कपिलवस्तुस्थित प्राचीन, पुरातात्विक र ऐतिहासिक स्थल सगरहवामा अहिले १५ जना मूर्तिकारहरू निर्जीव ढुंगामा सगरहवाको इतिहास उतार्न लागिपरेका छन्।
लुम्बिनी विकास कोष, ललितकला प्रज्ञा प्रतिष्ठान, लुम्बिनी प्रदेशको पर्यटन डिभिजन कार्यालय, कपिलवस्तु नगरपालिका, आरम्भ कलाकार समूह लगायतको सहयोगमा गत पुस २३ गते १५ दिवसीय राष्ट्रिय मूर्तिकला कार्यशाला सुरु भएको हो।
कपिलवस्तुको जिल्ला सदरमुकाम तौलिहवाबाट ९ किलोमिटर उत्तर जगदीशपुर तालको पश्चिम–दक्षिणमा छ बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण तीर्थस्थल सगरहवा। स्थानीय बोलीमा लम्बुसागर भनिने सगरहवा १० हजार शाक्यहरूको सामूहिक बध गरिएको स्थलका रूपमा चिनिन्छ।
कौशल नरेश विरूढकले सगरहवामा शाक्यहरूको नरसंहार गरेको मानिन्छ। शाक्य गणराज्यसँग नाता सम्बन्ध गाँस्न कौशल नरेश प्रसेनजितको विवाह शाक्य कुलमा गराइएको थियो। त्यहाँ उनको बासभ खत्तियासँग विवाह भएको थियो।
प्रसेनजितका छोरा विरूढक आफ्नो मामाघर कपिलवस्तु तिलौराकोट आउँदा उनले खाएको ठाउँमा लिपपोत गरेर दूधले धोएर चोख्याइएको देखेछन्।
विरूढकले आफूले खाएको स्थान लिपपोत गर्नुको कारण खोजी गरेछन्। उनले आफ्नी आमा दासीपुत्री भएको र आफू दासीपुत्रीको पुत्र भएकोले दूधले लिपपोत गरेर चोख्याइएको भन्ने थाहा पाएछन्।
यसो गर्नुलाई उनले आफूमाथिको अपमान र विभेदका रूपमा लिएछन्। यसैकारणले शाक्यहरूको महाविनाश गर्ने कसम खाएछन्।
विरूढकको त्यही प्रतिशोधका कारण शाक्य राज्यमा आक्रमण भई दश हजार शाक्यहरूको सामूहिक बध भयो। विरूढकका सेनाको आक्रमणमा मारिएका दश हजार शाक्यहरूलाई एकै चिहानमा गाडिएको बौद्ध इतिहासमा उल्लेख गरिएको छ। चिनियाँ स्रोतहरूका अनुसार यहाँ ९ हजार ९९९ शाक्यहरूको सामूहिक बध भएको थियो।
७७ हजार शाक्यहरूको महाविनाश भएको थियो भन्ने दाबी गरिएका स्रोतहरू पनि उपलब्ध छन्।
विभिन्न बौद्ध साहित्य तथा चिनियाँ यात्रीहरूको यात्रा वृत्तान्तमा सगरहवा शाक्यहरूको सामूहिक बध गरिएको स्थल हो भनिएको छ।सातौं शताब्दीमा बुद्धस्थल तिलौराकोट आएका चिनियाँ पैदल यात्री ह्वेङ साङले आफ्नो यात्रा विवरणमा सगरहवामा हजारौं शाक्यहरूको सामूहिक बध भएको उल्लेख गरेका छन्।
बौद्ध ग्रन्थहरूमा उल्लेख गरिएअनुसार आफ्नै मामाघरमा आफूमाथि गरिएको अपमानको बदला लिन विरूढकले आक्रमण गर्दा गौतमबुद्धले दुईपटक रोक्न सकेका थिए। तेस्रो पटक भने उनले रोक्न सकेनन्।
चिनियाँ यात्री ह्वेङ साङको सन् ६३६ को यात्रा वृत्तान्तमा सगरहवा तालको पश्चिम र दक्षिण भागमा शाक्यहरूले आफ्नो वंशको नरसंहार भएपछि उनीहरूको सम्झनामा सयौ स्तुप निर्माण गरेको कुरा उल्लेख भएको पाइन्छ।
सन् १८९७ मा जर्मन सर्भेयर डा. फुुहररले गरेको उत्खनन् तथा अन्वेषणमा पनि शाक्य सेनाहरूको सम्झनामा निर्माण गरिएका १७ वटा ठूला वर्गाकार स्तुप र धेरै संख्यामा साना स्तुप भेटिएका थिए। त्यसमध्ये १२ वटा स्तुपभित्र हड्डी, सुनचाँदी, क्रिस्टल र रुबी लगायतका सामग्री प्राप्त भएका थिए।
सन् १८९९ मा भारतीय पुरातत्वविद् पिसी मुखर्जीले सगरहवाको नक्सा बनाएका थिए। उनले बनाएको नक्सामा सगरहवाको पोखरीको पश्चिमतर्फ एउटा खाल्डोमा ४९ वटा ससाना कोठा रहेको उल्लेख गरिएको छ। त्यसयता भने सगरहवाको उत्खनन् भएको छैन।
