै सकिनँ। मेरो पछाडि बस्नु भएको एक दर्शकले मलाई बायाँ कुममा कोट्याएर ‘तपाईं अलि सानो स्वरले हाँस्नुस्, तपाईंले गरेर सबैलाई डिस्टर्ब भयो’ भनेर रुष्ट हुनुभयो।
उहाँले त्यसो भनेपछि मलाई पनि अलि नमज्जा लाग्यो , त्यसपछि म अलि सम्हालिएर हाँसें। सिनेमा हेरिसकेपछि मलाई अझै हाँस्न धित नै मरेन जस्तो लाग्यो। यस अर्थमा मनोरन्जनका हिसाबले यो पूरा पैसा असुल सिनेमा हो। हामीले जति नै रुपैयाँको टिकट किनेर हेरे पनि यस फिल्मका निर्माताहरूले हाम्रो एक रुपैयाँ पनि खेर जान दिएका छैनन्।
हाँसो बाहेक जात्रैजात्राले एकदम संवेदशील सामाजिक विषयहरू पनि उठान गरेको छ। मैलेमाथि उल्लेख गरेजस्तै यसको प्रमुख विषय भनेको मध्यम वर्गीय परिवारको आर्थिक तथा वर्गीय संघर्ष नै हो।
धन भएर र धन नभएर, दुवै अवस्थामा धनको कारणले मध्यम वर्गीय परिवारहरूमा सधैं जात्रैजात्रा हुने गरेको छ। यो जात्रालाई कथाका मूल पात्रहरू फणिन्द्र (विपिन कार्की), जोयस भाइ(रवीन्द्र सिंह बानियाँ), मुन्ना (रवीन्द्र झा) र सम्पु (वर्षा रावत)ले चलचित्रभरि बोकेका छन्।
अहिलेको मध्यम वर्गीय परिवारमा हामी ‘फाष्ट मनी’ चाहिरहेका छौं। पितृसत्तात्मक समाजमा विशेषगरी पुरुषहरूलाई धन कमाउने र आफ्नो वर्गीयस्तरमाथि उकास्ने दबाब हुन्छ। जसको लागि उनीहरू जस्तो पनि काम गर्न बाध्य हुन्छन्।
सामान्य तलबले हाम्रो आधारभूत आवश्यकताहरू नै पुर्याउन गाह्रो भइरहेको अवस्था छ। जसले गरेर मानिसहरू घूसखोरी गर्ने र भ्रष्टाचार गर्नेतिर प्रेरित भइरहेका छन्। यसै सन्दर्भमा यो चलचित्रले सुनकाण्डलाई पृष्ठभूमिमा राखेको छ।
पहिलो कुरा त फाष्ट मनी कमाउन गाह्रो छ, दोस्रो कुरा कालोधनलाई सेतो पार्न झन् गाह्रो।
यदि अकुत सम्पति कमाइयो भने पनि त्यसको धेरै बेफाइदाहरू पनि हुन सक्छन् भन्ने कुरा यो सिनेमाले देखाएको छ।
त्यसैगरी यदि हामीले धन पायौं भने पनि त्यसको उपयोगिता कसरी गर्ने गर्दछौं भन्ने कुरा पनि यो चलचित्रमा देख्न पाइन्छ। हाम्रा ईच्छा आंकाक्षाहरू कति जायज वा नाजायज छन् भन्ने कुरा सोच्न पनि यो सिनेमाले बाध्य बनाएको छ।
उदाहरणको लागि सुन प्राप्तिपछि मुन्नाले फणिन्द्रलाई भन्छ , ‘तपाईं यो दाँतको ग्यापमा सुनले भर्नुस्, म यौटा ठूलो शैलुन खोल्छु र चाँदीको बोर्डमा स्वर्ण अक्षरले लेख्छु, यहाँ सुनको कैंचीले कपाल काटिन्छ।’ यो संवाद सुन्दा मलाई कस्तो अनुभव भयो भने, हामी धनको पछि किन लागि रहेका छौं? आधारभूत आवश्यकताका लागि? आफ्नै अहंकारलाई चित्त बुझाउन? वा आफूले भोगेको हेपाईहरूलाई मल्हम लगाउन? यसरी हामी धनको पछि लाग्दा हाम्रो दौड कहिले टुंगिएला त?
