काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भाषा र संस्कृति प्रवर्द्धन गर्ने खालका फिल्म निर्माणमा सहयोग गर्ने बताएका छन्। बुधबार लगनटोलको तबहालमा भएको 'हिमआँधी' बहुभाषिक चलचित्रको शुभ मुहूर्त गर्दै उनले भाषा संस्कृतिको प्रवद्धन हुने खालका फिल्म निर्माणमा जोड दिनुपर्ने बताएका हुन्।
महाजु फाउण्डेशन भक्तपुरले नेपाली, नेपालभाषा, अंग्रेजी र चिनियाँ भाषामा 'हिमआँधी' चलचित्र बनाउन शुरु गरेको छ। शाक्यले संस्कृति संरक्षणमा स्थानीय सरकारको भूमिका हुने भएकाले चलचित्रमार्फत संस्कृति प्रवर्द्धन गर्न सके अपेक्षित लक्ष्य हासिल गर्न सकिने बताए।
कार्यक्रममा फिल्मका परिकल्पनाकार ओमचरण अमात्यले फिल्मभित्रको ऐतिहासिक परिवेशको वर्णन गरेका थिए। बहुभाषिक चलचित्र 'हिमआँधी' असोज २५ गते देखि तिब्बतको ल्हासा तथा काठमाडौंमा सुटिङ शुरु हुने भएको छ। यसअघि मनाङ र मुस्ताङमा समेत फिल्मको सुटिङ भएको थियो।
करिव ३ करोड रुपैयाँको बजेटमा निर्माण हुने चलचित्रलाई स्तरीय बनाउन एनिमेसन प्रविधि पनि प्रयोग हुने निर्माण पक्षले जनाएको छ।