निर्माण घोषणादेखि चर्चामा रहेको फिल्म 'बलिदान' को शुभमुहूर्त गरिएको छ। शुक्रबार हरितालिका तीजको अवसर पारेर मोरङको सुन्दरहरैंचास्थित पाथीभरा माताको मन्दिरमा पूजा गरेर शुभसाइत गरिएको हो।
फिल्मको छायांकन भने भोलिदेखि सुरू हुनेछ।
शनिबार मोरङको इटहरीबाट छायांकन सुरू गर्न लागिएको निर्देशक सन्तोष सेनले बताए। पहिलो दिन अभिनेत्री ऋचा शर्मा र केही बाल कलाकारहरूको दृश्य छायांकन हुनेछ।
केही दिनपछि समीर भट्ट, अर्पण थापा, सौगात मल्ल र दिव्य देवलगायतका कलाकारहरूको छायांकन सुरू हुनेछ।
'बलिदानको निर्माणका लागि लामो समयदेखि हामीले अथक मेहनत, खोज अनुसन्धान, र सिर्जनासँगै प्री–प्रोडक्सनमा गरिएको सम्पूर्ण तयारीपछि प्रविधि पूजा गरेर शुभसाइत गरेका हौं,' निर्देशक सेनले भने, 'पर्दापछाडि बसेर स्मार्ट तरिकाले काम गर्ने प्राविधिक र प्रविधिलाई हामीले सधैँ 'रियल हिरो' मान्छौं, त्यसैले सर्वप्रथम प्रविधिको पूजा गरेर हामीले यो यात्रा सुरु गरेका छौं।'
'बलिदान' मा दक्षिण भारत र नेपालका प्राविधिकहरूले काम गर्दैछन्। फिल्ममा प्रयोग गरिने लाइट, साउन्ड र क्यामेरा उपकरणहरू भारतको मुम्बईबाट ल्याइएको हो।
छायांकनका लागि इटहरीस्थित बिएमसी स्टुडियोमा भव्य सेट तयार गरिएको छ भने विराटनगर क्षेत्रमा पनि सेट निर्माण भएको छ। करिब ६० प्रतिशत छायांकन स्टुडियोमै हुने निर्देशक सेनले जानकारी दिएका छन्।
फिल्मको शीर्ष भूमिकामा अभिनेता विराज भट्टका छोरा समीर भट्ट रहेका छन्। साथमा सौगात मल्ल, अर्पण थापा, दिव्य देव, र ऋचा शर्माको पनि मुख्य भूमिका रहनेछ।
आसुसेन फिल्मस् प्रा.लि. र सन्तोष सेनको प्रस्तुति रहेको ‘बलिदान’ का निर्माता पवन ब्राडफोर्ड विष्ट र सह–निर्माता प्रेम पुरी हुन्।