त्यसैगरी, धन हुने मानिसहरूले पनि (चलचित्रका भिनाजु र बुबा हजुर पात्रहरू) धनले एैयासी गर्ने, धाक लगाउने र अर्कालाई होच्याउने गरेको देखाइएको छ, जसले नेपालको वास्तविक सामाजिक अवस्थालाई छर्लंग पारेको छ।
समाजमा रहेका यस्तै कुपात्रहरूले गरेर सिधासाधा मानिसहरूलाई चैनसँग बाँच्न दिइएको छैन र उनीहरूलाई सुनकाण्ड, बैंक लुट्ने जस्ता कुकर्म गर्न उक्साइएको छ। जसले गरेर प्राय: मध्यम वर्गीय नेपालीहरूको जीवन जात्रैजात्रा भएको छ।
यो चलचित्रले उठाएको अर्को महत्वपूर्ण पाटो भनेको महिला सशक्तिकरण पनि हो जस्तो लाग्यो। चलचित्रमा सम्पू अर्थात वर्षा रावतको भूमिकालाई न्यायोचित रूपमा सशक्त बनाएको छ। उनलाई फडुकी कचकचे वा कमजोर श्रीमतीको रूपमा पेश गरिएको छैन। उनले एक बुद्धिमान र कर्मशील गृहिणीको भूमिका निर्वाह गरेकी छिन् जसले आफ्नो श्रीमानलाई पनि निर्णयहरू लिन मद्दत गर्छिन्। त्यतिमात्र होइन, सम्पूको निर्णायक भूमिकाले जात्रैजात्रालाई एक किसिमले व्यवस्थित गर्न मदत पनि गरेको छ। यस अर्थमा वर्षा रावत यस चलचित्रका सिरो (हिरोको स्त्रीबाचक शब्द) हुन्।
यसो भन्दै गर्दा, कालोधनलाई सेतो बनाउन उनको महत्वपूर्ण भूमिका हुँदाहुँदै पनि लाभांशको बाँडफाँटमा उनको योगदानलाई स्वीकार्न जोयस भाइ र मुन्ना तयार हुँदैनन्। त्यो दृष्यले नेपाली समाजमा महिलाको भूमिकालाई कसरी अवमूल्यांकन गरिएको छ भन्ने उदाहरण दिएको छ।
हाम्रो समाजमा अझै पनि पोथी बासेको नराम्रो भन्ने चलन छ। परिवारमा महिला सदस्यहरूले धेरै योगदान दिएको हुन्छ, यद्यपी त्यसलाई परिवार र समाजले उचित कदर दिइएको हुँदैन।
त्यसबाहेक महिलाले भोग्ने यौनहिंसालाई पनि यस चलचित्रले उठाएको छ। विशेषगरी आफ्नै परिवार र कार्यक्षेत्रमा महिलालाई कसरी यौन हिंसा गरिन्छ भन्ने कुरा यहाँ देख्न सकिन्छ।
हिंसाका बाबजुद पनि राम्रो पक्ष भनेको सम्पूले यौन हिंसाविरूद्ध आवाज उठाएकी छ। साथै पुरुषले माफी मागेर महिला (सम्पू)को खुट्टा ढोगेको दृष्य पनि पहिलो पटक यसै चलचित्रमा देखें। यस अलावा सम्पूले आर्थिक स्वनिर्भरताका लागि आफैंले गरेको इलम पनि उदाहरणीय छ।
त्यतिमात्र नभई आमाबुवा टाढा हुँदा बालबालिकाहरूले भोग्ने मानसिक पीडालाई पनि देखाएको छ। यसमा छोरा पात्र इमानले भनेको हुन्छ, ‘बाबा बरु म हजुरसँग पैसा छैन भने सरकारी स्कुल नै पढ्छु, तर म आमाबुवासँगै बस्न चाहन्छु।’ यी शब्दहरू सुन्दा र त्यो दृष्य देख्दा हरेक दर्शकको मन कटक्क खान्छ।
