बत्तीस वर्षअघिको चर्चित डकु–ड्रामा 'उजेली' का निर्देशक दीपेन्द्र गौचनको लेखन तथा निर्देशनमा बनेको फिल्म 'मिसिङः केटी हराएको सूचना' कात्तिक ३० गते रिलिज हुने भएको छ।
मंगलबार एक कार्यक्रमकाबीच फिल्मको प्रदर्शन मिति घोषणा गर्दै टिजर पनि सार्वजनिक गरिएको छ।
टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ। यसमा अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठले शीर्ष भूमिका निर्वाह गरेका छन्। उनीहरूबीचको प्रेमलाई दर्शाउँदै सुरू भएको टिजर सृष्टिको हात, खुट्टा र मुख बाँधिएको दृश्यसँगै टुंगिएको छ।
यस फिल्मले पहाडी र मधेशी समुदायका युवा र युवतीको प्रेम, रहनसहन र मेलमिलापको कथा प्रस्तुत गर्ने आँकलन गर्न सकिन्छ।
कम्बोडिया बस्दै आएका गौचनले झन्डै दुई दशकपछि नेपाल फर्किएका यो फिल्म बनाएका हुन्।
'नेपाल फर्केर मैले धेरैजसो फिल्म पहाड र हिमाली क्षेत्रमा बनाइएको देखेँ। यी क्षेत्रहरू प्रतिष्ठित भए पनि म तराईको सौन्दर्य र यसको समृद्ध सांस्कृतिक विविधता देखाउन चाहन्थें,' निर्देशक गौचनले भने, 'यो फिल्म मेरो मनको नजिक छ किनभने यसले पारम्परिक र जातीय सीमानाहरू पार गर्ने, विविधताको बीचमा समानता खोज्ने कुराको प्रतिनिधित्व गर्दछ।'
ट्राइ–सिटी पिक्चर्सको प्रस्तुति रहेको फिल्मको निर्मातामा गौचन स्वयं छन्। कार्यकारी निर्मातामा क्युएफएक्सका निर्देशक नकिम उद्दिन छन्।
फिल्ममा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, कौशल्या ठाकुर, रीना रिमाल, ललिता देवी मिश्र, रूपेश मण्डल लगायतको अभिनय छ। अमर महर्जनको छायांकन रहेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन्।
भिडिओः