शाक्यहरूको सामूहिक विनाश गरिएको स्थल भएकोले सगरहवासँग शाक्यवंशको दुःखको सम्बन्ध जोडिएको छ। यहाँ आउने बौद्ध तीर्थयात्रीहरू अकालमा मारिएका शाक्यहरूको आत्माको चिरशान्तिको कामना गर्छन्।
यसकारण यो स्थल ऐतिहासिक, धार्मिक र पुरातात्विक हिसाबले निकै महत्त्वपूर्ण मानिएको छ। यही इतिहासलाई मूर्तिकलामा उतार्न अहिले कार्यशाला सुरू गरिएको हो।
सगरहवा तालको किनारमा लस्करै टाँगिएका टेन्टमुनि मूर्तिकारहरू आ-आफ्नै सुरमा ढुंगा कुँदिरहेका भेटिन्छन्।
माघ ८ गतेसम्म चल्ने कार्यशालामा मूर्तिकारहरू यमबहादुर थापा, गोविन्द चौधरी, प्रवीण श्रेष्ठ, राजन काफ्ले, ओम खत्री, गंगाधर सारु, लक्ष्मण भुजेल, भुवन थापा, ताराप्रसाद ओझा, नरेन्द्र भण्डारी, दिनेश्वर महतो, राजु पिठाकोटे, सुनिता राणा, बुद्ध थारु, देवेन्द्र पाण्डे सहभागी छन्। सबै मूर्तिकारसँग एकएक जना सहयोगी छन्।
मूर्ति कुँद्न कपिलवस्तु र रूपन्देहीका विभिन्न खोला किनारबाट २२ वटा ढुंगा जम्मा गरिएका छन्।
मूर्तिकारहरूले सुकेको बोटमुनि ध्यानमग्न बुद्ध, कौशल नरेश प्रसेनजित र बासभ खत्तियाको विवाह, विरूढकले खाना खाएको र उनी बसेको आसन दूधले धोएको दृश्य, सयौँ मान्छेलाई खोलाले बगाएको, पोखरीमा विष हालेर माछा मरेका जस्ता आकृतिहरू ढुंगामा उतार्ने छन्।
मारिएका शाक्यहरूको सम्झनामा निर्माण गरिएका स्तुप झल्काउँदै त्यसमा शाक्यहरूले पूजाआजा गरेको दृश्य समेत मूर्तिमा देखाइनेछ। विरूढकका सेनाले आक्रमण गरेको र शाक्य सेनाले हिंसा गर्नुहुन्न भन्ने बुद्धको सिद्धान्त अँगालेर आक्रमण नगरेको दृश्य पनि मूर्तिकलाबाटै देखाइनेछ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाका अनुसार सगरहवालाई अन्तर्राष्ट्रियकरण गर्न मूर्तिकला कार्यशाला आयोजना गरिएको हो। यस कार्यशालाबाट सगरहवाको प्रचारप्रसारमा सघाउ उनको विश्वास छ। आगामी वर्ष लुम्बिनी विकास कोषले स्थानीय सरकारसँग मिलेर विश्वशान्तिको कामनासहित महोत्सव आयोजना गर्ने भएको छ।
उनी भन्छन्, ‘दश हजार शाक्यहरूको सामूहिक बध गरिएको सगरहवाको बारेमा बौद्धमार्गीले मात्र होइन, आममानिसले पनि जानकारी पाउनुपर्छ। त्यसका लागि लुम्बिनी विकास कोष प्रदेश र स्थानीय सरकारसँग मिलेर काम गर्छ।’
महायान र बज्रयान बौद्धमार्गीहरूले भारतको कलकत्तामा वार्षिक रूपमा तालमा छोड्ने गरेजस्तै सगरहवा र जगदीशपुर ताललाई त्यसको विकल्पका रूपमा तयार गर्न सकिने उनको विश्वास छ।
मूर्ति कार्यशालाले सगरहवाको इतिहास झल्काउने र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सहयोग पुग्ने कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलको विश्वास छ।
भन्छन्, ‘विरूढकले कपिलवस्तुमा किन र कसरी आक्रमण गरे भन्ने कुरा र उनको आक्रमण रोक्न बुद्धले गरेको शान्ति प्रयासबारे यहाँ बन्ने मूर्तिहरू हेरेर थाहा पाउन सकिनेछ।’
कपिलवस्तु नगरपालिका–९ मा करिब ७५ बिघा क्षेत्रफलमा रहेको सगरहवाको इतिहास जानकारी गराउन मूर्तिकला कार्यशाला आयोजना गरिएको आयोजकहरूको भनाइ छ।
सगरहवा नजिकै पन्छी आरक्ष जगदीशपुर ताल पनि रहेको छ। प्रकृतिप्रेमी र शान्तिप्रेमी दुवैका लागि नजिकै रहेका जगदीशपुर ताल र सगरहवा एकअर्काका परिपूरक बन्ने विश्वास छ।
अहिले हुँदै गरेको मूर्तिकला कार्यशाला गत फागुन २३ गते सुरु हुने भनिएको थियो। आयोजकहरूले तयारी नपुगेको कारण जनाउँदै दुई पटक मिति सारेर अहिले आयोजना गरेका हुन्।