धेरै राम्रा पक्षहरू हुँदाहुँदै पनि यस चलचित्रमा केही कमजोर पक्षहरू पक्कै छन्। अभिनयको हिसाबले सबै कलाकारहरूको अभिनयमा अब्बल छन्। विशेषगरी विपिन कार्की जीको अभिनय अतुलनीय रूपमै बेजोड छ। रवीन्द्र सिंह बानियाँ जीलाई पनि नयाँ लुक एकदम सुहाएको छ। मुन्नाले पनि प्रत्येक संवादमा हामीलाई हँसाउन सफल भएको छ।
राजाराम पौडेल जीको उपस्थिति पनि एकदम मनोरञ्जनात्मक छ। बाल कलाकार इमानको अभिनय पनि सुन्दर छ। अभिनयको उत्कृष्टताको हिसाबले मेरो विचारमा यो एक एकेडेमिक चलचित्र हुन सक्छ। कला र अभिनयमा रुचि राख्ने सबै महानुभावहरूले सिक्ने उद्धेश्यले पटक पटक यो चलचित्र हेर्नुपर्छ जस्तो लाग्छ।
अभिनयको उत्कृष्टताको कुरा गर्दै गर्दा, मलाई चाहिँ दयाहाङ राई ज्यूको अभिनयमा अलि नयाँपन भएको भए राम्रो हुन्थ्यो जस्तो लाग्यो। दयाहाङ राई जीले आफ्नो भूमिका एकदम राम्रोसँग निर्वाह गर्नु भएको छ। तर अब आउने चलचित्रहरूमा उहाँले केही नयाँपन लिएर आउनु पर्छ कि जस्तो लाग्छ। यो जिम्मेवारी कलाकारको मात्र होइन, निर्देशक ज्यूहरूको पनि हो।
दोस्रो कुरा, कता कता अलिकति क्रियटिभिटी नपुगेको हो कि जस्तो पनि लाग्यो। विशेषगरी सुनकाण्डसँग सम्बन्धित करेन्ट लगाउने , पिकनिक जाने जस्ता दृष्यहरू हेर्दा सामान्य मात्र लाग्यो। शायद ती दृष्यहरू हामीले सोसियल मिडियामा पहिले नै धेरै हेरिसकेर पो हो कि? मेरो विचारमा बरु हामीले सुनकाण्डबारे थाहा नपाएको कुरा देखाइदिएको भए हुने जस्तो लाग्यो।
जस्तो उदाहरणको लागि, सुनकाण्डका गोरेको मनोविज्ञान कस्तो थियो होला त? यो प्रश्न त धेरै दर्शकको मनमा अझै छ नि त।
तेस्रो, यस चलचित्रमा निश्चल बस्नेत ज्यू तथा महानायिका करिश्मा मानन्धर ज्युको प्रमुख नृत्यमा ‘माया पिरिम’ भन्ने साह्रै मीठो गीत तथा नृत्य छ। तर यो गीत चलचित्रको अन्तिममा छ। मैले सिनेमा हेर्दै गर्दा यो गीत आउँदा सबै दर्शकहरू हलबाट निस्किन थालेको थिए र हलका कर्मचारीहरू सिट सफा गर्न आइसकेका थिए।
महानायिकाको सम्मानमा मैले उभेर एक्लै त्यो गीत पूरै हेरेर मात्र निस्किएँ। कम्तीमा पनि यो गीत बीचमा कतै राख्न पर्थ्यो। यत्रो ठूलो क्रियटिभ काम गर्दा कहीँ न कहीँ कमजोरी हुनु स्वभाविक नै हो । मलाई आशा छ, निर्माता ज्यूहरूले अर्को सिनेमा अझ राम्रो बनाउनु हुनेछ।
अन्तमा, म के भन्न चाहन्छु भने, हो जीवन जात्रैजात्रा हो, तर जीवनलाई संयमित गर्ने उपाय के हो त? मानिसलाई धनले दु:खबाट सुख देला, तर के त्यसले आनन्द देला त? धेरै धनी मानिसहरू पनि हामीले दुखी देखेका छौं। केहि नभएका योगीहरू पनि प्रशन्न देखेका छौं।
मलाई लाग्छ, मध्यम वर्गीय मानिसहरूले धनको साथसाथै आनन्दको पनि खोजी गर्नुपर्दछ। एक आनन्दित परिवार दु:ख र सुख भन्दा पनि माथि हुन्छ। शायद त्यो आनन्द ध्यान र प्रेमबाट मिल्ला कि!