लक्ष्मण रिजालको निर्देशनमा फिल्म 'काजी' निर्माण हुने भएको छ।
शुक्रबार दक्षिणकाली मन्दिरमा शुभमुहूर्त गर्दै फिल्म निर्माणको औपचारिक सुरूवात गरिएको हो। क्यामेरा तथा स्किृप्ट पूजासँगै फिल्मको टिम छायांकनका लागि शुक्रबार नै काठमाडौंबाट स्याङ्जा प्रस्थान गरेको छ।
यो फिल्मको मुख्य भूमिकामा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मालगायत कलाकारहरूको अभिनय रहनेछ।
आउँदो आइतबारबाट फिल्मको छायांकन सुरू गरिने निर्देशक रिजालले बताए। उनी यो फिल्मबाट करिब ८ वर्षपछि निर्देशनमा फर्किएका हुन्। आफूले खोजेको जस्तै स्किृप्ट पाएकाले निर्देशनमा कमव्याक गर्न तयार भएको रिजालले बताए। उनले यसअघि 'कसम', 'धुँवा यो नसा', 'अलविदा', 'कायरा' लगायतका फिल्म निर्देशन तथा 'डिसेम्बर फल्स' र 'गणपति' फिल्मको निर्माण गरेका थिए।

आरएण्डआर प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो एक सोसल लभस्टोरी फिल्म हो। यसलाई राम प्रसाद रिजालले निर्माण गर्दैछन्।
निर्माता रिजालले यसअघिका फिल्ममा देखिएका कमकमजोरीलाई सच्याउँदै उत्कृष्ट बनाउने प्रयास रहने बताए। फिल्मको छायांकनका लागि स्याङ्जामा लाखौं खर्च गरेर एउटा गाउँको सेट नै निर्माण गरिएको उनले जानकारी दिए।
अन्य कलाकारहरूका बारेमा भने निर्माण टिमले क्रमशः सार्वजनिक गर्दै जाने बताएको छ।
प्रदीप भारद्धाजको लेखन रहेको फिल्म चिन्तनराज भण्डारीले खिच्दै छन्। फिल्मका लागि संगीत कालीप्रसाद बास्कोटाले तयार पारेका छन्। 'काजी' सुनील मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गर्नेछ।