आगामी साउन २२ गते हुने 'म्यूजिक खबर म्यूजिक अवार्ड'मा विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान गरिने भएको छ। यस अवार्डको छैठौं संस्करणको अवसरमा विभिन्न ३४ विधाका स्रष्टा एवम् सिर्जनालाई अवार्ड प्रदान गरिनेछ। वरिष्ठ गीतकार रत्नशमशेर थापालाई म्यूजिक खबर दीर्घ साधना सम्मान २०७४ प्रदान गर्ने आयोजकले जनाएको छ। थापालाई २५ हजार ५ सय ५५रुपैयाँ नगद राशिसहित सम्मान गर्न लागिएको हो ।
बाह्रवर्षको उमेरदेखि कविता लेख्न थालेका रत्नशमशेर थापाका कविता, नाटक, कथा पनि छापिएका छन। २०२० सालमा ‘ओभानो सिउँदो’ र २०२६ सालमा ‘रुझेको परेला’ गीतसङग्रह प्रकाशित छन् । त्यसैगरि २०३६ सालमा ‘चकलाभरिको घाम’ र २०६० सालमा ‘ताराका काँचा रङ’ नामक कवितासङग्रह प्रकाशित छन्। वि.सं.२०४२ मा युजिक नेपालले ‘दोभान’ शीर्षकमा उनका गीतहरूको एल्बम निकालेको थियो। हजारौं गीत लेखेर नेपाली गीतसंगीत उद्योगमा सदाबहार गीतकारको छवि बनाएका उनलाई छैठौं म्यूजिक खबर म्यूजिक अवार्डमा दीर्घ साधना सम्मान प्रदान गर्न लागिएको हो।
त्यसैगरी गायक शिशिर योगी र गायिका सत्यकला राईलाई म्यूजिक खबर दशकको सम्मान २०७४ प्रदान गर्न लागिएको छ।
त्यसैगरी बेगेन्द्र बुढालाई यस वर्षको म्यूजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान प्रदान गरिन लागिएकोे छ ।
यस वर्षको म्यूजिक खबर युवा प्रतिभा सम्मान गीतकार एवं संगीतकार पदम रोकायालाई प्रदान गरिन लागिएको छ। ‘म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार’बाट संचारकर्मी नवराज लम्साललाई पुरस्कृत गर्न लागिएको छ। लम्साललाई ५ हजार ५ सय ५५ रुपैयाँ नगद राशीसहित पुरस्कार प्रदान गरिनेछ ।
त्यसैगरी नेपाली गीतसंगीतमा आधा दशकभन्दा लामो देखि सक्रिय बुद्धिमान घिसिङलाई यस वर्षको म्यूजिक खबर डायस्पोरा संगीत सम्मान प्रदान गर्न लागिएको छ।